नेपाली फुटबल लगातार ओरालो लागिरहेको छ

- जनक तिमिल्सिना, भिषा काफ्ले

मंसिर ९, २०७४- 

 

 

दुई वर्ष राष्ट्रिय फुटबल टिमको कप्तानीपछि फुटबलर अनिल गुरुङले संन्यासको घोषणा गरेका छन् । स्याङ्जाको दरौंमा जन्मिएका ३१ वर्षीय गुरुङ भारतीय लाहुरे बुवाका सन्तान हुन् । उनी ४ कक्षा पढ्न थालेपछि परिवार पोखरा बसाइँ सर्‍यो । पोखराकै सहारा एकेडेमीका उत्पादन अनिलले सन् २००७ मा ओमानविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका हुन् । राष्ट्रिय टिमबाट ५० वटा आधिकारिक प्रतियोगिता खेलेका अनिलले ५० क्याप जितेका छन् । संन्यासपछि नेपाली फुटबलका सम्भावना र चुनौतीमा केन्द्रित रहेर साप्ताहिक लागि भिषा काफ्ले र जनक तिमिल्सिनाले गरेको कुराकानी :

 

औपचारिक/अनौपचारिक गरी झन्डै ७० वटाभन्दा बढी खेल खेल्नुभयो, कस्तो अनुभव रह्यो ? 

मैले देशको जर्सी लगाएर खेल्न थालेको अन्डर–१९ बाटै हो । त्यसपछि अन्डर–२३ हुँदै म सिनियर टिममा आएको हुँ  । नेपालमा कहिल्यै एकैपटक माथि जाने अवस्था छैन । १० वर्षको करिअरमा ओभरअल सुखद अनुभव नै गर्न पाइयो । मैले दुई वर्ष राष्ट्रिय टिमको कप्तानी सम्हाल्ने मौका पाएँ । देशले नै मलाई योग्य सम्झेर जिम्मेवारी दियो, त्यो जिम्मेवारी मैले सक्दो मेहनतका साथ पूरा गरें । 

 

 

संन्यास लिने मनस्थिति कहिले बनाउनुभएको थियो ?

मैले व्यक्तिगत रूपमा सन् २०१६ मा सोलिडारिटी कप जितेपछि राष्ट्रिय टिमबाट संन्यास लिने मनस्थिति बनाएको थिएँ, तर ५० क्याप पुगेको थिएन, प्रशंसक, नातेदार तथा घरपरिवारले यो टार्गेट पूरा गरी होम ग्राउन्डमा संन्यास लिँदा राम्रो हुन्छ भन्ने सुझाव दिए, मैले त्यही आधारमा संन्यास लिए । 

 

फुटबलले तपाईंलाई दिएको सबैभन्दा ठूलो कुरा के हो ?

फुटबलले मलाई दिएको सबैभन्दा ठूलो कुरा इज्जत हो । एन्फाले पनि राम्रो बिदाइ गर्‍यो । त्यसलाई मैले यति वर्ष मैले फुटबलमा पुर्‍याएको योगदानको सम्मान मानेको छु । 

 

फुटबल जीवनको सबैभन्दा सुखद क्षण केलाई मान्नुहुन्छ ?

हामीले खेलेर जब देशले जित्छ, त्यतिबेला निकै खुसी लाग्छ । सन् २००९ मा पहिलो प्रधानमन्त्री कपको उद्घाटन र समापनमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड स्वयं उपस्थित हुनुहुन्थ्यो । त्यतिबेला हामीले ट्रफी जितेका थियौं, त्यो क्षणलाई पनि म निकै सुखद क्षणका रूपमा लिन्छु । सन् २०१६ मा मेरो कप्तानीमा हामीले एएफसीको सोलिडारिटी कप जित्यौं, त्यसले मलाई निकै आनन्दित बनाएको थियो ।

 

राष्ट्रिय टिमको फुटबल यात्रालाई कसरी लिनुहुन्छ ? 

