१४ कलाकारका सय थान कलाकृति प्रदर्शनीमा

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७४

नेपाल आर्ट काउन्सिलमा १४ कलाकारका चित्रकला प्रदर्शनीमा राखिएको छ । गत शनिबारबाट सुरु भएको उक्त प्रदर्शनी बुधबारसम्म जारी रहने आयोजक ‘स्पेक्ट्रम आर्ट काउन्सिल’ले जनाएको छ । 

२०५९ सालदेखि नेपाली हस्तकलाका क्षेत्रमा काम गर्दै आएको ‘स्पेक्ट्रम आर्ट काउन्सिल’ले ‘एन ओडीसी अफ आर्ट’ शीर्षकमा यो १२ औं सामूहिक चित्रकला प्रदर्शनीको आयोजना गरेको हो ।  

प्रदर्शनीमा अनामिका गौतम, विष्णु चौधरी, दलबहादुर राई, दीपक महर्जन, दीपक थामी, इन्द्र खत्री, इन्द्र श्रेष्ठ, इशान परियार, ज्योती प्रकाश, किशोर कनौजिया, महेश आचार्य, नम्रता सिंह, रामकृष्ण थापा (आरके) र सविता डंगोलका कलाकृति राखिएका छन् । 

प्रदर्शनीमा १४ कलाकारका भण्डै १ सय थान कलाकृति रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा नेपालमा नै पहिलो पटक अष्ट्रिचको अण्डामा गरिएको चित्रकला पनि राखिएको छ ।

प्रदर्शनी उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले व्यवसायी र कलाकार मिले नेपाली कलाको उत्थान गर्न सकिने बताए ।

कार्यक्रममा निरन्तर नेपाली कलाको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ कलाकार शशीविक्रम शाहलाई सम्मान गरिएको थियो । 

यसअघि पोखरामा स्थानीय र संस्थाका कलाकारहरुले ‘अनेकतामा एकता’ शिर्षक दिएर कला कार्यशाला गरेका थिए । त्यस्तै सिन्धुपाल्चोकमा पनि कला कार्यशाला तथा सांगीतिक कार्यक्रम आयोजना गरिएको स्पेक्ट्रम संस्थाका अध्यक्ष इन्द्र श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्