युवाहरूमा सामाजिक सञ्जाल मोह

- लक्ष्मी भण्डारी थापा

मंसिर १९, २०७४- 

 

हिजोआजका केटाकेटीहरूलाई चौबीसै घण्टा मोबाइल, आइप्याड, ट्याब वा कम्प्युटरमार्फत सामाजिक सञ्जालहरूमा घोत्लिएको देखेर कतिपय अभिभावकको गुनासो हुन्छ— अब यो बिग्रिने भै वा बिग्रने भयो । यद्यपि विश्वलाई नै एउटा सानो गाउँ बनाइदिने क्षमतायुक्त सामाजिक सञ्जालको प्रयोग युवाहरूका लागि घातक वा हानिकारक मात्र छैन, यसले उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने क्षमतासमेत राख्छ र अहिलेका युवाहरू यसरी नै आफूहरूद्वारा यसको प्रयोग भैरहेको दाबी गर्छन् । सामाजिक सञ्जालबाटै ज्ञान आर्जन एवं सेयरिङ गर्ने कुरामा पछिल्लो पुस्ता निकै अगाडि छ । 

लिभरपुल कलेजमा १२ कक्षामा अध्ययनरत करिना भट्टराई सामाजिक सञ्जाल युवाहरूका लागि निकै प्रभावकारी भएको बताउँछिन् । यसबाट प्राप्त राष्ट्रिय–अन्तर्राष्ट्रिय समाचारले हामीलाई सुसूचित गर्नुका साथै अलर्ट पनि राख्छ । सही प्रयोग गर्न सकियो भने करियरका लागि यो एउटा राम्रो प्लेटफर्म पनि हो । भट्टराईका अनुसार नचिनेका व्यक्तिले फ्रेन्ड रिक्वेस्ट पठाए भने म्युचुअल फ्रेन्ड्स र उसको प्रोफाइल हेरेर मात्र एसेप्ट गर्नुपर्छ । यसरी आएका सबै रिक्वेस्ट फ्रड हुन्छन् भन्ने छैन, कतिपय त जेन्युइन पनि हुन सक्छन् । यदि कसैले सामाजिक सञ्जालमा जिस्क्याउने, होच्याउने, हेप्ने आदि काम गर्छ भने त्यस्तालाई अभोइड गर्नुपर्ने करिना बताउँछिन् । राम्रो–नराम्रो आफू स्वयंले छुट्याउने हो । भट्टराई भन्छिन्– नराम्रा कुरालाई बेवास्ता गर्दै राम्रा कुरालाई लिएर अघि बढ्ने हो । यसरी प्रयोग गर्न सकियो भने सामाजिक सञ्जाल युवाहरूका लागि लाभदायक छ । 

पिनाकल एकेडेमीमा १२ कक्षामा अध्ययनरत सरुन महर्जन सोसल नेटवर्कमा सूचना र समाचारमा बढी केन्द्रित हुने बताउँछन् । उनलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय खबरमा निकै चासो छ । सामाजिक सञ्जालकै माध्यमद्वारा नै उनले सानै उमेरमा आफूलाई जीवजन्तुका स–साना कुरादेखि ज्ञान–विज्ञानका विविध आयाममा सुसूचित पनि बनाइसकेका छन् । यदि यो हुँदैनथ्यो भने हामी संसारबाटै बेखबर हुने थियौं ।

आफ्ना सन्तान सामाजिक सञ्जालमा के कुराका लागि जोडिन चाहन्छन् भन्ने बुझेर सोही अनुरूप अभिभावकले ट्रिट गर्नुपर्ने बताउँदै महर्जन भन्छन्— परीक्षाका बेलाबाहेक आम समयमा मेरा अभिभावकले सामाजिक सञ्जाललगायत शिक्षा, समाचार तथा मनोरञ्जक च्यानलसँग जोडिने कुरामा रोक लगाउनुभएको छैन । यसका नकारात्मक पक्षमा भने शिक्षक तथा अभिभावकहरूले गाइडेन्स गर्नुपर्छ र हामी युवाले पनि उहाँहरूको मार्गनिर्देशनलाई बुझेर अघि बढ्नुपर्छ । 

