साम्प्रदायिक भावनाबाट माथि उठ्दै मतदाता

  • जातिपातीको आँखाले हेर्दा नराम्रा जित्न र राम्रा हार्न सक्छन्

- जितेन्द्र साह

मंसिर १२, २०७४

 

विराटनगर– प्रदेश १ अन्तर्गत पर्ने मोरङमा दलित, मधेसी, आदिवासी एवं जनजाति मतदाताले जाति, समुदाय एवं गठबन्धनभन्दा पनि असल र सक्षम उम्मेदवार हेरी भोट खसाल्ने बताएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा २१ मंसिरमा मतदान हुँदैछ । आसन्न निर्वाचनका लागि भोट हाल्न उत्सुक मतदाताले समान धारणा राखिरहेका छन् । 

अहिलेको समयमा मतदाताले जाति र समुदाय हेरेर उम्मेदवार छनौट गर्छन् भन्ने कसैले पनि भ्रम नराखे हुन्छ, २६ वर्षीय विक्की कुमार पासवानले भने— शिक्षा एवं चेतनासँगै सोच फेरिएको छ, जातीय मतका आधारमा कसैको हारजितको अनुमान गर्नु अब पूर्वाग्रही वा परम्परावादी सोच ठहरिनेछ ।

दलित समुदायका उनी निर्वाचन क्षेत्र न. ५ मा पर्ने मोरङको दक्षिणपूर्वी भेक रंगेली नगरपालिका–५, थानाटोलका बासिन्दा हुन् । अढाई दशकअघिसम्म यो भेकका थुप्रै गाउँमा उम्मेदवारको जाति हेरेर भोट हाल्ने गरिएको इतिहास छ । पासवानले हालै सम्पन्न स्थानीय निकाय एवं अबको निर्वाचनमा समेत जनतामा साम्प्रदायिकताको भावना बिल्कुलै नदेखिएको बताए । 

मधेसी बहुल उक्त नगरपालिकामा स्थानीय निकाय चुनावमा समेत अल्पसंख्यक मारवाडी जातिका एक व्यवसायी युवक मेयरमा र पहाडी मूलकी सामान्य महिला उपमेयरमा जितेकी छन् । जुनसुकै गठबन्धन, पार्टी र जातिका भए पनि उम्मेदवार दोहोरो चरित्रको वा जनतालाई ठग्ने नहोस्, बोलेको कुरालाई व्यवहारमा लागू गर्ने खाले होस्, –पासवानले भने ।

विकासको स्पष्ट योजना बोकेको असल, व्यवहारिक एवं सम्भावनायुक्त उम्मेदवारलाई प्रतिनिधि एवं प्रदेशसभाका लागि जिताउने उनले बताए । पेसाले औषधी व्यवसायी दलित समुदायका यी शिक्षित युवकजस्तै समान विचार रंगेली–४ का मधेसी समुदायका किसान २९ वर्षीय शशिकुमार चौधरीले पनि राख्छन् । 

जातिपातिका आधारमा बिल्कुलै मतदान हुँदैन, उनले भने— कुनै एक समुदायको भोटले कोही पनि जित्दैनन्, विजय हुनलाई मधेसी, पहाडी, मारवाडी, दलित, आदिवासी र अल्पसंख्यकलगायत सबैको भोट चाहिन्छ । दलभन्दा पनि जिम्मेवार उम्मेदवारलाई प्राथमिकतामा राखेर मत दिने चौधरीले बताए । 

सीमावर्ती जहदा एवं धनपाल गाउँपालिका, रंगेलीको ४, ५, ६ र ७ वडा तथा विराटनगर महानगरपालिकाको १३ देखि १८ वडा समेटिएको मोरङ निर्वाचन क्षेत्र नं. ५ मा ८९ हजार २ सय ८७ मतदाता छन् । उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट अमृतकुमार अर्याल, माओवादी केन्द्रबाट शिवकुमार मण्डल, संघीय समाजवादी फोरमबाट राजकुमार यादव, राष्ट्रिय जनता पार्टीबाट बद्रीप्रसाद मण्डल, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बाट कुर्वान मियाँ र स्वतन्त्रबाट अनीताकुमारी ढकाललगायत सात जना चुनावी मैदानमा छन् । 

