क्रेज न्यू लुक्सको

- कृष्ण भट्टराई

मंसिर १४, २०७४-

चलचित्र दुई रुपैयाँको कुटुमा कुटु गीत सार्वजनिक हुनुअघि अभिनेत्री स्वस्तिमा खड्काको परिचय निर्देशक निश्चल बस्नेतको श्रीमतीका रूपमा मात्र सीमित थियो । मोडलिङमार्फत चलचित्रमा आएपछि स्वस्तिमाले पहिलो चलचित्र होस्टलबाट खासै चर्चा पाएकी थिइनन् ।

युट्युबमा साढे तीन करोडभन्दा बढी पटक हेरिएको उक्त गीतको लोकप्रियतासँगै स्वस्तिमाको उचाइ ह्वात्तै बढ्यो । चलचित्र छक्का पञ्जा–२ मा मुख्य अभिनेत्रीका रूपमा अभिनय गरेर थप चर्चामा आएकी स्वस्तिमा खड्का यतिबेला नेपाली चलचित्रमा स्थापित अभिनेत्रीका रूपमा चिनिन थालेकी छिन् । छक्का पञ्जा–२ अघि स्वस्तिमाले अभिनय गरेको चलचित्र लभ लभ लभ प्रदर्शन भएको थियो । दीपेन्द्र के खनालद्वारा निर्देशित उक्त चलचित्रले औषत व्यवसाय गरेको थियो । 

नेपाली चलचित्रमा स्वस्तिमा खड्का झैं झन्डै दुई दर्जन नयाँ अनुहार अहिले अभिनेता तथा अभिनेत्रीका रूपमा स्थापित भैसकेका छन् । नेपाली चलचित्र व्यवसायिक रूपमा सफल हुन थालेपछि तथा स्वदेशमा जस्तै विदेशमा पनि नेपाली दर्शकले राम्रा नेपाली चलचित्रलाई माया गर्न थालेपछि अभिनयलाई नै करियर बनाउने उद्देश्यले यो क्षेत्रमा आएका युवा अभिनेता–अभिनेत्रीको क्रेज बढेको हो ।

खासगरी निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र लूटले सुस्ताएको नेपाली चलचित्रको बजारलाई पुनर्जीवन दिएपछि चलचित्रमा नयाँ अनुहारको प्रभाव बढ्न थालेको हो । लूटका लागि निर्देशक बस्नेत नै नयाँ निर्देशक थिए भने उक्त चलचित्रमा अभिनय गर्ने सौगात मल्ल, दयाहाङ राईसहितका कलाकार पनि चलचित्रका लागि नयाँ अनुहार नै थिए । यद्यपि उनीहरू रंगमञ्चमा भने लामो समयदेखि आबद्ध थिए । 

सानो पर्दामार्फत लोकप्रियताको उचाइ छुन सफल दीपकराज गिरी तथा दीपाश्री निरौला चलचित्र निर्माण तथा निर्देशनमा सक्रिय हुन थालेपछि नेपाली चलचित्र पनि व्यवसायिक रूपमा अत्यधिक सफल हुन सक्छन् भन्ने कुरा प्रमाणित भयो । कुनै बेला एउटा नेपाली चलचित्रले १० करोड रुपैयाँको व्यवसाय गर्दा कीर्तिमान कायम हुने अवस्था थियो । दीपक–दीपाको जोडीले निर्माण गरेको चलचित्र छक्का पञ्जाले झन्डै १८ करोड रुपैयाँको व्यवसाय गरेर राम्रो चलचित्र निर्माण गर्न सकियो भने यसको व्यवसाय पनि उत्कृष्ट हुनसक्छ भन्ने नजिर स्थापित गर्‍यो ।

उनीहरूकै जोडीले निर्माण गरेको चलचित्र छक्का पञ्जा–२ ले पनि झन्डै १६ करोड रुपैयाँ व्यवसाय गरेर अर्को उदाहरण प्रस्तुत गरिसकेको छ । यी दुई चलचित्रको व्यवसायिक सफलतासँगै उत्कृष्ट विषयवस्तुमा आकर्षक चलचित्र निर्माण गर्ने ट्ेरण्ड नै स्थापित भयो । फलस्वरूप नेपाली चलचित्रमा उच्च शिक्षा हासिल गरेका तथा राम्रो पारिवारिक पृष्ठभूमि भएका नयाँ अनुहार हावी हुन थाले । यतिबेला नेपाली चलचित्रमा झन्डै दुई दर्जन नयाँ अनुहार अभिनेता तथा अभिनेत्रीका रूपमा सक्रिय छन् । 