कुसुन्तीका सुधांशु डोटेल विगत पाँच वर्षदेखि सामाजिक सञ्जालसँग जोडिँदै आएका छन् । फेसबुक, भाइबर, इमो, इन्टाग्राम आदि चलाउने डोटेल विशेषत: यसमार्फत सञ्चार–संवादमा सक्रिय रहने बताउँछन् । घुम्न रुचि राख्ने डोटेललाई सोसल नेटवर्क नयाँ–नयाँ ठाउँको यात्रा गर्न निकै सहयोगीसिद्ध भएको छ । म मुख्यत: युट्युबमा बढी समय बिताउँछु । नयाँ लेखकका ब्लग, पाठ्यक्रमसँग सम्बन्धित भिडियोलगायत मोटिभेसनल सामग्रीद्वारा आफूले धेरै कुरा सिकेको बताउँदै सुधांशुले भने– व्यक्तिगत रूपमा भन्नुपर्दा यसले मलाई एकदमै ब्रोड माइन्डेड बनाएको छ । सामाजिक सञ्जालले संसारलाई निकै साँघुरो पनि बनाइदिएको छ । पहिले–पहिले साथीभाइ विदेश गए सधैंका लागि टाढिएझैं लाग्थ्यो, तर अहिले यसैका कारणले दूरी लामो लाग्दैन, सँगै छौं जस्तो हुन्छ । 

लिभरपुल कलेजकै प्लस टु की छात्रा अभिश्री प्रसाईं सोसल नेटवर्कले ग्लोबल भिलेज क्रिएट गरेको तर्क गर्छिन् । अन्तरमुखी स्वाभावकका कतिपय युवा आफ्ना कुरा खोल्न गाह्रो मान्छन् । त्यस्ता व्यक्तिहरूका लागि म्यासेन्जर, भाइबर च्याट उपयुक्त माध्यम हुन सक्छन्, जसले नि:शुल्क परामर्शको काम गर्नुका साथै उत्साहित र प्रेरितसमेत गर्छन् । हाइकु लेखनमा रुचि राख्ने प्रसाईंलाई सोसल नेटवर्कले नै सक्रिय लेखिका बनाएको छ । आफूले लेखेका हाइकुमा प्राप्त कमेन्टहरूले प्रसाईंलाइ थप उत्साह प्रदान गर्छन् । म बढी महिला सशक्तीकरणका पेजमा जान्छु जहाँ विविध समस्या सामाधानका उपाय पाइन्छ र आफूले पनि अरूलाई सिकाउन सकिन्छ । प्राय: युवतीहरू सामाजिक सञ्जालकै कारण विभिन्न हिंसामा समेत पर्ने घटना पनि देखिएकाले यस्ता विषयमा आफैं सजग हुनुपर्ने कुरा बताउँदै प्रसाईं भन्छिन्– प्राउड टु बी लिभरपुलियन नामक मेरो कलेजको आधिकारिक पेजमा मैले केही कुरा पोस्ट गर्दा थुप्रै नकारात्मक कमेन्टको सामना गर्नुपर्‍यो । मेरो हाइकुमा उल्लेखित शब्दलाई नकारात्मक रूपमा व्याख्या गर्दै त्यस्ता प्रतिक्रिया लेखिएका थिए, जुन मेरो सोचभन्दा परको कुरा थियो । त्यसले मलाई आफूप्रति दुव्र्यवहार गरिएको महसुस भयो । पछि साथीभाइको सहयोग एवं मोटिभेसनले म नर्मल भएँ । मलाई लाग्छ सोसल नेटवर्कभित्रका यी पक्षबाट आफू स्वयं सजग र सचेत हुनुपर्छ ।

