पाँच सयमा सकियो विवाह

- सुव्रत आचार्य

मंसिर ६, २०७४-

 

कसैकी छोरी कसैको छोराले वा उसको परिवारले मन परायो भने माग्न पठाउने चलन अहिले पनि छ, तर त्यतिबेला हाम्रोमा के चलन थियो भने मन परेकी केटी हो भने बारम्बार कुरा पठाइरहने र मागिरहने । मेरी बहिनीका लागि पनि हामीभन्दा सम्पन्न परिवारबाट कुरा आएको आयै भयो । उताबाट हत्ते गरेपछि मेरो पिताजीले हार खाएर ‘हुन्छ’ भन्नुभयो । अब बहिनीको विवाह त हुने भयो, तर बहिनीभन्दा जेठो दाइ अर्थात् मेरो विवाह भएको थिएन । दाइको विवाह नभै बहिनीको विवाह हुनुलाई राम्रो नमान्ने समाज थियो । त्यसैले पनि मेरो विवाह गर्नै पर्ने भयो । फेरि एउटै पातमा दुई विवाह भन्ने चलन थियो अर्थात् एकै लगनमा दुई विवाह हुने र खर्च पनि कम हुने भएपछि मेरा लागि केटी खोज्न थालियो । बहिनीका लागि त वर तयार थियो, तर मेरा लागि भने बधू खोजिएकै थिएन । 

मदन पुरस्कारमा ‘ह्याट्रिक’ गर्ने एक्ला व्यक्तित्व सत्यमोहन जोशीको घरको फोन कसैले उठाएर राखिदिएको रहेछ । उनी मोबाइल फोन प्रयोग गर्दैनन् । फोन नलागेपछि दिउँसो सोझै उनको घरको आँगनमा पुगियो । उनकी अर्धाङ्गिनी ९४ वर्षीया राधादेवी जोशी पिंढीमा बसेर घाम तापिरहेकी थिइन् । घरभित्रबाट ९८ वर्षको उमेरमा पनि ‘जवान’ झैं लाग्ने सत्यमोहन जोशी निस्किए । ‘मंसिर लाग्दैछ, तपाईंहरूको बेलाको विवाहका बारेमा बुझ्न आएको’ भनेपछि घरको आँगनमा राखिएको कुर्सीमा बसेर हामीसँग बात मार्न उत्सुक देखिए— वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी । उनले आफूसँगै हामीलाई पनि विक्रम संवत् १९९४ तिर लिएर गए । 

बहिनीको विवाह पक्का भएपछि सत्यमोहनका पिताजी छोराका लागि कुलिन वधू खोज्न वरपर बुझ्न थालेछन् । पाटन कृष्णमन्दिरपछाडि छिन्नमस्ता नजिकै भेटिइन्— राधादेवी श्रेष्ठ (हाल जोशी) । १४ वर्षीया राधादेवीसँग १८ वर्षीय सत्यमोहनको विवाह हुने कुरा अघि बढ्यो र चिना मिलाउन थालियो । चिनामा कुनै बाधा–अड्चन नदेखिएपछि दुवैतर्फबाट विवाह पक्का गरियो । विवाह पनि त्यही दिन हुने भयो जुन दिन सत्यमोहनकी बहिनीको विवाह हुने पक्का गरिएको थियो । त्यतिबेलासम्म न त सत्यमोहनले राधादेवीलाई देखेका थिए, न त राधादेवीले सत्यमोहनलाई नै । ‘विवाह नभएसम्म दुलहीले दुलाहा र दुलाहाले दुलहीलाई हेर्ने वा भेट्ने चलन थिएन । न उनले मलाई देखिन् न मैले उनलाई, तर विवाह हुने कुरा भने पक्का भैसकेको थियो ।’ नेपाली संस्कृतिका जिउँदो इतिहास जोशीले हास्दै सुनाए । 