यी हुन् न्यू लुक्स  

अनमोल केसी

अनमोल केसी नयाँ अनुहार मध्येका सबैभन्दा बिकाउ अभिनेताका रूपमा स्थापित भैसकेका छन् । भुवन केसीका सुपुत्र अनमोलले पछिल्लो चलचित्र कृबाट २० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक लिएर नेपाली चलचित्रको भविष्य नयाँ अनुहारकै काँधमा आएको छ भन्ने सन्देश दिइसकेका छन् । अनमोलले आफ्नै बुवाको चलचित्र ड्रिम्सबाट चलचित्रमा पदार्पण गरेका हुन् । उनले अभिनय गरेको दोस्रो चलचित्र होस्टेल, तेस्रो चलचित्र जेरी तथा चौथो चलचित्र गाजलुको व्यवसायिक सफलताले उनलाई नेपाककै नम्बर एक अभिनेताका रूपमा स्थापित गरिदियो । 

माघ २६ गते प्रदर्शनमा आउने चलचित्र कृ पनि व्यवसायिक रूपमा सफल हुने अनुमान गरिएको छ । चकलेटी अनुहार तथा आकर्षक व्यक्तित्वका धनी अनमोलका प्रशंसकहरू गाउँमा मात्र होइन सहरमा पनि उत्तिकै छन् । खासगरी सहरीया युवतीहरू अनमोल भनेपछि हुरुक्कै हुन्छन् । त्यसैले पनि अधिकांश निर्माता तथा निर्देशकहरू अनमोललाई आफ्नो चलचित्रमा अभिनय गराउन इच्छुक छन्, यद्यपि अनमोल भने धेरै सोच विचार गरेपछि मात्र चलचित्रमा अभिनयका लागि तयार हुन्छन् ।

 

साम्राज्ञी राज्यलक्ष्मी शाह

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह चलचित्र क्षेत्रकी नयाँ अनुहार हुन् । अनमोल केसीसँगै चलचित्र ड्रिम्समार्फत रजतपटमा पदार्पण गर्ने साम्राज्ञी अहिलेकी व्यस्त अभिनेत्रीहरूमध्ये एक हुन् । साम्राज्ञीले अभिनय गरेका दुईवटा चलचित्रमात्र प्रदर्शन भएका छन् । ड्रिम्स तथा ए मेरो हजुर–२ मार्फत दर्शकमाझ आएकी साम्राज्ञी चलचित्र क्षेत्रकै बिकाउ अनुहार बनिसकेकी छिन् । उनले अभिनय गरेको तेस्रो चलचित्र तिमी बिना प्रदर्शनको तयारीमा छ भने उनी यतिबेला झन्डै आधा दर्जन चलचित्रमा आबद्ध भैसकेकी छिन् । आकर्षक व्यक्तित्व, सुन्दर अनुहार तथा सहज अभिनयले साम्राज्ञीको क्रेज बढाएको हो । साम्राज्ञीलाई मन पराउने दर्शकहरू गाउँदेखि सहरसम्म अनि विदेशसम्म फैलिएका छन् ।

 

प्रदीप खड्का

अभिनेता प्रदीप खड्काको सफलताको आफ्नै कथा छ । विगतमा साना बजेटका दुई चलचित्रमा अभिनय गरे पनि दर्शकको नजरमा पर्न नसकेका यी अभिनेतालाई चलचित्र प्रेमगीतले स्टार बनाइ दियो । प्रेमगीतको सफलताको सम्पूर्ण श्रेय कि त उक्त चलचित्रको गीत–संगीतले पाए, कि त अभिनेता प्रदीप खड्काले । चकलेटी अनुहार, चटपटे अभिनय तथा आकर्षक हाउभाउका कारण प्रदीपले प्रसस्त प्रशंसक कमाइसकेका छन् । दोस्रो चलचित्र प्रेमगीत–२ को व्यवसायिक सफलतापछि प्रदीपलाई विभिन्न कम्पनीले ब्रान्ड एम्बेसडर नै बनाए । निर्माता–निर्देशकको रोजाइमा पर्न सफल प्रदीप यतिबेला दीपेन्द्र सरकार, भैरवीसहित झन्डै आधा दर्जन चलचित्रमा अनुबन्धित भैसकेका छन् भने चलचित्र लिलिबिलीका लागि अभिनेत्री प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गर्ने क्रममा यतिबेला बेलायतमा छन् ।

