एचआईभी संक्रमितको शुक्रकिट र एचआईभी

- डा. राजेन्द्र भद्रा

मंसिर २१, २०७४-

एचआईभी संक्रमितको शुक्रकिट निल्दा एचआईभी हुन्छ कि हुँदैन ? 

                                                                                      - ०९४७

तपाईंको प्रश्नको जवाफ दिइहाल्नुभन्दा पहिले विभिन्न यौन क्रियाकलाप र त्यसको एचआईभी सर्ने जोखिमका बारेमा कुरा गरौं ।

 यौन क्रियाकलाप र एचआईभी सर्ने जोखिम 

यौनसम्पर्कवाट एचआईभी सर्ने कुरा धेरैलाई थाहा भएकै हो, तर यहाँ विभिन्न यौन क्रियाकलापअनुसार एचआईभी सर्ने जोखिम पनि फरक–फरक हुन्छ । सामान्यत: यस्तो जोखिम विशेष गरी हाम्रो शरीरबाट निस्कने तरल वस्तुको प्रकार र त्यसको सम्पर्कमा कत्तिको आइन्छ भन्ने आधारमा गरिन्छ । 

१. हाम्रो शरीरको तरल पदार्थ एक–अर्काको सम्पर्कमा नआउने किसिमको क्रियाकलापमा एचआईभी सर्ने सम्भावना हुँदैन, त्यसैले त्यसलाई जोखिम नभएको मानिन्छ । सुख्खा चुम्बन, अन्य कुनै चिल्लो पदार्थ प्रयोग गरेर साथीले गरिदिएको हस्तमैथुन वा स्वस्थ छालामा दिसा वा पिसाबको सम्पर्क यसका उदाहरण हुन् । 

२. अर्को थरी जसमा सैद्धान्तिक रूपमा एचआईभी सर्ने सम्भावना भए पनि वास्तविक रूपमा एचआईभी सरेको कुनै घटना नभए त्यसलाई सैद्धान्तिक जोखिम भनिन्छ । थूकको सम्पर्क हुने गरी गरिने चुम्बन, कन्डम लगाएर गरिएको मुखमैथुन, औंला यौनांगमा पसाउनु, यौनांगबाट आएको रसको सम्पर्कमा आउने गरी साथीबाट गरिएको हस्तमैथुन यसका उदाहरण हुन् । 

३. रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने भए पनि थोरैलाई मात्र यसरी सर्ने गरेको देखिएको यौन क्रियाकलापलाई कम जोखिमपूर्ण भनिन्छ । कन्डम नलगाई गरिएका मुखमैथुन वा कन्डम लगाई गरिएका योनि तथा गुदामैथुन यसका उदाहरण हुन् । 

४. रगत, वीर्य वा योनिरसको सम्पर्कमा आइने र धेरैलाई सर्ने गरेको देखिएको यौन क्रियाकलापलाई धेरै जोखिम पूर्ण भनिन्छ । कन्डम नलगाई गरिएका योनि तथा गुदामैथुन यसका उदाहरण हुन् । 

के एचआईभी भएको व्यक्तिको शुक्रकीट निल्दा के एचआईभी हुन्छ ? 

पहिलो कुरा त शुक्रकीट भन्नुभए पनि वीर्य भन्नुभएको हुनुपर्छ । वीर्य र शुक्रकीट फरक कुरा हुन्, तर यो पक्कै हो कि वीर्यमा शुक्रकीट हुन्छ । एचआईभी हुन्छ कि हुँदैन भनेर सोध्नुभए पनि तपाईंको जिज्ञासा एचआईभी संक्रमित व्यक्तिको व्यक्ति वीर्य निल्दा निल्ने व्यक्तिलाई एचआईभी सर्छ कि सर्दैन भन्ने हो भनेर जवाफ दिने प्रयास गरेको छु ।

माथि चर्चा गरिएका यौनक्रियाकलाप र त्यसको एचआईभी सर्ने जोखिमबारेमा पढेपछि तपाईंले पक्कै पनि आफ्नो क्रियाकलापलाई कत्तिको जोखिममा पर्दो रहेछ भन्ने कुरा थाहा पाइसक्नुभयो होला । एचआईभी पेटमा पुगेपछि त्यहाँको एसिडको सम्पर्कमा आउँदा बाँच्ने स्थिति नै रहँदैन, तर यहाँ विचार गर्नुपर्ने अर्को कुरा छ । तपाईंले कचौरा वा चम्चामा राखिएको वीर्यपान गर्नुभएको त पक्कै पनि होईन होला भन्ने ठानेको छु । वीर्यपान गर्ने स्थिति सामान्यत: मुखमैथुन गर्दा आउँछ । मुखमैथुन भन्नाले निम्न सबै प्रकारका मुखमैथुनलाई बुझ्नुपर्छ— १. लिङ्ग–मुख मैथुन, २. योनि–मुख मैथुन र ३. गुद्द्वार–मुख मैथुन । 

तर तपाईंले भन्नुभएजस्तो स्थिति लिङ्ग–मुख मैथुन गर्दा आउँछ । वीर्य मुखमा रहँदा यसमा भएको एचआईभी सर्न सक्ने भएकाले थोरै भए पनि सर्ने सम्भावना हुन्छ । विशेष गरेर मुखमा कुनै चोटपटक, घाउ वा गिजासम्बन्धी रोग छ भने सर्ने सम्भावना बढी हुन्छ । 

कसरी मुखमैथुनलाई सुरक्षित बनाउन सकिन्छ ?

लिङ्ग–योनि मैथुनलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर धेरै चर्चा गरिए पनि लिङ्ग–मुख मैथुनलाई सुरक्षित कसरी बनाउने भन्ने सन्दर्भमा भने कमै चर्चा भएको पाइन्छ । यहाँ केही मुख्य सावधानीका बारेमा चर्चा गरौं । 

मुखमा चोटपटक वा घाउ छ भने मुखमैथुन गर्नु हुँदैन । त्यसैगरी गिजाको कुनै रोग वा त्यसबाट रगत आउने वा सुन्निएको छ भने पनि मुखमैथुन गर्नु भएन । यौन साथीको लिंगमा कुनै घाउ छ भने पनि त्यसको सम्पर्कमा आउने कार्य गर्नु हुँदैन । मुखमैथन गर्नुअघि दाँतलाई फ्लस गर्ने वा दाँत माझ्ने गर्नु हुँदैन । वीर्यलाई मुखमा धेरै बेर राख्नु उचित हुँदैन, यसले सर्ने सम्भावनालाई बढाउँछ । कन्डमको प्रयोग गर्नु राम्रो हुन्छ । अचेल मुखमैथुनको लागि भनेर सुगन्धित कन्डम पनि पाइन्छन् । 

प्रकाशित :मंसिर २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्