विश्वकपमा नदेखिने ठूला देश र स्टार

- साप्ताहिक संवाददाता

मंसिर १९, २०७४-

चर्चा विश्वकपमा छनौट भएका देश र तिनका स्टार खेलाडीको मात्र हुँदैन, उत्तिकै चर्चा विश्वकप गुमाउने ठूला देश र स्टारको पनि हुन्छ । सबैलाई प्रस्ट थाहा छ, विश्वकपमा सबै देश छनौट हुन सक्दैनन्, चाहे त्यो जत्तिकै ठूलो फुटबल महाशक्ति नै किन नहोस् । यी देशका समर्थकसामु आउने विश्वकप घरमै हेर्नेबाहेक अरू विकल्प हुनेछैन र यी देश साँच्चै विश्वकप अन्तिम चरण किन पुग्न सकेनन् भनेर पनि उत्तिकै विश्लेषण भैरहेको छ । 

आउने विश्वकप गुमाउने तीन ठूला फुटबल शक्ति हुन्— इटाली, नेदरल्यान्ड्स र चिली । विश्वकप इतिहासमा ब्राजिल र जर्मनीको जत्ति गर्विलो इतिहास छ, त्यत्तिकै बराबरको प्रदर्शन इटालीको पनि छ, तर यही देश आउने विश्वकपमा देखिनेछैन । स्वीडेनविरुद्धको युरोपेली प्ले–अफमा पराजित भएपछि इटाली रूस नजाने भएको हो । दुई लेगको खेल इटालीले १–० ले गुमाएको थियो । यसअघि समूह चरणमा इटाली स्पेन सम्मिलित समूहमा दोस्रो मात्र हुन सक्यो । 

प्रश्न उठ्ने गरेको छ, के इटालीको फुटबल ओरालो लागेको हो त ? एउटा तथ्य के निश्चित छ भने विश्वका अब्बल दर्जाका खेलाडीका लागि अचेल स्पेन पहिलो गन्तब्य रहने गरेको छ, उनीहरू स्पेन जान चाहन्छन् अथवा ला लिगामा खेल्न चाहन्छन् । होइन भने इंग्ल्यान्ड जान्छन्, प्रिमियर लिगमा खेल्न । घरेलु लिगले त्यस देशको फुटबल स्थिति कस्तो छ, त्यो देखाउँछ । यसपटकको विश्वकप छनौट यात्रामा इटालीको कमजोर प्रदर्शनका पछाडि प्रशिक्षक जियान पिएरो भेन्टुराको कमजोरी सबैभन्दा ठूलो कारण मानिएको छ । 

उनले इटालीका लागि निश्चित रणनीति नै तय गर्न सकेनन् । यस्तै स्थिति नेदरल्यान्ड्सका पनि छ । नेदरल्यान्ड्ले विश्वकप त जितेको छैन, तर यो देशले दुईपल्ट विश्वकप फाइनल खेलेको छ । नेदरल्यान्ड्स नै त्यो देश हो, जहाँबाट ‘टोटल फुटबल’ को रणनीति सुरु भएको थियो । एक समयमा यो रणनीतिले काम त निकै गरेको थियो, अचेल यो काम लाग्न छाडेको छ । त्यसैले पनि डच फुटबल अब पहिले जस्तो रहेन भनिन्छ र अहिलेसम्म पनि यो देशले ‘टोटल फुटबल’ कै वरिपरि रहेर खेल्छ । 

नेदरल्यान्ड्स यसै कारण पछिल्लो युरोमा पनि छनौट हुन सकेको थिएन । यी त भए, युरोपका दुई देश । दक्षिण अमेरिकाबाट छुटेको सबैभन्दा ठूलो फुटबल शक्ति हो, चिली । चिली के अर्थमा भन्दा यो देश कोपा अमेरिकाको दुई पटकको डिफेन्डिङ च्याम्पियन हो । दुवै अवसरमा फाइनलमा चिलीले अर्जेन्टिनालाई हराएको थियो, तर उसको यसपटकको विश्वकप छनौट भने सुमधुर रहेन र टिमले लगातार खराब खेल्यो । नतिजा चिलीलाई आउने विश्वकपमा देख्न पाइनेछैन । 

एसियाबाट लगभग सबै अपेक्षित टिमले नै रूसको यात्रा तय गरे, कुनै पनि ठूला टिम चुकेनन् । बरु अफ्रिकाबाट केही ठूला टिमले विश्वकप यात्रा गर्न सकेनन्, जस्तो क्यामरुन, आइभरिकोस्ट, अल्जेरिया र घाना । यस्तै कन्काकाफबाट अमेरिका । यहाँनिर एउटा ठूलो संयोग तयार हुन्छ, आउने विश्वकपमा तीन महादेश विजेता देखिने छैनन् । यी भनेका, दक्षिण अमेरिकी च्याम्पियन चिली, अफ्रिकी च्याम्पियन क्यामरुन अनि उत्तर अमेरिकी च्याम्पियन अमेरिका । 

