तीन मोस्ट वान्टेड

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७४- 

गत कात्तिक २८ मा प्रहरीले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न एक सुटरसहित पाँच जना अभियुक्तलाई पक्राउ गर्‍यो । पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले घटनाका मुख्य योजनाकार समीरमानसिंह बस्नेत र लोप्साङ लामा भएको निष्कर्ष निकालेको छ  । पक्राउ पर्न नसकेका मुख्य योजनाकार मध्ये एक समीरमानसिंहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ । विदेशीभूमीमा बसेर अपराधको साम्राज्य फैलाइरहेका बस्नेतको पक्राउलाई प्रहरीको ठूलो सफलता मानिएको छ । 

घटनामा संलग्न प्रमुख योजनाकार बस्नेत र भाडाका अपराधीहरूलाई पक्राउ गर्न प्रहरी सफल भए पनि योजनाकारमध्येकै एक लोप्साङ भने अझै पनि कानुनको घेराबाट बाहिरै छन् । यसअघि फिरौती र कन्ट्याक्ट किलिङमा संलग्न मनोज पुनको पनि उक्त घटनामा संलग्नता रहेको चर्चा भए पनि गौचन हत्यामा मनोज संलग्न नदेखिएको प्रहरीले जनाएको छ । ‘गौचन हत्याको मुख्य योजनाकार समीरमानसिंह बस्नेत र लोप्साङ लामा रहेको पुष्टि भएको छ,’ प्रहरी स्रोत भन्छ, ‘यो घटनामा मनोज पुनको संलग्नता भने पुष्टि भएको छैन ।’ 

प्रहरीका अनुसार यसअघि सँगै रहेका भनिएका मनोज र समीरमानसिंह पछिल्लो समय छुट्टाछुट्टै रूपमा अपराधकर्ममा सक्रिय थिए । समीरमानलाई उनको बलियो सहयोगीका रूपमा लोप्साङले साथ दिइरहेका थिए भने मनोजलाई सोम लामाले सघाइरहेका छन् । विदेशी भूमिको प्रयोग गरेर नेपालमा कन्ट्याक्ट किलिङको आपराधिक र्‍याकेट चलाइरहेका यी चारजना मध्ये प्रहरीले समीरमानलाई पक्राउ गर्दै उनीहरुको अपराधिक साम्राज्य भत्काउन सुरु गरेको छ । बाँकी तीनलाई पनि प्रहरीले विगतदेखि नै मोस्ट वान्टेडको सूचीमा राखेर खोजी गरिरहेको छ । 

भाडाका अपराधीहरू प्रयोग गरेर अन्डरवल्र्ड शैलीमा नेपालमा अपराध र्‍याकेट चलाउने समीरमान, लोप्साङ र मनोजको शैलीले प्रहरी चुनौती बनिरहेको थियो । उनीहरू भारतीय भूमिबाट भूमिगत रूपमा हत्या, अपहरण, फिरौतीलगायतका अपराधमा संलग्न रहेको जानकारी प्रहरीसँग छ । विदेशी भूमिमा बसेर मुलुकमा लगातारजसो हत्या, गोली प्रहार र फिरौतीको र्‍याकेट चलाउन थालेपछि उनीहरू प्रहरीका लागि टाउको दुखाइ बनेका छन् । 

मनोज र समीरमान दुई वर्षदेखि भारतमा थिए । उनीहरूलाई पक्राउ गर्न सहयोगका लागि नेपाल–भारतबीच सरकारी स्तरमा पत्राचारसमेत हुन सकेको थिएन । तर, प्रहरीले आफ्नो अब्बलतालाई सावित गर्दै समिरमानलाई पक्राउ गर्न सफल भएको छ । भारतमा बसेर अन्डरवल्र्ड शैलीमा फिरौती असुल्ने र भाडाका सुटर प्रयोग गरेर नेपालमा हत्या, अपहरण र फिरौतीको धन्दा चलाउने मनोज–समीरमान शैली र उनीहरूले विदेशी आपराधिक समूहसँग बढाउन खोजेको साँठगाठ भविष्यका लागि ठूलो सुरक्षा चुनौती हुन सक्ने सुरक्षा अधिकारीहरू दावी छ । ‘नेपालले समयमै यस्ता प्रवृत्तिमाथि सबल अनुसन्धान गर्न कानुनी व्यवस्था र प्रविधि उपलब्ध गराउन चुक्यो भने सिंगो मुलुक अन्डरवल्र्डको चपेटामा पर्ने देखिन्छ,’ प्रहरीका एक अर्का उच्च अनुसन्धान अधिकृत बताउँछन् । 

