हेभीवेटको अग्निपरीक्षा

  • प्रदेश–३

- साप्ताहिक संवाददाता

मंसिर १५, २०७४

दोस्रो चरणको निर्वाचनअन्तर्गत मंसिर २१ मा पहाड र तराईका ४५ जिल्लामा निर्वाचन हुँदैछ । देशको राजधानीसमेत रहेको प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर र चितवनमा दोस्रो चरणमा निर्वाचन हुँदैछ  । दोस्रो चरणको यो निर्वाचनबाट यही प्रदेशमा उम्मेदवार भएका दुईपूर्व प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र पुष्पकमल दाहालको पनि जनमत मापन हुँदैछ । त्यसैगरी राप्रपा नेपाल अध्यक्ष कमल थापा, नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह लगायत भिड्दैछन् । 

यो प्रदेशबाट प्रतिनिधिसभाका लागि सिन्धुली, काभ्रेपलान्चोक, भक्तपुर, मकवानपुरबाट २–२ जना निर्वाचित हुनेछन् भने प्रदेशसभाका लागि ४–४ निर्वाचित हुनेछन् । ललितपुर र चितवनबाट ३–३ जनाले प्रतिनिधिसभा र ६/६ जना प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् । देशको राजधानी रहेको काठमाडौंबाट भने देशकै सबैभन्दा बढी १० जना प्रतिनिधिसभा र २० जना प्रदेशसभाका लागि चुनिनेछन् । 

नयाँ संरचनाअनुसार दुई निर्वाचन क्षेत्र रहेको सिन्धुली क्षेत्र नं. १ बाट नेपाली कंग्रेसका प्रेमचन्द्र दाहाल र नेकपा एमालेका गणेशकुमार पहाडीबीच प्रतिस्पर्धा हुनेछ भने क्षेत्र नं. २ मा नेपाली कंग्रेसका नेता नरेन्द्रजंग थापा र माओवादी केन्द्रका नेता हरिबोलप्रसाद गजुरेलबीच प्रतिस्पर्धा हुनेछ । यो जिल्लामा १ लाख ८१ हजार ५ सय १८ मतदाता छन् । काभ्रेपलान्चोकमा २ लाख ७२ हजार २ सय ९२ मतदाता छन् । यो जिल्लामा क्षेत्र नम्बर १ र २ बाट क्रमश: माओवादी केन्द्रका गंगाबहादुर तामाङ र नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा मैदानमा छन् भने लोकतान्त्रिक गठबन्धनबाट नेपाली कंग्रेसका तीर्थबहादुर लामा र मधुप्रसाद आचार्य मैदानमा छन् ।

२०४८ सालदेखि निरन्तर जित हासिल गरिरहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुछेले यसपटक युवा उम्मेदवारलाई मौका दिँदै उम्मेदवारी नदिएपछि भक्तपुर क्षेत्र नं. १ चर्चाको विषय बनेको छ । दुई दशक निष्क्रिय बसेका पूर्वसभामुख दमननाथ ढुंगानाको उम्मेदवारीका कारण क्षेत्र नम्बर २ पनि चर्चामा छ । बिजुच्छेले छोडेको क्षेत्रमा नेमकिपामा प्रेम सुवाल, नेपाली कंग्रेसका बाबुराजा जोशी र माओवादी केन्द्रका मिलन सुवाल चुनावी प्रतिस्पर्धाको मैदानमा छन् । क्षेत्र नं. २ मा ढुंगानाका प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेत र नेमकिपाकी अनुराधा थापामगर छन् । 

३ निवाचन क्षेत्र रहेको ललितपुरमा पनि वाम र लोकतान्त्रिक गठबन्धनकै रस्साकस्सी पर्ने देखिन्छ । क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उदयशमशेर राणासँग प्रतिस्पर्धा गर्न नेकपा एमालेले नवराज सिलवाललाइ खडा गरेको छ । त्यसैगरी क्षेत्र नं. २ मा नेपाली कांग्रेसका निर्वतमान सांसद चन्द्र महर्जन र नेकपा एमालेका कृष्णलाल महर्जनबीच प्रतिस्पर्धा हुनेछ भने क्षेत्र नम्बर ३ मा ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्य र माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालबीच प्रतिस्पर्धा हुनेछ । ललितपुरमा २ लाख २८ हजार २३ सय ३८ मतदाता छन् । 

६ लाख ३ हजार ४ सय ६० मतदाता रहेको काठमाडौं जिल्लामा १० प्रतिनिधिसभा सदस्य र २० प्रदेशसभा सदस्य चुनिनेछन् । क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका प्रकाशमान सिंह चुनावी मैदानका छन् । उनलाई माओवादी केन्द्रबाट अनिल शर्मा र विवेकशील साझाका संयोजक रवीन्द्र मिश्रको उम्मेदवारीले चुनौतीको चाङ थपिएको छ । क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल चुनावी मैदानमा छन् । उनलाई नेपाली कांग्रेसका नेता दीपक कुइँकेलले चुनौती दिइरहेका बेला विवेकसिल साझाका डा. सूर्यराज आचार्य थप चुनौती हुन् । 

क्षेत्र नम्बर ३ बाट नेकपा एमाले जिल्ला अध्यक्ष कृष्ण राईको उम्मेदवारी परेको छ । सो क्षेत्रमा कांग्रेस नेतृ अम्बिका बस्नेतको उम्मेदवारी छ । देशले नै रोचकताका साथ हेरेको काठमाडौको चुनावी क्षेत्र नं. ४ हो । यहाँ नेपाली कांग्रेसले युवा नेता गगन थापालाई उम्मेदवार बनाएको छ । थापाविरुद्ध नेकपा एमालेका डा. राजन भट्टराई चुनावी मैदानमा छन् । 

काठमाडौं क्षेत्र नम्बर ५ ह्याभिवेटहरूको लडाइँ भएको क्षेत्र हो । यो क्षेत्रमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र नेपाली कांग्रेसमा पूर्व सहमहामन्त्री डा. प्रकाशशरण महतबीच रोचक प्रतिस्पर्धा हुनेछ । काठमाडौं क्षेत्र नम्बर नं. ६ मा नेपाली कांग्रेस नेता तथा रक्षामन्त्री भीमसेनदास प्रधान र माओवादी केन्द्रका झक्कु सुवेदीबीच प्रतिस्पर्धा हुनेछ ।

क्षेत्र नम्वर ७ मा निर्वतमान सांसद नेकपा एमालेका रामवीर मानन्धर र राप्रपाका विक्रमबहादुर थापाबीच प्रतिस्पर्धा छ । क्षेत्र नम्वर ८ मा नेपाली कांग्रेसका नवीन्द्रराज जोशी र एमालेका जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् । त्यसैगरी क्षेत्र नम्बर ९ मा नेपाली कांग्रेसका ध्यानगोविन्द रन्जित र नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ भने क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसी तथा माओवादीका हितमान शाक्यबीच चुनावी प्रतिस्पर्धा हुँदैछ  । 

 

प्रकाशित :मंसिर १५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्