यासिनलाई सम्झँदै विश्वकप

- साप्ताहिक संवाददाता

मंसिर २४, २०७४

प्रत्येक विश्वकप फुटबलको एउटा आकर्षक पक्ष रहँदै आएको छ, त्यसलाई प्रतिनिधित्व गर्दै जारी हुने पोस्टर । सन् १९३० को पहिलो संस्करणको विश्वकपदेखि नै पोस्टर जारी गर्ने क्रम सुरु भएको थियो र यो अहिलेसम्म पनि कायमै छ । आउने वर्ष रूसमा नयाँ संस्करणको विश्वकप हुँदैछ र आयोजक देशले त्यसको पोस्टर जारी गरिसकेको छ । औपचारिक रूपमा यसको अनावरण गर्ने काम भने विश्व फुटबल महासंघ (फिफा) ले नै गर्छ ।

विश्वकपको ड्र जारी हुनु ठीक अघि सार्वजनिक गरिएको यो पोस्टरले अहिले व्यापक चर्चा पाएको छ । रूसी फुटबलले पाएको अहिलेसम्मकै महान् खेलाडी लेभ यासिनप्रति समर्पित उक्त पोस्टरमा यासिनको पुरानो तस्बिर प्रयोग गरिएको छ । पोस्टरमा प्रयोग भएको बलबाट सुन्तला रंगको १२ वटा किरण निस्किरहेको छ, जसले आउने विश्वकपका खेल हुने १२ वटा रूसी रंगशालाको प्रतिनिधित्व गर्छन् । 

यो पोस्टर कस्तो छ त ?

यसको सटिक उत्तरका लागि फिफाका महासचिव फातमा उमोउराको भनाइ सापटी लिनुपर्ने हुन्छ । फातमाले भनेकी छिन्— यो पोस्टरको बनावट वास्तवमै सन्देशमूलक छ । यसले रूसमा आयोजना हुन लागेको विश्वकपको उत्सवलाई राम्रोसँग उतारेको छ । यो पोस्टरका डिजाइनर रूसी चित्रकार इगोर गुरोभिच हुन् । गुरोभिचले पोस्टरमा पुरानो सोभियत संघलाई सम्झने प्रयास गरेका छन् र ती पुराना दिनमा गर्व गर्ने प्रयास पनि गरेका छन् । 

सोभियत संघको विघटन भैसके पनि यसकै पर्यायका रूपमा रहेको रूसका अधिकांश जनतालाई अझै पनि पुराना दिन सम्झँदा खुसी लाग्ने दाबी विश्वकपको स्थानीय आयोजक कमिटीले गरेको छ । कुनै समय सोभियत संघ युरोपेली फुटबलको महाशक्ति थियो र उसले यूएसएसआरका रूपमा विश्व फुटबलमा गतिलै चुनौती पेस गर्दै आएको थियो । 

अचेल ती दिन सम्झनामा मात्र छन् र रूसी फुटबल पनि त्यति बलियो मानिँदैन । यद्यपि रूसलाई विश्वास छ, विश्वकपको आयोजनाले ती पुराना दिन फर्काउन मद्दत गर्नेछ, त्यसैले यासिनले यो पोस्टरमा स्थान पाएका हुन् । अब प्रश्न उठ्छ, को हुन् त यासिन ? यासिन कति राम्रा खेलाडी हुन् भन्ने कुराको बयान गर्न उनले आत्मसात् गरेको एक मात्र उपलब्धि पर्याप्त छ र त्यो हो, उनले जितेको बेलन डे’अर पुरस्कार । यासिनले सन् १९६३ मा उक्त परस्कार जितेका थिए । बेलन डे’अरकै इतिहासमा यो अवार्ड जित्ने उनी एक मात्र गोलरक्षक हुन् । 

सन् १९२९ मा जन्मिएका यासिनले विश्वकपका चारवटा संस्करणमा सहभागिता जनाए । उनलाई विश्व फुटबलको इतिहासमा अहिलेसम्मकै सबैभन्दा राम्रो गोलरक्षक मान्नेहरू पनि धेरै छन् । ब्ल्याक प्यान्थर उपनाम पाएका यासिनको सबैभन्दा ठूलो विशेषता थियो, एरोबिन डाइभ मार्दै गोलको बचाउ गर्ने, जुन वास्तवमै निकै आकर्षक हुन्थ्यो । गोलरक्षणका क्रममा उनी पूरा खेललाई आफ्नो नियन्त्रणमा राख्थे । 

सन् १९५८ को विश्वकप पहिलोपटक टेलिभिजनमा प्रसारित विश्वकप थियो र उक्त विश्वकपमा उनी पूरा कालो जर्सीमा देखिएका थिए । त्यतिबेलादेखि नै उनले ‘ब्ल्याक प्यान्थर’ को उपनाम प्राप्त गरेका हुन् । सन् २००२ मा फिफाले विश्वकप इतिहासकै उत्कृष्ट ११ खेलाडीको सूची जारी गर्दै ड्रिम टिम तयार पारेको थियो र त्यसमा गोलरक्षणको जिम्मा यासिनले नै पाएका थिए । सन् १९९० मा उनको निधन भएको थियो । आउने विश्वकपको पोस्टरमा यासिनको तस्बिरले स्थान पाउनु उनीप्रतिको वास्तविक सम्मान पनि हो ।

प्रकाशित :मंसिर २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्