विप्लव प्रतीकको नजरमा सात अभिनेत्री

- साप्ताहिक संवाददाता

कार्तिक २९, २०७४- 

केकी अधिकारी : मलाई केकीको अभिनय मन पर्छ । उनी जुनसुकै पात्रप्रति न्याय गर्न सक्छिन् । कथाकार भवानी भिक्षुको एउटा कथामाथि बनेको चलचित्र ‘द टाइपिस्ट’ मा केकीको अभिनय हेर्नेबित्तिकै म प्रभावित भएँ । उनले त्यसमा सावित्रीको भूमिका निर्वाह गरेकी छिन् । द टाइपिस्टमा मध्यमवर्गीय परिवारको परिवेशलाई जस्ताको तस्तै उतारिएको छ । 

 

निशा अधिकारी : निशा अधिकारीमा आत्मविश्वास झल्कन्छ । मलाई उनको अभिनय एवं बौद्धिकताले तानेको छ । समलिंगीको कथामा आधारित चलचित्र ‘सुनगाभा’ मा निशा अधिकारीको अभिनयले मलाई आकर्षित गरेको थियो । उनले अभिनय गरेका अन्य चलचित्र पनि मलाई मन परेका छन् । 

 

गौरी मल्ल : गौरी मल्ल अभिनयकै लागि जन्मिएकी हुन् । त्यसका लागि हामीले प्रकाश थापाप्रति कृतज्ञ हुनुपर्छ, किनभने उनले गौरीजस्तो प्रतिभालाई नेपाली चलचित्रमा ल्याए । मैले पहिलो पटक गौरी अभिनीत चलचित्र ‘सन्तान’ हेरें । त्यस्तै ‘कन्यादान’ आदि चलचित्र हेरेपछि मलाई उनको अभिनय अझ मन पर्न थाल्यो । 

ऋचा शर्मा : ऋचाको अभिनय तथा संवाद डेलिभरी राम्रो छ । उनले अभिनय गरेको ‘टलकजंग भर्सेज टुल्के’ मलाई मन परेको चलचित्र हो । 

राम्रो अभिनयकै कारण उनले नेपाली चलचित्रमा आफ्नो अलग स्थान बनाइन् । 

 

कृष्टि मैनाली : कृष्टि आफ्नो समयमा ‘बोल्ड’ एन्ड ‘ब्युटिफूल’ थिइन् । कृष्टि प्रशस्त सम्भावना बोकेकी कलाकार थिइन् । दुर्भाग्यवश उनले यो क्षेत्रलाई निरन्तरता भने दिइनन् । उनले अभिनय गरेका ‘चिनो’, ‘युगदेखि युगसम्म’ आदि चलचित्र हेरेपछि लाग्यो, कृष्टि पनि नेपाली चलचित्रमा भगवान्को उपहार हुन् । 

 

रेखा थापा : अहिलेको पुस्तामा रेखा हिम्मतवाली अभिनेत्री हुन् । उनी आफ्नो काममा पूर्णत: समर्पित छिन् । मैले रेखा अभिनीत ‘रुद्रप्रिया’, ‘हिम्मतवाली’ जस्ता केही चलचित्र हेरेको छु । रेखा पनि ‘गिफ्टेड आर्टिस्ट’ हुन् । 

 

प्रियंका कार्की : प्रियंकाको सबै चिज राम्रो लाग्छ । उनको बोली, प्रस्तुति, अभिनय अनि काम सबैले मलाई छोएको छ । मलाई उनका सबैजसो चलचित्र मन पर्छन् ।

यी सात अभिनेत्रीमध्ये मनपर्ने कुनै एउटा रोज्न गार्‍हो छ । दुई जना रोज्नुपर्दा म रेखा र प्रियंकाको नाम लिन्छु । राम्रो अभिनय गर्न तथा सफल हुन कलाकारमा अध्ययन, साहित्य, संगीत, इतिहास, राजनीति, भूगोल, फेसन, पेन्टिङ आदिको ज्ञान आवश्यक छ, जसमा यी कुराको अनुभव हुन्छ, ऊ नै अब्बल सावित हुन्छ ।

 

प्रकाशित :कार्तिक २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्