गठबन्धनबाट सिक्ने कुरा

- मनोज गजुरेल

मंसिर २१, २०७४-

आउनुहोस्, आज ‘गठबन्धन’को गजुरियल विश्लेषण गरौं । प्रसंग काङ्, खाङ्, सबै गठबन्धनको हो, वाम गठबन्धको मात्र होइन । काङ्ग्रेस र बाबुराम गठबन्धनको कुरा हो । अशोक राई र उपेन्द्र यादवको गठबन्धनको कुरा हो । राजावादी राप्रपा र जनवादी जनमोर्चाको कुरा हो । डन र धनको, गन र जनको गठबन्धनको कुरा पनि हो यो ।

गठबन्धनलाई तीन प्रकारले हेर्नुपर्छ— चुनावी, सुनामी र गुनामी । चुनावी गठबन्धन चुनावसम्म हुन्छ । सुनामी चुनावअघि नै टुट्न सक्छ । गुनामी गठबन्धनले धेरैलाई धेरै खालका गुन लगाउँछ । अहिलेको गठबन्धन गुनामी गठबन्धन हो । यसलाई गुनकै हिसाबले बुझ्नुपर्छ ।

गठबन्धनले सबैभन्दा ठूलो गुन त जनतालाई लगाएको छ । त्यो के भने राजनीतिप्रति जनताको जुन खालको बुझाइ थियो, त्यसलाई परिवर्तन गरिदिएको छ । केही समयअघिसम्म ओली र प्रचण्डबीच ‘वाकयुद्ध’ चल्थ्यो ।

उनीहरूबीचको वाकयुद्ध सुन्दा यस्तो लाग्थ्यो, अब देशमा ‘वामयुद्ध’ सुरु हुनेवाला छ, तर चमत्कार नै भयो । ओली र प्रचण्ड रातारात मिलेपछि कार्यकर्ता पनि मिलेझैं गर्नैपर्‍यो । कार्यकर्ता मिलेपछि जनताले पनि पत्याउनैपर्‍यो । यो गठबन्धनको सबैभन्दा ठूलो फाइदा जनतालाई भएको गजुरियल बुझाइ छ ।

कसरी ? कसरी भने जनतालाई भ्रम थियो— राजनीतिमा अडान हुन्छ, मतभिन्नता हुन्छ, एजेन्डा हुन्छन्, तर रातारात एमाले र माओवादी गठबन्धन भएपछि जनताले के कुरा प्रस्ट रूपमा बुझे भने राजनीतिमा जे पनि हुन सक्दो रहेछ । राजनीतिमा जे पनि हुन्छ भने जनताले किन मेरो पार्टी र तेरो पार्टी भनेर विभाजित हुनुपर्‍यो ? स्वविवेक प्रयोग गरेर जुन पार्टीमा गए पनि हुन्छ । जसलाई भोट हाले पनि हुन्छ भन्ने शिक्षा दुई ध्रुवका दुई ठूला पार्टीको गठबन्धनले दिएको गजुरियल ठम्याइ छ ।

चुनावमा गठबन्धनको महत्व हुन्छ । सरकार बनाउने र ढाल्ने बेला पनि यसको आफ्नै महत्व हुन्छ । विरोधीलाई सिध्याउन र प्रतिस्पर्धीलाई बिताउन गठबन्धनले अहम् भूमिका खेल्छ, तर गठबन्धनले डन समात्ने पुलिस र डन भनिने फुलिसलाई पनि एउटै कित्तामा राख्ने कुराचाहिँ चानचुने शिक्षा होइन । यसबाट हामीले सिक्न सक्छौं, राजनीतिमा खराब र इमान्दार दुवैको हैसियत एउटै हुँदो रहेछ ।

पार्टीहरूको गठबन्धन तत्कालीन फाइदाका लागि हो, तर यसको शिक्षाले जनतालाई दीर्घकालिन फाइदा पुग्ने गजुरियल ठम्याइ छ । दुई दिनअघिसम्म एमालेको नजरमा माओवादी घनघोर लम्पसारवादी थियो । माओवादीको नजरमा एमाले खोक्रो राष्ट्रवादी थियो । केपी ओली र प्रचण्डहरू एक–अर्काका सबैभन्दा ठूला विरोधीझैं लाग्थ्यो । वामदेव–प्रचण्डको एक भेटमै त्यो बुझाइ सिसाको घरझैं झर्‍याम्–झुरुम् भयो । माथि त्यस्तो हुन्छ भने तलका कार्यकर्ताहरूले आफ्ना नेताका लागि ज्यान दिन जरुरी छैन भन्ने शिक्षा हामीले यो गठबन्धनबाट लिन सक्ने गजुरियल ठम्याइ छ ।

सबैलाई थाहा भएकै कुरा हो, बाबुराम भट्टराई कट्टर कम्युनिस्ट थिए । नेपाली कांग्रेस स्पष्ट प्रजातान्त्रिक पार्टी अर्थात् कट्टर कम्युनिस्टविरोधी पार्टी । ती परस्पर विरोधीहरू अहिले गोरखामा सबैभन्दा नजिकका मित्र हुन पुगेका छन् । बाबुराम–कांग्रेस गठबन्धनको सबैभन्दा ठूलो शिक्षा भनेको राजनैतिक सिद्धान्तको जुनसुकै बेला अन्त्य हुन सक्छ ।

यी त देखिएका गठबन्धन भए । तपाईं–हामीले नदेखेका अनौठा–अनौठा गठबन्धन पनि भएका छन् भित्रभित्रै । ‘शत्रुको शत्रु मेरो मित्रु’ भन्ने सिद्धान्तका आधारमा महाशत्रुहरूको गठबन्धन भैरहेको छ । ‘चोर डाँका भाइ–भाइ’का आधारमा गठबन्धन भैरहेको छ । ‘भट्टीको साथी मेरो पनि साथी’ भन्दै गठबन्धन भैरहेको छ ।

गठबन्धन गर्दा अडान, आदर्श तथा इमानदारिता जरुरी छैन । हामीले गठबन्धनहरूबाट सिक्नुपर्छ, राजनीतिमा जतिबेला पनि जे–सुकै हुन सक्ने भएकाले कसैप्रति अति आशक्त वा आक्रामक हुनु स्वास्थ्यका लागि हानिकारक छ ।

प्रकाशित :मंसिर २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्