अमेरिकामा नेपाली

- किशोर नेपाल

मंसिर २, २०७४-

 

राष्ट्रिय जनआन्दोलन– २०४६ को सफलतापछि नेपाल कुम्भकर्णको निद्राबाट छ्याङ्ङ बिउँझियो । बाहिर चकाचौंध उज्यालो थियो, आँखै तिरमिराउने उज्यालो । यो उज्यालोमा मानिसहरू आ–आफ्नो पेसा र व्यवसायको मूल्यांकन गर्न थाले । धेरैले थाहा पाए, उनीहरू समकालीन विश्वमा धेरै पछाडि छन् । देशलाई दरिद्रता र दुर्भिक्षले गाँजेको छ । ३० वर्ष महाराजाधिराजको सक्रिय नेतृत्वमा चलेको निर्दलीय पञ्चायत व्यवस्थाले जनताको ढाड खुस्काएको छ ।

मुठीभर धनीहरू धनी बनेका बन्यै छन् । गरिबहरू थप गरिबीले थिचिएको थिचियै छन् । मानिसहरू साँच्चै तिलमिलाएका थिए । आफ्नै देशमा उनीहरूको पहिचान खोसिएको थियो, नाम थिएन, दाम थिएन । खाना, केटाकेटीको औषधिमूलो, शिक्षा, काम गर्ने अवसर, प्रेरणा र प्रोत्साहन : राज्यले जनताका पक्षमा एक शब्द बोलेको थिएन ।

यद्यपि परिवर्तन मात्र पर्याप्त थिएन । विधिको सर्वोच्चता, असल शासन, असल शासक, असल नीति र असल कार्यान्वयन— परिवर्तनका लागि यी सबै कुराको आवश्यकता थियो । जनताले चुनावका माध्यमबाट आफ्ना जनप्रतिनिधि रोजे । सफा पाटीमा लेखेजस्तै नयाँ शासन सुरु भयो । त्यसपछि त्यो शासन सत्तासीन पार्टीभित्रको आन्तरिक कलहमा नराम्रोसँग फस्यो । त्यतिबेला सञ्चार क्षेत्रमा भने राम्रोसँग विकास भैरहेको थियो ।

विकासको यो क्रम चल्दै गयो । मिडिया क्षेत्र व्यापक र प्रभावकारी भयो । कान्तिपुर–काठमाडौ पोस्ट हुँदै केवल टेलिभिजनका रूपमा चिनिएको स्पेसटाइम नेटवर्क मिडिया व्यापारमा कस्सिएर आयो । यही कालखण्डमा काठमाडौंको मिडिया क्षेत्रमा देखा पर्‍यो— स्याङ्जाबाट आकाशको व्यापक अवतार छिचल्दै आएको पत्रकार तरुण पौडेल । विचारधाराका हिसाबले चर्को कांग्रेस । उसले छिट्टै अवसर पनि पायो । 

काठमाडौं आएपछि निकै छिटो छायो तरुण नेपाली पत्रकारितामा । त्यतिबेलाको पत्रकारितामा जोस थियो । त्यतिबेला मिडियामा थुप्रै युवा–युवतीको संलग्नता थियो । रंगीन अखबारको जमाना भर्खरै सुरु भएको थियो भने रेडियो र टेलिभिजनको प्रयोग पनि भर्खरै मात्र हुन थालेको थियो । धेरै पत्रकार जोसका साथ सक्रिय थिए पत्रकारितामा, तर जीवन जोसले मात्र चल्नेवाला थिएन । मिडियाका साहूजीहरू निरन्तर घाटामा थिए । मिडिया व्यवसाय कसरी नाफामा जान्छ त्यो उनीहरूलाई थाहै थिएन । 

छिटै मिडिया व्यवसायले आफ्नो मूल्य खोज्यो । कति मिडिया घाटामा गए, कति चाउरिए, कति बन्द हुने तरखरमा लागे । माओवादी विद्रोहका कारण समाजमा एक प्रकारको संक्रमण सुरु भएको थियो । त्यसको असर देखा पर्‍यो मिडिया जगत्मा । मिडिया व्यवसायबाट गुजारा नहुने नदेखेपछि धेरै पत्रकारले पलायनको बाटो रोजे । कोही शरणार्थीका रूपमा युरोप भासिए, कोही अमेरिका । 