गौचन हत्याको अनुसन्धानका नेतृत्व गरेका डिआइजी गणेश केसी मनोज–समीरमानले अहिले व्यवसायीहरूलाई मात्र टार्गेट गरिरहेको भए पनि पछि सबै क्षेत्रका व्यक्तिहरूको सुरक्षा थ्रेट बढाउन सक्नेमा सचेत हुनुपर्ने धारणा राख्छन् । ‘उनीहरूले अपनाइरहेको आपराधिक शैलीले व्यापारिक, व्यवसायी र राजनैतिक व्यक्तिहरूलाई समेत चपेटा पार्ने देखिन्छ,’ डिआइजी केसी भन्छन, ‘यस्ता तत्वहरूलाई समयमै निस्तेज पार्नुपर्ने हुन्छ ।’ 

कुनै समय समीरमान र मनोजले राजनीतिक संरक्षण पनि पाएका थिए, तर अहिले भने उनीहरूमाथि कुनै खास राजनैतिक व्यक्तित्वको संरक्षण पनि देखिएको छैन । ‘हिजो गुन्डागर्दी गर्ने, तर्साउने, धम्क्याउने, हप्ता असुली गर्ने समीरमान र मनोजजस्ता अपराधीहरू अहिले राजनैतिक व्यक्तित्वले संरक्षण गर्ने स्तरभन्दा धेरै माथि गैसके,’ प्रहरी भन्छ— ‘उनीहरू युनाइटेड अरब इमिरेट्सको दुबईबाट आफ्नो आपराधिक गतिविधि सञ्चालन गरिरहेका भनिएका कुख्यात डन दाउद इब्राहिमको शैलीमा गैसकेका छन् ।’ समीरमान र मनोज विगत दुई वर्षयता भूमिगत नै थिए । उनीहरू सिमकार्ड र फोनको प्रयोग गर्दैनन् । इन्टरनेट फोनमार्फत मात्र व्यवसायी धम्क्याउने र फिरौती असुल्ने तथा हत्याका योजनाहरू कार्यान्वयन गर्ने गरिरहेका छन् । रोचक त के भने उनीहरू एकपटक घटना घटाउनको लागि एक जनासँग मात्र कन्ट्याक्ट गर्छन्, यस्ता घटनामा आफू एक्पोज हुन नपरोस् भनेर उनीहरू अर्को घटनामा अर्कैलाई प्रयोग गर्छन् । 

अनुसन्धानमा दक्षिण एसियामै अब्बल मानिने नेपाल प्रहरीलाई समेत झुक्याएर दुई वर्षदेखि निरन्तर आपराधिक घटना घटाइरहेका समिरमान, मनोज र लोप्साङ को हुन् ? अन्डरवल्र्ड शैलीमा क्राइम र्‍याकेट चलाइरहेका यी तिनै अभियुक्तहरूको वास्तविकता यस्तो रहेको छ ।  

समिरमान सिंह बस्नेत

आइतबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेर सार्वजनिक गरेका ्—समीरमानसिंह बस्नेत निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा मुख्य योजनाकार हुन । ३० वर्षीय बस्नेत काठमाडौं बाफलका हुन् । समीरमान सुरुवातमा घर बनाउने तथा प्लटिङ गर्ने ठेकेदार थिए । उनले बाफल क्षेत्रको टोलेगुन्डा हुँदै अपराधकर्ममा पाइला टेकेका हुन् । पछि उनले बाफल, कलंकी र कालिमाटी क्षेत्रमा असुली र गुन्डागर्दी गर्न थाले । 

‘हाकु’ नामले समेत चिनिने समीरमान क्रमश: अपहरण, कुटपिटमा पनि संलग्न हुन थाले । यस क्रममा पटक–पटक पक्राउ पर्दा उनी केही नेता तथा आफन्तको भनसुनमा उनी छुट्थे । समीरमानलाई मितेरी यातायातका शेखर शर्मालाई अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले भदौ १४, २०६६ मा पक्राउ गरी अपहरण तथा शरीर बन्धकअन्तर्गत मुद्दा चलाएको थियो, तर उनी अदालतमा १५ हजार धरौटी तिरेर रिहा भए । रिहा भएपछि उनी फेरि अपराध कर्ममै तानिए ।

