नानीको नाट्य–संसार

- किशोर नेपाल

मंसिर १०, २०७४-

 

नानी थापा । सिन्धुपाल्चोकमा जन्मिएकी नानी थापाले २५ वटा जाडोयाम बिताइसकेकी छिन् । यी सुन्दरी नाटककार, निर्देशक र कलाकार हुन् स्वान्त सुखाय: । स्वान्त सुखाय: यसनिम्ति कि नाटकलाई नानीले व्यवसायका रूपमा लिएकी छैनन् । तीन विषयमा एमए गर्ने उनको उद्देश्य रहेको छ । पेसाले कानुन व्यवसायीका रूपमा स्थापित हुने नानीको विचार छ । अहिले उनी मनोविद्का रूपमा कार्यरत छिन् । 

नानीको कलाकार व्यक्तित्व स्वतन्त्र छ । नानी असीम उत्साह र ऊर्जाकी मालिक हुन् । उनको बहुमुखी प्रतिभालाई पनि कसैले इन्कार गर्न सक्दैन । सामाजिक सचेतना जगाउने उनको प्रेरणादायी चिन्तनलाई त झन् कसैले इन्कार गर्ने कुरै आउँदैन ।

आफैं नाटक लेख्छिन्, निर्देशन गर्छिन् र आफै अभिनय गर्छिन् । उनले अहिलेसम्म पाँचवटा नाटक लेखेकी छिन् र ती सबैमा एक्लै अभिनय गरेकी छिन् । नानी थापाका यी सिर्जनाहरू नाटकका मूलधारभन्दा अलिकति बाहिर छन् । 

नानीले १४ वर्षको उमेरमा एकल नाटक पुतली उत्पादन, निर्देशन, अभिनय र प्रदर्शन गरेकी थिइन् । उनले अहिलेसम्म यस्ता एकल नाटक पाँचवटा गरेकी छिन् । पुतली नाटक निर्माणको १० वर्षपछि उनको पछिल्लो नाटक जूनकीरी प्रदर्शनमा आयो । नानीले अरू नाटकहरूमा जस्तै यो नाटकमा पनि सामाजिक चेतनाको प्रश्न उठाएकी छिन् । यो पटक उनको यो प्रश्न निकै दह्रो रह्यो । जूनकीरीले व्यापक हिसाबले सरकार, न्यायपालिका र बौद्धिक वर्गको ध्यान खिच्यो । यो नाटकमा नानीलाई कलगर्लका रूपमा देख्न सकिन्छ, जो आफूले बिताएको जीवनप्रति पश्चाताप गरिरहेकी हुन्छिन् । जूनकीरीले सम्बोधन गर्न खोजेको यो यथार्थपरक कथावस्तुले दर्शकहरूलाई सम्मोहित मात्र गरेन, संवेदनशील पनि बनायो ।

नानीले १८ वर्षको उमेरमा बेचिएकी चेली, २० वर्षको उमेरमा विद्रोह र २२ वर्षको उमेरमा ब्युटिफुल वुमन (सुन्दर नारी) को निर्माण र प्रदर्शन गरेकी थिइन् । यी सबै नाटकमा उनले नेपाली समाजमा अहिले बढ्दै गएको गडबडी, विसंगति र विडम्वनाका क्षणहरूलाई उतारेकी छिन् । सिन्धुपाल्चोकको अविकसित ग्रामीण समाजमा जन्मिएकी नानीलाई सामाजिक विसंगतिको राम्रो जानकारी छ । उनको ध्यान त्यसका विरुद्ध केन्द्रित भएको छ । 

जूनकीरीका रूपमा दर्शकको मन र मस्तिष्कमा बस्न सफल नानी थापाले जूनकीरी पात्रलाई जुन रूपमा प्रस्तुत गरिन् त्यसले अस्तित्वको एउटा यात्राको शुभारम्भ गरेको छ । गाउँकी एउटी सामान्य युवती हाई प्रोफाइल कलगर्ल बनेर अन्य पात्रसँग संगठित हुन्छे । आँटिली र विद्रोही स्वभावकी जूनकीरी महिलाहरूको सशक्तीकरणको सन्देश बोकेर अगाडि बढ्छे । कानुनका सबै असमान पर्दालाई च्यात्ने दृढता बोकेकी जूनकीरी जसरी संस्थापन पक्षलाई चुनौती दिन्छे त्यो आफैंमा रोमाञ्चक छ ।

नानीले नारीहरूको शक्तिविम्बलाई राम्रोसँग बुझेकी छिन् । जूनकीरीको चरित्र आदर्शवादी छ, जसले परिवार नामक संस्थाको सुरक्षा गर्छ । एक प्रकारको आदर्श जीवनशैली अंगीकार गर्न चाहन्छ । प्रकृतिले मानिस जातलाई उपलब्ध गराएको नवरसले सिँगारिएको जूनकीरी नाटकलाई नानीको अभिनयले जीवन्त बनाएको छ । सुप्रसिद्ध नाटककार अशेष मल्लकी चेलीका रूपमा चर्चित नानी थापाले आफ्ना गुरु मल्ललाई यो नाटक समर्पित गरेकी छिन् । अशेषले नानीको प्रतिभालाई बडो जतनका साथ फक्राएर अघि बढाएका छन् भन्ने त नानीको नाटकीय व्यक्तित्वको प्रदर्शनले नै सावित गरेको छ ।

मानिसहरू कालातीत विषयलाई ईश्वर वा उसको अस्तित्व मान्छन् । नानी थापाको प्रस्तुतिमा अस्तित्वका केही भावहरू खोतल्ने प्रयत्न गरिएको छ । नानी थापाको अस्तित्वमाथिको प्रश्नको जवाफ सम्भवत: नाटकको त्यही भागमा नीहित पनि छ । उनको नाटक एकल भए पनि केही तमासाहरू साँच्चै आकर्षक छन् । नानीका नाटकहरू सरकारको विकास अभियान र सामाजिक न्यायको सिध्दान्तको प्रवद्र्धन सामग्री पक्कै होइनन्, तर यसमा त्यस्ता सामग्रीहरूको झलक पाइन्छ भने यो राम्रो कुरा हो । सरकारले नानीका प्रयत्नहरूलाई प्रोत्साहित गर्नुपर्छ । 

नानी थापा बेफ्वाँकमा जे पाए पनि पढ्ने चरित्र होइनन् । उनी आफूसँग असान्दर्भिक विषयलाई पढन चाहँदिनन् । अध्यात्ममा उनको रुचि छ । उनले आफ्नो जीवनलाई नि:सर्त सामाजिक न्याय, मानव मनोविज्ञान, व्यवसायी र नाट्य कलाकर्ममा समर्पित गरेकी छिन् । प्रेमको प्रसंगमा नानी रोचक जवाफ दिन्छिन् । हरेक मृत्युले आफ्नो जिन्दगी आज र अहिल्यैको पलदेखि बाँच्न झकझकाउँछ । उनी भन्छिन्— म पनि लामो समय सिंगल रहें, अब मिंगल गर्ने साइत जुराउँदैछु ।

प्रकाशित :मंसिर १०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्