स्नेहको बन्धन हुन्थ्यो विवाह

- जनक तिमिल्सिना

मंसिर ३, २०७४-

 

जसको विवाह भएको हो, उसैलाई थाहा छैन, एकअर्काको अनुहारसम्म देखेको छैन । लड्कालाई पनि केही थाहा छैन, लडकीलाई पनि के भैरहेछ केही थाहा छैन, पुतली खेलेजस्तो,’ हालैको एक मध्याह्न ८४ वर्षअघिको आफ्नो विवाहका सम्बन्धमा शताब्दीमा पाइला टेक्नै लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले भने, ‘विवाह हुँदा श्रीमती गौरी घिमिरे (पोखरेल) ९/१० वर्षकी थिइन् । म भने १४/१५ वर्षको थिए । हामीबीच ६ वर्षको फरक थियो । राष्ट्रकविको गाउँ लमजुङको पुस्तुनमा सप्ताह लगाइएको थियो ।

गाउँका एक टाठाबाठा व्यक्तिको पछि लागेर उनी पनि सप्ताहमा पुगेका थिए । त्यही सप्ताहमा केटाको विवाहका लागि केटी खोज्ने जमानामा जन्मिएका घिमिरेले आफ्नो व्यवहारकै कारण जीवनसाथी फेला पार्ने कल्पनै गरेका थिएनन्, तर उनको सन्दर्भमा भैदियो त्यही, केटी पक्षकाले नै उनलाई मन पराए । ‘अलिअलि पढेको थिएँ, ज्योतिषका कुरा पाटीमा लेख्न जान्दथे,’ उनले सम्झिए, ‘अरूचाहिँ खेल्ने, म भने अलि चलाख खालको भएकाले चटपट गरिरहन्थें ।’ 

१९९० सालतिरको उक्त सप्ताहमा चलाख र अलिअलि पढेलेखेको युवक देखेपछि कसैले उनलाई मन पराए । ती व्यक्ति खुदीबेनी तरापुकी गौरी पोखरेलका हजुरबुवा रहेछन् । ‘उहाँलाई म मन परेछु, कुल घराना पनि राम्रो, चलाख पनि,’ उनी दुलही भेटिएको कथा सुनाउँछन्, ‘उनैले कुरा अघि बढाए ।’ अझ रोचक त के भने त्यो घरमा कविवरका जेठा बाजे बारम्बार गैरहन्थे । उनको विचार आफ्नो छोरालाई गौरी देलान् भन्ने थियो तर भैदियो उल्टो । गौरीका हजुरबुवाले चाहिँ चलाख ठिटो भएकाले कविवरलाई आफ्नी नातिनीका लागि रोजे । त्यतिबेला त्यत्रो घरानाबाट छोरी दिएपछि गाउँलेहरू छक्कसमेत परेका थिए । 

पुस्तुनबाट गौरीको घर पुग्न एक बिहानको बाटो हिँड्नुपथ्र्यो । कुरा चल्दै गएपछि अन्तत: उनैसँग कविवरको विवाह तय भयो । त्यतिबेला खुदीबेनीका पोखरेल र सुवेदीहरू धनीमानी मानिन्थे । प्रायजसो: सबै विवाहका लागि बीचमा लमी खडा गरिन्थ्यो । सीधा सम्पर्क राख्दा असजिलो हुने भएकाले पनि लमीको व्यवस्था हुन्थ्यो । लमीले केटी खोज्थ्यो, लमीले खोजेको केटीलाई दुलाही बनाउने/नबनाउने विषयमा आमाहरू निर्णायक हुने चलन थियो । ‘ दुलही रोज्नमा बुवाभन्दा पनि आमाकै भूमिका बढी हुन्थ्यो,’ ९९ वर्षमा हिँडिरहेका घिमिरे सम्झन्छन्, ‘तर मेरो सन्दर्भमा केटीतर्फकैले मन पराएपछि यो कुरा लागू भएन ।’ 