नेपाली फुटबल टिमले अझ धेरै राम्रो गर्नुपर्ने हो, तर हाम्रो देशमा फुटबल कहिल्यै एकनासले अघि बढेन । 

 

के कारणले त्यस्तो भएको हो ? 

दुई चार वर्ष लिग हुन्छ, बीचमा ब्रेक भैदिन्छ । तीन/चार वर्ष ब्रेक भएपछि त्यसलाई पुन: सुरु गर्दा जिरो लेभलबाट सुरु गर्नुपर्ने हुन्छ । जबसम्म घरेलु लिगहरू बलियो हुँदैनन्, राष्ट्रिय टिम बलियो हुँदैन । त्यसैले फुटबल राम्रो बनाउन लिगमै ध्यान दिनुपर्छ । 

 

यसमा सरकार वा एन्फा कसको कमजोरी हो ? 

फुटबल चलाउने एन्फा हो । सरकारले पनि यसलाई हेरिदिनुपर्ने थियो । लिग गराउने पूर्वाधार छैन, हामी जम्मा एउटा ग्राउन्डमा सीमित छौं । पूर्वाधारका कुराहरूमा सरकारले ध्यान दिनुपर्ने हो । 

 

राज्यले फुटबलमा लगानी गरेन भन्न खोज्नुभएको हो ? 

हो, राज्यले फुटबलमा लगानी गरेको छैन । 

 

एन्फामा लगातारजसो भैरहने विवादले फुटबलमा कत्तिको असर गरिरहेको छ ?

एकदमै असर पारेको छ । किनभने यही विवादका कारण एन्फाका अधिकारी स्वयंले पनि राम्रोसँग काम गर्न पाइरहेका छैनन् । उनीहरूको निर्णयले मात्र नहुने, बाहिरको निर्णय पनि आवश्यक पर्ने भएकाले एन्फालाई काम गर्न गाह्रो भैरहेको छ । एन्फा चलाउने समितिलाई पनि राम्रोसँग काम गर्न दिइएको छैन्, जसका कारण एन्फा आफैं समस्यामा छ । 

 

टिम निर्माणमा एन्फाको भूमिका कस्तो रहन्छ ? 

टिम निर्माणका लागि एन्फाले खेलाडीहरूलाई क्याम्पमा बोलाउँछ । त्यसपछि कस्ता खेलाडीको टिम बनाउने भन्ने कुरा प्रशिक्षकको हातमा हुन्छ । 

 

नीतिगत निर्णयमा खेलाडीहरूको पनि सहभागिता हुनुपर्छ भन्ने लाग्दैन ?

फुटबलमा सोचेजस्तो परिणाम आएको छैन । त्यो देख्दा नीतिगत निर्णयमा खेलाडीहरूको हस्तक्षेप आवश्यक छ जस्तो लाग्छ । अन्तर्राष्ट्रिय खेल खेल्दा अन्य देशको खेलकुदको अवस्था पनि देखिएको छ । त्यो देख्दा हामीले पनि नीतिगत सुधार गर्न सके राम्रै उपलब्धी हासिल गर्न सक्छौं भन्ने लाग्छ । 

 

नेपाली फुटबलको सम्भावना कस्तो छ ?

अहिले लिग सञ्चालन नभएको चार वर्ष भयो । क्लबहरूबाट पारिश्रमिक नपाएको पनि त्यत्तिकै समय भयो । यही क्रम अब दुई वर्ष जारी रह्यो भने नेपाली फुटबल शून्यको अवस्थामा पुग्छ । 

 

यसलाई सुधार गर्न के गर्नुपर्छ ? 

यसलाई सुधार गर्ने एउटै उपाय भनेको लिगलाई नियमित गर्नु नै हो । 

 

नेपाली फुटबलरहरूले अहिले पाइरहेको सेवा–सुविधा पर्याप्त छ ? 

