गीत गाएर घरबार जोडियो

- नरेन्द्र बस्नेत

मंसिर १३, २०७४

नेपाली लोकगीत–संगीतको क्षेत्रमा एलपी जोशीको नाम नौलो छैन । लोकभाकाको उत्थानमा उनको भूमिका अनुकरणीय छ । २०१९ देखि ०२९ सालको एक दशक रेडियो नेपालमा जोशीकै गीतले मात्र स्थान पाए । ५० भन्दा बढी गीत रेकर्ड गराएका जोशीले थुप्रै भाषामा गीत गाएका छन् ।

रिटिङ–रिटिङ नबजाऊ बिनायो, नेपाली माया नेपालै कस्तो छ लगायत उनका दर्जनौं गीत कालजयी छन् । नारायण गोपाल, फत्तेमान, बालकृष्ण सम, गोपाल योञ्जन आदि गायक तथा साहित्यकारहरूसँग संगत गरेका जोशी १९९३ सालको लक्ष्मीपुजाका दिन मातापिता स्व. कृष्णमानसिंह र बिष्णुकुमारी जोशीका ८ सन्तानमध्ये सातौँ सन्तानका रूपमा धनकुटा बजारमा जन्मिएका हुन् ।

८३ वर्षको उमेरमा पनि जोसजाँगर र उत्साहका साथ गीत–संगीतमा सक्रिय जोशीसँग साप्ताहिकका लागि नरेन्द्र बस्नेतले गरेको कुराकानी : 

तपाईंको गीत–संगीतको यात्रा कहिलेदेखि सुरु भयो ?

२०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण भएपछि सुरु भएको हो । त्यसअघि म नाटक खेल्थेँ । २००८ सालमा मसान नाटकमा मैले आमाको भूमिका निर्वाह गरेको थिएँ । त्यसका अतिरिक्त म पेन्टिङ समेत गर्थें । काठमाडौं गएर नेपाली माया नेपालै कस्तो छ गीत रेकर्ड गराएपछि चाहिँ म गायनमा सक्रिय भएँ ।

गीत गाउँछु भन्ने सोच सानैदेखि थियो ?

थिएन, रहरै रहरमा लागियो । पछि यस्तो होला, म यस्तो गाउँछु भनेर लागिएन । गाउँदै जाँदा आज यस्तो भयो । २०१९ सालमा राष्ट्रव्यापी गितमा प्रथम भएर स्वर्णपदक प्राप्त गरेपछि चाहिँ वास्तविक गायन यात्रा सुरु भयो ।

आफूले गाएका गीतमध्ये कुन गीत मन पर्छ ?

मलाई सबै गीत मन पर्छन् । त्यसमा पनि रिटिङ–रिटिङ नबजाऊ बिनायो, बिनायोले घरबारै हिनायो गीतले चाहि मलाई विशेष चिनायो । अहिले पनि मलाई यही गीतबाट चिनिन्छन् । 

गीत गाएर अरूको घरबारचाहिँ कत्तिको हिँडाउनुभयो ?

हिँडाइएन, बरु घरबार जोडियो । त्यतिबेला गिताङ्गेलाई कसले छोरी दिन्छ भन्थे, कसैले छोरी दिएनन् । मन परेकी केटी माग्न जाँदा नदिएपछि मैले पनि भगाएँ अनि मेरो घरबार जोडियो । अहिले उनी छैनन्, तै पनि मैले गीत गाएरै उनलाई जोडेको हुुँ ।

 लोकगीतको बजार कस्तो छ अहिले ?

बजार त राम्रो छ, तर समयसँगै गीतका लय र भाकाहरू फेरिएका छन् । पुराना गीत रिमिक्स भएका छन । फेरि बजारमा तीनवटा गीत गाएर ३ सयवटा गीत गाएँ भन्नेहरू बढेका छन् । यस्तै कलाकारका कारण बजार बिग्रिएको छ । पुराना गीतहरू बिनाअनुमति चोरी गरेर गाउनेहरू पनि उत्तिकै छन् । मेरै पनि केही गीत चोरिएका छन्, जुन गीत अहिले पनि चर्चित छन् । 

तपाईको गीतचाहिँ रिमिक्स गर्न दिनुभएन ?

मेरा गीत माग्ने थुप्रै छन् । मैले अहिलेसम्म दिएको छैन । अबचाँहि दिनुपर्ला भन्ने सोचमा छु । 

 जीवनप्रति कुनै गुनासो छ ?

पटक्कै छैन । त्यतिबेला नजानी –नजानी गरेको कामले अहिले सन्तुष्टि दिएको छ । समाजमा मान सम्मान दिएको छ परिचय दिएको छ । केही समय श्रीमतीले गुनासो गरिन्, पछि उनले पनि बुझिन् । अहिले उनी मसँग छैनन । गुनासो यति मात्र छ, बुढेसकालमा श्रीमती सँगै भैदिएको भए कति जाती हुन्थ्यो ?

 

प्रकाशित :मंसिर १३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्