उनलाई विवाहको ठ्याक्कै महिना त सम्झना छैन, तर विवाहका सबै घटना अहिले पनि दिमागमा ताजै बयेली खेलिरहेका हुन्छन् । ‘विवाहचाहिं निकै रमाइलो । म अहिले पनि सम्झन्छु— फेटा गुथ्ने, अरूले सम्मान गर्ने, आफू निकै ठूलो भएजस्तो, एकथरी जन्ती अर्काथरी घरबेटी,’ भावुक हुँदै वृद्ध राष्ट्रकविले भने, ‘पहाडको उकालो–ओरालोमा लर्को लागेर नरसिंगा बजाएर, झ्याली ठोकेर ८–९ कोस टाढा बेहुलीको घरमा जानुपर्ने । सांस्कृतिक रिवाजहरू पनि उतिकै रमाइला ।’ 

त्यतिबेला उनलाई बेहुली ल्याउन डोली चढाएर जन्तीसहित दुलहीको घर लगिएको थियो । घोडा चढ्ने चलन थिएन । ‘निकै उत्सुकता हुने, डोलीमा चढेर जान पाए कस्तो हुदो हो भन्ने लाग्ने,’ बेहुला बन्नुपूर्वको आफ्नो कौतूहलतालाई पनि उनले अभिव्यक्त गरे, ‘लड्कालाई पनि निकै सिँगार्ने, अगाडितिर पारिएको टोपी, दुलाहाका पछाडिपट्टी दाहिने घुमेको चारखण्डे छाप लगाउनुपर्ने (रंगहरूको छाप) साह्रै रमाइलो ।’

त्यतिबेला भत्करु पठाउने चलन थियो । दुलही लिन गएको जन्ती दुलहीको घर पुग्नुभन्दा पहिले नै चार–पाँच जना भत्करु पठाइन्थ्यो । उनीहरूको काम कति जन्ती आएका छन् भनेर जानकारी दिने हुन्थ्यो । भत्करुका लागि दुलहीको घरमा गुन्द्रीमाथि काम्लो बिछ्याइएको हुन्थ्यो, त्यसको तल दुलहीतिरका केटीहरूले भटमास वा तोरी राखिदिन्थे । भत्करुहरू त्यहाँ बस्दा चिप्लेर लडुन भनेर त्यो सब गरिएको हुन्थ्यो । कतिपय भत्करु लडिएला भनेर सचेत हुँदै चलाखीपूर्वक बस्थे त कति लड्थे पनि । ठट्टा र छेडछाड पनि हुन्थ्यो त्यहाँ । जन्ती त्यतिबेला बिहान हिँडेर बेलुका पुग्थे । गाउँअनुसार जन्तीको संख्या निर्धारण हुन्थ्यो । समाजको आकारअनुसार १५–२० देखि ५०–६० जनासम्म जन्ती हुन्थे । 

बाजागाजासहित दुलही लिन पुगेका जन्ती चौतारा र फराकिलो ठाउँ पाउनेबित्तिकै बाजागाजा बजाएर रमाइलो गर्थे । दुलहीको घरमा पुग्ने बेला बाजागाजा अझ बढी जोडसँग बज्न थाल्थे । ‘झ्याम–झ्याम बाजा बजाएर पुगेको जन्तीलाई पर्सने, अक्षता छर्कने काम हुन्थ्यो,’ घिमिरे भन्छन्, ‘कर्मकाण्डहरू बाटैबाट सुरु हुने । जग्गेमा बस्ने । जन्ती भत्तेर पनि विशेष हुने । मण्डपका कामसमेत उत्तिकै रमाइला छन् ।’ 

दुलहीको घरमा जन्ती पुगेपछि त्यहाँ जन्तीका लागि विशेष भोजको व्यवस्था गरिएको हुन्थ्यो । दुलाहातिरका केटा र दुलहीतिरका केटीहरूबीचको सिलोक सर्वाधिक रमाइलो पक्ष थियो । दुलाहा पक्षकाले सोध्ने अनि दुलही पक्षकाले उत्तर दिनुपर्ने, उत्तर दिन सकेनन् भने उनीहरूको हार हुन्थ्यो । ‘साह्रै रमाइलो हुने,’ उनले भने, ‘बाजागाजाले डाँडाकाँडा नै हल्लाउने । जन्ती आएको कुरा टाढैबाट पनि सुनिने । कस्तो अर्केस्टा ।’ नौमती बाजाको उस्तै धुन एकातिर ट्याम्कोको ट्याम ट्याम ट्याम..., अर्कोतिर दमाहा ड्याम्म ड्याम्म..., सहनाइको धुन उस्तै रोमाञ्चकारी । ‘त्यो बेलाको रमाइलोपन अहो बिछट्टै राम्रो,’ हंसमुख घिमिरे अलि उत्साहित देखिए । 