जहाँसम्म आउने विश्वकपमा नदेखिने स्टार छन्, त्यसमा सबैभन्दा अगाडि हुनेछन्, इटालीका गोलरक्षक जियानलुगी बुफोन । उनी लामो समय इटालीको फुटबलको आधार स्तम्भ रहे । उनकै उत्कृष्ट प्रदर्शनको मदतले इटालीको राष्ट्रिय टिमले धेरै सफलता पनि चुम्यो, तर आफ्नो खेल जीवनको अन्त्यतिर विश्वकप खेल्ने उनको सपना भने पूरा भएन् । विश्वकपमा छनौट हुन नसकेको पीडा उनमा कति धेरै देखियो भने उनले स्विकारे, म विक्षिप्त जस्तै भएको छु ।

डिफेन्सका तीन ठूला स्टार पनि आउने विश्वकपमा देखिने छैनन्, उनीहरू हुन्, आइभरीकोस्टका सर्गी एउर, इटालीका बोनुची चिचिलिनी र अल्जेरियाका घाउलम । मिडफिल्डतिर छुट्ने ठूला स्टार पनि तीन जना आँक्न मिल्छ र उनीहरू हुन वेल्सका गेराथ बेल, चिलीका अर्टुरो भिडाल र बोस्नियाका मिर्लेम पिजनिच । बेलले रियल म्याड्रिड, भिडाजले बायर्न म्युनिख र पिजनिचले युभेन्ट्सका लागि गज्जब खेलिरहेका छन्, तर उनीहरूको टिमले विश्वकपको यात्रा तय गर्न सकेन् । 

अगाडि फरवार्डमा छुट्ने सबैभन्दा ठूला नाम हुन्, आर्जेन रोबिन । नेदरल्यान्ड्स विश्वकपमा छनौट हुन नसकेपछि रोबिन पनि स्तब्धजस्तै बने र तुरुन्तै निर्णय गरिहाले, अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने । डच टिम युरो र विश्वकप दुवैमा छनौट हुन नसके पनि रोबिनले बायर्न म्युनिखका लागि उस्तै जादुयी खेल पस्किरहेका छन् । खासमा डच टिमको लगातार असफलताले उसको अहिलेको एक पुस्ताका खेलाडी नै अन्तर्राष्ट्रिय फुटबलबाट हराएर जाने स्थितिमा पुगेको छ । 

आर्सनलका प्रमुख अस्त्र रहेका एलेक्सी सान्चेजको चिली पनि छनौट हुन सकेन, त्यसैले यी स्टार खेलाडी पनि आउने विश्वकपमा अनुपस्थित नै रहने छन् । आर्सनलसँग खराब सम्बन्धका कारण उनले नयाँ क्लब रोज्ने छन् भनेर उनका पछाडि युरोपकै प्रमुख क्लब लागिपरेका छन् तर पनि यी खेलाडी रूस जाने छैनन् । यस्तै स्थिति बोर्सिया डर्टमन्डका पिएरे एमिरिक अबमेयाङको पनि हुनेछ । उनी ग्याबोनका स्टार खेलाडी हुन् । अफ्रिकी विश्वकप छनौटमा ग्याबोनको प्रदर्शन खराब रह्यो । 

छनौट भएका देशहरू

एक वर्षपछि रूसमा हुने विश्वकपमा खेल्न सबै ३२ देशको निर्णय भैसकेको छ । रूसले आयोजक देशका रूपमा खेल्ने अवसर पाएको हो । त्यसैले उसले छनौट खेल्नु परेन । छनौट नै खेलेर डिफेन्डिङ च्याम्पियन जर्मनी भने विश्वकप अन्तिम चरणको टिकट काट्न सफल रह्यो । ब्राजिल भने एक मात्र यस्तो देश रह्यो, जसले अहिलेसम्म सबै विश्वकपमा खेलेको छ । यसपटकको छनौटमा कुल २ सय १० देश सहभागी रहे, उनीहरूले कुल ८ सय ७२ खेल खेले । 

युरोप

रूस (१०), फ्रान्स (१४), पोर्चुगल (६), जर्मनी (१८), सर्बिया (११), पोल्यान्ड (७), इंग्ल्यान्ड (१४), स्पेन (१४), बेल्जियम (१२), आइसल्यान्ड (पहिलो पटक), स्विट्जरल्यान्ड (१०), क्रोएसिया (४), डेनमाक (४) र स्वीडेन (११)

दक्षिण अमेरिका

ब्राजिल (२०), उरुग्वे (१२), अर्जेन्टिना (१६), कोलम्बिया (५) 

र पेरु (४)

एसिया

इरान (४), जापान (५), दक्षिण कोरिया (९), साउदी अरेबिया (४) र अस्ट्ेरलिया (४)

अफ्रिका

ट्युनिसिया (४), नाइजेरिया (५), मोरक्को (४), सेनेगल (१) 

र इजिप्ट (२)

कन्काकाफ क्षेत्र

मेक्सिको (१५), कोस्टारिका (४) र पानामा (पहिलो पटक)

(कोष्टभित्रको अंकले सम्बन्धित देशको विश्वकप फाइनल चरणको सहभागिता संख्या जनाउँछ) ।

 

प्रकाशित :मंसिर १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्