 दिनेश अधिकारी ‘चरी’ र कुमार घैंटे कुनै समयमा एकै समूहमा रहेर गुन्डागर्दीमा संलग्न थिए । बीचमा यी दुई गुन्डा नाइकेहरूबीच विवाद चर्कियो । चरीसँगको फुटपछि कुमार घैंटेले आफूलाई बलियो बनाउन यिनै समीरमानलाई आफ्नो समूहमा भित्र्याएनन्, मात्र उनीसँग मितेरी नै लगाए । त्यसपछि समीरमान कुमार घैंटेको सहयोगीका रूपमा गुन्डागर्दी र असुलीमा संलग्न हुन थाले । घैंटे एक कांग्रेस नेताका संरक्षणमा गजुरमुखी निर्माण सेवाको ब्यानरमा ठेक्कापट्टा गर्थे । प्रहरी निकट अर्को स्रोतका अनुसार चरीविरुद्ध कुमार घैंटेसँगै समीर पनि हात धोएर लागेका थिए । 

भदौ ३, २०७२ मा सामाखुसीको कपुरधारामा कुमार घैंटेको इन्काउन्टर भयो । त्यसपछि समीरमान आफू पनि इन्काउन्टरमा परिने डरले अन्डरग्रान्ड भए । त्यही क्रममा उनी भारत पुगे । भारत पुगेपछि उनको भेट मनोज पुनसँग भयो । गत वर्ष पुस–माघतिर प्रहरीले उनीहरू दुवैलाई गोवामा देखेको थियो । त्यतिबेला प्रहरीबाट पक्राउ पर्नमा उनीहरू बल्लतल्ल बचेका थिए । त्यसपछि केही समय मनोजसँगै रहेर अपराधकर्ममा सक्रिय रहेका समीरमान अहिले भने छुट्टै समूह बनाएर आफ्नो अपराध र्‍याकेट चलाइरहेका छन् । समीरमानको स्वभाव कसैको सेकेन्डम्यान बनेर काम गर्ने खालको होइन्, एक प्रहरी अधिकृत भन्छन्— त्यसैले केही महिनाअगाडि समीरमान र मनोजबीच फुट भएको देखिन्छ । दुई वर्षदेखि भारतमा रहेर नेपालका व्यवसायी र बिग सटरहरूबाट फिरौती असुली गरिरहेका उनलाई अहिले लोप्साङ लामाले साथ दिएका छन् । 

चैत २९, २०७३ मा गुन्डा नाइके दावा लामामाथि पनि समीरमान र लोप्साङकै योजनामा गोली हानिएको थियो । दावालाई मार्नकै लागि गोली हानिएको थियो, अपराध महाशाखाका एक प्रहरी अधिकृत भन्छन्— तर उनी भाग्यले बाँचेका हुन् । उनीहरूबीच कुमार घैंटेको ग्याङमा हुँदादेखिकै दुस्मनी रहेको देखिन्छ । यो घटनामा समीरका ‘दायाँ हात’ मानिने लोप्साङले तत्कालीन काठमाडौं प्रहरीका प्रमुख छविलाल जोशीलाई फोन गर्दै उक्त घटनाको जिम्मेवारी लिएका थिए । 

यी दुवैले दसैंताका व्यवसायी शरद गौचनबाट १ करोड रुपैयाँ फिरौती मागेका थिए, तर गौचनले सुनेको नसुन्यै गरेपछि हत्याको योजना बनाए । असोज २३ मा भाडाका हत्यारामार्फत गौचनको हत्या गराए । उनीहरूले तहगत रूपमा सेटिङ मिलाएर गौचनको हत्या गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको छ, जसमा संलग्न मुख्य योजनाकार बस्नेतसहित ७ जनालाई अहिले प्रहरीले पक्राउ गरिसकेको छ भने केही पक्राउ पर्न बाँकी छन् । 

लोप्साङ लामा 

चैत २९, २०७३ मा काठमाडौंको गौरीघाटमा दावा लामामाथि गोली प्रहार गरेर जिम्मेवारी लिएपछि चर्चामा आएका हुन्— लोप्साङ लामा । दावामाथि गोली प्रहार भएलगत्तै उनले तत्कालीन काठमाडौं प्रहरी परिसरका प्रमुख छविलाल जोसीलाई फोन गरेका थिए । 

