बढी ब्याजको आशामा ठगिए सर्वसाधारण

- राजाराम पौडेल

कार्तिक २७, २०७४-

 

मोटो रकम ठगी गरेको आरोपमा पक्राउ परेकी देवकुमारी भुजेल (थापा) तथा उनका पति लक्ष्यबहादुर थापालाई पुर्पक्षका लागि जिल्ला कारागार, कास्की पठाइएको छ । कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश रमानाथ पौड्यालको इजलासले उनीहरूलाई मुलुकी ऐन ११८ को देहाय २ अनुसार मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो । यसैगरी अर्का प्रतिवादी दण्डपाणि सुवेदीलाई मुलुकी ऐन ठगीको महलको ७ नं. को कसुरमा १ लाख ५० हजार रुपैयाँ धरौटी रकम लिई तारेखमा छाडिएको छ । 

कसरी बिग्रियो व्यवहार 

स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नम्बर २ भाटखोला घर भएकी देवकुमारी भुजेल (थापा) वि.सं. २०५१ मा पढ्न भनेर पोखरा आइन् । त्यतिबेला उनले नेपाल औषधी व्यवसायी संघमा सामान्य कर्मचारीका रूपमा जागिर गरिन् । श्रीमान् भारतीय सेनामा जागिरे भएकाले देवकुमारी आर्थिक कारोबारसमेत आफैं गर्थिन् । उनले २०६० सालतिरै आफ्नै पहलमा तत्कालीन पोखरा

उपमहानगरपालिका–८, एयरपोर्टपछाडि ६ आना जग्गा किनिन् । २०६८ मा उक्त जग्गासँग पोखरा–लेखनाथ महानगरपालिका–१४, चाउथेस्थित एकतले पक्की घर सट्टापट्टा गरिन् । त्यतिबेला उनले ३० लाख रुपैयाँ थप्नुपर्ने भयो । घरजग्गा फेवा फाइनान्स, चिप्लेढुङगामा धितो राखेर तथा केही रकम बाहिर ऋण खोजेर उनले उक्त व्यवहार टारिन् । भुजेलले पुन: केही रकम ऋण लिएर घरको तला थपिन् । देवकुमारीमाथि आर्थिक भार थपिँदै गयो, जसलाई सल्टाउन उनले विभिन्न व्यक्तिसँग चर्को ब्याजमा रकम लिई कारोबार गर्न थालिन् । देवकुमारी जग्गा खरिद–बिक्री गर्ने, घर बनाउने–बेच्ने मात्र नभएर सेयरको कारोबारसमेत गर्थिन् । यसरी कारोबार गर्दा उनले पैसाको थप जोहो गर्नुपर्ने हुन्थ्यो । 

उनले बढी ब्याज प्रदान गर्ने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट रकम चलाउन थालिन् ।

मिजासिलो स्वभाव, बोलीले कन्भिन्स गर्न सक्ने खुबी मात्र नभएर लिएको रकमको ब्याजसमेत समयमै बुझाउने भएकाले उनीप्रति विश्वास गर्नेहरू बढ्दै गए, तर उनको कारोबार भित्रभित्रै बिग्रदै थियो । ब्याज दिँदै उनले ऋण दिनेहरूलाई खुसी बनाइरहेकी थिइन् । बिस्तारै उनलाई ब्याजको रकम समेत जोहो गर्न मुस्किल पर्न थाल्यो । कारोबार मिलाउनकै लागि उनले आफू बस्दै आएको घर १ करोड ७५ लाख मूल्यमा नारायण लम्साललाई बिक्री गरिन् अनि आफू त्यही घरमा डेरा गरी बसिन् । यद्यपि घर बेच्दा पनि व्यवहार सल्टिएन । उनलाई व्यवहारले थिच्दै गयो । ब्याज मात्र दिएर भए पनि साहूहरूको मन बुझाउने अवस्था नभएपछि उनी परिवारसहित पोखराबाट फरार भइन् । उनले आफ्नो घर किन्ने लम्सालसँग समेत १० लाख रुपैयाँ फुत्काइन् ।