विवाहका लागि घरमा तयारी सुरु भयो । उनले भने– ‘तामझामपूर्ण भव्य विवाह गर्ने कुरा परिवारको हैसियतअनुसार निर्धारण हुन्थ्यो । विवाहमा बजाइने बाजाटोलीबाट पनि परिवारको हैसियत थाहा हुन्थ्यो । म दस वर्षको हुँदा हाम्रो घरनजिकै बखुम्बहालको एउटा घरमा आउने जन्तीले नाच पनि ल्याउने भएछ अनि टोलभरि हल्लीखल्ली भयो । उतिबेला नाटक र नाच देखाउने मुसलमानहरूको छुट्टै टोली नै हुन्थ्यो । जन्तीले नाच त ल्याउने भयो, तर यता दुलहीको घरमा भने नाच देखाउने स्थानको अभाव थियो । पाटनको भित्री बस्तीमा घरको सानो आँगन त मुस्किलले हुन्थ्यो भने नाच देखाउन पर्याप्त स्थान पुर्‍याउन गाह्रो भएपछि दुलहीपट्टिकाले छेवैको पर्खाल भत्काएका थिए । त्यो नाच हामीले पनि हेरेका थियौं । उर्दू भाषाको नाच बुझ्न गाह्रो भए पनि राति बसेर नाच हेरेको सम्झना अझै छ ।’ 

फागुन महिनामा भएको आफ्नो विवाहको तयारीलाई जोशीले यसरी सम्झिँदै गए– ‘मेरो विवाह हुने पक्का भएपछि चिउरा कुट्न थालियो । चिउरा घरकै ढिकीमा कुटिथ्यो । घरका महिलाहरू रक्सी बनाउन थाले । रक्सी पनि सहजै बन्दैनथ्यो । हामीकहाँ कोदाको रक्सी ख्वाउने चलन थियो । त्यसैले कोदो किनेर ल्याई त्यसलाई १५–२० दिन घ्याप्पामा कुहाउनुपथ्र्यो । चिउराका लागि पनि धान ल्याएर, उसिनेर कुटिन्थ्यो । सिंगै राँगो काट्नुपथ्र्यो । गेडागुडी र मसला बजारमै पाइए पनि भोजका लागि पात गाँस्ने काम घरमै हुन्थ्यो । अहिले त बजारमा सबै रेडिमेड पाइन्छ, चिउरालगायत गाँसिएको पात पनि ।’ जोशी भन्दै गए– ‘भोजका लागि क्याटरिङलाई जिम्मा दिने अहिलेको जस्तो चलन थिएन । भोजभतेर साथीभाइ तथा आफन्तको सहयोगमा सम्पन्न गर्नुपथ्र्यो । पकाउन सिपालुहरू भान्छे हुन्थे भने अरू सबै सहयोगी ।’ 

नेवार परम्परामा गरिने भोज, जसलाई लपटे भोज भनिन्छ, का लागि दुई–चार परिकारले पुग्दैन । रांगाको मासुको मात्र एक दर्जनभन्दा बढी परिकार बनाउनुपर्छ । मासुबाट तखा (थलथले), छोयला, कचिला, चोची आदि परिकार बनाउनैपर्छ भने सिद्रा माछा, गेडागुडी, चिउरा, भुजा, अण्डा आदि मिसाएर तयार पारिने समयबजी पनि नभै हुँदैन । सगुनका निम्ति अयला अर्थात् रक्सी हुनैपर्छ, त्यो पनि घरमै पारेको । सत्यमोहन र उनकी बहिनीको विवाह एउटै लगनमा हुने भएकाले त्यो बेलाको तयारीलाई विशेष तुल्याउन सबै लागिपरेको उनी सम्झन्छन् । ‘हाम्रोमा त्यतिबेला कुखुराको मासुले भोजमा प्रवेश पाइसकेको थिएन । ज्यापुहरूको भोजमा भने कुखुराको परिकार राखिन्थ्यो भने हाम्रोमा राँगा र बोकाको मासु हुन्थ्यो ।’ जोशीले त्यतिबेलाको परिवेश सम्भँmदै भने– ‘भोजमा राखिने परिकारले पनि वर्ग चिनाउने समय थियो ।’ 

बहिनीको दुलाहाको परिवारको सोसियल स्ट्याटस जोशी परिवारको भन्दा उपल्लो थियो भन्छन् जोशी । उनीहरू कर्नेट बाजा बजाउँदै जन्ती लिएर आउने भए । कर्नेट बाजा बजाउन सरकारी अनुमति लिनुपथ्र्यो, जसलाई हाकिमबाट तोक लगाई ‘बक्साउनुपर्ने’ भनिन्थ्यो । समाजमा उपल्लो दर्जाकाले मात्र बिहेमा त्यसरी ‘बक्साएर’ कर्नेट बाजा बजाउन पाउँथे । बहिनीको दुलाहाको जन्ती ‘बक्साएको’ कर्नेट बाजा लिएर आउँदा सत्यमोहनको जन्ती भने परम्परागत पञ्चैबाजा बजाएर जाने भयो । दुलहीलाई लिन जन्तीका साथ लागेर दुलाहा जाने चलन नेवारी परम्परामा छैन । 

