बिहे : मागी कि भागी ?

- अविरल थापा

मंसिर ४, २०७४

नेपाली समाजमा मान्छेको जन्म, विवाह र मृत्यु भाग्यमै लेखेर आएको हुन्छ भनिन्छ । नेपाली कानुनले २० वर्ष पुगेपछि विवाह गर्न सकिने अनुमति दिएको छ । परिवारको सहमतिमा वा केटाकेटीको सहमतिमा त्योभन्दा कम उमेरमा पनि विवाह हुँदै आएको छ । अधिकतम यो उमेरसम्म मात्र विवाह गर्न पाइन्छ भनेर चाहिँ कानुनमा कतै उल्लेख गरिएको पाइँदैन । 

कानुनमा जे लेखिएको भए पनि समाजमा कहीं–कतै बालविवाह गरिदिने संस्कार अद्यापि छँदैछ । ६० वर्ष कटेपछि वृद्धावस्थामा कसैले बिहे गर्‍यो भने त समाजमा चर्चाको विषय भैहाल्छ । धन–सम्पत्तिको लोभमा वा प्रेम भएरै पनि परिवारकै सहमतिमा वा आफनो राजीखुसीले कम उमेरका महिलाहरूले आफूभन्दा दोब्बर–तेब्बर उमेरका पुरुषसँग विवाह गरेका धेरै उदाहरण बग्रेल्ती पाइन्छन् । यदाकदा पुरुष पनि अपवादका रूपमा भेटिन सक्छन् ।

विवाह कहिले, कोसँग गर्ने वा नगर्ने नितान्त व्यक्तिगत विषय हो तर परिवार र समाजको चासो अनि हस्तक्षेप भने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा भैरहेकै हुन्छ । नेपाली समाज रुढीवादी भएकाले सकेसम्म परिवारले बिहेका लागि खानदान, जात, धर्म तथा आर्थिक हैसियत समान भएको अर्को परिवार खोज्छ । हिजोआज केटाकेटीबीच प्रेम भैसकेपछि दुई परिवारले आपसी सल्लाह गरेर त्यसलाई मागी विवाहमा परिणत गर्ने चलन समेत बढ्न थालेको छ, तर परिवारले स्वीकृति नदिएको अवस्थामा भागेरै पनि विवाह गर्ने परिपाटी टुंगिएको छैन । 

मानिसहरूले विवाहका विषयमा अनेक थरी कुराकानी, बहस एवं विवेचना गरेको सुनिन्छ । मागी विवाह राम्रो कि प्रेम विवाह ? कसरी विवाह गर्दा सम्बन्ध दिगो हुन्छ ? कुन विवाहका फाइदा–बेफाइदा के–के छन् ? समाजमा प्रेम विवाह गरेर चाँडै वा कालान्तरमा सम्बन्ध–विच्छेदमा पुगेका घटना पनि धेरै छन्, पछिसम्म मिलेका उदाहरण पनि छन् । परिवारले रोजेर, मागेर गरिएका विवाह सफल भएका वा असफल भएका उदाहरण पनि उत्तिकै छन् ।

फलानोले आफैंले रोजेर विवाह गरेको रे ! एक वर्ष नहुँदै छुटेछन् ! फलानोको घरकैले हेरेर विवाह गरिदिएका खासै राम्रो छैन रे ! जस्ता अनेक खासखुस समाजमा चलिरहेकै हुन्छ । खासमा कुन विवाह गर्दा उचित हो त भन्ने प्रश्नको जवाफ त्यति सजिलो छैन, तर गहिरोसँग यसको विश्लेषण गर्ने हो भने राम्रा/नराम्रा पक्ष वा समस्याको चुरो पत्ता लगाउन सकिन्छ । कसैको विवाहपश्चात्को सम्बन्ध राम्रो हुन वा बिग्रन दुवै पक्षका परिवार तथा केटाकेटीको व्यवहारको मुख्य भूमिका हुन्छ ।

विवाह अघि के–कस्तो सहमति, बाचा–बन्धन, स्वार्थ, अपेक्षा, लोभलालच वा कस्तो खालको सपना देखेर–देखाइएर सम्बन्धको विकास वा निर्माण भएको थियो, त्यसले पछि प्रत्यक्ष सरोकार राख्छ । केटा वा केटीले आफूसँग नभएको स्वभाव देखाएर वा आफ्नो नभएको हैसियतको रवाफ देखाएर प्रेमजालमा पारेको हुन सक्छ । यसरी बसौंला, यसो गरौंला भनेर अनेक सपना र बाचा–बन्धन बाँधेको हुनसक्छ, तर विवाहपश्चात ती सबै कुरा व्यवहारमा उतार्न गार्‍हो हुन्छ । भनिएका कुरा पूरा नभएपछि सम्बन्धमा दरार एवं असमझदारी बढ्दै जान्छ ।

मागी विवाहमा सामान्यत: धनदौलत, केटाकेटीको पेसा र रूप हेरेर सम्बन्ध विकसित भएको हुन्छ् । झट्ट हेर्दा सबै राम्रै हुन्छ भन्ने लागे पनि पछि रहनसहन, एक–अर्काको रुचि एवं स्वभाव नमिलेर सम्बन्धमा चिसोपन बढ्ने खतरा हुन्छ । जसले एक–अर्काका कमजोरी र विद्यमान हैसियतलाई आत्मसात् गर्दै अघि बढ्छन् उनीहरूले जसरी विवाह गरेको भए पनि सम्बन्ध सुमधुर हुँदै जान्छ भने तँभन्दा म के कम भन्नेहरूको सम्बन्ध भड्खालोतर्फ लम्कन्छ ।

प्रेमपश्चात् भएको विवाहमा कुनै समस्या उत्पन्न भए परिवारले तिमीहरू आफैंले रोजेर गरेका त हौं नि भनेर त्यति चासो र हस्तक्षेप गर्दैन, तर परिवारले खोजेर गरिएको विवाहमा समस्या आए सकेसम्म दुवैलाई सम्झाई–बुझाई निराकरणको बाटो खोजिन्छ । अनावश्यक अहंले कुनै पनि सम्बन्ध राम्रो एवं दिगो हुन सक्दैन ।

आफ्ना फरक मतहरू सौहार्द तरिकाले व्यक्त गर्ने, एक–अर्काको समस्या बुझिदिने, घाँटी हेरेर हाड निल्ने, एक–अर्कालाई खसालेर नबोल्ने जस्ता व्यवहार पालन गर्न सके जसरी विवाह गरे पनि सम्बन्ध राम्रो हुँदै जान्छ । यथार्थको धरातलमा रहेर दु:ख–सुख जे परे पनि झेलौंला भन्ने समझदारीमा विवाह गर्नेहरूले कालान्तरमा पछुताउँनु पर्दैन ।

मागेर विवाह गर्नुहोस् वा भागेर सम्बन्धको कुनै ग्यारेन्टी हुँदैन । दुनियाँलाई हँसाउने कि आफूहरू मिलेर हाँसी–खुसी जीवन बिताउने आफैंमा भर पर्छ, त्यसमा अरूलाई दोष दिनुको कुनै अर्थ हुँदैन । 

प्रकाशित :मंसिर ४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्