मोरङको निर्वाचन क्षेत्र नं. २ मा पर्ने सुनवर्षी नगरपालिका–४ का २८ वर्षीय चन्द्रबहादुर राजवंशीले यो र त्यो दल एवं जातिभन्दा माथि उठेर राम्रो मान्छेलाई भोट दिने बताए । भरपर्दो एवं सक्षम उम्मेदवारले हाम्रो भविष्य बन्ने बुझेका छौं, आदिवास समुदायका उनले भने— जुनसुकै जाति र वर्गका भए पनि फरक पर्दैन ।

उक्त निर्वाचन क्षेत्रमा यातायात, पुल र रोजगारीका सुन्दर अवसरहरूको आवश्यकता रहेको दस जोड दुईसम्म पढेका राजवंशीले बताए । शिक्षा, रुचि र कौशलअनुरूपको काम नपाउँदा स्थानीय युवावर्ग रोजगारीका लागि सहर बस्न बाध्य छन् । राजवंशी पनि घरदेखि टाढा सहरबजारकै एक पसलमा जागिर गर्छन् ।  

१ लाख ११ हजार ३ सय २१ मतदाता भएको मोरङको यो २ नम्बर निर्वाचन क्षेत्रमा सुनवर्षी र रतुवामाई नगरपालिका, रंगेलीको १, २, ३, ८, ९, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६, कानेपोखरी गाउँपालिकाको १,२, ३ वडा पर्छ । 

यो क्षेत्रमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट मीनेन्द्रप्रसाद रिजाल, एमालेबाट ऋषिकेश पोखरेल, राजपाबाट महेन्द्रलालदास केवरत, नयाँ शक्ति पार्टीबाट दीपक कोइराला, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट थिरबहादुर लिम्बू र स्वतन्त्रबाट कल्पना विमलीलगायत १२ जना उठेका छन् ।

मोरङको निर्वाचन क्षेत्र नम्बर ४ मा पर्ने कटहरी–६, थलाहाका रिक्सा मजदुर ३९ वर्षीय हरिलाल सरदारले यी निर्वाचनहरूलाई केही दिनको रमझम मात्र भनेर बुझेका छन् । मतगणनाको अन्तिम परिणाम नआउन्जेलसम्मको मेला हो, जितहारपछि जनताको परवाह कसैलाई पनि हुँदैन, दलित बाँतर समुदायका उनले भने— चुनावका बेला उठाइने जातिपातिको नारा पनि केही स्वार्थी नेताको कुर्सी हात पार्ने चाल मात्र हो, अन्तत: सबैले आफ्नै दुनो सोझ्याउने हुन् ।

कुल ९९ हजार १ सय २३ मतदाता भएको निर्वाचन क्षेत्र ४ मा कटहरी एवं ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिका ५, ६, ७ र विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ पर्छ । यो क्षेत्रमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट महेश आचार्य, माओवादी केन्द्रबाट अमनलाल मोदी र राष्ट्रिय जनता पार्टीबाट लक्ष्मण साहूलगायत नौ जनाले प्रतिस्पर्धा गर्दैछन् ।

मोरङको निर्वाचन क्षेत्र नं. ३ मा पर्ने सुन्दरहरैंचा नगरपालिका–१०, खुर्सानीकी गृहिणी रूपा गुरुङले व्यक्तिलाई हेरिने हुनाले चुनावपिच्छे  फरक–फरक दलका उम्मेदवारलाई भोट दिंदै आएको बताइन् । यो पटक प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान गर्न जाँदा पनि कुन दलभन्दा कुन उम्मेदवार ठीक हुने हेर्छु, –जनजाति समुदायकी उनले भनिन् । 

१ लाख २७ हजार ४ सय ९५ मतदाता भएको मोरङको निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाका लागि कांग्रेसबाट सुनीलकुमार शर्मा, एमालेबाट भानुभक्त ढकाल र राष्ट्रिय जनमोर्चाबाट योगेन्द्र ढकाललगायत १३ जना लडिरहेका छन् ।

