ऐतिहासिक जितका नायक

- साप्ताहिक संवाददाता

मंसिर १, २०७४

 

खेलकुदमा खुसीयाली मनाउने आ–आफ्नै तरिका हुन्छ । दीपेन्द्रसिंह ऐरीको तरिका भने केही विशिष्ट छ । उनी विकेट लिएपछि समरसल्ट गर्छन् अर्थात् उफ्रेर पछाडिबाट शरीरलाई एक चक्र घुमाउँछन् । नेपालले एसीसी यू–१९ एसियाकपमा भारतलाई के हराएको थियो, उनलाई त्यसरी नै खुसीयाली मनाउनबाट कसैले रोक्न सकेनन् । जबकि केही समययता पिठ्युँमा देखिएको समस्याका कारण उनले त्यसरी खुसीयाली मनाउन पाइरहेका थिएनन्, यद्यपि मलेसियामा यति जोखिम उठाउनु स्वभाविक थियो । 

विश्व क्रिकेटको सबैभन्दा ठूलो शक्ति हो— भारत । भारतको क्रिकेट बोर्ड बीसीसीआईजत्तिको धनी खेल संस्था यो विश्वमा अरू कुनै छैन । भारतमा जत्तिको बलियो घरेलु क्रिकेट ढाँचा अन्त कतै छैन । यो स्तरीयताको आधारमा पनि हो, यससँग जोडिएको धनको लेखाजोखामा पनि । त्यही भारतको युवा टिमलाई हराउनु भनेको नेपालका लागि ‘जीवनमा एकपटक आउने मौका’ जस्तै हो अर्थात खेल भाषामा यसलाई ‘वन्स इन ए लाइफ टाइम’ भनिन्छ । 

यस्तै अवसर नेपाली युवा टिमले आत्मसात् गरेको छ र त्यसलाई सबै अर्थमा ऐतिहासिक मान्नैपर्छ । अहिले मलेसियामा एसीसी यू–१९ एसियाकप चलिरहेको छ र समूह चरणमा नेपालको भेट भएको थियो, भारतसँग । भारतीय टिमका प्रशिक्षक हुन्, एक जमानाका नाम चलेका क्रिकेटर राहुल द्रविड । सक्रिय खेल जीवनमा उनलाई ‘वाल’ भनिन्थ्यो अर्थात् पर्खाल । तिनै द्रविडले पनि प्रतियोगितामा नेपालले भारतलाई १९ रनले हराएपछि माने, ‘नेपाल जितका लागि वास्तवमै हकदार थियो ।’

नहोस् पनि किन ? नेपाली खेलकुदले प्राप्त गरेका ठूला–ठूला सफलतामा यसलाई पनि गणना गरिनेछ र त्यसको नायक रहे— दीपेन्द्र । यस अर्थमा नेपाली क्रिकेटले स्टार खेलाडी पाएको छ, अझ भनौं समग्र नेपाली खेलकुदले नै । दीपेन्द्र नेपाली यू–१९ टिमका कप्तान पनि हुन् । सम्भवत: उनलाई अहिले आएर स्टार मात्र मान्नु अन्याय पनि हुनेछ, किनभने उनले यसअघि नै आफ्नो उपयोगिता सिद्ध गरिसकेका छन् । त्यस अर्थमा उनी सुपरस्टार नै हुन् कि ? 

खासमा उनी अलराउन्डर हुन्, बल र ब्याट दुवैमा चम्कन सक्ने । भारतविरुद्ध पनि उनले सुरुमा ब्याटबाट ८८ रन बनाए भने पछि भारतीय ब्याटिङक्रमलाई ध्यस्त पार्दै चार विकेट लिए । उनले बलिङ आक्रमणको जिम्मा लिनुअघि भारत ठोस सुरुवातसँगै जिततर्फ अग्रसर थियो, तर दीपेन्द्र बलिङमा आक्रमण रूपमा के प्रस्तुत भए, भारतीय ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै ढल्दै गए, तासको घरजस्तै । दीपेन्द्र पक्का ‘जेन्टलम्यान’ खेलाडी पनि हुन्, त्यसैले यो जितको श्रेय आफू लिन चाहेनन्, सबै श्रेय पूरा टिमलाई दिए । 

