मंसिर २२ देखि २९ गतेसम्मको राशिफल

  • पुस १ गते : पौष संक्रान्ति, ४ : तोललोसार, ६ गते : यस वर्षाको सर्वाधिक छोटो दिन ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

मंसिर २२, २०७४

 

मेष

मन पराउनेबाट आएका प्रस्ताव स्वीकार गर्दा दुवैको कल्याण हुनेछ । तपाईंलाई प्रयोग गर्नेहरू भित्रभित्रै षड्यन्त्र गरिरहेका छन् । यात्राको समय तालिकमा फेरबदल हुँदा स्वास्थ्य बाधाले सताउन सक्छ । अवरोधहरू निर्मूल पार्न अभिभावकको प्रेरणादायक भूमिका हुनेछ । रात्रि समयमा यात्रा गर्दा सावधानी अपनाउनुपर्ने देखिन्छ । 

वृष

सहयोगीका प्रस्तावलाई स्वीकार गर्दा फलिफाप नै हुनेछ । अभिभावकको सुझाव मुताविक कार्य गर्दा परिणाम प्राप्त गर्न सहज हुनेछ । विदेशी मित्रहरूसँगको भेटघाटमा नयाँ कार्य योजना बनाउने सम्भावना छ । मनोरञ्जन कार्यमा भाग लिँदा स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । साधन चलाउँदा सावधानी अपनाउनुहोला । 

मिथुन 

देखासिकी गर्नेहरू भित्रभित्रै डाह गर्न थाल्नेछन् । सोचविचार नगरी आर्थिक सहयोग गर्ने वचन दिँदा प्रतिकूल परिस्थिति आइलाग्न सक्छ । हरियो रंग अवलम्बन गर्न सके चुनौती सामना गर्न सहज हुनेछ । नयाँ कार्य क्षेत्रहरू पहिचान गरी सफलतासमेत हात पारिनेछ । 

कर्कट

टाढाको साथीको सुझाव अनुसरण गर्दा गतिलो अवसर हात लाग्ने सम्भावना छ । नसोचेको विषयले फजुल खर्च गराउनेछ । विपरीतलिङ्गी साथीलाई वचन दिँदा संयम अपनाउनुहोला । स्वदेशमै नौलो स्थानको भ्रमण गर्दै मनोरञ्जन गरिनेछ । स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्नेछ । 

सिंह

नयाँ अवसरसँगै सवारी साधन खरिदगर्ने सम्भावना टरेको छैन । स्वार्थी मित्रहरूले घेरा हाल्न सक्छन्, सकेसम्म उनीहरूबाट टाढै रहनुपर्नेछ । अर्कालाई सहयोग गर्न मन लालायित हुनेछ । साताको अन्त्यमा मनग्य धन खर्च गर्नुपर्नेछ । सामाजिक कार्य सम्पन्न गर्न सहभागिताको अवसर जुर्नेछ । प्रतियोगितात्मक कार्यक्रममा भाग लिने अवसर पाइनेछ । 

कन्या 

राज्यस्तरका महत्वपूर्ण जिम्मेवारी हात लाग्दा थप चुनौती सामना गर्नुपर्नेछ । स्थान परिवर्तन योगसमेत देखा परेको छ । गरिआएका पुराना कामबाटै विशेष फाइदा मिल्नेछ । वैदेशिक कार्यमा अघि बढ्दा अभिभावकको रुचिको ख्याल गर्नुहोला । स्वास्थ्य एवं समयप्रति विशेष ध्यान दिनुहोला ।

तुला

कम बोल्दा नै गहकिलो कार्य सम्पन्न गर्दै सार्थक परिणम हात पार्न सकिनेछ । सुमधुर पारिवारिक वातावरणले नयाँ कार्यमा थालनी गर्न ऊर्जा प्रदान गर्नेछ । मान प्रतिष्ठा वृद्धि भै आकर्षक सवारी साधनप्रति लालायित भइनेछ । कार्य व्यस्ततामा वृद्धि भै मानसिक तनाव हटाउन भ्रमण तथा योगाभ्यास गरी मुक्त भइनेछ ।

वृश्चिक 

पारिवारिक भेटघाटले रमाइलो पूर्वक दिनहरू बित्नेछन् । आफूले गरेको कार्यक्षेत्रमा बोझिलो कार्यभार आइलाग्न सक्छ । पैत्रिक धन खर्च गरी सवारी साधन खरीद गर्न आकर्षित भइनेछ । योजनाभन्दा बढी खर्च हुनाले सहकर्मीबीच विवाद बढ्न सक्छ । घरायसी कामका विषयमा भने रुचि घट्नेछ । 

धनु 

सहपाठी मित्रहरूको सुझावबाट अघि बढिनेछ । आफूसँग भएका क्षमता प्रर्दशन गर्ने क्रममा मन मिल्ने साथीको मार्गदर्शन अवलम्बन गर्नुहोला । अभिभावकहरूले व्यवहारिक जिम्मेवारी दिलाउनेछन् । ठूला खाले आर्थिक कारोबार नगर्दा नै सुरक्षित भइनेछ । प्रतिष्ठित व्यक्तिको सहयोग प्राप्त भै झिनामसिना समस्याको गाँठो फुक्नेछ । 

मकर

 गल्ती सच्याउनाले सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिकाको अवसर पुन:  प्राप्त भै टाढिएका साथीभाइहरू नजिकिनेछन् । नयाँ अवसरका लागि शक्तिशाली व्यक्तिसँग प्रतिस्प्रर्धा हुन सक्छ । सोचेको लक्ष्य प्राप्त गर्न थप मेहनतको जरुरी पर्नेछ । सातको अन्त्यमा स्वास्थ्यमा विशेष ध्यान पुऱ्याउनुहोला । 

कुम्भ 

प्रेमिकाको समर्थनले सञ्चालित व्यवसाय उचाइ लिँदै थप मुनाफा आर्जन गर्न केही समय कुर्नुपर्नेछ । सामाजिक संघसंस्थामा सेवा गर्दा सके सम्म कम बोल्नु आफ्नो हितमा हुन्छ  । पेटसम्बन्धी समस्याले पिरोल्न सक्छ । बाहिरी खानेकुरा खाँदा विचार पुर्‍याउनुहोला । साताको अन्त्यमा अभिभावकको प्रेरणा तथा हौसललाले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ ।

मीन 

कार्यव्यस्ततामा रुमल्लिँदा प्रेमिका चिढिन सक्छिन्, ध्यान दिनुहोला । रोजगारीका नयाँ अवसर हात पार्न थप मेहनत गर्नुपर्नेछ । विपक्षीको छलकपट र जालझेलमा भने सावधानी अपनाउनुपर्नेछ । व्यवसाय सञ्चालनमा यथाकदा अवरोध तथा कठिनाइ भने महसुस हुनेछन् । सप्ताहन्तमा भोजभतेरमा सहभागिताको निमन्त्रणा पाइनेछ ।

 

प्रकाशित :मंसिर २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्