परदेशियोंको है एक दिन जाना...

- किशोर नेपाल

मंसिर २७, २०७४

 

शशि कपुर अब रहेनन् । उनी दिवंगत भए, तर उनको स्मृति सधैं सक्रिय रहनेछ । उनी सामान्य अभिनेता थिएनन् । समकालीन सिनेमाका एक धुरन्धर व्यक्तित्व थिए । हिन्दी सिनेमाका आदि पुरुष पृथ्वीराज कपुरका छोरा, राज कपुर र शम्मी कपुरका कान्छा भाइ । उनी आफैंमा दिग्गज कलाकार सावित भए । शशि कपुर मनोरञ्जक र उद्देश्यमूलक दुवै थरी सिनेमामा जमे । विविध भूमिका र चर्यामा सहज भेटिने शशि कपुरलाई चलचित्रका विभिन्न धार र पाटाहरूमध्ये कुन पाटोबाट सम्झिने ? यो निकै कठिन छ । 

नेपाली नाट्य संसारका सर्वमान्य व्यक्तित्व सुनील पोखरेलका शब्दमा शशि कपुर थिएटरका मानिस थिए, ‘त्यो हाम्रो मानिस हो ।’ उनले अभिनय गरेका केही चलचित्र गर्व गर्न लायक छन् । उनले पर्दामा प्रस्तुत गर्ने रोमान्स बेग्लै प्रकारको हुन्थ्यो । हरेक सिनेमामा एकै प्रकारको अभिनयबाट दिक्क भएका दर्शकका लागि उनका सिनेमा ताजा र रोचक हुन्थे ।

सुनीलको भनाइ थियो, ‘उनको हाँसो नै सदावहार थियो । त्यो हाँसो मलाई मन पथ्र्यो ।’जस्तो कि, समकालीन हिन्दी सिनेमा जगत्की सुप्रसिद्ध अभिनेतृ मनीषा कोइरालाले भनेकी छिन्, ‘सिनेमा संसारमा मैले भेटेका हिरो वा कलाकार मध्ये शशि कपुर साँच्चै सुन्दर कलाकार थिए ।’ मनीषाले आफ्नो फेसबुक पृष्ठमा लेखेकी छिन्– शशि कपुरसंग धेरै समारोहमा अनेकौं पटक भेट भयो । विशेष गरी पृथ्वी थिएटरमा उहाँसँग लगातार भेट हुन्थ्यो । मैले भेटेका अभिनेतामध्ये उहाँ साँच्चै सुन्दर कलाकार हुनुहुन्थ्यो । उहाँको निधनले सिनेमा उद्योगमा अपूरणीय क्षति भएको छ । 

शशिको वास्तविक नाम हो बलवीर पृथ्वीराज कपुर । १८ मार्च १९३८ मा कलकत्तामा जन्मिएका शशिको मुम्बइ (बम्बई) को अस्पतालमा ४ डिसेम्वर २०१७ मा निधन भयो ।

पृथ्वी थिएटर स्वर्गीय पृथ्वीराज कपुरको सपना थियो । शशि कपुरले आफ्नो जीवनको प्रारम्भ पृथ्वी थिएटरबाटै गरेका थिए । यही थिएटरमा काम गर्दागर्दै १९५६ मा उनको भेट जेनिफर केन्डालसँग भयो । त्यतिबेला शशि मात्र १८ वर्षका थिए र जेनिफर थिइन् २३ वर्षकी । शशि आफ्ना पिताजीको थिएटर कम्पनीमा काम गर्थे भने जेनिफर आफ्ना पिताजी ज्योफरी केन्डलको थिएटर समूह शेक्सिपियरानामा काम गर्थिन् । जेनिफरसँगको त्यो भेट शशिको जीवनको महत्वपूर्ण मोड सावित भयो । शशि कपुरले जति प्रगति गरे जेनिफरको जीवनकालमै गरे । उनका राम्रा र प्रयोगवादी सिनेमाहरूमा जेनिफरको स्पर्श रहन्थ्यो । जेनिफर शशिको सर्वाधिक खुसी थिइन् । 

पृथ्वीराज कपुरको खानदान अनुदार त थिएन, तर त्यहाँ जेनिफरको प्रवेश त्यति सहज थिएन । एक त उनी विजातीय थिइन्, अर्को कपुर खानदानको कान्छो छोरोभन्दा पाँच वर्ष जेठी, तर आफ्नो कान्छो भाइ जेनिफरप्रति ‘फिदा’ भएको देखेपछि शम्मी कपुर भाइको प्यारमा बहकिए । उनले पिताजी पृथ्वीराज कपुर र परिवारका सदस्यहरूलाई मनाए । त्यसपछि उनीहरूको विवाह भयो ।