राष्ट्रिय टिमका सदस्यहरूलाई एन्फाले मासिक १५ हजार रुपैयाँ दिँदै आएको छ । त्यो १५ हजार रुपैयाँले बाँच्न सकिँदैन भन्ने त जो कोहीलाई थाहा छ । 

 

मासिक तलब कति पुर्‍याए खेलाडीलाई सहज हुन्छ ? 

राष्ट्रय खेलाडीले पाइरहेको तलब बढाउनुपर्छ । मासिक ५० हजार रुपैयाँ नै पुर्‍याए पनि गाह्रो हुन्छ । किनभने हाम्रो जस्तो देशको खेलाडीले लामो समय खेल्न सक्दैन । धेरै वर्ष खेले ९–१० वर्ष हो । त्यसपछि के गर्ने कुनै निश्चित हुँदैन । त्यही समयमा खेलेको पैसाले जिन्दगीभर पुग्छ भन्ने हुँदैन । खेलाडीहरूको सहज जीवनयापनका लागि नियमित रूपमा लिग सञ्चालन हुनुपर्छ । लिग भयो भने आम्दानी पनि बढ्छ र नेपालको खेल समेत राम्रो हुँदै जान्छ । 

 

टिम बनाउने विषयमा कप्तानको भूमिका कस्तो रहन्छ ? 

कप्तानको भूमिका खेल्ने मात्र होइन, मैदानबाहिर पनि खेलाडीहरूलाई अनुशासित राख्ने, समयमा हिँडाउने, मैदानभित्र गाइड गर्ने, खेलाडीलाई उत्साहित गर्ने भूमिका हुन्छ । मैदानभित्र दबाब कम गर्ने, रेफ्रीसँगको विवाद सल्टाउने, कोर्डिनेसन गर्ने, निस्क्रियलाई गतिशील बनाएर खेलाउने वातावरण कप्तानले निर्माण गर्ने हो । 

 

कप्तानका रूपमा तपाईंले अहिलेसम्म खेलेका खेलमध्ये सबैभन्दा तनावपूर्ण खेल ?

सन् २०१५ मा हामी साफ च्याम्पियनसिप खेल्न केरला गएका थियौं । त्यहाँ हाम्रो खेल श्रीलंकासँग थियो । हामी श्रीलंकालाई जित्नेमा ढुक्क भएर ओभर कन्फिडेन्ट भयौं, तर जति बल लग्यो, जति ट्राई गर्‍यो गोल हान्नै नसकिने । उनीहरूले ब्लक गरेको गर्‍यै गरे । त्यस्तो कमजोर टिमलाई पनि हामीले गोल गर्न सकेनौं, समयले त हामीलाई कुर्दैन । जति समय गयो, हामी त्यति आतिदै गयौं । जित्ने टिमसँग बराबरी खेल्ने हो कि भन्ने सोच भयो । जे गर्दा पनि गोल गर्न सकिएन्, अन्तमा काउन्टर अट्याकमा उनीहरूले नै गोल हाने । ९० मिनेटमा १–० भयो, हामीले जित्न सकेनौं । त्यही म्याच हारेका कारण हामी प्रतियोगिताको पहिलो चरणबाटै आउट भयौं । 

 

मैदानभित्र रुनुभएको छ ? 

रोएको छु नि, सन् २०१३ को साफ प्रतियोगिता काठमाडौंमा भएको थियो, जसमा अफगानिस्तानसँग १–० ले हार्दा रोएको थिए । नेपालको टिम र खेल निकै राम्रो थियो । प्रशिक्षकले पनि खेलाडीहरूलाई प्रोत्साहन दिइरहेका थिए । उक्त प्रतियोगिता खेलाडीहरूको भविष्यसँग पनि जोडिएको थियो । किनभने त्यो प्रतियोगिता जितेको भए, हामीले बस्नका लागि अपार्टमेन्ट समेत पाउने थियौं, थप नगद पनि पाउने थियौं । हामीले भारतलाई हरायौं तर अफगानिस्तानसँग सेमिफाइनलमा हार्नुपर्‍यो । रोहित भाइले दुईपल्ट पेनाल्टी मिस गर्‍यो । खेल सकिएपछि मैदानमा पल्टिरहेका बेला साथीहरू रुन थाले । मेरो पनि आँसु बगिरह्यो । त्यो निकै रोएको क्षण थियो । 

 

अबको योजना के छ ? 

