नेपालको कमजोर प्रदर्शन

- साप्ताहिक संवाददाता

कार्तिक २७, २०७४-

नेपाली फुटबलमा छिरिङ लोप्साङलाई भाग्यमानी प्रशिक्षक मानिन्छ, किनभने उनको नेतृत्वमा टिमले राम्रो प्रदर्शन गर्दै आएको छ । छिरिङको प्रशिक्षणमा मनाङ–मस्र्याङ्दीले एकपछि अर्को सफलता हात पारेको इतिहाससमेत छ । केही दिनअघि मात्र उनकै नेतृत्वमा नेपालले भुटानमा भएको यू–१८ साफ च्याम्पियनसिप जितेको थियो । यो सफलतालाई लोप्साङको भाग्यसँग जोडेर हेर्नेहरू पनि निस्किए तर फुटबलमा सधैं भाग्यले साथ दिँदैन् । 

एक दिन खराव नतिजासँग ठोक्किने सम्भावना पनि उत्तिकै हुन्छ । आखिर त्यस्तै भयो र अवसर थियो, एएफसी यू–१९ च्याम्पियनसिपको छनौट । त्यसो त नेपाली फुटबललाई दक्षिण एसियाली घेरा तोडेर बाहिर खेल्न सधैं गाह्रो हुन्छ । एसियाका अरु बलिया देशविरुद्ध खेल्दा फुटबल स्तरमा ठ्याक्कै छुटाउन मिल्ने अन्तर पनि देखिन्छ । यी सबै प्रवृति किर्गिस्तानको बिस्टेकमा सम्पन्न समूह ‘ए’ को खेलमा समेत देखियो र नेपाल अन्तिम खेलअघि नै छनौटको सबै सम्भावनाबाट बाहिरियो । 

नेपालको समूहमा रहेका अरु टिम थिए, यूएई, आयोजक कीर्गिस्तान, बहराइन तथा ओमान । कीर्गिस्तानलाई छाडेर अरु सबै खाडी देश हुन् र त्यहाँ कम्तीमा एसियाली स्तरको फुटबल खेलिन्छ । नेपाल यहींनिर चुकेको थियो र त्यो स्तरको खेल नेपालको फुटबल टिमले प्रस्तुत गर्न सकेन् भने मानसिक रूपमा समेत कमजोर देखियो, जस्तो— यूएईविरुद्धको तेस्रो खेल । समूहकै सबैभन्दा बलियो यूएईविरुद्धको खेल नेपालले १–० ले मात्र गुमाएको थियो । 

उक्त खेलमा नेपालसामु बराबरीको अवसर पनि थियो, तर नेपालले त्यसको फाइदा उठाउन सकेन् । १ गोलले पछाडि रहेको स्थितिमा नेपालले अन्त्यतिर पेनाल्टीको अवसर प्राप्त गरेको थियो । उक्त अवसरमा अभिषेक रिजालले निकै फितलो प्रहार गरे र बल युएईका गोलरक्षकले सजिलै जोगाए । अभिषेकले पेनाल्टी सीधा गोलरक्षकको पहुँचमा प्रहार गरेका थिए र उक्त प्रहारमा कुनै दम थिएन । त्यही हारपछि, नेपालको छनौटको सबै खाले सम्भावना समाप्त भएको थियो । 

नेपाल त्यसअघि किर्गिस्तानविरुद्ध २–० तथा बहराइनविरुद्ध ४–० ले पराजित भएको थियो । लगातार तीन खेलको हारपछि पाँच टिम सम्मिलित छनौटमा कुनै पनि सम्भावना बाँकी रहँदैन, नेपालको स्थिति त्यस्तै भयो । समूह विजेता र उत्कृष्ट दोस्रो स्थानमा रहने टिमले अन्तिम प्रतियोगितामा प्रवेश पाउने नियम थियो र नेपाल त्यसमा चुक्यो । यसपटकको कीर्गिस्तान यात्रा अर्को नजिर बन्यो, खराव तयारी अनि खराब प्रदर्शनको अर्को शृंखलाको ।

 

प्रकाशित :कार्तिक २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्