गीति एल्बम निकाल्ने साहसीहरू

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७४-

नेपाली सांगीतिक क्षेत्रमा यतिबेला गीति एल्बमको बिक्री ठप्पप्राय: छ । पाँचवटा गीत समावेश भएको गीतिसंग्रह बजारसम्म आइपुग्दा एक जना स्रष्टाले झन्डै ५ लाख रुपैयाँ खर्च गरेको हुन्छ । म्युजिक भिडियोसहितको एल्बम सार्वजनिक गर्ने हो भने अझै केही लाख थपिन्छ । यद्यपि एल्बमको बिक्री शून्य प्राय: हुँदा पनि बजारमा नयाँ–नयाँ एल्बम प्रकाशित हुने क्रम रोकिएको छैन । 

युट्युब, सांगीतिक कार्यक्रम, सिआरबिटी तथा पिआरबिटीबाहेक संगीतकर्मीले आम्दानी गर्ने अन्य माध्यम बन्द भएको अवस्थामा पनि गीति एल्बमहरू सार्वजनिक हुने क्रम जारी छ । खासगरी लाखौं रुपैयाँ खर्च गरेर तयार पारिने गीति एल्बमहरूको बिक्री न्यून हुँदासमेत कतिपय संगीतकर्मी एकल एल्बम सार्वजनिक गरिरहेका छन् । बजार नै नभएको अवस्थामा समेत यी संगीतकर्मीले एकल एल्बम सार्वजनिक गर्ने साहस कसरी जुटाउँछन् त ? केही संगीतकर्मीसँग साप्ताहिकले यही जिज्ञासा राखेको छ । 

गायक कन्हैयासिंह परियारले दुई साताअघि काठमाडौंमा एक भव्य कार्यक्रमका बीच आफ्नो नयाँ एकल गीति एल्बम आलाप–३ सार्वजनिक गरे । बजार नहुँदासमेत एल्बम सार्वजनिक गर्नुपर्ने बाध्यताका बारेमा सांगीतिक कार्यक्रमका क्रममा देश–विदेशको भ्रमण गरिरहने यी गायक भन्छन्— एउटा गायकका साथै प्रस्तोतासमेत भएकाले देश–विदेशका सांगीतिक कार्यक्रममा सहभागी भैरहनुपर्छ । कतिपय श्रोता तथा दर्शकले हाम्रो नयाँ सांगीतिक कृतिका बारेमा सोध्नुहुन्छ । नेपाली कलाकारको सिर्जना भएकाले माया गरेर एल्बमहरू किनिदिनुहुन्छ । 

साथै रेडियोहरूमा पनि एउटा मात्र गीत दिनुभन्दा चार–पाँचवटा गीतको संग्रह नै दिँदा त्यसको महत्व बढी हुन्छ । म कलाकार नभएर व्यवसायी भएको भए सायद बिक्री, घाटा–नाफाका बारेमा सोच्थें होला, तर कलाकारको जीवनमा आत्मसन्तुष्टिले पनि ठुलो खुसी ल्याउँछ । गीति एल्बम प्रकाशित गर्दा खुसी तथा आत्मसन्तुष्टि मिल्छ । गायक सिंहका अनुसार एल्बम प्रकाशित गर्नु भनेको संगीत क्षेत्रमा निरन्तर रहनुका साथै एल्बमले श्रोता र स्रष्टाबीचको सम्बन्ध गाढासमेत बनाउँछ । गायक सिंहले आफ्नो पछिल्लो एल्बमका तीन गीत वा रे वा, मरी लानु के छ तथा धेरै माया गर्छु भन्थ्यौ श्रोताको रोजाइमा पर्ने अनुमान गरेका छन् । तीमध्ये वा रे वा गीतको म्युजिक भिडियो दर्शकले मन पराइसकेका छन् । 