कपुर घरानाका सदस्य भए पनि शशि स्वाबलम्बी र स्वतन्त्र थिए । उनले आफ्नो स्वतन्त्र व्यक्तित्वका कारण घरानाको प्रतिष्ठामा कहिल्यै दाग लाग्न दिएनन् । जेनिफरले आफ्ना ससुराले स्थापना गरेको पृथ्वी थिएटरको दायित्व लिइन् । अहिले पृथ्वी थिएटर मुम्बई सहरको ल्यान्डमार्क भएको छ । 

कोलोन क्यान्सरले पीडित जेनिफरको सन १९८४ मा निधन भएपछि शशिको जीवन अन्धकारमय भयो । जेनिफर पतिको सारै हेरचाह गर्थिन् । खानपानदेखि पहिरनसम्म र अभिनयदेखि सामाजिक जीवनसम्म शशिलाई सघाउने उनै थिइन् । जेनिफरको निधनपछि शशिले खानपिनको अनुशासन तोड्न थाले । उनी धेरै खान थाले । खान मात्र होइन, बेस्सरी पिउन पनि थाले । जीवनको पछिल्लो समयमा उनी आफूलाई एक्लो मान्न थालेका थिए ।

नेपाली नाट्य संसारका महारथी अनुप बरालको विचार नराखी यो स्तम्भको अन्त्य गर्नु असहज हुनेछ, किनभने अनुप शशि कपुरका ठूला फ्यान मात्र नभएर उनका सिनेमाका पारखी समेत हुन् । अनुपले बुधबार बिहान कुराकानीका क्रममा बताए, ‘केटाकेटीमा शशि कपुरको सिनेमा हेर्न स्कुल बंक गरेर त्यतिबेला पोखराको एक मात्र कल्पना सिनेमा घर पुगिन्थ्यो । खल्तीमा पैसा हुँदैनथ्यो । घरमा जे भेटिन्छ, गिलास, कचौरा त्यही लगेर गेटकिपरलाई दिइन्थ्यो र सिनेमा हेरिन्थ्यो ।’ अनुपले बताए, ‘उनको चेहरामा जुन ‘इन्नोसेन्स’ भाव हुन्थ्यो त्यो मलाई मन पथ्र्याे । उनी निगेटिभ भूमिका गर्दैनथे । उनी धेरैजसो आदर्शवादी चरित्रमै रमाउँथे ।’

अनुपले मन पराएका शशिका सिनेमा धेरै छन् । उनको पहिलो सिनेमा जब–जब फूल खिलेको छायांकन कास्मिरमा गरिएको थियो । जुनून, आ गले लग जा, सिध्दार्थ, त्रिशूल, न्यू दिल्ली टाइम्सजस्ता सिनेमाले शशिलाई सधैं सिनेमाको उच्चासनमा राख्नेछन् । अनुपको विचारमा पनि शशि थिएटरका मानिस नै हुन् । खास गरेर ‘मृच्छकटिका’ नाटकमा आधारित शशि कपुरको सिनेमा ‘उत्सव’ यसको उदाहरण हो । यो सिनेमामा शशिले नाटकको मूल चरित्रलाई जीवन्त बनाउने हिसाबले 

आफ्नो वजन बढाएका थिए ।

 

शशि कपुरले अभिनय गरेका केही प्रमुख चलचित्र

-जब जब फूल खिले

-नीद हमारी ख्वाब तुम्हारी 

-शर्मिली

-कभि कभि

-दुसरा आदमी 

-बन्धन कच्चे धागों का 

-वक्त

-सुहाना सफर 

-आ गले लगजा

-न्यू दिल्ली टाइम्स

-अनाडी

-चोरी मेरा काम

-रोटी कपडा और मकान

-हीराला पन्नालाल

-सत्यम शिवम सुन्दरम

-आप बिती

-त्रिशूल

-दो और दो पाँच

-हसना मान जाएगी

-चोर मचाए शोर

-रोटी कपडा और मकान

-दिवार

-नकम हलाल

-इमान धरम

-सान

-सिलसिला

 

प्रकाशित :मंसिर २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्