स्मार्ट डिभाइस, स्मार्ट प्रविधि

- साप्ताहिक संवाददाता

मंसिर २३, २०७४

अहिले स्मार्ट प्रविधिको विकास भैरहेको छ । त्यसैअनुसार स्मार्ट डिभाइसको विकास पनि भैरहेको छ । वैज्ञानिकहरूको ध्यान हाल प्रचलितभन्दा अझ विकसित प्रविधिको विकासतर्फ छ । हामीले अहिले सामान्य मानेका प्रविधि भविष्यमा अझ विकसित भएर आउँदैछन् । 

सेल्फ ड्राइभिङ कार

सेल्फ ड्राइभिङ कारको चर्चा हिजोआज निकै सुनिन्छ । यसको काम साइन्स फिक्सन चलचित्र जस्तो लाग्छ । यो कार हामी उभिएको ठाउँमा आफैं आइपुग्छ । यसमा ड्राइभर आवश्यक हुँदैन । यो कार स्वचालित रूपमा आफैं चल्छ । यस्तो कार सडकमा भीडभाड भएको अवस्थामा पनि सुविधाजनक तरिकाले गुड्छ र आफैं पार्किङमा पुग्छ । गुगलले पहिलेदेखि नै यस प्रकारको कार परीक्षण गरिरहेको छ । अन्य थुप्रै कम्पनी पनि यस्तै कार निर्माणमा लागेका छन् । 

 

भर्चुअल रियालिटी

भर्चुअल रियालिटीको सहयोगले अगाडिको दृश्य वा अनुभवलाई वास्तविक जस्तो लाग्ने गरी प्रस्तुत गरिन्छ । भीआर हेडसेट वा यस्तै डिभाइसको सहयोगले आफू नै त्यही भएजसरी आँखाअगाडि विभिन्न दृश्य देखिन्छ । यो प्रविधि पहिले नै आएको हो । सन् १९८२ मा यो प्रविधिमा अनुसन्धान गरेर एउटा प्रयोगशाला तयार गरिएको थियो । हाल यससँग सम्बन्धित अनेकन डिभाइस उपलब्ध छन् भने गुगल, सोनी तथा एचटिसी जस्ता कम्पनीले समेत यो प्रविधिमा काम गर्न थालेका छन् । परिणामस्वरूप मल्टिमिडिया र गेमिङका लागि समेत भर्चुअल रियालिटी हेडसेट उपलब्ध हुनेछन् । यसबाट यो क्षेत्रमा नयाँ क्रान्ति आउने आशा गर्न सकिन्छ । 

फ्रेम बिनाको स्क्रिन

कुनै पनि मोबाइल फोनको चारैतिर फ्रेम राखिएको हुन्छ । यसबाट फोन डिस्प्लेको चारै कुना खाली देखिँदैन । यो एउटा आवश्यक प्रक्रिया हो । यद्यपि यसले एलईडी लाइट वा अन्य इलेक्ट्रोनिक्स प्रक्रियालाई लुकाउने काम गर्छ । अहिले विभिन्न कम्पनी यस्ता फ्रेमको आकार कम गर्ने तथा डिस्प्लेलाई बढाउने काम गरिरहेका छन् । यसबाट मोबाइल फोनको लुक्समा समेत परिवर्तन देखा परिरहेको छ । 

सोलिड स्टेट स्टोरेज

कुनै पनि कम्प्युटरमा स्ट्यान्डर्ड हार्ड ड्राइभ प्रयोग गरिएको हुन्छ । यद्यपि उक्त ड्राइभ कम गतिको हुन्छ र त्यसले अचानक काम नगर्ने समस्या समेत सिर्जना गर्छ । यसको तुलनामा सोलिड स्टेट ड्राइभ लामो समयसम्म टिक्छ भने राम्रो पर्फमेन्ससमेत दिन्छ । यसले तीव्र गतिमा काम गर्छ । यसमा ओभरहिट हुने समस्या कम हुनुका साथै हलुका पनि हुन्छ । 

कनेक्टेड होम र एप्लायन्सेज

हिजोआज इन्टरनेट अफ थिंग्सले अनेकन कार्य गर्न थालेको छ । यसले एक अर्कालाई वायरलेस वा फिजिकल तरिकाले कनेक्ट गर्ने सुविधा दिन्छ । यो प्रविधिले घरमा भएका डिभाइस वा एप्लायन्सहरूलाई जोड्छ । घरमा भएका सेक्युरिटी क्यामेरा, लाइट, एप्लायन्सेज, स्मार्ट लक आदिलाई फोनको सहयोगले इन्टरनेटमार्फत टाढैबाट नियन्त्रण गर्न सकिन्छ । 

टचफ्री जेस्चर कन्ट्रोल

अहिले टचस्क्रिन सामान्य भैसकेको छ । अब वैज्ञानिकहरू कुनै वस्तु नछोइकनै टचफ्री तरिकाले कुनै वस्तुलाई नियन्त्रण गर्ने प्रविधिको विकासमा लागेका छन् । हाल लिप मोसन सर्वाधिक प्रचलित छ । लिप मोसन कन्ट्रोलरले युएसबी तथा कम्प्युटरलाई जोड्छ । यसले कम्प्युटर र मानिसको बीचमा एयरस्पेसलाई इन्टर्‍याक्टिभ स्पेसका रूपमा विकास गर्छ । यसलाई हात तथा औंलाको सहयोगले नै म्यानेज गर्न सकिन्छ । 

मोड्युलर फोन वा ल्यापटप

हिजोआज सबै कम्पनीले नयाँ उत्पादन बजारमा ल्याइरहेका हुन्छन् । हामी आफैंले पनि घरमा फोन, ल्यापटप, ट्याब्लेट आदि प्रयोग गर्छौं । यद्यपि यी सबै डिभाइसलाई एक भन्दा बढी प्रयोजनका लागि प्रयोगमा ल्याउन सकिदँैन । त्यसैले हाल यस्ता प्रविधिलाई अपग्रेड गरी धेरै काम गर्ने मोड्युलर डिजाइनमा विकास गर्ने कार्य भैरहेको छ । भविष्यमा प्रोजेक्ट एरा, पजल फोन तथा फोनक्राफ्टजस्ता मोड्युलर फोन बजारमा आउनेछन् । 

फ्लेक्जिबल र ट्रान्सपरेन्ट डिस्प्ले

सामसुङ तथा एलजीजस्ता कम्पनीले फ्लेक्जिबल एवं ट्रान्सपरेन्ट डिस्प्लेको प्रोटोटाइप विकास गरिसकेका छन् । विभिन्न कम्पनी यस्ता डिस्प्लेको निर्माणमा लागेका छन् । स्मार्टवाचको स्क्रिन ठूलो हुनेछ । ठूलो स्क्रिन भएको ट्याब्लेटलाई फोल्ड गरेर खल्तीमा राख्न सकिनेछ । भित्तामा कभ्र्ड डिस्प्ले भएको कुनै डिभाइस हुनेछ । त्यसैगरी यस्ता डिभाइसका डिस्प्ले ट्रान्सपरेन्ट समेत हुनेछन् । 

प्रकाशित :मंसिर २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्