जन्ती दुलहीको घर पुगेपछि सिँगारिएको मण्डपमा विवाह विधि सुरु हुन्थ्यो । दुलही शिरफूल, फूली, तिलहरी आदिले झकिझकाउ हुन्थे । दुलाहा–दुलही मण्डपमा घुम्नुपर्ने, महिलाहरू दुलहीलाई ढिलो हिँड्नुपर्छ भनेर सिकाउने, मन्त्र पढेर पुरोहितले लौ घुम भनेर भन्छन्, दुलही नघुम्ने, दुलहीसँग लगनगाठो कस्ने, दुलहीलाई दुलाहाले उचालेर ठाउँ सार्ने, सिन्दूर हाल्ने, गोडा धुने विवाहका विभिन्न प्रतीकहरू पनि उनका दिमागमा ताजै छन् । मण्डपमा दुलाहा–दुलहीलाई एउटै डोरीमा बाँधिदिन्थे, छोरी अन्माउँदा दुलहीकी आमाले दुलाहासँग ‘मारे पाप, पाले पूण्य’ भन्दै छोरीको रक्षा गर्नुहोला भन्ने चलन थियो । ‘त्यो निकै भावनात्मक पक्ष हो, त्यो पछिसम्म पनि सम्झने कुरा हुन्थ्यो,’ कविवर घिमिरे भन्छन्, ‘दुलाहाका लागि अर्की आमा तयार भएजस्तो हुन्थ्यो ।’ परम्परागत विवाह–सम्बन्धलाई साह्रै भावनात्मक र कसिलो मान्छन् उनी । ‘ विवाहका सबै विधिले दुई पक्षलाई बलियोसँग बाँधिरहेका हुन्थे । कानुनी बन्धन नभए पनि प्रेमको बन्धन निकै बलियो हुन्थ्यो,’ घिमिरे भन्छन्, ‘विधि, विधान एवं परम्पराका बन्धनहरू हुन्थे । कुनै कडा पनि थिए, तर ती सबै माया–प्रेम बसाउने खालका थिए । विवाह गरेर ल्याएपछि उसलाई पाल्नुपर्ने लगायतका बाध्यता पनि थिए ।’ 

विवाहका सबै विधि सकेपछि भोलिपल्ट दुलहीलाई अन्माइन्थ्यो । दुलही अन्माइरहेका बेला एकातिर दुलहीका आमाबुवा र आफन्त रोइरहेका हुन्थे, अर्कातिर विवाहको मंगलधुनमा बाजागाजा घन्किरहन्थ्यो । ‘सहनाइले दुवै वातावरणलाई फ्युजन गरेको हुन्थ्यो,’ राष्ट्रकवि भन्छन्, ‘रुवाउने पनि आश्वासन पनि दिने ।’ 

त्यतिबेलाको विवाहमा दाइजो स्वरूप नगद नै दिने चलन थियो । कसैले छोरीको नाममा खेत पनि लेखिदिन्थे, जसलाई भूमिदान भनिन्थ्यो । काम्लो, गाग्रीलगायतका साधनहरू पनि दिन्थे, तर त्यो गच्छेअनुसार हुन्थ्यो । अहिलेको जस्तो मोटर गाडी दिने, दाइजो नै माग्ने चलन त्यति बेला थिएन, तर सुनचाहिँ बढी होस् भन्ने आकांक्षा राख्थे मानिसहरू । 

