अनौठो एभिएसन म्युजियम

- नरेन्द्र रौले

मंसिर २१, २०७४-

 

काठमाडौंको सिनामंगलमा एभिएसन म्युजियम सञ्चालनमा आएको छ । यो नमुना म्युजियम हेर्न मानिसहरू ओइरिन थालेका छन् । टर्किस एयरको एयरबस–३३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धस्सिएपछि काम नलाग्ने भएर थन्किएको थियो । करिब २५ अर्ब ६४ करोड रुपैयाँ पर्ने उक्त अत्याधुनिक एयरबस जम्मा आठ महिना मात्र उडेको थियो । 

४ सय ४० जना यात्रु बोक्न सक्ने उक्त वाइड बडी विमान २०७१ फागुन २० गते त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेर ग्राउन्डेड भएको थियो । त्यही जहाजलाई विमान चालक वेद उप्रेतीले म्युजियममा परिणत गरेका हुन् । क्याप्टेन उप्रेतीले नै दुई वर्षअघि कैलालीको धनगढीमा डेढ करोड रुपैयाँको लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा ल्याएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग सहकार्य गरेर क्याप्टेन उप्रेतीको ट्रस्टले उक्त एभिएसन म्युजियम सञ्चालनमा ल्याएको हो । यो म्युजियम बनाउन झन्डै ७ करोड रुपैयाँ खर्च भएको उप्रेतीले बताए । म्युजियम अवलोकन गर्ने क्रममा एउटा वृत्तचित्र पनि देखाइन्छ, जसमा यो म्युजियम कसरी बन्यो, त्यसका प्राविधिक पक्ष, म्युजियम सुरु गर्ने क्याप्टेन उप्रेतीको सोच, सपना आदि देखाइन्छ । 

यो विमानलाई विमानस्थलबाट संग्रहालय बनाइएको स्थानसम्म पुर्‍याउन थुप्रै स्वदेशी तथा विदेशी प्राविधिकहरू चार महिनाजति खटेका थिए । यो एभीएसएन म्युजियम अहिलेको यो रूपसम्म आउन भने नौ महिना लाग्यो । विमान खोल्न र जोड्न मात्र १ लाख अमेरिकी डलर खर्च भएको क्याप्टेन उप्रेतीले बताए । मुलुकमा दक्ष पाइलटको आवश्यकता रहेको बताउँदै उनले युवा पुस्तालाई यो क्षेत्रमा आकर्षित गर्न म्युजियमले महत्वपूर्ण भूमिका खेल्ने दाबी समेत गरे । यो म्युजियम घुम्दा हवाईजहाजको इतिहास, उड्ययन क्षेत्रको वर्तमान अवस्था, भविष्यका सम्भावना एवं चुनौतीहरूका बारेमा जानकारी लिन सकिन्छ । 

 

यो संग्रहालयले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने क्याप्टेन उप्रेतीले अपेक्षा गरेका छन् । उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्न तथा पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन संग्रहालय स्थापना गर्न चाहेको हुँ । क्याप्टेन उप्रेती भन्छन्— युवापुस्तालाई नागरिक उड्डयनतर्फ आकर्षित गर्न यो काम आवश्यक थियो । सिनामंगलस्थित क्यानको ८ हजार वर्गफिट जग्गामा निर्मित यो म्युजियम दसवर्षे साझेदारीअन्तर्गत सञ्चालनमा ल्याइएको हो । इन्डोनेसियाली विमान सेवा लायन एयरका क्याप्टेन तथा प्रशिक्षक उप्रेतीकै पहलमा यो म्युजियमको छेउमा नेपालको फिस्टेल एयरको हेलिकप्टर संग्रहालय पनि छ, जहाँ बसेर आगन्तुकहरूले सेल्फी खिच्न सक्छन् । 

के–के छ यो म्युजियमभित्र ?

यो म्युजियमभित्र सातवटा हल छन् । हरेक हलभित्र फरक–फरक वस्तु अवलोकन गर्न सकिन्छ । ढोकाबाट प्रवेश गर्नेबित्तिकै क्याप्टेन उप्रेतीले हवाईजहाजबाट खिचेका सुन्दर तस्बिरहरू लहरै सजाइएको छ, जसमा एभिएसनको इतिहास, नेपालका महत्वपूर्ण प्राकृतिक तथा धार्मिक स्थलका तस्बिरहरू छन् । त्यस्तै राइट ब्रदर्सको समयदेखि अहिलेसम्म नागरिक उड्डयनका लागि बनेका ३ सय ५० भन्दा बढी विमानका ढाँचा, मोडल एयरक्राफ्ट, एयरबस–३३० को ग्लास ककपिट, आधुनिक युद्धक विमान, नेपालको हवाई सेवा तथा नेपाली आकाशमा उडेका जहाजहरूको नमुना राखिएको छ । अवलोकन गरेर निस्कने बेला एउटा क्याफे छ, जहाँ बसेर चिया, कफी पिउँदै केही बेर सुस्ताउन सकिन्छ । यही विमानभित्र रहेको जुम्ला हलमा सभा, सम्मेलनसमेत गर्न सकिन्छ । 

खर्च कति लाग्छ ?

हरेक दिन बिहान १० देखि साँझ ५ बजेसम्म खुला रहने यो संग्रहालय अवलोकनका लागि नेपालीले ३ सय तथा विदेशीले ६ सय रुपैयाँ शुल्क तिर्न पर्छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले भने नि:शुल्क प्रवेश पाउँछन्, तर त्यसका लागि विद्यार्थी परिचयपत्र अनिवार्य हुनुपर्छ । अन्य विद्यार्थीलाई परिचयपत्रका साथमा आउँदा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । प्रारम्भिक एक महिनाका लागि विद्यार्थीले १ सय २५ रुपैयाँमै संग्रहालय अवलोकन गर्न सक्ने क्याप्टेन उप्रेती बताउँछन् ।

 

प्रकाशित :मंसिर २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्