भाइरल भएको एउटा गीत

- कृष्ण भट्टराई

मंसिर २, २०७४-

गीत लोकप्रिय हुन शब्द, संगीत तथा स्वर उत्कृष्ट हुनुपर्ने सिद्धान्त पुरानो भैसकेको छ । यी तीन पक्ष उत्कृष्ट भए पनि थुपै्र गीत सफल भएका छैनन् । पछिल्ला केही वर्षयता गीत सफल हुन माथिका तीनवटै पक्षसहित म्युजिक भिडियो पनि उत्कृष्ट हुनुपर्ने शर्त थपिएको छ । चारवटै पक्ष सवल भएपछि उक्त गीत लोकप्रिय नहुने कुरै छैन । अहिले गीत लोकप्रिय भएको छ कि छैन भन्ने कुरा मापन गर्ने सरल साधन पनि उपलब्ध छ । युट्युबमा उक्त गीतको भिडियोले पाउने दर्शक संख्या (भ्युअर्स) का आधारमा गीत कत्तिको लोकप्रिय छ सहजै अनुमान गर्न सकिन्छ । भ्युअर्स त छँदैछ, ट्ेरन्डिङमै पर्न सफल भयो भने गीतको लोकप्रियता अझ बढेको मानिन्छ । ट्ेरन्ड्रिङमा पनि केही दिनसम्म पहिलो नम्बरमा रहन सफल भयो भने त उक्त गीतलाई सुपरहिट नै मान्नुपर्छ । 

यतिबेला नेपाली सांगीतिक क्षेत्रले यस्तै एउटा सुपरहिट गीत पाएको छ ‘भाइरल भैदियो...’ शीर्षकमा । अघिल्लो बिहीबार युट्युबमा अपलोड गरिएको उक्त गीतको भिडियो चार दिनमै झन्डै साढे सात लाख पटक हेरिएको छ भने आइतबारदेखि युट्युबको नेपाल ट्ेरन्डिङको पहिलो स्थानमा रहन सफल भएपछि उक्त गीतका सर्जक मानस राजलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ । मानस राज बधाईका वास्तविक हकदार पनि हुन्, किनभने गीतमा उनकै शब्द, संगीत तथा स्वर सुन्न सकिन्छ । उक्त गीतको लोकप्रियताका पछाडि भिडियो निर्देशक तथा कलाकार सविन कार्कीको पनि उत्तिकै ठूलो योगदान छ । केही हास्यरस मिसिएको गीतको शब्दमा म्युजिक भिडियोले सुगन्ध थपेको छ ।

बालकलाकारदेखि स्थापित नृत्यांगनाहरूले कमेडी शैलीको नृत्य प्रस्तुत गरेको उक्त भिडियोमा छोटो प्रेम कथा पनि चित्रण गरिएको छ । ‘भाइरल भैदियो’ शब्दले दर्शक तथा स्रोताको ध्यान आकर्षित गर्न सफल भएको छ भने भिडियोमा प्रस्तुत भएका कलाकारहरूको अभिनय, नृत्य तथा हाउभाउका कारण यो भिडियो पटक–पटक हेरौं–हेरौं लाग्ने खालको छ । 

युट्युबरका रूपमा चर्चित सबिन कार्की बिष्टले यो भिडियोको अवधारणा तयार पारेका हुन् । सबिन आफैंले मुख्य भूमिका निर्वाह गरेको भिडियोमा सबिनले दीक्षा ठकुरी, मेरी खत्री, सब्रिना गुरुङ, सुभम भुजेल आदि कलाकारलाई नृत्य गराएका छन् । छोटो सम्बादसहित प्रारम्भ हुने म्युजिक भिडियोमा एउटा जोडीलाई प्रेम सम्बन्धमा गाँस्न एउटी बालिकाले गरेको प्रयासलाई आकर्षक शैलीमा चित्रण गरिएको छ । सञ्जय कार्की उक्त भिडियोका छायांकार हुन् भने सञ्जय कार्कीले कलाकारहरूलाई नृत्यसमेत सिकाएका छन् । गीतका संगीत संयोजक उदय राज पौडेल हुन् ।

गीतमा एउटी युवतीलाई एकतर्फी प्रेम गर्ने युवकले आफ्नो मनको कुरा व्यक्त गर्न नृत्यको सहारा लिएका छन् । मनको याद भाइरल भएको भन्दै युवतीको पछि लागेका ती युवकलाई आठ वर्षीया दीक्षा ठकुरीले मनोरञ्जक नृत्यमार्फत साथ दिएकी छिन् । धादिङकी दीक्षाले यसअघि केही कभर गीतका भिडियोमा नृत्य गरेकी थिइन् । 

यसअघि गीतकार तथा संगीतकारका रूपमा स्थापित मानस राजले विगतमा पिरतीको छाता ओढाउला गीतको गीतकारका रूपमा चर्चा कमाएका थिए । यो गीतको सफलताका बारेमा गरिएको जिज्ञासामा गायक मानस राजको जवाफ छ–अचेल सबै कुरा भाइरल भैरहेको बेला भाइरल शब्दलाई नै समावेश गरेर गीत सिर्जना गर्ने क्रममा यो गीत तयार पारिएको हो । दर्शकले मन पराउनु हुन्छ भन्ने त लागेको थियो, यसरी तहल्का नै मच्चाउने छ भन्ने अनुमान गरेको थिइन । 

प्रकाशित :मंसिर २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्