प्रशिक्षक विनोद दासले दीपेन्द्रको प्रशंसामा शब्द खर्चिन कन्ज्युस्याइँ गरेनन् । विनोदको भनाइ थियो, ‘नेपालले भविष्यका लागि खेलाडी पाएको छ । उनी सबैभन्दा बढी भरपर्दा खेलाडी हुन् ।’ दीपेन्द्र नेपाली राष्ट्रिय टिमका सदस्यसमेत हुन् । केन्याविरुद्ध विश्व क्रिकेट लिग च्याम्पियनसिपमा उनले ब्याटिङको राम्रै नमुना पेस गरे । यी मिडल–अडरका ब्याट्सम्यान क्रिजमा प्राय: चौथो क्रममा आउँछन् ।

केन्याविरुद्धको दोस्रो खेलमा उनले उत्कृष्ट ६६ रन बनाएका थिए । त्यतिबेला दीपेन्द्रले चोटग्रस्त कप्तान पारस खड्काको स्थानमा मौका पाएका थिए र त्यसको पर्याप्त फाइदा पनि उठाए । केही हदसम्म उनी अहिले आफैं चोटग्रस्त छन् । उनको खास बलिङ शैली, मिडियम पेसर हो, तर उनी अहिले स्पिनरका रूपमा प्रस्तुत भैरहेका छन् । पिठ्युँको समस्याका कारण उनी अहिले बनेका छन्, ‘राइट आर्म अफ ब्रेक’ बलर । दीपेन्द्र नेपाली क्रिकेटमा देखा परेको तीन वर्ष भयो । त्यति बेला भएको एसीसी यू–१९ प्रिमियरमा उनले श्रीलंकाविरुद्ध ९० रन बनाएका थिए । 

घरेलु क्रिकेटमा त उनी स्थापित नाम नै हुन् । धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सले उनलाई सर्वाधिक ८० हजार रुपैयाँ भाउ लगाएको थियो । उनको टिम उक्त प्रतियोगिताको फाइनलसम्म पनि पुग्यो । अब हुने एभरेस्ट प्रिमियर लिगमा उनी चिवतन टाइगर्सका खेलाडी हुन्, त्यो पनि ‘मार्क प्लेयर’, अर्थात् टिमका प्रमुख स्टार जसको प्रभाव अत्याधिक छ । मार्की प्लयेरले कम्तीमा २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्छन् । यसैले देखाउँछ, उनी कस्ता खेलाडी हुन् ? 

पछिल्लो समय नेपाली क्रिकेटमा सुदूरपश्चिमको प्रभाव बढ्दो छ । दीपेन्द्र यसै क्रमका खेलाडी हुन् । उनी कञ्चनपुरका हुन् । उनको व्यक्तित्वको चर्चा गर्दा उनीजत्तिको लजालु खेलाडी नेपाली क्रिकेटमा विरलै फेला पर्छन् । मिडियासँग बोल्न त उनी सकेसम्म पछाडि हट्छन् । बोल्नै परे, निकै कम बोल्छन्, मानौं बोल्दा नगद खर्च हुन्छ, तर मैदानमा उनको खेल, त्यसको ठीक विपरीत निकै आक्रामक हुन्छ । खासमा दीपेन्द्र नेपाली क्रिकेटलाई साँच्चै अघि बढाउन सक्ने खेलाडी हुन् । 

दीपेन्द्रसिंह ऐरीलाई  मन पर्छ

खेलाडी : महेन्द्रसिंह धोनी

टिम : दक्षिण अफ्रिका

खेल : टेबलटेनिस

गायक : सोनु निगम 

गायिका : यही भन्ने छैन

नायक : रणवीर कपुर 

नायिका/मोडल : नीति शाह

खाना : नेपाली 

चलचित्र : रोमान्टिक

साधन : बाइक

ग्याजेट : स्मार्टफोन

पहिरन : क्याजुयल

रंग : गुलाफी

मौसम : जाडो

चाड : तिहार

प्रकाशित :मंसिर १, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्