अझै चार वर्ष क्लबबाट खेल्छु । त्यसपछि भने देशकै कुनै ठाउँमा फुटबल एकेडेमी खोल्ने योजना छ । 

 

तपाईंसँगै खेलेका साथीहरू म्याच फिक्सिङमा परे तपाईंलाई केही जानकारी थिएन ?

त्यो मेरो सोच वा कल्पनाभन्दा धेरै बाहिरको कुरा थियो, जब सुने म आफंै सक्ड भए । एक जना साथीले फोन गरेर टिभीको ब्रेकिङ न्युज हेर्न भन्यो मैले टिभी खोल्दा उनीहरू पक्राउ परेको समाचार आइरहेको थियो । 

 

कति वर्ष ती साथीहरूसँग खेल्नुभयो ? 

झन्डै ९ वर्ष खेलें । 

 

त्यति लामो खेलयात्रामा उनीहरूको त्यस्तो गतीविधिको कुनै सुइँको पाउनुभएन ? 

मलाई त्यस्तो केहीँ पनि लागेको थिएन । 

 

उनीहरूले तपाईंलाई पनि त प्रलोभन पार्न खोजे होला नि ? 

त्यस्तो कहिल्यै भएन । अहिले पनि अदालतले उनीहरूले म्याच फिक्सिङ गरेकै हो भनेर भनिसकेको छैन । प्रहरीको अनुसन्धान मात्र भैरहेको छ । उनीहरू केस लडिरहेका छन् । यो मैले बोल्न सक्ने कुरा होइन ।

 

त्यो प्रकरणपछि नेपालले केही उपाधि जित्यो, त्यसले आरोपलाई बल पुर्‍याउने काम त गर्‍यो नि, होइन ? 

नेपालले जित्यो, त्यसमा खुसी लाग्नु स्वभाविक हो । त्यसलगत्तै नेपालले तीनवटा टुनामेन्ट जित्यो । त्यो नजितेको भए नेपाली फुटबलको अवस्था अझ दयानीय हुने थियो, तर बुझ्नुपर्ने कुरा नेपालले जति पनि गेम जित्यो त्यो राष्ट्रिय टिमले भन्दा पनि अन्डर २३ टिमले जितेको छ । त्यो तीनवटा गेम जित्दा धेरैले सोचेका थिए अब नेपालको फुटबल स्तर धेरै राम्रो हुन्छ, तर अहिले यो माथि जानुको साटो एकदमै तल झरेको छ त्यो देखेर म अचम्मित छु । 

 

नेपाली फुटबललाई अघि बढाउन खेलाडी, एन्फा तथा राखेपको अबको भूमिका के हुनुपर्छ ?

खेलाडीले खेल्ने मात्र हो । हामीले यस्तो गर उस्तो गर भन्ने कुरा हँुदैन । एन्फा र राखेपले खेलाडीले निर्धक्क खेल्न सक्ने वातावरण बनाउनुपर्छ । 

 

संन्यास लिएपछि नीतिगत तहमा आफैं जाउँm कि भन्ने लाग्दैन ? 

मैले अहिलेसम्म त सोचेको छैन । त्यसका लागि धेरै तयारी गर्नुपर्छ । नीतिगत ठाउँमा जाने अनुभव मसँग छैन ।  

 

नेपाली फुटबलको विकास नहुनुको कारण एन्फामा लामो समयदेखि रहेका पदाधिकारीहरू पनि हुन भनिन्छ नि ?

