सामाजिक सञ्जालमा निर्वाचन

- जितेन्द्र साह

मंसिर १०, २०७४

 

कति मीठा कुरा गर्छौ हे नेता ? चुनाव आएपछि, 

घरदैलो धाउन पनि सक्ने रै’छौ नि, तिमीले चाहेपछि,

आज त हात जोड्दै मेलापातमा समेत आइपुगेछौ,

थाहा छ तिमीले चिन्दैनौ हामीलाई भोट पाएपछि ।

फेसबुक प्रयोगकर्ता त्रिपाठी सबी पाठकले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा आफ्नो धारणा व्यक्त गरेकी हुन् । 

सामाजिक सञ्जालमा सक्रिय पोखरेल सुबिहानीले यो निर्वाचनलाई लिएर मजाले घोचपेच गरेकी छिन् । पोखरेल आफ्नो फेसबुक वालमा लेख्छिन्—

तरकारी बेच्ने फिल्म खेल्न थाले,

फिल्म खेल्ने राजनीति गर्न थाले,

राजनीति गर्ने कमेडी गर्न थाले,

कमेडी गर्ने देश बनाउन थाले ।

उनी यहीं रोकिएकी छैनन् । ‘यदि अहिलेसम्मका कुनै पनि ठूला नेताले आफ्नो बोली पूरा गरेका थिए भने हजारौं नेपाली बन्द बाकसमा फर्कनु पर्दैनथ्यो ।’ 

समसामयिक विषयमा सटीक टिप्पणी गर्ने बिम्मी शर्माले कुनै पनि दललाई बाँकी नराख्दै भनेकी छिन्—

रूखको पात जम्मै झरिसकेर ठुटो भैसक्यो के ओत लाग्नु ?

सूर्य टाढा छ पुग्नै सकिन्न, त्यसको तातोले सार्‍है पोल्छ,

गाई र गोरुको सिंगै लामालामा छन् हान्लान भन्ने डर,

साइकल गुड्नुभन्दा पहिले नै पंक्चर भैसक्यो,

हँसिया–हतौडामा खिया लागिसकेछ, छुँदा टिटनेस होला भन्ने त्रास,

रणभुल्लमा छन् जनता नेता र तिनका दलको नौटंकी देखेर ।

उनी पनि यतिमै सीमित छैनन् । ‘आमसभा र कोणसभामा उम्मेदवारहरू पार्टीको घोषणा पत्रमा केन्द्रित हुनुपर्नेमा विरोधीलाई सराप्नमै व्यस्त छन्,’ शर्मा लेख्छिन्, ‘जिते के गर्न सकिन्छ भन्नेतर्फ प्रतिबद्ध हुनुपर्नेमा आफ्ना प्रतिस्पर्धी उम्मेदवारलाई गाली गर्नमा सबैले श्रम र समय खर्च गरेको देख्दा ताज्जुब लाग्छ ।’ 

देवी काफ्ले दल तथा नेताहरूमाथि यसरी खनिएकी छिन्—

चुनावको बेला बनाइने झन्डा,

र्‍यालीका लागि मोटरसाइकल,

जिपकारमा लाग्ने इन्धन,

बेलुका ज्यूनार हुने महँगा

रक्सी, खसीको मासु,

मतदातालाई लोभ्याउने,

साडी, नगद अनि बोइलर कुखुरा,

कम्प्युटर, ल्यापटप, मोबाइल,

बाट अलिकति कटौती गरेर,

हाम्रो नांगो शरीर ढाक्ने,

एउटा भेस्ट र कट्टु दिनु न, 

भोट हजुरलाई नै दिउँला ।

काफ्ले नेताहरूलाई सचेत गराउँदै भन्छिन्, ‘झोले, टोले र चम्चे कार्यकर्तादेखि सावधान नेताहरू । 

निर्वाचन नजिकिंदै जाँदा विभिन्न दलका उम्मेदवार जनताको समस्यामा केन्द्रित हुनुपर्नेमा एक–अर्कालाई घोचपेच गरेर महान बन्न खोजिरहेका छन् । ‘चुनाव हो, मैत्रीपूर्ण प्रतिस्पर्धा गरे भै गो नि । अरूलाई धारे हात किन लगाउनु ? दुर्वचनको अभ्यास किन गर्नु ? अरूलाई होचो देखाएर आफू अग्लो भइँदैन,’ नारायण अमृतले आफ्नो पोस्टमार्फत भनेका छन् । 

शिक्षक उमेश रेग्मी ‘सौरभ’ ले मनभित्रको उथलपुथल यसरी व्यक्त गरेका छन्—

ए नेता तिमी त किन 

गनाउने भएछौ

भोटका लागि टाउको 

कनाउने भएछौ ।

जता जाओस् जे होस् 

देशको अवस्था, 

तिमी त केवल जनता 

फकाउने भएछौ ।

गरिब छ देश गरिब छन् 

जनता पनि 

तिमी त अरबौं रुपैयाँ 

सकाउने भएछौं ।

रेग्मीले भनेका छन्, ‘यसपालिको चुनावले तान्न सकेन, अनिर्णयको बन्दी भएको छ मन ।’ 

‘हारे पनि जिते पनि, आफ्नो ब्रह्मले छानेको उम्मेदवारलाई मत दिने हो, ‘जित्ने’ भनिए भन्दैमा गुन्डा वा भ्रष्टलाई दिएर हात फोहोर पारिन्न,’ वसन्त गौतमले भनेका छन् । अलिक जटिल खालको यो निर्वाचनमा मतदाता शिक्षा समेत प्रभावकारी देखिएको छैन । मतदाता अन्योल छन् । ‘मतदाता शिक्षामा एक अर्व सकियो, बा–आमा केही बुझ्दिन भन्छन्,’ सञ्चारकर्मी अनिल परियारले लेखेका छन् । निर्वाचनसँगै सुरु हुने भोजलाई लिएर पनि सामाजिक सञ्जालका प्रयोगकर्ताले चिन्ता जनाएका छन् । ‘चुनावको एक साता देशैभरि रक्सी पसल बन्द गर्न पाए कति स्वच्छ निर्वाचन हुन्थ्यो होला ? रक्सी ख्वाएर र ख्वाउँछु भन्दै भोट माग्ने एवं भोट दिने दुवैले चेत्थे कि ?,’ प्रयोगकर्ता दिनेश दिनेश ट्विटरमा लेख्छन् । 

 

प्रकाशित :मंसिर १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्