सुन्दरहरैंचा, बेलबारी र पथरी शनिश्चरे नगरपालिका एवं कानेपोखरी गाउँपालिकाका विभिन्न वडा मिलाएर उक्त निर्वाचन क्षेत्र बनाइएको हो । विराटनगर सहरका मतदातामा पनि साम्प्रादायिक भावना बिल्कुलै नरहेको देखियो । स्थानीय केशलिया टोलका निर्माण मजदुर ३५ वर्षीय दुर्गानन्द कामतले समग्र विकास गर्दै सबैलाई समेटेर लान सक्नेलाई भोट दिने बताए । 

उनकै सहकर्मी जतुवाका ३० वर्षे ललित कामतले भने— मान्छे अब धेरै बुझ्ने भइसके, मधेसी–पहाडी हेर्दैनन्, काम गर्न सक्नेलाई जिताउँछन् । मोरङको ६ वटै निर्वाचन क्षेत्रमा अहिले यस्तै साम्प्रादायिक सदभावको माहोल छ । 

घरआँगनमा जुनसुकै दल र जातिका उम्मेदवार पुगे पनि मतदाताले बिना कुनै खाले भेदभाव सम्मान गर्दै आफ्ना माग वा पक्ष राखिरहेका छन् । हरेक उम्मेदवारको भनाइ सुन्छौं, आफ्नो कुरा पनि राख्छौं, दुर्गानन्दले भने— जातिपातिको आँखाले हेर्दा नराम्रा जित्न र राम्रा हार्न सक्छन् ।

यसैगरी कुल १ लाख ७२ हजार ३४ मतदाता भएको मोरङको निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभाका लागि कांग्रेसबाट डिगबहादुर लिम्बू, एमालेबाट घनश्याम खतिवडा, संघीय समाजवादी फोरमबाट राजकुमार लिम्बू र नयाँ शक्ति पार्टीबाट हरिप्रसाद न्यौपानेलगायत १० जना उम्मेदवार लडिरहेका छन् । उक्त निर्वाचन क्षेत्रमा केराबारी र मिक्लाजुङ एवं उर्लावारी र लेटाङ नगरपालिकाका सबै बडा समेटिएका छन् । 

१ लाख १० हजार ३ सय २२ मतदाता भएको मोरङको निर्वाचन क्षेत्र नं. ६ मा प्रतिनिधिसभाका लागि कांग्रेसबाट डा. शेखर कोइराला, एमालेबाट लालबाबु पण्डित, राजपाबाट तवरेज अख्तर आलम, संघीय समाजवादी फोरमबाट राजेश्वर विश्वास र नयाँ शक्ति पार्टीबाट विमला अर्याललगायत १० जनाले उम्मेदवारी दिएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा बूढीगंगा गाउँपालिका, सुन्दरहरैंचा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ तथा विराटनगर महानगरपालिकाको ४, ५, ६, ७, ९, ११ र १२ वडाहरू पर्छन् । क्षेत्रीय निर्वाचन कार्यालय मोरङको अनुसार ती ६ वटै निर्वाचन क्षेत्रमा ३ लाख २६ हजार ५ पुरुष, ३ लाख १८ हजार ७ सय ७५ महिला र २ तेस्रो लिंगीसहित कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता छन् । 

अहिलेसम्म सबैतिरको वातावरण शान्त एवं सौहार्दपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख उपरीक्षक अरुण बीसीले बताए । एकपछि अर्को गर्दै मतदान केन्द्रको स्थलगत अवलोकनमा हिंडिरहेका बीसीका अनुसार मोरङको उत्तरी पहाडी भेकदेखि दक्षिणी मधेस भेगसम्म उम्मेदवारहरूले निर्वाध चुनावी प्रसार गरिरहेका छन् । शान्ति–सुरक्षामा कुनै समस्या छैन, उपरीक्षक बीसीले भने— आचारसहिंता उल्लंघनका छिटपुट एवं सामान्य घटनामा पनि तत्कालै कारबाही भइरहेको छ ।  

 

प्रकाशित :मंसिर १२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्