मीनभवन बस्ने सन्दीप खतिवडा दैनिक १ घण्टा सामाजिक सञ्जाललाई छुट्याउँछन् । उनलाई युट्युबका मोटिभेसनल भिडियोमा बढी रुचि छ । ज्ञान, मनोरञ्जन एवं उत्प्रेरणाका लागि आफू सामाजिक सञ्जालमा जोडिएको बताउने खतिवडा मुख्यत: पुराना भिडियोहरूबाट संसारका इतिहास थाहा पाइने, त्यसबाट थुप्रै ज्ञान आर्जन गर्न सकिने तर्क गर्छन् । गुगल र विकिपिडियाका फ्यान खतिवडा धेरैजसो समय गुगल डिक्सनेरीमा खर्चिने र त्यसले आफूलाई बौद्धिक बनाउन सघाएको दाबी गर्दै भन्छन्– सोसल मिडिया भनेको कन्टेन्ट सेयर गर्ने माध्यम हो । यसका धेरै फाइदा छन्, जसले जीवनलाई सहज बनाएको छ । यो हाम्रो एकान्तको साथी पनि बनेको छ, तर यसका नकारात्मक पक्ष पनि छन् जसलाई न्यूनीकरण गर्ने उत्तम उपाय भनेको आफू स्वयं सचेत हुनु हो ।

कलंकीकी वर्षा सापकोटालाई सामाजिक सञ्जालले धेरै खुसी र सकारात्मक बनाएको छ । अभिभावकबाट टाढा रहेकी सापकोटा दैनिकजसो उहाँहरूसँग भिडियो च्याट गर्छिन् । पढाइका विषयमा पनि अरूलाई सोध्न नसकेका र जान्न मन लागेका कुरा आफैं खोज्न सक्ने भएकी छिन् ।

सामाजिक सञ्जालका विविध फाइदासँगै घाटाका कुरा केलाउँदै वर्षा भन्छिन्– यसमार्फत ज्ञान आर्जन गर्न सकेकी छु, तर कहिलेकाहीं म्यासेञ्जर रिक्वेस्टमा यस्तो ठाउँमा भेट्न आऊ भन्ने अलि फरक शब्द प्रयोग गरिए म्यासेज आउँछन्, त्यस्ता कुराको वास्तै गर्नुहँुदैन । 

त्यस्ता कुरालाई जति मनमा लिइयो त्यति मानसिक विचलनको सिकार भइन्छ, तसर्थ यस्ता कुरालाई बेवास्ता गर्नु नै उत्तम हुन्छ । 

लिभरपुल कलेजमा अध्ययनरत दुहबीका अभय साहले ६ कक्षा पढ्दा नै फेसबुक अकाउन्ट खोलेका हुन् । वैदेशिक रोजगारीमा गएका आफ्ना अभिभावक (बुवा–काका) सँग घरमा कुरा गराउन सोसल नेटवर्कसँग जोडिएको बताउने साह उतिबेला संवाद र समाचारका लागि मात्र यसको प्रयोग गर्थे ।

त्यही बेलादेखि नै फेसबुक चलाएकै कारण म फराकिलो सोच राख्ने हुन सकें–अभयले भने– सामाजिक सञ्जालले संसारका ७ दशमलव ५ अर्ब मानिसलाई एक–अर्कासँग जोड्न सक्ने बनाएको छ । हाम्रो ज्ञानको दायरालाई फराकिलो बनाइदिएको छ । यहाँ ज्ञान खोज्न र आर्जन गर्न सकिन्छ । यसको अर्को पाटो भनेको एडिक्टेड भइयो भने समय बर्बाद हुन्छ । यसले मानिसलाई लाइभ होइन भिज्योलाइज बनाएको छ । यस्ता समस्या हामी केका लागि यसको प्रयोग गरिरहेका छौं, त्यो काम सिध्याएपछि साइन आउट भैहाले आफैं समाधान हुन्छन् ।

प्रकाशित :मंसिर १९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्