ब्रान्ड न्युयोर्क

- किशोर नेपाल

कार्तिक २६, २०७४- 

 

न्युयोर्क सपनाको सहर हो । टाइम्स स्क्वायरमा बसेर क्याफिन वा अल्कोहलको संगत नगरेसम्म अमेरिका आगमनको अर्थ रहँदैन । रमाइलोका हिसाबले यो न्युयोर्क सहरलाई साँच्चै भेट्न सक्दैन कसैले । सेन्ट्रल पार्क र म्याडिसन एभेन्यू, इम्पायर स्टेट बिल्डिङ, ब्लूमिंगडेल र मेसी । ब्लूमिंगडेल भन्नासाथ मेरो सम्झनामा हेनरी किसिंगर आउँछन् । उनी ब्लूमिंगडेल मलको मुख्य भागमा बसेर आफूले लेखेको ‘डिप्लोम्यासी’ किताब किन्ने आफ्ना पाठकहरूलाई अटोग्राफ दिँदै थिए । त्यहाँ मानिसको भीड लागेको थियो । उनको हस्ताक्षरको नमुना हेर्न मात्र पनि ओइरिएका थिए मानिसहरू । म त्यही भीडमा थिएँ । त्यतिबेला मेरो साथमा त्यो किताब किन्न १५ डलर पनि थिएन । साथमा एटिएम कार्ड पनि थिएन । चेकबुक बोकेर हिंडने कुरै भएन । 

अमेरिकाको न्युयोर्क सहर पुगेर टाइम्स स्क्वायर नजानु वा हार्डरक क्याफे नपस्नु भनेको सम्भव कुरा होइन मेरा लागि । यसपटक पनि म टाइम्स स्क्वायरमा थिएँ । केही साथीसँग बसेर कफीको स्वाद लिँदै थिएँ । मलाई लाग्यो, यत्तिको कफी त अचेल हाम्रो काठमाडौंमै तयार हुन्छ । कतिलाई बरिस्टा तालिम दिएर पठाउँछौं अस्ट्रेलिया, युरोप र यतैतिर । म्यानहट्टनमा, न्युयोर्कको भव्य खण्ड, कति कफी पसल छन् कसैले भन्न सक्दैनन् । म्यानहट्टनमा स्टारबक्स कफीले राम्रो कफी पिलाएन भन्नु सहरिया हिसाबले ‘राइट’ कुरा मानिँदैन । एप्पलको आईफोन राम्रोसँग चलेन भन्नु पनि त्यस्तै हो । केही वस्तु ब्रान्डका रूपमा मौलाइसकेपछि मौलाएको मौलायै गर्छन् ।

न्युयोर्कको सौन्दर्यसँगै यहाँका धेरै सहरिया विकृतिका बारेमा अखबारमा नपढिएको त होइन, तर यसपटक थाहा भयो, न्युयोर्कमा बसेर न्युयोर्कलाई नै ध्वस्त पार्ने अभियानले गति लिन थालेको छ । ट्विन टावर आक्रमणपछि न्युयोर्क पहिलेको जस्तो सुरक्षित सहर रहेन । 

त्यस्तै भयो त्यो दिन । राति कुनै कालो सपना देखिएको त थिएन । तैपनि मेरा लागि समय सुरक्षित रहेन । टाइम्स स्क्वायरमा साथीहरूसँग गफ गर्दै कफी पिउने पालो पर्खिरहँदा सहरमा बेग्लै प्रकारको कोलाहल थपियो । म्यानहट्टनको तल्लो लाइनमा एउटा अजंगको ट्रक चलाउने चालकले फुटपाथ र साइकल लेनमा ट्रक चलाएर आठ जना मानिसको ज्यान लियो भने एघार जना घाइते भए । जोडी टावर विस्फोटको घटनापछि न्युयोर्कमा धेरै घटना भएका छन् । पछिल्लो घटना एउटा सानो उदाहरण मात्र हो । 

अमेरिकाप्रति मानिसको अलग्गै आकर्षण छ । यो यस्तो अचम्मको देश हो जहाँ पुग्न मानिसहरू अनेकन दुष्प्रयास गर्छन् । त्यहाँ पुगेपछि के–के न हुन्छ भन्ने मानिसहरूको पनि कमी छैन । पत्रकार भाइ सुरेन्द्र पौडेलले अमेरिका पुग्ने नेपालीको दुर्दमनीय यात्राका कथाहरू लेखेका छन् ।

दुनियाँलाई फनक्कै बेरेर अमेरिका पसेका नेपाली तन्नेरीहरूको साहसको कथा मान्न लायक छ, तर त्यसका लागि उनीहरूले पाएको कष्टको कथा पनि पढ्नु अनि बुझ्नुपर्छ । एकपटक अमेरिका पुग्न पाए जमिन्छ भन्ने धेरैको मनमा परेको छ, जम्नु–नजम्नु त त्यस्तै हो, तर अमेरिकाले मानिसको मन खिच्ने मुख्य कारण स्वतन्त्रता नै हो । त्यसमा पनि संसारभरका साम्यवादीहरूका लागि त अमेरिका प्रेरणाको स्रोत नै बनेको छ ।

अमेरिकामा जीवन आरामदायक छ । ठूला पसलका ढोकाहरू ग्राहकको स्वागतमा आफैं खुल्छन् र आफैं बन्द हुन्छन् । भाँडा माझ्ने र कपडा धुने मेसिन घरैमा छ । घरैमा गाडी छ, हिँड्नु पर्दैन । गाडी नभए पनि सार्वजनिक यातायातका लागि सुविधासम्पन्न सवारीहरू छन् । ट्याक्सीले ठग्दैनन । ठगे उवर छन् । यतिसम्म त हाम्रो देशका ठूलाबडा र गण्यमाण्यका सन्तानले कपि–पेस्ट गरिसकेका छन् ।

अमेरिका र हामीबीच केही असमानता छन् । जस्तो— उनीहरू काम गर्छन्, हामी गफ गर्छौं । उनीहरू काम गरेरै संसारभर चम्किएका हुन्, हामी काम नगरेर संसारमा कहलिएका हौं । हामीकहाँ बिनाध्येय र उद्देश्यका काम धेरै हुन्छन् । हामी संस्कृतिमा विख्यात छौं । संस्कृतिको विनाशमा पनि उत्तिकै विख्यात रहेको त रानीपोखरीबाटै थाहा हुन्छ ।

जे होस्, न्युयोर्कमाथि जति हमला हुन्छ यो सहर त्यति नै जाज्वल्यमान देखिन्छ । न्युयोर्क सहरहरूको सहर हो— साहसको सहर ।

प्रकाशित :कार्तिक २६, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्