धन्दा नक्कली अपहरणको

- जनक तिमिल्सिना

कार्तिक २९, २०७४-

 

 

 

 दसैंलगत्तै ललितपुरका युवाहरूको एक समूह भारत घुम्न निस्कियो । केही दिनपछि उक्त समूहका दिनेश श्रेष्ठ (नाम परिवर्तन) अपहरणमा परेको दाबीका साथ ११ लाख रुपैयाँ फिरौती माग गर्दै उनको घरमा फोन आयो । घुम्न निस्किएको छोरा त्यो पनि विदेशमा अपहरणमा परेको खबर पाएपछि उनको परिवार तनावमा देखियो । भारतीय नम्बरबाटै फोन आएपछि अपहरणकारीको कुरामा विश्वास नगर्ने ठाउँ पनि थिएन । परिवार पैसाको जोहो गर्न थाल्यो । अपहरण परेको फोन आएको अर्को दिन नै दिनेशको फोन आयो । त्यसपछि रहस्य खुल्यो— दिनेशको परिवारसँग पैसा कुम्ल्याउन दिनेशकै समूहमा यात्रा गरिरहेका आपराधिक मानसिकताका एक युवकले त्यस्तो फोन गरेका रहेछन् ।

 

 ११ जेठमा झापाकी बबिता बस्नेत चौहान घरबाटै बेपत्ता भइन् । त्यसपछि उनको घरमा खैलाबैला मच्चियो । अझ ठूलो तनाव त त्यतिबेला सुरु भयो जब एक जना पुरुषले आफूले बबिताको अपहरण गरेको भन्दै उनका पति मेघराज चौहान तथा दाजु कमलमणिलाई बबिताकै नम्बरबाट फोन गरेर ३० लाख रुपैयाँ फिरौती मागे । प्रहरीले उक्त अपहरणमाथि अनुसन्धान अघि बढायो । बबिताको नक्कली अपहरण भएको कुराको पोल त्यतिबेला खुल्यो, जब १६ कात्तिकमा लालबन्दी होटल युनाइटेडबाट हेटौंडाका ४२ वर्षीय विष्णु गोतामेसँगै उनी पक्राउ परिन् । लालबन्दीका प्रहरी प्रमुख शेख अदालत मियाँले ३० लाख रुपैयाँ फिरौती लिएर बबितालाई छुटाएर लैजानु भनेर धम्की दिने विष्णु र बबिताबीच मायाप्रेम रहेको कुरा बताएका छन् ।

 

 ०७१ कात्तिकमा महानगरीय अपराध महाशाखा, हनुमानढोकामा जोरपाटीकी १६ वर्षीया दीक्षा (नाम परिवर्तन) अपहरणमा परेको उजुरी पर्‍यो । अनुसन्धानका क्रममा दीक्षा मनकामना पुगेको सुइँको प्रहरीले पायो । प्रहरी टोली मनकामना पुग्दा उनी रमेश (नाम परिवर्तन) सँगै फेला पारिन् । घटनाको अनुसन्धान गर्दै जाँदा उनले प्रेमीसँग डेटिङ जान अपहरणको नाटक गरेको रहस्य खुल्यो । 

 

यी केही प्रतिनिधि घटना मात्र हुन् । पछिल्ला केही वर्षमा नक्कली अपहरणका अनेकन प्रकृतिका झन्डै ३ दर्जनभन्दा बढी घटना महानगरीय अपराध महाशाखामा दर्ता भएका छन् । देशका अन्य भागमा पनि यस्ता प्रकृतिका घटनाहरू घटिरहन्छ भने केही घटना लोकलाजका कारण त केही कानुनी झन्झटका कारण सामसुम पारिन्छन्, जसका कारण नक्कली अपहरणका घटनाको वास्तविक तथ्यांक सार्वजनिक हुन सकेको छैन ।

 