असोज २३ मा पनि तिनै लोप्साङले काठमाडौं प्रहरी परिसरका प्रमुख रवीन्द्र धानुकलाई फोन गरेर गौचन हत्याको जिम्मेवारी लिए । उनले जिम्मेवारी मात्र लिएनन्, आफूहरूलाई फिरौती नदिएका कारण हत्या गरेको समेत बताए । 

दावामाथि गोली प्रहार गरेलगत्तै प्रहरीले लोप्साङका विषयमा पनि गहन अनुसन्धान सुरु गरेको थियो । इन्टरनेटबाट कल गरेर जिम्मेवारी लिने लोप्साङ त्यसअघि सतहका पनि देखिएका थिएनन्, जसका कारण प्रहरीले तत्कालै लोप्साङका बारेमा कुनै तथ्य जुटाउन सकेन । कतिसम्म भने साप्ताहिक संवाददातासँगको कुराकानीमा प्रहरीको माथिल्लो तहका एक अधिकारीले लोप्साङका नाममा ‘फेक पात्र’ खडा गरिएको हुन सक्ने प्रतिक्रिया समेत दिएका थिए । 

तर गौचन हत्यापछि अनुसन्धानमा कस्सिएको प्रहरीले भने लोप्साङका विषयमा धेरै सूचना हात पारेको छ । दार्जीलिङतिर घर भएका लोप्साङ भारतमा अपराध गरेर नेपाल पसेको अनुमान गरिँदै आएको छ । प्रारम्भिक दिनमा उनलाई नेपालमा समीरमानले संरक्षण दिएको बताइन्छ । नेपालमा रहँदा उनी स्वयम्भूको वालुवा डिपोमा बस्थे, तर उनी खासै हाइलाइट थिएनन् । कुमार घैंटेको इन्काउन्टरपछि समीरमान अन्डरग्राउन्ड भए, लोप्साङ पनि उनीसँगै भारत पुगे । अहिले लोप्साङ समीरमानका दाहिने हातजस्तै भएको बताइन्छ । प्रहरीले पहिलो पटक लोप्साङको तस्बिर पनि सार्वजनिक गरेको छ । उनी अन्दाजी ३२ वर्षजतिको रहेको प्रहरी सुत्र बताउँछ ।  

मनोज पुन

हत्या, अपहरण तथा शरीर बन्धक, फिरौती, हातहतियार तथा खरखजाना, ब्ल्याकमेलिङ, गुन्डागर्दीका आधा दर्जनभन्दा बढी आपराधिक घटनाका अभियुक्त हुन्— मनोज पुन । रुपन्देहीको देवदह–६, खैरेनीका ३२ वर्षीया मनोजको वास्तविक थर भने बूढामगर हो ।

२०७० सालदेखि निरन्तरजसो विभिन्न आपराधिक गतिविधिमा संलग्न भैरहेका उनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको छ । त्यसअघि उनी राजनीतिक संरक्षण खोज्दै एमालेको युवा संघमा पनि आबद्ध भएका थिए, तर उनी आपराधिक गतिविधिमा संलग्न भएको चाल पाएपछि युवा संघले उनलाई कारबाही गरेको थियो । असोज २, २०७० मा उनीमाथि गोली चलाएको अभियोगमा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दायर भएको थियो । सोही मितिमा मनोजमाथि ज्यान मार्ने उद्योगमा समेत मुद्दा दर्ता भएको थियो । 

पुस ४, २०७३ मा उनकै योजनामा एमालेको भ्रातृ संगठन युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो । त्यसपछि प्रहरीले उनलाई संगठित रूपमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ । त्यसको केही दिनपछि नै मनोजले पुस ८, २०७३ मै इन्टरनेटमार्फत कल गरी एक व्यापारीलाई २० लाख रुपैयाँ फिरौती माग गरेका थिए, तर ती व्यापारीले आफूले त्यति धेरै रकम दिन नसक्ने बताएपछि ती ब्यापारीलाई उनले अपहरण गर्ने धम्की दिएका थिए । पछि मनोजले ती व्यापारीसँग सहयोगीमार्फत २ लाख रुपैयाँ फिरौती असुलेका थिए । उनीमाथि अहिले संगठित रूपमा अपहरण सम्बन्धी अपराधमा पनि मुद्दा चलिरहेको छ । 

