डिभीको घनचक्कर

- शिव शर्मा

कार्तिक २७, २०७४

 

बर्खाको मौसम आकाशमा कालो बादल मडारिँदै थियो । उता विवश क्षेत्रीको मन भने उज्यालो देखिन्थ्यो । कारण उनलाई अमेरिकाको भिसा लाग्यो । विवश साथीभाइ एवं आफन्तहरूसँग खुसी साटासाट गर्न मग्न भए । बधाई पनि त्यत्तिकै पाइरहेका थिए । उनलाई चौथो पटकको प्रयासमा ग्रिनकार्ड लोटरी (डिभी) परेको थियो । यसले नै उनलाई स्थायी बसोबासका लागि अमेरिका जाने साइत जुरायो । विवश यति उमंगित थिए कि उनी एउटा युद्ध नै जितेको महसुस गर्दै थिए । निजामती सेवाको अधिकृतको जागिर तिलाञ्जली दिँदै क्षेत्री अमेरिका जाने भए । 

अमेरिकाको अगाडि उनलाई स्थायी जागिरसमेत गौण लाग्यो । जागिरले उनको परिवारको डुंगा सहज रूपमा चलिरहेको थियो । प्रतिष्ठित पदमा भए पनि डेरामै जीवन गुजारिरहेका थिए उनी । त्यही भएर पनि उनलाई जागिरको कमाइबाट सन्तुष्टि महसुस भएन । विवशले पनि अरूले झैं अमेरिकी डलर कमाउने सपना बुने । श्रीमती र दुई वर्षकी छोरी च्यापेर उनी अमेरिकातर्फ लागे, डाँडामाथिको घाम भैसकेका बाआमालाई गाउँमा छाडेर । अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बिदाइ गर्न साथीभाइ तथा आफन्तहरू उपस्थित थिए । सबैसँग बिदाइको हात हल्लाए । विवश काठमाडौं–दोहा हुँदै अमेरिकाको टेक्सास राज्यको ड्यालस अन्तर्राष्ट्रिय विमानस्थलका लागि रवाना भए । आकाशमा उडिरहेको जहाजको उचाइजस्तै सपनाहरू बुन्दै उनी लामो यात्रापछि ड्यालस विमानस्थलमा अवतरण गरे । चेकआउट र लगेज संकलन गर्ने काम सके । काकी नाता पर्नेका छोराले उनलाई ‘स्पोन्सर’ गरेका थिए । 

उनी आउने जानकारी पहिल्यै अवगत गराइसकेका थिए । एयरपोर्टमा ओर्लिएको चार घण्टा बितिसक्दा काकीको छोराको अत्तोपत्तो भएन । न त फोन नै आयो । उनले सम्पर्क गर्न खोज्दा पनि सम्पर्क भएन । लामो यात्राले होला दुईवर्षे छोरी र श्रीमती गलित देखिन्थे । उनी आफैं पनि तनावमा थिए । झन्डै पाँच घण्टाको पर्खाइपछि काकीका छोरा अभिजित सवारी लिएर एयरपोर्ट भित्रिए । ढिलाइ भएको विषयमा भने उनले आफनै विभिन्न समस्या अघि सारे । खैर, जे भए पनि अभिजितले उनीहरूलाई आफू बसेको अपार्टमेन्ट लिएर गए । आफन्त सम्झेर आएका उनको परिवारप्रति अभिजितले राम्रो व्यवहार देखाएनन् । हतोत्साहित बनाउने काम मात्र गरे । चार दिन त्यहाँ बसेपछि अभिजितले नै उनका लागि अपार्टमेन्ट खोजिदिए । अब विवश नयाँ अर्पाटमेन्टमा सरे । झन्डै महिना दिन नेपालबाट ल्याएको खर्चले धाने । सोसल सेक्युरिटी कार्ड र ग्रिनकार्ड आएपछि उनी कामको खोजीमा निस्किए । 

अपार्टमेन्ट खोजिदिएका अभिजितले जागिर खोज्नु त परै जाओस्, सम्पर्कसमेत गर्न छाडिदिए । उनलाई आफ्नै सम्झिएका आएका विवशलाई त्यस्तो व्यवहारले भतभती पोल्यो । आफ्नै मान्छेमा विदेशी भूमीमा परायाको भाव देखेर उनी भक्कानिए । ल्याएको पैसा पनि सकिन लागेको थियो । परिवार चलाउन अनि अपार्टमेन्टको भाडा तिर्न उनलाई काम चाहियो । बिनाअनुभव अनि भाषाको कमजोरीका कारण उनलाई काम पाउन पनि समस्या भयो । बल्लतल्ल भारतीय नागरिकले सञ्चालन गरेको ग्याँस स्टोरमा नाइट सिफ्टमा काम पाए उनले । रातको १२ बजेदेखि बिहानको ७ बजेसम्म उनको ड्युटी तोकियो । ग्याँस स्टोरहरूमा नयाँलाई सुरुमा यही सिफ्टमा काम दिइन्छ ।