गहन अपराधको अनुसन्धानमा तल्लीन प्रहरीलाई नै समस्यामा पार्ने गरी नक्कली अपहरणकाण्ड किन मञ्चन हुन्छन् त ? अधिकांश नक्कली अपहरणको प्रमुख कारण आर्थिक रहेको पाइन्छ । कतिपय घटनामा वयस्क युवायुवती डेटिङ जान, पार्टनरसँग बाहिर रात बिताउन, लहडी विवाह गरेर प्रेमीसँग भाग्न तथा प्रतिशोधका लागि नक्कली अपहरण भएको घटनाक्रमहरूले देखाउँछन् भने लागू औषधको दुव्र्यसन तथा कतिपय मानसिक तनावले पनि यस्ता घटना घट्ने गरेका छन् । 

 

महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अजय केसी नक्कली अपहरणको प्रमुख कारण आर्थिक लेनदेन नै भएको बताउँछन् । ‘नक्कली अपहरणको मुख्य कारण आर्थिक लेनदेन नै देखिन्छ,’ केसी भन्छन्— प्रतिशोध र स्वार्थपूर्तिका साथै केही घटना प्रेम एवं विवाहसँग समेत जोडिएका छन् । पछिल्ला केही वर्षमा सतहमा आएका नक्कली अपहरणका घटनाले पनि त्यही देखाउँछन् । 

 

प्रेमीसँग विवाह गरेर भाग्ने किशोरीहरूले बढीजसो अपहरणको नाटक गर्ने गरेको महाशाखाका अधिकारीहरू बताउँछन् । महाशाखाकी प्रहरी निरीक्षक लक्ष्मी खड्काका अनुसार किशोरीहरू केटासँग भाग्ने, केही समय सँगै बसेपछि कुरा नमिल्ने र त्यसपछि घर फर्कने क्रममा अपहरणको नाटक गर्छन् । ‘युवतीहरू केही नबुझी लहडमा प्रेमीसँग भाग्छन्, त्यसपछि जात मिल्दैन, केटाको घरपरिवारको यथार्थ स्थिति थाहा पाउँछन्, त्यसमा चित्त बुझ्दैन अनि केही दिनमै प्रेमीसँग विवाद हुन थाल्छ, त्यसपछि उनीहरू आफ्नै घर फर्कन्छन्,’ खड्का भन्छिन्— घरमा लाज हुने भएपछि अपहरणमा परेको नाटक गर्छन् । यस्ता धेरै घटना हामीकहाँ आउने गरेका छन् । 

 

लागूऔषधका एडिक्टहरूले पनि पैसा जुटाउन नक्कली अपहरणको खेल खेलेको पाइन्छ । काठमाडौंको एक प्रतिष्ठित कलेजमा १२ कक्षामा अध्ययनरत एक विद्यार्थी ड्रग्स प्रयोग गर्थे । गत भदौमा उक्त कुरा कलेजले थाहा पाएपछि उनलाई कलेजबाट निष्कासन गर्‍यो । परिवारमा त्यो खबरले लाज हुने भएपछि ती युवा भागेर पोखरा पुगे र उनले आफू अपहरणमा परेको खबर आफ्ना अभिभावकलाई दिए । परिवार उनको खोजीका लागि प्रहरी गुहार्न पुग्यो । प्रहरीले खोजी गर्दै जाँदा उनलाई पोखराबाट फिर्ता ल्यायो । ललितपुर प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार ब्ल्याकमेलिङ गरेर आफ्नै अभिभावकसँग पैसा फुत्काउनसमेत नक्कली अपहरणको नाटक मञ्चन हुने गरेको छ । ‘बढीजसो ब्ल्याकमेलिङ गरेर पैसा झार्न नक्कली अपहरण हुने गरेका छन्,’ चन्द भन्छन्— लागूऔषध र प्रेमका कारण पनि केही नक्कली अपहरण भएको पाइन्छ ।

 

प्रेमीको ऋण तिर्न नक्कली अपहरण 

५ असोज ०७३ मा ललितपुरकी साबु भनिने सिर्जना खड्काको मोबाइलबाट उनकी दिदीको मोबाइलमा एसएमएस आयो— तिम्री बहिनी मेरो नियन्त्रणमा छ, छुटाउन पैसा लिएर आऊ । बहिनीकै मोबाइल नम्बरबाट एसएमएस आएपछि उनको परिवार ललितपुर प्रहरी परिसर पुग्यो । प्रहरीले सिर्जनाको मोबाइल ट्रयाकिङ गरेर अनुसन्धान अघि बढायो । 

 