साउन २०, २०७४ मा मनोजकै योजनामा फिरौती नदिएपछि रुपन्देही मणिग्रामका एक मार्बल व्यवसायीमाथि दुई राउन्ड गोली प्रहार भयो । मनोजले ती व्यवसायीसँग ४० लाख रुपैयाँ फिरौती मागेका थिए, उक्त फिरौती नदिएपछि तर्साउनका लागि उनले ती व्यापारीमाथि भाडाका सुटर प्रयोग गरी गोली हान्न लगाएका थिए । 

यतिमात्र होइन, मनोजले रुपन्देही र काठमाडौंलगायतका ठाउँका ठूला व्यापारी तथा व्यवसायीबाट पनि फिरौती माग्ने, नदिए ज्यान मार्ने धम्की दिने गरेका छन् । उनले विभिन्न व्यवसायी, व्यापारीहरूलाई अहिले पनि इन्टरनेटमार्फत फोन गरेर ज्यान मार्ने धम्की दिँदै करोडौं रुपैयाँ फिरौती मागिरहेको सूचना प्रहरीसँग छ । करोडौं फिरौती माग्ने काम अहिले पनि उनले जारी राखेका छन्, एक उच्च प्रहरी अधिकारी भन्छन्— इन्टरनेटमार्फत फोन गरेर फिरौती माग्ने, नदिए ज्यान मार्ने वा परिवारका सदस्यहरूलाई मार्ने धम्की दिने गरिहेका छन् । मनोजले भुटानी पासपोर्ट लिएको, बेला–बेलामा फिरौतीबाट असुलेको करोडौं रकममा मस्ती गर्न विदेश सयरमा समेत निस्किने गरेको सुइँको प्रहरीले पाएको छ । 

किन पक्राउ पर्दैनन् ?

निर्माण व्यवसायी गौचनको हत्या भएको ३७ दिनपछि कात्तिक २८ मा एक जना मुख्य सुटरसहित ५ जनालाई पक्राउ गर्न प्रहरी सफल भयो । नुवाकोटका सुटर राजीव स्याङ्ताङ, पर्साका शिवजी महतो, भारतीय नागरिक मुकेशकुमार पाण्डे, पर्साका सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो, जसमा पाण्डे र महतोले हतियार व्यवस्था गरेका थिए । यस्तै सन्तोष र प्रकाशले मोटरसाइकलको ब्यवस्थापन गरेका थिए । 

त्यसको दुई दिनपछि मंसिर १ मा प्रहरीले काठमाडौंको कपनबाट टार्गेट फिक्सिङमा सहयोग गर्नेे वसन्त थेबे र धनराज योङहाङलाई समात्यो । उनीहरूले गौचन घरबाट निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यापछि हतियार लुकाउन भूमिका खेलेका थिए । १७ मंसिरमा प्रहरीले मुख्य योजनाकार मानिएका समीरमानलाई पनि पक्राउ गरेर सार्वजनिक गरेको छ । 

प्रहरीका अनुसार समीर र लोप्साङले गौचनको हत्याका लागि १३ जनालाई परिचालन गरेका थिए, जसमध्ये ५ जना अझै फरार छन् । ‘धेरै ठूलो मेहनत, मानवीय तथा प्राविधिक स्रोतको पर्याप्त प्रयोग गरेर सफल भइएको हो,’ अनुसन्धान समितिका प्रमुख डिआइजी गणेश केसीले साप्ताहिकसँग भने— ‘अहिले नेपालमा एकदमै जटिल किसिमका अपराधका घटनाहरू घटिरहेका छन्, तर प्रहरी र सरकारसँग भएका प्रविधि अहिलेको विकसित क्राइम ट्रेन्डका लागि पर्याप्त छैन ।’  

चुनौती बन्दै प्रविधी 

प्रहरीका लागि अहिले सबैभन्दा ठूलो चुनौती अपराधीहरूले प्रयोग गर्ने प्रविधि बनेको छ । प्रहरी अनुसन्धानलाई समेत चुनौती दिने गरी अपराधीहरूले इन्टरनेट र प्रविधिको चलाखीपूर्ण प्रयोग गरिरहेका छन् । सीमापार संगठित अपराधको सञ्जाल भत्काउनका लागि इन्टरनेट र टेलिफोनप्रदायक एजेन्सीहरूसँग सहकार्य पनि अत्यावश्यक बनेको छ । संसारका विभिन्न देशले यस्ता सम्झौता गरे पनि नेपालले अहिलेसम्म यस्ता सम्झौता गर्ने तत्परता देखाएको छैन । 