 

सलोन बस्नेत

निर्देशक सोभित बस्नेतका छोरा सलोन बस्नेत नेपाली चलचित्रका पुराना सदस्य हुन् । विगतमा बाल कलाकारका रूपमा थुप्रै चलचित्रमा अभिनय गरेका सलोन यतिबेला अभिनेताका रूपमा स्थापित भैसकेका छन् । चलचित्र होस्टलबाट अभिनेताका रूपमा पदार्पण गर्ने सलोन हास्य शैलीको भूमिकामा जमिरहेका छन् । हालै प्रदशित चलचित्र ए मेरो हजुर–२ मा सलोनको अभिनयले प्रसस्त प्रशंसा पायो । त्यसअघि उनले लक्ष्मण सुवेदीको एउटा साथी तथा गोविन्द शाहीको आभाषमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । भरखरै प्रदर्शन भएको चलचित्र मेलाबाट पनि सलोनले प्रशंसा पाए । यतिबेला उनी झन्डै आधा दर्जन चलचित्रमा अनुबन्धित छन् ।

 

वर्षा राउत

म्युजिक भिडियोमा अभिनय गर्दा–गर्दै चलचित्रमा आएर सफल हुने अभिनेत्री हुन्– वर्षा राउत । चलचित्र छक्का पञ्जामार्फत रजतपटमा आएकी यी सुन्दर अभिनेत्रीले उक्त चलचित्रको सफलतापछि पछाडि फर्किएर हेर्नु परेको छैन । दोस्रो चलचित्र जात्रामा गृहिणीको भूमिका निर्वाह गरेर अझ शसक्त भूमिका निर्वाह गर्ने वर्षाले छक्का पञ्जा–२ मा पनि दर्शकको मन जितिन् । चलचित्र मेरो पैसा खैमा नगरवधुको चुनौतीपूर्ण भूमिका निर्वाह गर्ने यी अभिनेत्रीले आफू हरेक प्रकारका भूमिका निर्वाह गर्न सक्ने कुरा प्रमाणित गरिसकेकी छिन् ।

 

सलिनमान बानियाँ

जम्मा एउटा चलचित्रमा अभिनय गरेर दर्शकको मन बस्न सफल अभिनेता हुन्– सलिनमान बानियाँ । झरना थापाद्वारा निर्देशित चलचित्र ए मेरो हजुर–२ मार्फत अभिनेताका रूपमा पदार्पण गर्ने बानियाँले पनि प्रसस्त प्रशंसक कमाएका छन् । चकलेटी अनुहारका यी अभिनेताको अभिनय औषत रहे पनि आकर्षक व्यक्तित्व तथा स्टाइलिस हेयरस्टाइलका कारण उनले युवा दर्शकको मन जितिरहेका छन् । दोस्रो चलचित्रमा अनुबन्ध हुन बाँकी रहेका सलिनमानको भविष्य सुखद हुने अनुमान गर्न सकिन्छ ।

 

आँचल शर्मा 

चलचित्र नाइ नभन्नु ल–४ बाट रजतपटमा उदाएकी अभिनेत्री हुन्– आँचल शर्मा । आँचलसँग अभिनेता पल शाहको केमेस्ट्री मिलेकै कारण उनीहरूले हालसम्म तीनवटा चलचित्रमा सँगै अभिनय गरिसकेका छन् । आँचलले पलसँग जोनी जेन्टलम्यानमा पनि अनस्क्रिन रोमान्स गरिन् भने मह सञ्चारको चलचित्र शत्रुगतेमा पनि उनी पलकै जोडीका रूपमा प्रस्तुत हुने बताइन्छ । आँचल अहिले म्युजिक भिडियोमा समेत अभिनय गरिरहेकी छिन् ।