भोलिपल्ट सिर्जना र रामचन्द्र खडका भन्ने व्यक्तिलाई प्रहरीले पक्राउ गर्‍यो । त्यसपछि पत्ता लाग्यो, त्यो अपहरण नभै सिर्जनाले प्रेमी रामचन्द्रको ऋण तिर्न आफ्नो बुवासँग २ लाख रुपैयाँ झार्न उक्त नक्कली अपहरणको नाटक मञ्चन गरेकी थिइन् । ‘रामचन्द्रलाई पैसाको आवश्यकता रहेछ त्यसलाई पूरा गर्न योजनाबद्ध रूपमा उनीहरूले उक्त अपहरणको नाटक गरेछन्,’ ललितपुर प्रहरीका एक अधिकारी भन्छन–मोबाइल ट्रयाकिङ गरेर पक्राउ गरेपछि यो नक्कली अपहरण पटाक्षेप हुन पुग्यो । पक्राउपछि प्रहरीले रामचन्द्र र सिर्जनाविरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलायो । ११ दिन थुनामा बसेपछि उनीहरू अहिले अदालतमा १०/१० हजार रुपैयाँ धरौटी राखेर छुटेका छन् । 

 

पैसा, अपहरण र नाटक

गत जेठमा झापाकी एक महिलाले ब्वाइफ्रेन्डसँग नक्कली अपहरणको जाल बुनेर श्रीमान्सँग ३० लाख रुपैयाँ फिरौती मागेकी थिइन् । यो नाटकीय अपहरणको रहस्य खुलेपछि प्रहरीले बिर्तामोड निवासी बबिता बस्नेत तथा हाँडीखोला, मकवानपुरका विष्णुबहादुर गोतामेलाई पक्राउ गरेको थियो । 

 

गत असार ४ गते जिल्ला अदालत झापाले बबितालाई १९ हजार रुपैयाँ धरौटीमा छाडेको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरीहरूका अनुसार गत जेठ ११ गते बबिता र विष्णु झापाबाट हिँडेका थिए । विराटनगर पुगेपछि विष्णुले वविताको मोवाइलवाट फोन गरी दाजु कुलमणि बस्नेतसँग आफूले बबिताको अपहरण गरेको र सकुसल फिर्ता चाहिन्छ भने १० लाख रुपैयाँ लिएर आइज भनेका थिए । 

 

बबिता र विष्णुको मिलेमतोमा श्रीमान् र छोरासँग फोनवाटै ३० लाख रुपैयाँ फिरौती माग गरिएको थियो । ‘रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीमा फालिदिन्छौ’ भन्दै बबिताका श्रीमान् मेघराज चौहानलाई गोतामेले एसएमएससमेत गरेका थिए । श्रीमती बेपत्ता भएको भन्दै श्रीमान् मेघराज र उनका छोराले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले त्यसको सघन अनुसन्धान गरेको थियो । 

 

गोतामे र बबिता फिरौती रकम माग्दै विभिन्न जिल्लाका होटलमा बसेका थिए । उनीहरू विराटनगरबाट भेडेटार, धरान, चतरा, झुम्का, वीरगन्ज हुँदैं सर्लाही पुगेका थिए । ‘श्रीमान् वैदेशिक रोजगारीमा भएकाले समय दिन नसक्ने रहेछन्,’ इन्स्पेक्टर शेख अदालत मियाँ भन्छन्— पैसाको कमी थिएन्, तर उनले शारिरीक सम्बन्ध राख्ने प्रेमीका लागि अपहरणको नाटक गरिन्, होटलबाट पक्राउ गर्ने क्रममा कोठाको 

ढोका खोल्दा उनको अवस्था पनि त्यस्तै देखिन्थ्यो ।

                                                                                     - पर्वत पोर्तेल 

 

१० चर्चित नक्कली अपहरणका घटना

जुवामा पैसा हारेपछि

०६९ कात्तिक १५ मा रुकुमका ३७ वर्षीय दीपक वलीको अपहरण भएको भन्दै १० लाख रुपैयाँ फिरौती मागियो । श्रीमान् अपहरणमा परेपछि उनकी श्रीमती सुष्मा वली प्रहरीकहाँ पुगिन् । अनुसन्धान गर्दै जाँदा प्रहरीले कात्तिक १६ गते दीपकलाई गोंगबुमा फेला पार्‍यो । त्यसपछि पत्ता लाग्यो, दीपकले जुवामा पैसा हारेर ऋण धेरै भएपछि नक्कली अपहरणको नाटक गरेका रहेछन् ।