ग्राहक कम आउने भएकाले उनीहरूले स्टोरको सामान मिलाउने र कुलर सफा गर्ने काम गर्नुपथ्र्यो । नेपालमा घुम्ने कुर्सीमा बसेर काम गर्दै आएका विवशका लागि स्टोरको काम नितान्त नौलो र त्यत्तिकै कठिन पनि भयो । बसेर काम गर्न पाइँदैनथ्यो । आठ–दस घण्टा उभिएरै काम गर्नुपथ्र्यो । खुट्टाका पिडौंला करकरी खाएर कतिपटक त कामकै दौरान थचक्कै भुइँमा बसे उनी । परिवार चलाउन र खर्च जोहो गर्न काम नगरी सुखै थिएन । यही काम सिक्न र ग्राहकको अंग्रेजी लवज बुझ्न पनि महिनौं लाग्यो । छोरी सानी भएकीले श्रीमतीले पनि काम गर्न पाइनन् । सबै जिम्मेवारी उनको काँधमा थियो । दिन महिना हुँदै वर्ष बितिरहे । उनको काम पनि ग्याँस स्टोरमै अल्झिरह्यो । 

घन्टा हानेरै उनको दिनचर्या चलिरह्यो । स्टोरकै कामको सिलसिलामा उनले झन्डै ज्यान गुमाएनन् । रातको त्यही एक बज्दै थियो होला, ग्राहकका रूपमा आएका एक लुटेराले कसो उनको ज्यान लिएनन् । उनी अमेरिका आएको पनि अहिले पाँच वर्ष भैसकेको छ । विवश अझै पनि असुरक्षित महसुस गरिने ग्याँस स्टोरमै काम गर्न बाध्य छन् । अन्यत्रभन्दा कामको घण्टा बढी दिने र कमाइ पनि राम्रो हुने भएकाले ग्यास स्टोर उनीजस्ता धेरैलाई बलजफ्तीको रोजाइ बन्छ । छोरी स्कुल जान थालेपछि अहिले श्रीमती पनि पार्ट टाइम काम गर्छिन् । काममा आउने–जाने र छोरी हेर्ने दिनचर्यामा उनीहरूको जीवन बितेको छ । अमेरिका उत्रिएपछि सुरु भएको उनको दु:खद यात्रा अहिले पनि जारी छ । उनलाई परिबन्दमा परेजस्तो महसुस हुन्छ । डलर र गगनचुम्बी महलको जुन सपना बुनेर उनी अमेरिका आएका थिए त्यो सब अहिले निरर्थक लाग्छ । यस्तो जिन्दगी सम्झेर कति पटक उनले स्वदेश फर्कने प्रयास नगरेका पनि होइनन् । स्थायी जागिरसहित सबैथोक त्यागेर आएका विवश चाहेर पनि नेपाल फर्कन सकेका थिएनन् । उनी एउटा दलदलमा फसिसकेका थिए । 

जहाँबाट उनी चाहेर पनि निस्कन सक्दैनथे । अहिले उनी उताको सम्मानित जागिर र यताको शून्यबाट सुरु भएको जीवन नियालेर मन खिन्न बनाउँदै दिनचर्या बिताउँदैछन् । नेपालमा रहँदा जस्तो जीवनशैली यहाँ पाएनन् । सबै डलरको पछि कुदिरहेको देख्छन् र उनी पनि त्यही दौडमा छन् । उनको यताको कमाइ अपार्टमेन्टको भाडा, इन्स्युरेन्स आदि खर्च गदै ठिक्क भएको छ । अमेरिकाको भिसा लागेको दिन जुन उत्साह र उमंग उनमा थियो अहिले ठ्याक्कै त्यसको उल्टो भएको छ । विवशले बुझ्दैछन्, डिभीलाई सबैले दु:ख पाउने भिसा त्यसै भन्दा रहेनछन् । विवश भित्री दु:खजस्तै भए पनि सामाजिक सञ्जालहरूमा समुन्द्रको छाल अनि अग्ला घरलाई पृष्ठभूमिमा पार्दै अरूले झैं तस्बिरहरू खिचेर पोस्ट गर्छन् र मनमनै भन्छन्– ‘यही त हो अमेरिका ।’

 

प्रकाशित :कार्तिक २७, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्