जितु नेपालको २१ बुँदे फेसबुक घोषणापत्र

- जितु नेपाल

कार्तिक २७, २०७४-

 

 

 जीवनका महत्वपूर्ण समयलाई चौबीसै घण्टा घोप्टो मुन्टो लगाई मोबाइल मात्र हेरेर चाँडै आँखाको दृष्टि गुमाउनतिर लाग्दिनँ । 

 

 फेसबुक चलाउने समय निर्धारण गर्छु । 

 

 साथीभाइसँग बस्दा गफगाफमा ध्यान दिन्छु । घोप्टो मुन्टो लगाएर को आयो, को गयो थाहै नहुने गरी फोनमा झुन्डिन्नँ । 

 

 कुनै कार्यालय, होटल वा रेस्टुराँमा पुग्दा सबैभन्दा पहिले वाईफाईको पासवर्ड माग्दिनँ । 

 

 घरभित्र प्रवेश गरेपछि परिवारलाई समय दिन्छु । 

 

 अरूलाई अनावश्यक म्यासेज पठाउँदिनँ र यो सेयर गर्देऊ र ऊ सेयर गर्देऊ भनेर दु:ख दिन्नँ । 

 

 यो म्यासेज पढेर कम्तीमा पनि २५/३० जनालाई पठाउनुहोला भन्ने खालका म्यासेज देख्ने बित्तिकै डिलिट गर्छु । 

 

 बेला–बेलामा समय सान्दर्भिक तथा आफ्ना कुरा लेख्छु, अनावश्यक कुरा लेखेर गाली खाने काम गर्दिनँ । 

 

 अरूले लेखेको कुरा कपी पेस्ट गरेर विद्वान् हुन खोज्दिनँ । 

 

 अति नै सान्दर्भिक सन्देश एवं चेतनामूलक कुराबाहेक घरी न घरी जे पायो त्यही सेयर गदिँनँ ।

 

 बिहानै ६ बजे ओछ्यानबाटै स्टाटस लेखेर प्रवचन दिने काम गर्नेछैन ।

 

 अरूलाई गाली गरेर आफू सज्जन बन्न खोज्दिनँ ।

 

 आफ्ना फ्रेन्ड, शुभचिन्तक तथा फलोअर्सहरूलाई भ्याएसम्म जन्मदिन आदि शुभकार्यमा बधाई तथा शुभकामना दिनेछु । 

 

 खाना खाको, पेट दुखेको, निन्द्रा नलागेको, बूढीसँग झगडा परेको, दिक्क भएको, वाक्क लागेको आदि कुरा गरेर अरूलाई दिक्क पार्दिनँ । 

 

 मान्छे मरेका, बिरामी भएका, दुर्घटनामा परेकाहरूका तस्बिर लाइक गर्दिनँ, कमेन्टमा दु:ख व्यक्त गर्नेछु । 

 

 मासु काटेको, खसी काटेको, कुखुरा भुत्ल्याएको, मासु पकाएको, रक्सी खाएको जस्ता तस्बिरमा लाइक तथा कमेन्ट केही गर्नेछैन । 

 

 जोसँग भेट्यो कि थुतुनो चुच्चो पारेर सेल्फी खिच्न हतारिनेछैन ।

 

 ओछ्यानमा पल्टिएर फेसबुक चलाउँदै १२/१ बजे निदाएर बिहान ९/१० बजे उठ्नेबित्तिकै फेरी मोबाइल समातेर ट्वाइलेट जाने काम बन्द गर्छु । 

 

 धेरै कुरामा जान्ने–सुन्ने हुँदै हरेक कुराको विश्लेषक बन्नेछैन । 

 

 राजनीतिक कुरामा खासै ध्यान दिन्नँ । 

 

 सकिन्छ आफैंले व्यक्तिगत सहयोग गर्छु र त्यसको जानकारीसम्म दिन्छु तर अरूसँग पैसा मागेर कसैलाई सहयोग गरेको तस्बिर राखेर ठूलो समाजसेवीको पहिचान बनाउनतिर लाग्दिनँ ।

प्रकाशित :कार्तिक २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्