 

इन्ट्रान्समा अनुतीर्ण भएपछि

०६९ कै मंसिरमा एक्मी कलेज कलंकीमा इन्ट्रान्स दिन गएका राजकुमार चापागाईं हराए । उनले राति बुवालाई फोन गर्दै आफू अपहरणमा परेको र मिडियालाई खबर नगर्नु भन्दै पछि फोन गर्छु भनेर सम्पर्कविच्छेद गरे । यद्यपि त्यसको भोलिपल्टै उनी घर पुगे । पछि कुरा बुझ्दै जाँदा इन्ट्रान्स उत्तीर्ण नभएपछि उनले आफ्नो अपहरणको नाटक गरेको रहस्य खुल्यो ।

 

मानसिक तानवपछि 

८ पुस ०६९ मा किसन ओझाले भाइ सुजन ओझा महाराजगन्जस्थित टिचिङ अस्पताल (एमबीबीएस) पढ्न जाने क्रममा अपहरणमा परेको उजुरी प्रहरीमा दिए, तर केही दिनमै ओझा वीरगन्जस्थित परिवारको सम्पर्कमा आए । प्रहरीले अनुसन्धान गर्दै जाँदा सुजन ओझाले (एमबीबीएस) छात्रवृत्तिमा नाम निकाल्न नसकी आफैले पैसा तिरेर अध्ययन गर्दा धेरै नगद खर्च भए पनि पढाइमा राम्रो प्रगति गर्न नसकेका कारण मानसिक तनावमा आएर अपहरणको नाटक गरेको रहस्योद्घाटन भयो । 

 

प्रेमीसँग भागेपछि

गोरखा घ्याल्चोककी २३ वर्षीया सुशिला पौडेल ०७० मंसिर १८ मा आफू अध्ययनरत नेपाल मानविकी क्याम्पसबाटै वेपत्ता भइन् । बेलुका अपरिचित व्यक्तिले उनकी माइली दिदीलाई— तपार्इंकी बहिनी हाम्रो कब्जामा छे भन्दै फोन गर्‍यो । बहिनी अपहरणमा परेपछि लीलाका दाजु प्रहरीकहाँ पुगे । प्रहरीले अनुसन्धान गर्ने क्रममा सुशिला पौडेल अपहरणमा परेको नभै आफूसँगै पढ्ने नुवाकोटका २२ वर्षीय अनोज थापासँग भागेको तथ्य बाहिर आयो । 

 

ऋणको तनाव भएपछि

०७० भदौमा चितवनका ३४ वर्षीय धर्ममणि वली अपहरणमा परेको उजुरी प्रहरीमा पर्‍यो । अपराध महाशाखा तथा महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले १४ भदौमा उनलाई कोटेश्वरमा फेला पार्‍यो । थप अनुसन्धान गर्ने क्रममा उनले आफू अपहरणमा नपरेको, आफूले धेरै ठाउँबाट पैसा ऋण लिएको र उक्त रकम जुवामा हारेको तथा ऋण तिर्न आफू अपहरणमा परेको भनी आफ्नी श्रीमती र सालालाई फोन गरी फिरौती रकम मागेको साविती बयान दिए ।

 

 मदिरा सेवनपछि

बुटवलमा व्यापार गर्ने ३८ वर्षीय उमाकान्त मिश्र २०७० मंसिर १६ मा सामान किन्न काठमाडौं आए । त्यसको भोलिपल्ट उनको मोबाइलमा भाइले फोन गरे । उक्त फोन एक महिलाले उठाइन् । ती महिलाले भनिन्— तेरो दाजुलाई अपहरण गरी राखेका छौं । ५ लाख पठाइदे नत्र मारिदिन्छु । मिश्रका भाइ दाजुको ज्यान रक्षाको निवेदनसहित बुटवल प्रहरीकहाँ पुगे । प्रहरीले खोजबिन अघि बढायो । बुटवल प्रहरीले अपराध महाशाखा काठमाडौंलाई खबर गर्‍यो । पछि मिश्र झोंछेमा भेटिए । सोधपुछका क्रममा उनी अपहरणमा परेको नभै मदिरा सेवन गरी अपहरणमा परेको नाटक मात्र गरेको रहस्य खुल्यो ।