इन्टरनेट र टेलिफोनप्रदायक एजेन्सीहरूसँग कल कहाँबाट आयो भनेर थाहा पाउने इन्भेस्टिगेटिभ टुल्सहरू हुन सक्छन्, अनुसन्धानमा संलग्न एक उच्च प्रहरी अधिकारी भन्छन्—इन्टरनेटबाट आएका कलहरू डिटेक्ट गर्ने प्रमुख चुनौती अहिले प्रहरीले झेलिरहेको छ । अनुसन्धानलाई सफल बनाउन अपराधीहरूबीच हुने कुराकानीलाई कानुनी रुपमा सुन्नका लागि पनि सम्बन्धित कानुनी व्यवस्था प्रहरीका लागि उत्तिकै अपरिहार्य देखिएको छ । संगठित अपराधको जरोसम्म पुग्ने अन्य कानुनी व्यवस्था भए पनि नेपालमा अपराधीहरूबीच हुने कुराकानी सुन्नका लागि आवश्यक प्रविधि छैन । भारतलगायतका विकसित देशहरूमा एपबाटै कसले कसलाई कल गरिरहेको छ भन्ने कुरा तत्कालै थाहा पाउन सक्नुका साथै एपबाटै फोनमा भैरहेको कुरा सुन्न र ट्रयाप गर्न सकिन्छ, तर नेपाल प्रहरीसँग त्यस्तो प्रविधिको अभाव छ । 

कमजोर प्रविधिले ठूला अपराधसम्बन्धी घटनाहरूको अनुसन्धान पनि परम्परागत रूपमै गर्नुपर्ने बाध्यतामा नेपाल प्रहरी रहेको जानकारहरू बताउँछन् । अहिले धेरैजसो अपराधी इन्टरनेट कलमार्फत संगठित अपराध गरिरहेका छन् । त्यस्ता अपराधीहरूबीच इमो, भाइबर, ह्याटएपजस्ता माध्यमबाट हुने कुराकानी ट्रयाप गर्न ती एप सञ्चालक कम्पनीहरूसँग विभिन्न देशले सम्झौता गरेका छन्, तर नेपालले फेसबुकको समेत डिटेल माग्नुपरे अमेरिकामा फेसबुकको कार्यालयलाई गुहार्नुपर्छ, सम्झौता नभएकाले त्यसले पनि प्रहरीको आग्रहलाई कतिपय अवस्थामा नमान्न सक्छ । त्यसैले ती संस्थाहरूसँग सरकारी तहबाटै समझदारी पत्र वा सूचना आदान–प्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनुपर्ने आवश्यकता पनि बढ्दै गएको छ । अर्कातर्फ सुपुर्दगी कानुनको अभावमा नेपालबाहिर रहेका अपराधीहरूलाई पक्राउ गरेर ल्याउन पनि समस्या देखिएको छ । यो विषयमा सरकारले कानुन निर्माण तथा विभिन्न मुलुकसँग सम्झौता गर्न थप ढिलाइ गर्न नहुने उच्च तहका प्रहरी अधिकारीहरू बताउँछन् । 

हत्याको कारण फिरौती नै हो 

गणेश केसी, प्रहरी नायब महानिरीक्षक, नेपाल प्रहरी

गौचन हत्याको अनुसन्धान प्रक्रिया कसरी अगाडि बढ्यो र कुन निष्कर्षमा पुग्यो ?