देवकुमारी पोखराबाट भागेपछि धेरैले विदेश पुगेको अनुमान गरेका थिए । पीडितहरूलाई देवी पक्राउ पर्लिन् भन्ने आशासम्म थिएन, तर उनले प्रयोग गरेको पुरानो फोन कलका आधारमा जिल्ला प्रहरी कार्यालय, कास्की देवकुमारीलाई पक्राउ गर्न सफल भयो । काठमाडौं प्रहरीको सहयोगमा कास्की प्रहरी उनीसम्म पुग्यो । भुजेलले पोखराको केही दिनपछि महेन्द्रपुलका औषधी व्यवसायी दण्डपाणि सुवेदीसँग टेलिफोन सम्पर्क गरेकी थिइन् । सुवेदीसँगको त्यही सम्पर्कका आधारमा योजना बनाएर कास्की प्रहरी उनी भएको ठाउँसम्म पुग्न सफल भयो । देवकुमारी काठमाडौंको न्युरोड नजिकै जैसीदेवलमा मूल सकडबाट भित्र सानो गल्लीस्थित पुरानो घरको दुई कोठा भाडा लिई पहिचान लुकाएर बसेकी थिइन् । त्यहाँ उनका श्रीमान् लक्ष्मण, दुई छोरी तथा एक छोरासँगै थिए । 

देवकुमारीबाट ठगिएकाहरू ?

देवकुमारीबाट ठगीएको भन्दै ३६ जनाले जाहेरी दिएका छन्, जसअनुसार बबी श्रेष्ठको ९० लाख, प्रमिला रानाभाटको २ करोड, शान्तकुमारी घलेको ३३ लाख, विद्या गुरुङको ४१ लाख ५० हजार, हेमबहादुर गुरुङको ७४ लाख, बिमला शर्मा सिग्देलको ७० लाख, गेसबहादुर रानाको १० लाख, बिलबहादुर भुजेलको ५ लाख, विष्णुकुमारी क्षेत्रीको ६२ लाख, लक्ष्मी देवी गुरुङको १७ लाख, देवबहादुर रानाको २४ लाख ५७ हजार, मीना थापाको १ करोड, सुनमाया श्रेष्ठको १ करोड १७ लाख, सृजना पराजुलीको ८९ लाख, राधिका सैंजूको ४४ लाख ५० हजार, अंकबहादुर क्षेत्रीको १५ लाख, रीतु ताम्राकारको ५६ लाख, ललिता थापाको ८ लाख, रोशनी क्षेत्रीको ६ लाख, मिठु भनिने लालकुमारी ढकालको ७ लाख, मिलन श्रेष्ठको २ लाख, अमृत रानाको ६ लाख २० हजार, नील कुमारी केसीको २५ लाख ५० हजार, टकजंग क्षेत्रीको १ करोड १ लाख ६० हजार, मिलन केसीको ५ लाख, बिमलाकुमारी शर्मा पराजुलीको ८२ लाख, गायत्री अर्यालको २७ लाख, सुशीला सिग्देलको ९ लाख ८५ हजार, पूर्णबहादुर थापाको तेह्र लाख, मधुपा झाक्रीको १५ लाख, जीवन लामाको ८ लाख, रीता पौडेलको ६० लाख, देवेन्द्र धितालको ३२ लाख, शोभा घलेको १८ लाख ५० हजार, वालमाया पुनको ५१ लाख ७० हजार, बिना दुराको २३ लाख ५० हजार भएको उनीहरूको दाबी छ । देवकुमारीले रकम लिएका मानिसहरूको संख्या अझ बढ्न सक्ने जानकारहरू बताउँछन् । पीडितहरूले बढी ब्याज पाइने आशामा देवकुमारीमाथि विश्वास गरी मोटो रकम बुझाएका थिए ।

प्रकाशित :कार्तिक २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्