 

पत्नीबाट छुटकारा पाउन 

२७ माघ २०७० मा सुनसरीको सोनापुरबाट २८ वर्षीय अशोक मेहता अपहरण परे । श्रीमान् अपरहणमा परेपछि श्रीमती रेणुदेवी महतो प्रहरी गुहार्न पुगिन् । प्रहरीले अशोकलाई पछि इनरुवा–४ स्थित पंकज मेहताको डेरामा फेला पार्‍यो । उनीसँगै अपहरणकारी भनिएका सञ्जय मेहता पनि थिए । अनुसन्धानका क्रममा भारत सुपौल घर भै दुबही बस्दै आएका मेहताले तीन वर्षअघि विवाह गरेकी श्रीमती रेणुदेवीबाट छुट्कारा पाउन साथी सञ्जय र पंकज मेहताको सहयोगमा अपहरणको नाटक रचेको खुलासा भयो ।

 

प्रतिशोध साँध्नका लागि

९ जेठ ०७० मा काठमाडौंको निम्स कलेजमा ११ कक्षाको परीक्षा दिन गएकी १६ वर्षीया युवती हराइन् । परिवारले चौतर्फी खोजी गर्दा पनि उनी कतै फेला परिनन् । दिउँसो ती युवतीले आफ्नै मोबाइलबाट बुवालाई फोन गर्दै आफू अपहरणमा परेको बताइन् । त्यसपछि ५ लाख रुपैया फिरौती र जग्गाको लालपुर्जा माग्दै धम्की आउन थाल्यो । प्रहरीले मोबाइल ट्रयाक गर्दा उनी धरानमा देखिइन् । प्रहरीले उनलाई काठमाडौं झिकाएर अनुसन्धान गर्दा ती युवतीकै आमाले यो नक्कली अपहरण गर्न लगाएको रहस्य खुल्यो । उनकी आमाले जेठाजुसँग प्रतिशोध साँध्न अपहरणको नाटक गरेको बयान प्रहरीलाई दिएकी थिइन् ।

 

१ करोडको ऋणको तनावमा 

०७१ साउन २३ मा लोकन्थली, भक्तपुरका ५३ वर्षीय विष्णु गौतम खसी किन्न कलंकी खसीबजार गए । ३ लाख रुपैयाँ बोकी हिंडेका गौतम एक्कासि हराए । उनले मोबाइलबाट फोन गरेर आफन्तलाई आफू अपहरणमा परेको बताए । त्यसपछि उनको खोजबिनका लागि अपराध महाशाखामा उजुरी पर्‍यो । प्रहरी अनुसन्धानका क्रममा उनी सीतापाइलामा भएको रहस्य खुल्यो । त्यसपछि प्रहरी सम्पर्कमा आएका गौतमले १ करोड ५० लाख उठाउनुपर्ने र १ करोड तिर्नुपर्ने भएकाले तनावमा आएर मलेखु पुगेर अपहरणमा परेको नाटक गरेको बयान दिए ।

 

प्रेमिकासँग भाग्नका लागि

१४ चैत २०७१ मा ललितपुरमा ट्युशन पढ्न गएका सप्तरीका १७ वर्षीय अन्जन ठाकुर हराए । उनी आफैंले बुवालाई फोन गरेर आफू अपहरणमा परेको र १५ लाख रुपैयाँ दिए अपहरणकारीले छाडिदिने बताए । छोरो अपहरणमा परेपछि उनका बुवा प्रहरीमा पुगे । प्रहरीले अनुसन्धान गर्दै जाँदा अन्जन स्वयंलाई पक्राउ गर्‍यो । त्यसपछि उनले १५ लाख रुपैयाँ फिरौती लिएर प्रेमिकासंग भाग्ने योजना बनाएको रहस्य खुल्यो ।

 

प्रकाशित :कार्तिक २९, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्