राज्यसत्ता र विवाहको साइनो

- साप्ताहिक संवाददाता

मंसिर ४, २०७४

 

अंशुबर्मा

नेपालको इतिहासमा स्वर्णयुग भनिने लिच्छवीकालको पनि सफलतम समयका शासक अंशुबर्मा वंशजका आधारमा नेपालको राजा भएका होइनन् । वि.सं. ६२८ देखि स्वतन्त्र रूपमा शासन सञ्चालन गर्न थालेका नुवाकोटे ठकुरी अंशुबर्मा तत्कालीन राजा शिवदेव प्रथमका ज्वाइँ थिए । राजा शिवदेवकै समयमा राज्यसत्तामा हालीमुहाली चलाएका अंशुबर्मा राजा शिवदेवको निधनपछि स्वतन्त्र राजाका हैसियतमा देखापरेका थिए । 

 

जयस्थिति मल्ल

वि.सं. १३८५ मा जगतसिंह कर्नाट राजा भएकै वर्ष सिंजाका शक्तिशाली शासक आदित्य मल्लले काठमाडौं उपत्यकामा आक्रमण गरे । उक्त आक्रमणमा पराजित भएपछि राजा जगतसिंहले आफ्नी नाबालक छोरी सिंजाका राजकुमारसँग विवाह गरिदिने शर्तमा आफ्नो शासन जोगाए । त्यही शर्त पालना गर्ने क्रममा सिंजाका राजकुमार जयस्थिति मल्लको विवाह राजा जगतसिंहकी छोरी राजल्ल देवीसँग भयो । राजा जगतसिंहको अवसानपछि ज्वाइँको नाताले जयस्थिति मल्लले भक्तपुरको सत्ता सम्हाल्ने अवसर प्राप्त गरे । 

 

भृकुटी

त्यसो त भृकुटीको प्रत्यक्ष सम्बन्ध नेपालको राज्यसत्तासँग देखिँदैन । उनी तिब्बतका राजा श्रङ चङ गम्पोकी रानी थिइन् । श्रङ चङ गम्पोसँग राजा अंशुबर्माकी छोरी भृकुटीको विवाह वि.सं. ६४९ तिर भएको थियो । उनको विवाह नेपालको स्वतन्त्र अस्तित्व जोगाउन गरिएको एक सम्झौताअन्तर्गत भएको अधिकांश इतिहासकारको मत छ । 

जगतसिंह कर्नाट

चौधौं शताब्दीको मध्यतिर दिल्लीका सुल्तान गयासुद्दिन तुगलकले तत्कालीन सिम्रौनगढ राज्य ध्वस्त पारेपछि सिम्रौनगढका राजकुमार जगतसिंह कर्नाट आफ्ना समर्थकहरूका साथ तत्कालीन भक्तपुर राज्यमा शरण लिन पुगे । राज्य सञ्चालनको अनुभव भएका जगतसिंहले वि.सं. १३८५ तिर भक्तपुरका तत्कालीन राजा जयरुद्र देवकी एकमात्र उत्तराधिकारी छोरी नायक देवीसँग विवाह गरे । यही वैवाहिक सम्बन्धका आधारमा जगतसिंह कर्नाट भक्तपुरको राजा बन्न पुगे । 

प्रताप मल्ल

वि.सं. १६९६ देखि १७३१ सम्म काठमाडौंमा शासन गरेका प्रताप मल्लको विवाह भारतको कुचविहार (वर्तमान पश्चिम बंगालको एक क्षेत्र) बाट डोला झिकाएर गरिएको थियो । प्रताप मल्ल अर्को कुनै राज्यबाट डोला झिकाएर विवाह गर्ने पहिलो राजा मानिन्छन् । त्यतिबेला उनले दुई दिदीबहिनीसँग एकैपटक विवाह गरेका थिए । प्रताप मल्ल नेपाली इतिहासकै सर्वाधिक कामुक राजासमेत मानिन्छन् । इतिहासकारहरूका अनुसार उनका रखौटीहरूको संख्या पनि ३ सयभन्दा बढी थियो । 

 

पृथ्वीनारायण शाह

सनकका भरमा स्वास्नी त्याग्ने र रिसइवी साध्नका लागि तत्कालै अर्कीसँग विवाह गर्ने उदाहरण पृथ्वीनारायण शाहले प्रस्तुत गरेका छन् । उनले १५ वर्षकै उमेरमा मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा विवाह गरेका थिए । विवाहपछि तराई क्षेत्रमा प्रचलित मान्यताअनुसार राजा हेमकर्ण सेनले तत्कालै छोरीको विदाइ गर्न अस्वीकार गरेपछि पृथ्वीनारायण शाहले लगत्तै उक्त विवाह अस्वीकार गरी बनारसका राजपुत अहिमान सिंहकी छोरी नरेन्द्रलक्ष्मीसँग दोस्रो विवाह गरेका थिए । 

 

रणबहादुर शाह

नेपालको इतिहासमा वैधानिक रूपमा सबैभन्दा धेरै विवाह गर्ने राजा रणबहादुर शाह हुन् । उनले ५ वटा विवाह गरेका थिए । उनको पहिलो विवाह राजराजेश्वरी देवीसँग, दोस्रो विवाह सुवर्णप्रभासँग, तेस्रो विवाह कान्तमतिसँग, चौथो विवाह चन्द्रावतीसँग तथा पाँचौं विवाह ललित त्रिपुर सुन्दरीसँग भएको थियो । आफूलाई मनपरेकी युवतीसँग विवाह गर्न रणबहादुर शाहले आफ्ना छोरा रणोद्योत शाह (रानी सुवर्णप्रभाका छोरा) लाई उत्तराधिकारबाट वञ्चित गरेका थिए ।

 

जगतजंग राणा

जगतजंग राणा श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणाका जेठा छोरा थिए । शाहवंशीय राजाहरूसँग वैवाहिक सम्बन्ध राख्ने आफ्ना पिता पूर्खाको सपना साकार पार्न जंगबहादुर राणाले आफ्ना जेठा छोरा जगतजंग राणाको विवाह राजा सुरेन्द्र विक्रम शाहकी जेठी छोरी टीका राज्यलक्ष्मीसँग गरिदिएका थिए । वि.सं. १९१३ वैशाखमा भएको उक्त विवाहका बेला दुलाहा जगतजंगको उमेर ८ वर्ष र दुलहीको उमेर ५ वर्ष मात्र थियो ।

लगत्तै शाह वंशीय राजाहरूको सेखी झार्न जंगबहादुर राणाले आफ्ना ६ वर्षीय छोरा जितजंगको विवाह राजा सुरेन्द्रकी अर्की ४ वर्षीया छोरीसँग गराइदिएका थिए । यो विवाह वि.सं. १९१३ फागुनमा भएको थियो । नेपालमा श्री ५ महाराजाधिराजकी छोरीहरूको विवाह प्रधानमन्त्रीका छोराहरूसँग भएको यो एकमात्र उदाहरण हो ।

त्यतिमात्र होइन, जंगबहादुर राणाले शाह वंशीय राजपरिवारमा आफ्नो रक्त सम्बन्ध कायम गराउन आफ्ना दुई छोरी तारा राज्यलक्ष्मी तथा सम्गर्भ दिव्येश्वरी राणाको विवाह तत्कालीन युवराज त्रैलोक्य विक्रम शाहसँग गराएका थिए जसमध्ये तारा राज्यलक्ष्मीबाट राजा पृथ्वीवीर विक्रम शाह (राजा त्रिभुवनका पिता) को जन्म भएको थियो ।

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्