अहिले ‘मिक्स कल्चर’ का कारण नेवार दुलाहा पनि सजाइएको कारमा चढेर दुलही लिन जान्छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका अनुसार उतिबेला जन्तीमा दुलाहा जाने भनेका राणा वा दरबारसँग असाध्यै नजिक भएका नेवारमध्ये १ प्रतिशत मात्र हुन्थे । नेवारी परम्परामा दुलहाको घरमा जम्मा भएका जन्तीलाई दुलाहा पक्षले मसला (काजु, किसमिस, मिश्री, नरिवल, बदाम, सुपारी आदि) को पोको दिन्छन् भने जन्ती आएकाहरूलाई पनि दुलही पक्षले टिका लगाइदिएर मसलाको पोको दिन्छन् । जन्तीलाई ‘पानबट्टा देखाउने’ र पान, चुरोट दिएर पनि स्वागत गर्ने चलन थियो । ‘पान चपाउँदै दुई पोका मसला खल्तीमा हालेर आएकालाई जन्तीमा गएर आएको भनेर ठ्याक्कै चिनिन्थ्यो ।’ –जोशी बताउँछन् ।

जोशीको दुलही पहिले ल्याउने अनि मात्र बहिनीलाई उनको घर पठाउने साइत निस्कियो । त्यसैले जोशीको विवाहको भोज तत्काल भएन । किनभने भोजमा अलमल हुने भएपछि बहिनीलाई अन्माउन ढिलो हुन्थ्यो । त्यही भएर जन्तीले सत्यमोहनकी दुलही ल्याइसकेर पनि उनलाई घरमा नभित्र्याई छिमेकीको घरमा राखियो, जसलाई नेवारी चलनमा ‘सिसी’ भनिन्छ । बहिनीको सम्पूर्ण कार्य नसकी घरमा भित्र्याउन नमिल्ने भएपछि चार दिन दुलहीलाई छिमेकीकै घरमा राखियो । उनकी दुलही छिमेकीको घरमा थिइन्, तर उनीहरूको भेट वा देखादेख भएको थिएन । दाइ भएकाले बहिनीको विवाह सम्पन्न गर्न उनी व्यस्त पनि भए । 

बहिनीलाई अन्माइसकेपछि छिमेकीको घरबाट दुलही (राधादेवी) लाई उनको घरमा भित्र्याइयो । घरमा त भित्र्याइयो, तर सगोलको परिवारमा एउटै कोठामा सबै जना बस्ने भएकाले सत्यमोहन राधादेवीसँग नजिक हुन भने पाएनन् । फेरी राधादेवी मात्र १४ वर्षकी थिइन र उनको रजस्वला पनि भएको थिएन । रजस्वला नभै श्रीमान्नजिक जान नमिल्ने चलन थियो त्यतिबेला । केही महिनापछि राधादेवी रजस्वला भइन् अनि उनको माइतीमा ‘गुफा राख्ने’ चलन अर्थात् लगभग १२ दिन पुरुषको छायाँ पनि नपर्ने एउटा कोठामा बन्द गरेर राखियो । त्यसपछि फेरि विवाहको प्रक्रिया दोहोर्‍याउनुपर्ने रहेछ । सत्यमोहनले फेरि एकपटक उनको सिउँदोमा सिन्दूर हालिदिने आदि प्रक्रिया पूरा भएपछि मात्र राधादेवी पूर्ण रूपमा उनकी भइन् । जोशीले आफ्नो विवाहका बारेमा बताइरहँदा पिंढीमा बसेकी राधादेवी बेलाबखत मुसुक्क मुस्कुराइरहेकी थिइन् । सम्भवत: उनी पनि पुरानो सम्झनामा रमाइरहेकी थिइन् । 

‘८० वर्षअघि तपाईंको विवाह सम्पन्न गर्न कति खर्च भयो ?’ – हाम्रो जिज्ञासामा वाङ्मय शताब्दी पुरुषले भने– ‘अन्दाजी ५ सय रुपैयाँ ।’

प्रकाशित :मंसिर ६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्