केही साताअघि गीतकार लतिका श्रेष्ठसँग सहकार्य गर्दै आफ्नो रचनाको गीति एल्बम फ्रेन्ड्स फरइभर सार्वजनिक गर्ने गीतकार हुन् जानुका ढकाल । उनले आफ्नो एल्बममा अञ्जु पन्त, स्वरूपराज आचार्य, मेलिना राई, रूपक डोटेल आदि स्थापित गायक–गायिकालाई समेटेकी छिन् । झन्डै ५ लाख रुपैयाँ खर्चेर तयार पारिएको उक्त एल्बम बजारमा बिक्री हुने कुरामा गीतकार ढकाल विश्वस्त छैनन् । बिक्री हुन्न भन्ने थाहा छ, गीतकार ढकाल भन्छिन्— हामी स्रष्टाले आत्मसन्तुष्टिका लागि गीति एल्बम तयार पार्छौं । गीतकारका रूपमा श्रोतामाझ आउने रहर पनि हो । आफ्ना रचनाहरू संग्रह गर्ने चाहनाले पनि गीति एल्बम तयार हुन्छ । गीतकार ढकालका अनुसार अहिले गीति एल्बममा लगानी गर्नु बालुवामा पानी हाले बराबर छ, यद्यपि रेडियो, टेलिभिजन तथा युट्युबका कारण एल्बम प्रकाशित हुने क्रम रोकिंदैन । 

गीतकार ढकालका अनुसार कतिपय स्रष्टाले सांगीतिक कार्यक्रममा विदेश गएका बेला अथवा स्वदेशमै रहँदा ‘पुस सेल’ गरेर पनि एल्बम बिक्री गर्छन् । मैले पुस सेलचाहिं गरेकी छैन, ढकाल भन्छिन्— हामीले रचना गरेका गीतहरू लोकप्रिय भएमा संगीतकार तथा गायक–गायिकाहरू पनि लोकप्रिय हुन्छन् । भविष्यमा हामीलाई पुन: गीत रचना गर्ने तथा एल्बम प्रकाशित गर्ने उत्साह मिल्छ । गीतकार ढकालका अनुसार सांगीतिक क्षेत्रमा प्रवेश गरेपछि गीति एल्बम तयार पार्नु हरेक स्रष्टाको सपना तथा लक्ष्य हुन्छ । यसबाहेक गीतकारका रूपमा चिनिनका लागि समेत एल्बम प्रकाशित गर्न तयार हुनुपर्छ ।

अघिल्लो साता आफ्नो एकल रचनाको गीति एल्बम त्यो सपना सार्वजनिक गरेका गीतकार होमनाम न्यौपानेको कुरा बेग्लै छ । दीपक भट्टराईको संगीत तथा सञ्जीव पराजुलीको स्वरको एकल एल्बम सार्वजनिक गरेका गीतकार न्यौपाने बजारको हिसाबले एल्बमलाई गाह्रो भए पनि सिंगल ट्रयाकका रूपमा हरेक नेपाली गीतको भविष्य उज्ज्वल देख्छन् । एल्बमको हार्ड कपि बिक्री कम छ, गीतकार न्यौपाने भन्छन्– इन्टरनेटमार्फत राम्रो मार्केटिङ गर्न सक्यो भने कुनै पनि गीतले सहजै लगानी उठाउन सक्छन् । 

गीतकार न्यौपानेले युट्युब, आइट्युन्ससहितका माध्यमबाट विश्वभर छरिएका नेपालीमाझ नेपाली गीत पस्किन सकेको खण्डमा हरेक नेपाली स्रष्टा आर्थिक रूपले सम्पन्न हुने बताउँछन् । इन्टरनेटमा उपलब्ध हरेक गीत डाउनलोड गरेर मात्र सुन्न पाउने तथा त्यसका लागि निश्चित रकम तोकिदिने हो भने नेपाली सांगीतिक क्षेत्रको भविष्य सुखद रहेको न्यौपानेको तर्क छ । हलिउड तथा बलिउडमा झैं नेपालमा समेत नेपाली गीत–संगीतले विद्युतीय बजार खोज्नुपर्ने अवस्था आएको गीतकार न्यौपाने बताउँछन् । 

 

प्रकाशित :मंसिर १८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्