मलाइ यो विषयमा त्यति जानकारी छैन । किनभने त्यहाँको राजनीति के हो हामीलाई थाहा हुँदैन । त्यो त्यहीँ हुनेहरूलाई मात्र थाहा हुन्छ । एउटा खेलाडीका रूपमा भन्नुपर्दा फुटबलको विकास कसरी हुन्छ, हामी सबै त्यसमा लाग्नुपर्छ । 

 

तपाईंको रोलमोडल नेपाली फुटबलर को हो ?

मैले सधैं पछ्याउने वसन्त थापा र वसन्त गौचन हुन् । मैले उहाँहरूलाई पहिलो पटक टिभीमा राष्ट्रिय टिमबाट सार्क गेम खेलेको हेरेको थिएँ । उहाँहरूको खेल मैले पहिलोपटक पोखरामा मनाङ मस्र्याङ्दीका तर्फबाट खेल्दा हेरेको थिएँ । मनाङ–मस्याङ्दी मलाई मनपर्ने क्लब हो । पछि गएर मैले नै उहाँहरूलाई रिप्लेस गरें । साह्रै खुसी लाग्छ । मन परेको प्लेयर र क्लब पाएँ ।

 

दुई वर्ष कप्तान भएका नाताले अहिले राष्ट्रिय टिममा भएका पोटेन्सियल खेलाडी कसलाई मान्नुहुन्छ ? 

एकदमै राम्रो देखेको रोहित चन्द, विमल घर्तीमगर तथा अन्जन विष्ट । अझ मेहनत गर्ने हो भने उनीहरू अन्तर्राष्ट्रिय रूपमा ख्याति पाएका क्लबहरूबाट समेत प्रतिस्पर्धा गर्न सक्ने खेलाडी हुन् । चन्दले त इन्डोनेसियन क्लबबाट खेलिरहेकै छन् अरू दुई जनामा पनि त्यो क्षमता छ । 

 

तपाईंसँगैका सहकर्मीमध्ये कसको खेल शैलीबाट प्रेरित हुनुहुन्छ ? 

मेरा लागि सबैभन्दा राम्रो खेल कौशल भएका खेलाडी विजय गुरुङ हुनुहुन्थ्यो । उहाँको लेफ्ट साइडबाट गोल अघि निकाल्ने तरिका एकदम राम्रो लाग्थ्यो । 

 

तपाईंका प्रशंसक पनि निकै छन्, केही अनौठा खालका प्रशंसकहरूका बारेमा बताइदिनुस् न ।

म नयाँबजार बस्दा फ्यानहरूले गिफ्ट दिन्थे, मलाई नभेटेपछि ढोकामा समेत गिफ्ट राखेर जान्थे । त्यस्तो हुँदा खुसी लाग्दो रहेछ । महिला प्रशंसक पनि प्रशस्तै हुनुहुन्छ ।

 

कतिपय युवतीले त प्रेम प्रस्ताव पनि राखे होलान् नि ?

मैले फ्यानलाई फ्यानकै श्रेणीमा राखे । प्रेम प्रस्ताव राख्ने युवतीहरू पनि निकै थिए । फ्यानको प्रस्तावमा मेरो मन भने पग्लिएन । 

 

तपाईंलाई खेल वा परिवार कसको दबाब बढी हुन्थ्यो ?

दुवैतर्फको दबाब हुन्छ । म मध्यवर्गीय परिवारको मान्छे हुँ । फ्यामिलीमा आफ्नो किसिमको समस्या हुन्छ, जसले खेलमा पनि असर पारिरहेको हुन्छ । त्यसैले फ्यामिली र फुटबल दुवैतर्फको प्रेसर झेल्नुपर्छ ।

प्रकाशित :मंसिर ९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्