Teej banner

आफ्नो भिडियोमा आफैं

- कृष्ण भट्टराई

मंसिर २५, २०७४

 

गायिका मेलिना राईको स्वर जति सुरिलो छ, सौन्दर्य पनि उत्तिकै आकर्षक छ । चलचित्रको पाश्र्व गायनमा होस् अथवा आधुनिक तथा पप गीतमा, मेलिनाको स्वरमा लट्ठ हुने दर्शक तथा श्रोताहरूको संख्या प्रशस्तै छ । सुन्दर भए पनि यी गायिकाले अहिलेसम्म आफ्नो गीतको म्युजिक भिडियोमा आफैंले अभिनय गर्ने आँट गरेकी थिइनन् । यद्यपि अघिल्लो साता सार्वजनिक भएको मेरो जिन्दगीको शीर्षकको गीतमा भने मेलिना पहिलो पटक मोडलका रूपमा प्रस्तुत भइन् । 

गायक रेवन राईसँगको युगल गायन रहेको उक्त भिडियोमा मेलिनाले गरेको अभिनयले दर्शकको मनसमेत जितिरहेको छ । निर्देशक शान थापा यी सुन्दर गायिकालाई अभिनेत्रीकै रूपमा अभिनय गराउन सफल भएका छन् । गायिकाले म्युजिक भिडियोमा अभिनय गर्दा कस्तो प्रतिक्रिया आउने हो भन्ने कुराले दोधारमा परेकी मेलिना उक्त भिडियो सार्वजनिक भएपछि भने दंग छिन् । निर्देशक थापाको अभिनय गर्ने प्रस्ताव सुनेर तत्काल जवाफ दिन नसकेकी मेलिना अन्तत: अभिनयका लागि तयार भएकी थिइन् । अभिनयको पहिलो अनुभवले सकारात्मक प्रतिक्रिया पाएपछि आगामी दिनमा पनि उनले आफ्ना गीतको म्युजिक भिडियोमा अभिनयलाई निरन्तरता दिने सम्भावना व्यक्त गरेकी छिन् । 

गायक प्रमोद खरेलको एउटा गीतको म्युजिक भिडियो युट्युबमा झन्डै साढे २१ लाख पटक हेरिएको छ । करिब नौ महिनाअघि अपलोड गरिएको ‘लाइदेऊ न मायाले...’ गीतको म्युजिक भिडियोमा एउटा विशेषता छ । गीत गाएर दर्शक तथा स्रोताको मन जितिरहेका गायक खरेलले उक्त भिडियोमा आफैंले कम्मर मर्काएका छन् । अभिनेत्री प्रियंका कार्कीसँग आकर्षक नृत्य गरेका खरेललाई सुनिल क्षेत्रीले नृत्य निर्देशन गरेका हुन् । प्राय: आफ्ना गीतमा अभिनेता तथा मोडलहरूलाई नै अभिनय गराइरहेका गायक खरेल अहिले आफ्ना गीतका म्युजिक भिडियोमा आफैंले अभिनय तथा नृत्य गर्न 

थालेका छन् । 

आफ्नै जीवनमा आधारित चलचित्रमा अभिनय गरिसकेका गायक रामकृष्ण ढकालले उक्त चलचित्रमार्फत आफ्नो अभिनय क्षमता प्रदर्शन गरिसकेका छन् । गायक ढकालले आफ्ना गीतहरू मध्ये तिम्रो आगमनले फेरी, वचन तोडे, नजिक आउनुमा, माया गर्नेको, आँशु देउ या हाँसो, पहाडको छुकछुके रेल, मेरो खुकुरीको सहित झन्डै दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । गायक ढकालले अभिनय गरेका म्युजिक भिडियोमा उनको अभिनय समेत आकर्षक हुने गरेको छ । पछिल्लो गीत म लडेको मात्र हुँ...गीत दर्शक तथा श्रोतामाझ लोकप्रिय मात्र छैन, विभिन्न एवार्डसमेत जित्न सफल भएको छ । उक्त गीतको भिडियोमा गायक ढकाल आफैंले अभिनय गरेका छन् । एउटा व्यक्तिको संघर्षको कथा चित्रण गरिएको उक्त भिडियोमा गायक ढकालले संघर्षशील युवकको चरित्र निर्वाह गरेका छन् । भिडियोमा उनको अभिनय कतै पनि बनावटी लाग्दैन । आफूले अभिनय गरेको उक्त भिडियो लोकप्रिय भएपछि ढकाल आफ्ना गीतका म्युजिक भिडियोमा आफैंले अभिनय गर्ने क्रम बढाएका छन् । 

गायिका मिलन अमात्यको स्वर जति सुरिलो छ, मुहार पनि त्यत्तिकै सुन्दर छ । यद्यपि केही वर्षअघिसम्म उनले आफ्नो मोटो ज्यानलाई म्युजिक भिडियोमा देखाउने जाँगर चलाएकी थिइनन् । अघिल्लो वर्ष उनी अचानक एउटा म्युजिक भिडियोमा आफैं मोडलका रूपमा प्रस्तुत भइन् । राजनराज शिवाकोटीको संगीत निर्देशनको विश्व सुन्दरी शीर्षकको गीतमा मिलन निकै आकर्षक देखिएकी थिइन् । कडा व्यायाम गरेर छरितो बनाएको ज्यानमा मिलनले उक्त भिडियोमा आकर्षक नृत्यसमेत गरिन् । युट्युबमा साढे २ लाखभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा मिलनको अभिनय तथा नृत्यले दर्शकलाई समेत लट्ठ बनायो । आफूले अभिनय गरेको पहिलो भिडियोको सफलताले उत्साहित भएपछि मिलन अर्को एउटा गीतमा समेत मोडलकै रूपमा प्रस्तुत भइन् । लठ्ठै बनायो शीर्षकको उक्त भिडियोमा मिलन अघिल्लो भिडियोमा भन्दा आकर्षक देखिइन् । ६ लाखभन्दा बढी पटक हेरिएको उक्त भिडियोमा मिलनले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी छिन् । आफूले अभिनय गरेका दुई म्युजिक भिडियो दर्शकले मन पराएपछि अचेल मिलन आफ्ना अधिकांश भिडियोमा आफैं अभिनय गर्न अग्रसर हुन थालेकी छिन् । 

गायक यम बराल विगतदेखि नै आफ्ना गीतका म्युजिक भिडियोमा आफैं अभिनय गर्ने कलाकार हुन् । गायक आनन्द कार्कीले पनि आफ्ना केही गीतका म्युजिक भिडियोमा अभिनय गरेका छन् । विगतमा गायक सत्यराज आचार्य, हेमन्त शर्मा, दिपेशकिशोर भट्टराई, नवीन के भट्टराई, सञ्जय श्रेष्ठ, नलिना चित्रकार, सरिष्मा अमात्य, सहिमा श्रेष्ठ आदि गायक–गायिकाले समेत आफ्नो गीतमा आफैंले अभिनय गरिसकेका छन् । 

 

 

प्रकाशित :मंसिर २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्