 

पल शाह

म्युजिक भिडियोमा अभिनय गरेर चिनिएपछि चलचित्रमा आएका अभिनेता हुन्– पल शाह । चकलेटी अनुहारका पलले पहिलो चलचित्र नाईँ नभन्नु ल–४ मा अभिनय गरेर दर्शकको मन जिते । दोस्रो चलचित्र म यस्तो गीत गाउँछुको सफलतासंगै उनी चलचित्र क्षेत्रकै महँगा अभिनेताका रूपमा चिनिन थाले । तेस्रो चलचित्र जोनी जेन्टलम्यानमा समेत आकर्षक भूमिका निर्वाह गरेका पलले म्युजिक भिडियो तथा चलचित्रको अभिनयलाई समानान्तर रूपमा अघि बढाइरहेका छन् । चलचित्र शत्रुगतेमा समेत प्रस्तुत हुन लागेका पल शाह युवतीहरूमाझ बढी प्रिय छन् ।

 

गौरव पहारी 

चलचित्र मञ्जरीबाट रजतपटमा उदाएका यी अभिनेता पुराना कलाकार टीका पहारीका छोरा हुन् । अग्लो कदका यी अभिनेताले होस्टल, गाजलु तथा अध्कट्टी चलचित्रबाट प्रसंसा पाएका थिए । पछिल्लो पटक प्रदर्शन भएको चलचित्र ग्याङस्टर ब्लूजमा देखिएका यी अभिनेतालाई हेमन्त रानाको सुन साईंली गीतको म्युजिक भिडियोले थप लोकप्रिय बनाएको छ । गौरवका केही चलचित्र प्रदर्शनको क्रममा छन् ।

 

विपिन कार्की 

रंगमञ्चमा स्थापित भएर चलचित्रमा आएका कलाकार हुन्– विपिन कार्की । कहिले अभिनेता त कहिले खलनायकको भूमिकामा प्रस्तुत हुँदै आएका कार्कीले लूट, लूट–२, पशुपतिप्रसाद जस्ता चलचित्रमा नकारात्मक भूमिका निर्वाह गरेका छन् भने चलचित्र जात्रामा नायककै रूपमा प्रस्तुत भएका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र नाकामा डनको भूमिका निर्वाह गरेका विपिन महँगो पारिश्रमिक लिने कलाकारहरू मध्ये 

एक हुन् ।

आयुष्मान देशराज जोशी 

ह्याण्डसम हङ्कको उपाधि पाएका आयुष्मान देशराज जोशी मूलत: मोडल हुन् । अर्जुन कुमारको चलचित्र चपली हाइट–२ बाट चलचित्रमा पदार्पण गरेका आयुष्मानले भिडियो जक्कीका रूपमा समेत प्रसंसक कमाएका छन् । बैंकर रविना देशराज जोशीका छोराका रूपमा समेत चर्चामा रहेका आयुष्मान चलचित्रको अभिनयका साथै मोडलिङमा पनि सक्रिय छन् । अभिनेत्री प्रियंका कार्कीसँगको अफेयरका कारण समेत चर्चामा रहेका यी अभिनेताले केही चलचित्रमा केमियोका रूपमा समेत काम गरिसकेका छन् । अग्लो कद, आकर्षक व्यक्तित्व तथा सहरीया लुक्सका कारण उनले हरेक उमेरका दर्शकको मन जितेका छन् ।

 

अदिति बुढाथोकी 

त्यसो त मोडल अदिति बुढाथोकीले अभिनय गरेको पहिलो चलचित्र कृ प्रदर्शन हुन बाँकी नै छ, यद्यपि उनले मोडलिङ तथा केही हिन्दी गीतका म्युजिक भिडियोबाट राम्रो सम्भावना देखाइसकेकी छिन् । बलिउडकै चलचित्रमा पदार्पण गर्न संघर्ष गरिरहेकी अदिति चलचित्र कृमा अभिनेता अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्दैछिन् । उक्त चलचित्रको प्रदर्शनपछि नै बुढाथोकीको भविष्य निर्धारण हुनेछ । 

