कामना फिल्म एवार्ड्सको मनोनयन

- साप्ताहिक संवाददाता

मंसिर ८, २०७४-

सिने मासिक कामनाले वितरण गर्ने सिजी कामना फिल्म एवार्डको तेस्रो संस्करणको मनोनयन सूची सार्वजनिक गरेको छ । पुसमा वितरण गरिने यो एवार्डमा यो वर्ष विभिन्न ३१ विधामा कलाकार तथा चलचित्रलाई पुरस्कृत गरिनेछ । 

एवार्डको मनोनयन सूचीमा चलचित्र छक्का पञ्जाले बाजी मारेको छ । दीपाश्री निरौलाद्वारा निर्देशित उक्त चलचित्र सर्वाधिक १७ विधामा मनोनित भएको छ । चलचित्र छक्कापन्जा सर्वोत्कृष्ट चलचित्र, नव निर्देशक, कथा, पटकथा, संवाद, अभिनेत्री, सह–अभिनेता, सह–अभिनेत्री, खलपात्र, हास्य कलाकार, पाश्र्व गायक, नृत्य निर्देशक, पाश्र्व संगीत, छायांकन, सम्पादन तथा ध्वनि मिश्रण विधामा मनोनीत भएको छ । पाश्र्व गायनमा यो चलचित्रका गीतबाट दुई जना गायक मनोनित छन् । 

प्रदीप भट्टराईद्वारा निर्देशित चलचित्र जात्रा तथा हेमराज बिसीद्वारा निर्देशित चलचित्र गाजलु १४–१४ विधामा मनोनित छन् । जात्रा उत्कृष्ट चलचित्रका साथै नव निर्देशक, अभिनेता, अभिनेत्री, सह–अभिनेता, खलपात्र, हास्य कलाकार, बाल कलाकार, पटकथा, संवाद, सम्पादन, श्रृंगार, ध्वनि मिश्रण तथा पाश्र्व संगीत विधामा मनोनीत छ भने गाजलु उत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, सह–अभिनेता, सह–अभिनेत्री, हास्य कलाकार, नव अभिनेत्री, कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, श्रृंगार तथा ध्वनि मिश्रण विधाको मनोनयमा परेको छ ।

निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र लुट–२ तेस्रो सर्वाधिक ११ विधामा मनोनीत छ । यो चलचित्र उत्कृष्ट निर्देशक, हास्य कलाकार, बाल कलाकार, संगीतकार, गायिका, नृत्य निर्देशक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, छायांकार, सम्पादक तथा श्रृंगार विधामा मनोनयनमा परेको छ । 

आकाश अधिकारीद्वारा निर्देशित चलचित्र के म तिम्रो होइन र १० विधामा मनोनीत छ । यो चलचित्र उत्कृष्ट चलचित्रसहित निर्देशक, सह–अभिनेता, नव अभिनेता, नव अभिनेत्री, पाश्र्व गायक, पाश्र्व संगीत, द्वन्द्व निर्देशक, श्रृंगार तथा ध्वनि मिश्रण विधाको मनोनयनमा परेको छ ।

चलचित्र बाटोमूनिको फुल–२ तथा डाइङ क्याण्डल ९–९ विधामा मनोनित भएका छन् । सुवर्ण थापाद्वारा निर्देशित बाटोमुनिको फुल उत्कृष्ट निर्देशक, सह–अभिनेता, सह–अभिनेत्री, कथा, पटकथा, संवाद, गीतकार, गायिका, पाश्र्व संगीत विधाको मनोनयनमा परेको छ भने नरेशकुमार केसीद्वारा निर्देशित डाइङ क्यान्डल उत्कृष्ट चलचित्र, अभिनेत्री, नव–निर्देशक, बाल–कलाकार, कथा, पटकथा, छायांकन, सम्पादन तथा श्रृंगार विधाको मनोनयमा परेको छ ।

सन्तोष शिवाकोटीद्वारा निर्देशित चलचित्र शब्द नव निर्देशक, अभिनेता, नव–अभिनेत्री, बाल कलाकार, संवाद, गीतकार, गायक एवं छायांकार गरी आठ विधामा तथा मिलन चाम्सद्वारा निर्देशित विर विक्रम उत्कृष्ट अभिनेता, नव–अभिनेत्री, खलपात्र, संगीतकार तथा पाश्र्व गायक गरी ५ विधामा मनोनीत भएको छ ।

ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र किस्मत–२ पनि गीतकार, गायिका, द्वन्द्व निर्देशक, नव अभिनेता तथा नृत्य निर्देशक गरी ५ विधाको मनोनयनमा परेको छ । चलचित्र निर्भय र चपली हाइट–२ चार–चार विधाको मनोनयनमा परेका छन् । निर्भय उत्कृष्ट अभिनेता, अभिनेत्री, बाल कलाकार र संगीतकार तथा चपली हाइट–२ निर्देशक, नव अभिनेता, छायांकन एवं ध्वनि मिश्रण विधाको मनोयनमा परेको छ ।

चलचित्र पलाँस उत्कृष्ट खलपात्र, गीतकार तथा गायक र चलचित्र राधा संगीतकार, गायिका र नृत्य निर्देशक गरी ३–३ विधाको मनोनयमा परेका छन् भने चलचित्र होमवर्क सह–अभिनेत्री र कथा, चलचित्र जय परशुराम नव निर्देशक र द्वन्द्व निर्देशक, चलचित्र किङ नृत्य निर्देशक र द्वन्द्व निर्देशक, चलचित्र सफर गीतकार र नव अभिनेता गरी २–२ विधा मनोनीत छन् । चलचित्र बाजिगर खलपात्र, चलचित्र गाँठो नव–अभिनेत्री, चलचित्र लभसासा अभिनेत्री तथा चलचित्र हाउ फन्नी गायिका विधाको मनोनयमा परेका छन् ।

लक्स पपुलर च्वाईस एवार्डमा भने वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा तथा सृष्टी श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । वर्षा, केकी र प्रियंका उत्कृष्ट अभिनेत्री तथा सृष्टी नव–अभिनेत्रीको मनोनयनमा समेत छन् । वर्षा चलचित्र छक्कापञ्जाबाट सह–अभिनेत्री विधाको मनोनयमा छिन् । यो विधामा सर्वाधिक एसएमएस प्राप्त गर्ने नायिकाले एवार्ड जित्ने बताइएको छ । 

प्रकाशित :मंसिर ८, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्