त्यही लहरमा अमेरिका भासिनेमा थिए— तरुण पौडेल । उनी माओवादीको हिंसात्मक प्रकोप बढेपछि पत्रकारिता व्यवसायबाट बिदा लिएर अमेरिका प्रवेश गरेका थिए । भाग्य र पैसाले उनीसँग झेलको खेल खेलेको थियो । निकै दु:खका साथ उनी स्याङ्जाबाट काठमाडौं आएर स्थापित भएका थिए । तरुण भन्छन्— स्थापित हुन बरु अमेरिकामा सजिलो भयो । हो, केही समय सिक्न अलिकति गार्‍हो भयो । सिकिसकेपछि जीवनमा कुनै झन्झट आएन ।

तरुणले कति ‘मिस’ गरेका छन् त पत्रकारितालाई ? उनी भन्छन्— व्यक्तिगत हिसाबमा मनले मिस गर्ने विषय धेरै हुन्छन् । काम गरेर बस्ने अठोट लिएर यहाँ आइसकेपछि पत्रकारितालाई सम्झिने त कुरै भएन । यहाँ बसेर पत्रकारिता गरेर नेपालमा परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास मलाइ छैन । हो, लेखिरहेको बानी । साथीहरू फुर्सद निकालेर लेख्छन् । त्यही नै हो गर्वको विषय । मलाई यस्तो गर्व कमाउने 

कुरामा विश्वास छैन ।

तरुण मूल रूपले सानातिना व्यापार गरेर अगाडि बढेका छन् । उनले आइसक्रिम पार्लर पनि खोले । सजिलो किराना पसल सेभेन इलेभेन पनि खोले भने अरू पनि थुप्रै काम गरे । अहिले उनी इन्सपेक्टर भएका छन् । यो कुनै जागिर होइन । सरकारले उनलाई लाइसेन्स दिएको छ कि कुनै घर बिक्री गर्नुपर्‍यो वा भाडामा लिनु वा दिनुपर्‍यो भने उनको एजेन्सी ‘गज्जब’ ले त्यो घरको निरीक्षण गर्छ । यस्तो एजेन्सी उनको एउटा मात्र होइन । कठोर प्रतिस्पर्धा छ । ती कम्पनीहरूले अप्रुभल दिएपछि लेनदेनको कारोबार हुन्छ ।

नेपालीहरूको मुख्य बसोबास मेरिल्यान्डमा भए पनि अमेरिकाभरि नै फैलिएका छन् नेपालीहरू । मेरिल्यान्डपछि नेपालीहरूको बसोबासको दोस्रो थलो न्युयोर्क हो । क्यालिफोर्नियाको सन्फ्रान्सिस्कोदेखि लसएन्जलससम्म र अलास्कादेखि हवाईसम्म नेपालीहरू पुगेकै छन् । 

‘नेपालीहरू सबैसँग मिल्न सक्ने गुण भएका जाति हुन्, तर यहाँ आउने नेपालीमध्ये १० प्रतिशत मात्र अंग्रेजी बोल्छन् । त्यसै कारण पनि उनीहरूले म्याकडोनल्डमा काम पाउन सक्दैनन अनि इन्डियन, पाकिस्तानी र बंगालादेशीका रेस्टुराँमा काम गर्न बाध्य हुन्छन्,’ तरुणको भनाइ छ । 

उनी भन्छन्— डिभी परेर अमेरिका आएका नेपालीहरूले यहाँ बसोबासको समस्या झेल्नुपर्छ । नेपाली–नेपालीका बीच एकताको कुरा सुनिन्छ । यो पनि त्यस्तै हो । कामबाट फुर्सद भए पो एकता †

तरुण देश फर्कने मुडमा छैनन् । भन्छन्, ‘अब यहाँ आइसकेपछि केही गर्नुपर्‍यो नि मैले पनि । छोरा–छोरी पढ्दैछन् । उनीहरूले केही प्रगति गरून् । नआउनु आइसकियो भने स्याङ्जा वा काठमाडौं सम्झेर हुन्छ ? जे गर्ने हो यही गर्नुपर्‍यो !

 

प्रकाशित :मंसिर २, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्