यो अनुसन्धानलाई हामीले दुई किसिमबाट अगाडि बढायौं । एक ह्युम्यान इन्टेलिजेन्स डेभलप गर्‍यौं । विगतदेखि नै ह्युम्यान इन्टेलिजेन्सको स्रोत प्रहरीसँग छ । अर्को टेक्निकल इन्टेलिजेन्स (सिसी टिभी, मोबाइल, इन्टरनेट र विभिन्न प्रविधिहरू) प्रयोग गर्‍यौं । यी दुवै एकसाथ परिचालन गरेपछि यो घटनाको लिड प्राप्त भयो । त्यही लिडलाई इन्भेस्टिगेसनको आधार बनाएर अहिलको निष्कर्षमा पुगेका हौं । अहिले यो घटनाको सम्पूर्ण इन्भेस्टिगेसन सकिएको छ । अब हामीले केही योजनाकार जो नेपालभन्दा बाहिर बसेका छन्, तिनीहरूलाई कानुनी दायरामा ल्याउन बाँकी छ । सुटरको भूमिका निर्वाह गर्ने अन्य केही अभियुक्त पनि पक्राउ गर्न बाँकी छ । 

प्रहरीले सुरुमा कुनै संकेत नै पाउन नसकेको बताइँदै आएको थियो । प्रारम्भिक अनुसन्धान कसरी अगाडि बढ्यो ?

हामीले कुनै संकेत नभेट्टाएका होइनौं, त्यसलाई गोप्य राखेका हौं । घटनाको फ्रम द भेरी बिगनिङदेखि नै हामी सही ट्रयाकमा थियौं । घटना घटेको २४ घण्टाभित्र हामीले यो घटनाको अनुसन्धानलाई सही ट्रयाकमा लगिसकेका थियौं । सुरुदेखि नै हामीले सबै कुरा प्राप्त गरिसकेका छौं भनेको भए यो घटनाको अनुसन्धान यो अवस्थासम्म पुग्ने थिएन । 

लोप्साङ लामाले घटनाको जिम्मेवारी लिइसकेपछि अनुसन्धान सहज भएको हो ?

त्यही कुरालाई मात्र आधार मानेर अनुसन्धान अगाडि बढाउन सकिँदैन । कहिलेकाहीं अपराधी र अभियुक्तहरूले प्रहरी र अनुसन्धान एजेन्सीलाई गलत ट्रयाकमा हिँडाउनका लागि पनि यस्ता दाबी गर्छन् । 

घटनाको मुख्य उद्देश्य त आर्थिक संकलन नै देखियो हैन ?

हो, यसको मुख्य उद्देश्य आर्थिक संकलन नै देखिएको छ । 

यो घटनाले के संकेत गर्छ ?

मानिसलाई धम्क्याएर, मारेर धेरैभन्दा धेरै आर्थिक संकलन गर्ने यिनीहरूको उद्देश्य देखिन्छ । अहिले नेपालभन्दा बाहिर रहेर नेपालमा डन प्रवृत्तिलाई सपोर्ट गर्ने, डन प्रवृत्ति र एक्स्टर्सनको माध्यमबाट बढीभन्दा बढी रकम संकलन गर्ने, बढीजसो ठेक्कापट्टामा लागेका मानिसहरूलाई, व्यापारीहरूलाई डर देखाएर, धम्क्याएर पैसा असुल्ने एउटा प्रवृत्ति विकास भैरहेको छ । 

समीर र मनोज एउटै समूहका होइनन् ?

यो अवस्थामा समीर र लोप्साङ एउटा टिम हो । मनोजले छुट्टै टिम बनाएर फिरौती असुल्ने र धम्क्याउने कार्य गरिरहेको छ । मान्छेले बुझ्दाचाहिँ मनोज, लोप्साङ र समीर एउटै समूहका हुन् भनेर बुझिरहेका छन् । अहिले यिनीहरूको अस्तित्व छुट्टाछुट्टै छ भन्ने यो अनुसन्धानबाट देखिएको छ । 

व्यवसायी शरदकुमार गौचन र समीरमानका मित कुमार घैंटेका व्यापारिक साझेदार थिए भनिन्छ ।

त्यस्तो केही संकेत भेटिएको छ ?

कुमार घैंटे र समीर बस्नेतको बीचमा विगतमा केही व्यापारिक साझेदारीसम्बन्धी मित्रता थियो भन्ने कुरामा त सत्यता नै छ होला, तर शरद गौचनको हत्याका पछाडि कुमार घैंटेको प्रकरण पुष्टि गर्ने आधार हामीले पाइसकेका छैनौं । यो घटनाको प्रमुख कारण भनेको समीर बस्नेतले पटक–पटक पैसा मागेको र त्यो पैसा नदिनु नै हो । उनीहरूले ज्वाइन्ट भेन्चरमा कम्पनी चलाएको अहिलेसम्म पुष्टि भैसकेको छैन । 

 

प्रकाशित :मंसिर १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्