मंसिरमा बाजा बज्न थालेपछि विवाह गरुँ–गरुँ जस्तो लाग्छ हो ?

- साप्ताहिक संवाददाता

मंसिर ३, २०७४- 

त्यो त कात्तिकमा पनि लाग्छ होला नि । माया र विवाह गर्ने मन सबैमा हुन्छ, तर धेरैले अप्ठेरो मान्छन् अनि भन्छन्–‘मायाले संसार थाम्दैन ।’

विल्सनविक्रम राई, अभिनेता

विवाह योग्यहरूका लागि त काउकुती नै लाग्दो हो । प्रेममा परेका जोडीहरू पुलकित हुन्छन् होला । यो मंसिर नै यस्तो महिना हो, जसले विवाह भैसकेकाहरूलाई पनि फेरि विवाह गरुँ–गरुँ बनाइदिन्छ । उमेर नपुगेकाहरूलाई पनि छटपटी हुन्छ । बाजा बज्न थालेपछि त हरेक मंसिरमा विवाह गरुँ–गरुँ जस्तो लागेर आउँछ ।

सुजन सुवेदी, फेसन व्यवसायी

बाजा बजेकै भरमा विवाह गर्न मन लाग्ने भए त समाजमा बेहुलाका लागि बेहुली र बेहुलीका लागि बेहुला नै कम हुँदै जालान् नि । 

जतिन ताम्राकार, अभिनेता

आफूलाई त १२ वर्षअघि त्यस्तो लाग्थ्यो । अब त लाग्न छोड्यो । 

राजीव लोहनी, गायक

अरूको बिहे देख्दा, आफूलाई त्यो स्थानमा राखेर कल्पना गर्दा लाज पो लागेर आउँछ त । यो मंसिरमा बाजा बजाएर विवाह गर्ने जति सबैलाई शुभकामना । 

मिलन सुर्खेती, गायक

लाग्छ नि, तर फेरि जिन्दगी भर आफ्नै बाजा बजिरहन्छ भन्ने डरले अरूको बिहेको बाजाको तालमा नाचेरै चित्त बुझाउँछु ।

कमल प्यासी देवकोटा, नाट्यकर्मी

अहिलेसम्म त्यस्तो भएको छैन । मंसिर लागेपछि भन्न सकिन्न । 

सुरेन बसेल, नृत्य निर्देशक

हो नि, ममा पनि बेहुली हुने रहर छ । कसलाई पो हुन्न र यो रहर ? बाजा बजेको सुनेपछि अवश्य ध्यान त्यतातिर तानिन्छ ।

दुर्गा खरेल, गायिका

खोई मेरो त उमेर नै पुगेको छैन, त्यसैले होला मलाई चाहिँ लागेको छैन । फेरि केटा पाउनुपर्‍यो, साइत जुर्नु पर्‍यो । बरु यसपालि अरूको बिहे खाने रहर छ । 

रेनुकासिंह ठकुरी, मोडल

फेरि त्यो दिन सम्झन्न चाहन्न त्यही कथा म दोहोर्‍याउन चाहन्न ।

निर्मल शर्मा, अभिनेता/निर्देशक

बाजा बजेको सुन्दैमा बिहे गर्ने रहर हुने भए, के श्रवणशक्ति गुमाएका सबै जति अविवाहित छन् त ? बाजा बज्दैमा बिहे गरौ–गरौं लाग्ने भए प्रत्येक मंसिरमा हरेकले बिहे गरिरहन्थे । बिहे गर्न बाजा बजेर मात्र पुग्दैन, मन मिल्नुपर्छ ।

उत्सव रसाइली, सञ्चारकर्मी

धेरै पहिले पञ्चेबाजा बजेको सुनेपछि बिहे गरिहालुँ जस्तो लाग्थ्यो, तर अचेल भने महँगीले गर्दा बाजा नबजाई सुटुक्क बिहे गर्नुपर्ला भन्ने सोच्दैछु । 

दिवाकर भट्टराई, निर्देशक 

अविवाहितहरूलाई लाग्छ होला । विवाहितहरू त बाजा बजेको आवाज सुन्ने बित्तिकै तर्सिन्छन् बाबै । 

नीराजन लुइँटेल, अभिनेता

मलाई त लाग्दैन । म चाहिँ यो महिना कतिवटा बिहेभोज खान पाइने हो ? कहाँ बढी रमाइलो हुने हो ? भन्ने सोच्न थाल्छु । 

पृथक आचार्य, गायक

मलाई चाहिँ लाग्दैन, तर कसैको स्मार्ट, ट्यालेन्टेड अनि क्युट बच्चा देख्दा रहर लागे जस्तो हुन्छ ।

शान्तिम कोइराला, गायक

मैले धेरै विवाहमा म्युजिक बजाएँ, त्यसमा सबैभन्दा खुसी त्यही दिन बिहे गर्ने जोडी मात्र हुन्छन् । 

डिजे सस्पोइजन 

मलाई त लाग्दैन, सम्भवत: विवाहका बारेमा सोच्दै नसोचेको भएर होला, तर अरूको बिहेमा चाहिँ जान मनलाग्छ ।

सुरबिना कार्की, अभिनेत्री

विवाह नगरेकाहरूलाई लाग्छ होला, गरेकाहरू त तर्सिन्छन् ।

समरा लामा, मेकअप आर्टिस्ट

खोई अहिलेसम्म त लागेको छैन । अब यो पाली चाहिँ ध्यान दिएर पञ्चे बाजा सुन्नुपर्ला ? 

सुवास कोइराला, निर्देशक

आफ्ना सबै साथीहरूको बिहे भैसक्यो, त्यसैले पनि होला आफूलाई चाहिँ बिहे गरुँ–गरुँ जस्तो लाग्छ । बरु जुरेको पो छैन ।

आमिर शेख, मोडल/गायक

खोई, मलाई त बिहे गर्ने समय नभएकाले होला केही फिल नै हुँदैन । 

सोरु बराइली, मोडल

मंसिरमा यसपाली बिहे गरिन्छ भन्ने चलन पुरानै हो, त्यसमा पनि बाजा नै बजेपछि त विवाह गरुँ–गरुँ लाग्दो हो । मंसिर लाग्दैमा, बाजा बज्दैमा हतारिएर विवाह गर्नुभन्दा सोचेर विचारेर निर्णय गरे राम्रो होला ।

महेश लिम्बू, आर जे, रेडियो कान्तिपुर 

शत प्रतिशत लाग्छ नि । आफूभन्दा जेठीलाई विवाह गरुँभन्दा म त तिम्री दिदी जस्तो भनिदिन्छे । कान्छीसँग सोध्यो भने म त हजुरकी बहिनी भन्छे । एकै दिन एकै समयमा जन्मिएकी कहाँ खोजँु प्रभु ?

आमिर बज्राचार्य, अभिनेता

माहौल नै त्यस्तै हुन्छ, त्यसैले मलाई मात्र होइन, म जस्ता अविवाहित धेरैलाई हुन्छ त्यस्तो । 

विकास लामिछाने, मोडल

त्यस्तो त लाग्दैन, तर कतै मेरी गर्लफ्रेण्डको बिहे त भएन भनेर धेरैलाई तनाव चैं हुन्छ होला ।

हरिहर अधिकारी, ज्योतिष

मंसिरमै मात्र लाग्दैन । पाए त म जहिले पनि बिहे गर्न तयार ।

गौरव पहारी, अभिनेता

सोच त आउँछ, तर कोसँग गर्ने ?

सुजना ढकाल, अभिनेत्री

प्रकाशित :मंसिर ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्