अश्लेषा ठकुरी 

यही वर्ष प्रदर्शन भएको चलचित्र प्रेमगीत–२ बाट अभिनेत्रीको पदार्पण गर्ने अश्लेषा ठकुरीले पहिलो चलचित्रबाटै आफूलाई स्थापित बनाएकी छिन् । चलचित्रले अभिनेता प्रदीप खड्कालाई जति उचाइ प्रदान गर्‍यो, यी अभिनेत्रीलाई पनि दर्शकले उत्तिकै मन पराए । दोस्रो चलचित्रको बारेमा मौन रहे पनि यी अभिनेत्रीको अभिनय भविष्य उज्वल छ । 

आशिरमान देशराज जोशी 

आयुष्मान देशराज जोशीका भाइ हुन्– आशिमरान देशराज जोशी । ६ फिट २ इन्च अग्ला अशिरमानले अभिनय गरेको चलचित्र ग्याङस्टर ब्लूज प्रदर्शन भैसकेको छ । व्यवसायिक रूपमा औषत रहे पनि निर्देशक हेमराज बिसी आशिरमानलाई प्रभावकारी अभिनय गराउन सफल भएका छन् । मोडलिङमा समेत सक्रिय आशिर्मान यतिबेला रोहित अधिकारीको चलचित्र ब्रेकअपमा अभिनय गरिरहेका छन् । आकर्षक व्यक्तित्वका कारण पनि जोशीले अभिनयमा प्रभाव छाड्न सक्ने कुरामा दुई मत छैन । 

दीपिका प्रसाईं

मोडलिङमा सक्रिय रहेकै बेला चलचित्रमा स्थापित हुन्– सफल अभिनेत्री हुन् दीपिका प्रसाईं । दीपिकाले आफ्नो करियरकै पहिलो चलचित्र ऐश्वर्यबाट राम्रो सम्भावना देखाइन् । व्यवसायिक रूपमा सफल चलचित्र ऐश्वर्यमा दीपिकाले मोडलकै भूमिका निर्वाह गरेर दर्शकको मन जितिन् । आफूभन्दा निकै जेठा दुई अभिनेता रमेश उप्रेती तथा प्रशान्त ताम्राकारसँग अनस्क्रिन रोमान्स गर्ने क्रममा दीपिका सुन्दर देखिएकी थिइन् । पहिलो चलचित्रको सफलतासँगै उत्साहित दीपिकाले दोस्रो चलचित्रका लागि विभिन्न प्रस्ताव पाइरहेकी छिन्, यद्यपि उनले चलचित्रको छनोट भने गरिसकेकी छैनन् । 

मरिष्का पोखरेल

सुन्दर अनुहारकी धनी मरिष्का पोखरेल अभिनेत्रीका रूपमा स्थापित भैसकेकी छिन् । चपली हाइट–२ बाट अभिनय यात्रा प्रारम्भ गर्ने मरिष्काले दर्जनौं म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । के म तिम्रो होइन र चलचित्रमा पनि मरिष्काले उत्कृष्ट अभिनय गरेकी छिन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र लम्फुकी यी मुख्य अभिनेत्री यतिबेला चलचित्र पहिचानमा सक्रिय छिन् । 

आना शर्मा

अभिनेत्री आना शर्मा प्रतिभाशाली मात्र छैनन्, सुन्दर पनि छिन् । यद्यपि उनले अभिनय गरेका चलचित्रको संख्या धेरै छैन । अनमोल केसीसँग अनस्क्रिन रोमान्स गर्दै चलचित्र जेरीमार्फत अभिनयमा पदार्पण गर्ने यी अभिनेत्रीद्वारा अभिनित दोस्रो चलचित्र ग्याङस्टर ब्लूज प्रदर्शन भैसकेको छ । एक्सन प्रधान भए पनि उक्त चलचित्रमा आनाले आफ्नो क्षमताले भ्याएसम्मको अभिनय गरेकी छिन् । मिस नेपालकी आधिकारिक प्रशिक्षक रचना गुरुङ शर्माकी छोरी हुन्– आना । जेरीपछि कुनै पनि चलचित्रमा अभिनय नगर्ने मनसाय बनाएकी आनाले ग्याङस्टर ब्लूजपछि अभिनयमै सक्रिय हुने निर्णय गरिसकेकी छिन्, यद्यपि उनको तेस्रो चलचित्रका बारेमा हालसम्म कुनै जानकारी सार्वजनिक भएको छैन । 