उहिलेको विवाहमा अर्काकी छोरी विवाह गरेर ल्याएपछि आफ्नी छोरीजस्तै व्यवहार गर्नुपर्ने मान्यता बलियो थियो । घिमिरे आफूले विवाहपूर्व गौरीलाई कहिल्यै नदेखे पनि बिस्तारै गहिरो प्रेम बसेको बताउँछन् । ‘उनलाई कहिल्यै नदेखे पनि विवाह भयो, तर रहँदा–बस्दा हामीबीच प्रेम सुरु भयो,’ घिमिरेले भने, ‘त्यो प्रेम चिठीपत्र लेखेर होइन, सँगै बसेर भएको हो । विवाह गरेको वर्षौंसम्म पनि अनुहार हेर्न लाज लाग्ने, लुकीलुकी हेर्ने जमाना थियो त्यो ।’ 

त्यतिबेला माटो पोलेर ल्याएको, मागी ल्याएको र विवाह गरेर ल्याएको भनेर घमन्ड गरिन्थ्यो । ‘चोरी गरेको ल्याएको विवाह होइन, भनेर एक प्रकार घमन्ड हुन्थ्यो,’ उनले थपे, ‘मागी विवाहको महत्व नै अर्कै हुन्थ्यो । मागी विवाहमा कन्या पक्ष र महिलाको महत्व बढी हुन्थ्यो ।’ त्यो महत्व विवाह संस्कृतिमै झल्कन्थ्यो । नारीलाई लिन जानु नै ठूलो सम्मान भएको मान्छन् घिमिरे । ‘दुलही लुरुलुरु आउने त होइन, जन्ती लिन जानुपर्ने चलन नै एउटा सम्मान हो ।’ त्यतिबेला छोरीले दु:ख नपाओस् भन्ने भावनाले दुलही पक्षबाट पनि जन्ती पक्षको विशेष सम्मान गरिन्थ्यो । 

पहाडका पहिलेका विवाहहरूमा खर्च निकै कम हुन्थ्यो । जन्ती बाख्रो, केही लुगाफाटा, गहनामा दुलहीलाई सजाउन शिरफूल, कल्ली, जन्तर आदि भए पुग्ने । अरू कुराको बन्धनभन्दा स्नेहको बन्धन ठूलो कुरा थियो । यतिमात्र होइन, उतिबेला विवाह ठूलो कुरा थियो— एउटाले आफ्नो जीवन अर्कोका समर्पित गरिदिनुपर्ने । दुवै पक्ष एक हुने । दुलही पक्षका इष्टमित्रहरू चौतारामा गएपछि कताबाट आउनुभयो, फलानो देशबाट ओहो हाम्रो दुलाहा पो आउनुभएछ भनेर गाउँभरि नै सम्मान दिने चलन थियो । अझ विवाहको समाजिक दायरा नै फराकिलो हुन्थ्यो । ‘विवाहले एक घरको मात्र होइन, दुई गाउँकै सम्बन्ध जोड्थ्यो,’ उनले विवाहको फराकिलो दायराका सम्बन्धमा भने, ‘गाउँमा भेटिँदा हाम्रो फलानोकी छोरी त्यही गाउँमा कसलाई दिएको हो भनेर सोध्ने । मलाई नै हो भनेपछि ‘ए तपाईं नै हो, ढोग दिए भन्ने ।’ कस्तो मजाको नाता लगाउने शैली ?’ दुलही दुलाहाको घर भित्रिएको चार रात कटेपछि दुल्हन फर्काउने चलन थियो । त्यतिबेला पहाडमा विवाह भयो भने मासु खान पाइन्छ भन्ने हुन्थ्यो भने कि दसैंमा कि विवाहमा सबैभन्दा रौनक छाउँथ्यो । 

त्यतिबेला सिंगो समाजलाई विवाह गरेको थाहा हुने भएकाले उनलाई सुखसाथ राख्नुपर्छ र पाल्नुपर्छ भन्ने मानसिकता सबैमा हुन्थ्यो । त्यसैले त्यतिबेलाका विवाह बढी मजबुत हुने राष्ट्रकविको भनाइ छ । ‘अहिले लड्का–लड्की मन पर्‍यो सुटुक्क विवाह गर्‍यो, न त लिखत पत्र छ न त कसैलाई थाहा नै छ,’ घिमिरे भन्छन्, ‘भोलि छोडेर हिँडिदिए पनि भयो नि, अहिलेको विवाहमा खतरा बढी , प्रतिबद्धता कम ।’

प्रकाशित :मंसिर ३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्