‘वाइफाइ लभ’ माया–प्रेमको कथा हो
- पुस्तक वार्ता
मंसिर २७, २०७४
सञ्चारकर्मी भीषण राईले सम्भवत: नेपालमै पहिलो पटक फोटो उपन्यास बजारमा ल्याएका छन् ।‘वाइफाइ लभ’ शीर्षकको यो पुस्तकको परिकल्पनाकार तथा निर्देशक राईले यसमा टिन एजर्सहरूको जीवनशैली उतार्ने प्रयास गरेका छन् । यो पुस्तकमा तस्बिरका माध्यमबाट टिनएजर्सकै भाषामा उनीहरूकै कथा भन्न खोजिएको छ । राईले यसअघि हामी डिजे शीर्षकको पुस्तक प्रकाशन गरेका थिए ।
फोटो उपन्यासको सोच कहाँबाट आयो ?
सानोमा खुब कमिक्स पढिन्थ्यो । अहिले आएर नयाँ प्रयोग गर्दा कसो होला जस्तो लाग्यो । नेपालमा पहिले कसैले यस्तो काम गरेको छ कि भनेर खोजियो, तर पाइएन । फोटो फिचर प्रकाशन भए पनि फोटो उपन्यासचाहिँ प्रकाशित भएको रहेनछ । मैले नयाँ काममा हात हालें । केही वर्ष पत्रकारितामा हासिल गरेको अनुभवले पनि मलाई यो काममा लाग्न प्रेरित गर्यो ।
वाइफाइ लभ कस्तो विषयमा केन्द्रित छ ?
‘वाइफाइ लभ’ खासगरी तुरुन्त कनेक्ट र तुरुन्त डिस्कनेक्ट हुने युवा पुस्ताको माया–प्रेमको कथा हो । यसमा गाउँबाट सहर पढ्न आएका र राजधानीमै रहेका युवा पुस्ताको जीवनशैली खोतल्ने प्रयास गरिएको छ । यो फोटो उपन्यासमा प्रयोग गरिएको भाषा तथा लबज पनि टिनएजर्सकै छ । यसमा सस्पेन्स पनि छ । टिनएजर्स पुस्ताले एक–अर्कालाई दिने धोकालाई पनि चित्रित गरिएको छ ।
यो पुस्तकमा अधिकतम फोटो प्रयोग गरिएको छ भने पूरै उपन्यास रंगीन छ । यसलाई पुस्तकको रूप दिन कत्तिको मेहनत गर्नुपर्यो ?
यो पुस्तकको तयारी गर्दागर्दै भूकम्प गयो । त्यसपछि ६ महिना काम रोकियो । भाषा र प्रुफ ३० पटक हेरियो । डिजाइनमा ३ जना खटिएका थिए । त्यसमा तीन महिनाभन्दा बढी समय गयो । निकै मेहनत गर्नुपर्यो । मैले आशा पनि बढी नै गरेको छु । प्रकाशक, कलाकार, डिजाइनरलगायत सबैलाई कुरा बुझाउनै समय लाग्यो । कसैले पत्याएनन् । व्यक्तिगत रूपमा झन्डै २ लाख रुपैयाँ खर्च गरें । पछि ज्योतिराज राईसँग कुरा राख्दा उहाँले पुस्तक छापिदिने हुनुभयो । पुस्तकको रूप दिन जम्मा ३१ महिना लाग्यो ।
५ सय रुपैयाँ तिरेर पाठकहरूले यो पुस्तक किन्लान् ?
सिनेमा हलमा जाँदा ५ सयभन्दा माथि नै खर्च हुन्छ । टिकटबाहेक कफी पिउनैपर्यो, पपकर्न खानैपर्यो । त्यसमाथि साथमा कोही छ भने खर्च बढ्दै जान्छ, तर यो त कृति हो । त्यसो हुनाले खासै महँगो भने होइन । कागजको गुणस्तर तथा छपाइमा कुनै कन्जुस्याइँ गरिएको छैन । साधारण होटलको एउटा बियरकै मूल्य बराबर छ यो पुस्तकको मूल्य ।
पुस्तक तयार पार्नुभन्दा पहिलेका सम्झनलायक क्षणहरू के–के छन् ?
एकपटक सुटिङ गर्दा धुलिखेलमा पानी पर्यो, अरूको छाता मागेर पनि काम गरियो । नयाँ कलाकारहरू सुटिङका बेला माया गरेको अभिनय गर्नुपर्दा भावुक भएर साँच्चै मायामा पर्थे । कालिन्चोकबाट सुटिङ गरेर काठमाडौं फर्कंदा पैसा सक्कियो । कलाकारहरूलाई ट्याक्सी भाडा दिन पनि पैसा भएन । गाडीवालालाई पनि भाडाको पैसा दिन नसक्दा आफूसँग भएको क्यामेरा बुझाइयो । एक हप्तापछि पैसा बुझाएर उक्त क्यामेरा फिर्ता लिएँ ।
प्रकाशित :मंसिर २७, २०७४
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्