नाजिर हुसैन

अभिनेता बन्न चकलेटी अनुहार, सिक्स प्याक तथा आकर्षक व्यक्तित्व हुनै पर्छ भन्ने छैन भन्ने कुरालाई स्थापित गर्ने अभिनेता हुन्– नाजिर हुसैन । चलचित्र होस्टलबाट अभिनयमा पदार्पण गर्ने यी अभिनेताले हालसम्म झन्डै आधा दर्जन चलचित्रमा अभिनय गरिसकेका छन् । चलचित्र गाँठो असफल भए पनि नाजिरको अभिनय मन पराइयो । प्रदर्शनको तयारीमा रहेको चलचित्र राज्जा रानीमा राजा बनेका यी अभिनेताको अभिनयले दर्शकलाई लट्ठै बनाउँछ । त्यसो त नाजिरले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसंग अभिनय गरेको चलचित्र तिमीसंग पनि दर्शकहरूले प्रतीक्षा गरिरहेको अर्को चलचित्र हो । थुप्रै नाटकमा अभिनय गरेर चलचित्रमा आएकाले पनि नाजिर अभिनयमा आफ्नै प्रकारको शैली प्रस्तुत गर्न सफल छन् । 

अमृत ढुंगाना

चलचित्र होस्टल रिटन्र्सबाट अभिनयमा आएका अभिनेता हुन्– अमृत ढुंगाना । रंगमञ्चबाट चलचित्रमा आएका यी अभिनेताले दोस्रो चलचित्र शायद–२ मा पनि आकर्षक अभिनय गरेका छन् । अवसर पाए उत्कृष्ट अभिनय गर्न सक्ने सम्भावना बोकेका अमृत यतिबेला सोलो अभिनेताका रूपमा अभिनय मैदानमा ओर्लने छन् । 

आकाश श्रेष्ठ

अभिनेत्री सुष्मिता बमजमको चलचित्र म त तिम्रै हुँ मार्फत रजतपटमा आएका अभिनेता हुन्– आकाश श्रेष्ठ । चकलेटी अनुहार तथा आकर्षक व्यक्तित्वका धनी आकाश पहिलो चलचित्रको औषत व्यवसाय पछि म्युजिक भिडियोमा अत्यधिक व्यस्त रहे । आकाशले दोस्रो चलचित्र तिमीसँगमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग अनस्क्रिन गर्ने मौका पाएका छन् । यतिबेला चलचित्र ड्रिमगर्ल तथा पहिचानमा आबद्ध श्रेष्ठ एक्सन भूमिकामा समेत जम्न सक्ने देखिन्छ । 

सृष्टि श्रेष्ठ

पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले पहिलो चलचित्र गाजलुमा अभिनय गरेर आफूमा भएको प्रतिभा प्रस्तुत गरिसकेकी छिन् । उनले अभिनय गरेको दोस्रो चलचित्र लाउरे निर्माणाधीन छ । पहिलो चलचित्रको सफलतापछि बलिउडमा समेत पदार्पण गर्ने अभियानमा रहेकी सृष्टिले त्यहाँ एउटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरिन् भने उनले एउटा नयाँ हिन्दी चलचित्रमा पनि सहायक भूमिका निर्वाह गर्ने चर्चा छ । 

सुशील श्रेष्ठ

अभिनेता सुशील क्षेत्रले चलचित्र क्षेत्रमा आफ्नो छवि बडिबिल्डरका रूपमा विकास गरेका छन् । शारीरिक सुगठनमा रुचि राख्ने श्रेष्ठले चलचित्र होस्टल रिर्टन्र्सबाट अभिनय यात्रा प्रारम्भ गरेका हुन् । पहिलो चलचित्रको सफलतासँगै यी अभिनेताले दोस्रो चलचित्र कारखानामा पनि उत्कृष्ट अभिनय गरे, यद्यपि चलचित्रले व्यवसायिक सफलता हासिल गरेन । तेस्रो चलचित्रका रूपमा शायद–२ मा प्रस्तुत भएका सुशील उक्त चलचित्रको औसत व्यवसायबाट निराश भए, यद्यपि चलचित्रको अभिनयलाई भने उनले निरन्तरता दिइरहेका छन् । 

पुष्प खड्का

म्युजिक भिडियोको क्षेत्रमा सुपरस्टारको उपनाम पाइसकेका पुष्प खड्कालाई निर्देशक तुलसी घिमिरेले चलचित्र दर्पण छायाँ–२ बाट रजतपटमा प्रस्तुत गरे । चलचित्रले व्यवसायिक रूपमा सफलता हासिल नगरे पनि पुष्पको अभिनयको प्रशंसा गरियो । प्रदर्शनको तयारमिा रहेको चलचित्र मंगलमबाट उत्साहित आकर्षक व्यक्तित्वका धनी पुष्प चलचित्रको तुलनामा म्युजिक भिडियोमै सक्रिय देखिन्छन् ।

 

आर्यन अधिकारी

चलचित्र के म तिम्रो होइन र मार्फत रजतपटमा आएका अभिनेता हुन्– आर्यन अधिकारी । निर्देशक आकाश अधिकारीका भतिजा आर्यनले पहिलो चलचित्रमा अभिनय तथा द्वन्द्वमार्फत दर्शकको मन जिते । आकर्षक व्यक्तित्वका धनी आर्यन यतिबेला अभिनेत्री प्रियंका कार्कीसँग अनस्क्रिन रोमान्स गर्दै चलचित्र बटरफ्लाइमार्फत दर्शकमाझ आउने तयारी गर्दैछन् । 

सुरज पाण्डे

चलचित्र लभ लभ लभ मार्फत रजतपटमा उदाएका अभिनेता हुन्– सुरज पाण्डे । दीपेन्द्र के खनालले यी नयाँ अभिनेताबाट उत्कृष्ट अभिनय गराएका छन् । व्यवसायिक रूपमा औसत रहेको उक्त चलचित्रपछि सुरज यतिबेला आफ्नो दोस्रो चलचित्रको छायांकनमा व्यस्त छन् ।

आमेश भण्डारी

दिनेश डिसीको चलचित्र फूलैफूलको मौसम तिमिलाई मार्फत अभिनय क्षेत्रमा आएका भण्डारीले दोस्रो चलचित्र मेलामा पनि पनि आफ्नो अभिनय कौशल प्रस्तुत गरी दर्शकको मन जिते । चलचित्रको अभिनयलाई निरन्तरता दिने योजना बनाइसकेका आमेश चकलेटी अनुहारका कारण दर्शकको प्रिय बनेका छन् । 

सारा शिर्पाली

केही महिनाअघि प्रदर्शन भएको चलचित्र रुद्रमार्फत रजतपटमा आउने सुन्दर अभिनेत्री हुन्– सारा शिर्पाली । मोडलिङमा सक्रिय भैरहेकै बेला चलचित्रमा आएकी सारा यतिबेला चलचित्र पिँजडा ब्याक अगेनको प्रतिक्षामा छिन् । उक्त चलचित्रमा अभिनेत्री निखिल उप्रेतीसंग अनस्क्रिन रोमान्स गरेकी सारा अभिनय तथा नृत्यमा समेत अब्बल मानिएकी छिन् । 

विनोद न्यौपाने 

म्युजिक भिडियो हुँदै चलचित्रमा आएका अभिनेता हुन्– विनोद न्यौपाने । चलचित्र त्यो १० घण्टाबाट रजतपटमा उदाएका विनोदले त्यसपछि अभिनय गरेका चरा वटा चलचित्र प्रदर्शनको पर्खाइमा छन् । अप्रिल फूल, तोरी लाउरे जस्ता चलचित्र प्रदर्शन भए पनि उनी यतिबेला चलचित्र कान्छि, यो पागल मन तथा कोहलपुर एक्सप्रेसको प्रदर्शनको पर्खाइमा छन् । यी चलचित्रको प्रदर्शनसंगै आफू अभिनेताका रूपमा स्थापित हुने कुरामा न्यौपाने ढुक्क देखिन्छन् । 

 

 

प्रकाशित :मंसिर १४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्