सवारी दुर्घटनामा पर्ने ३० चालकमध्ये ५ मदिराप्रेमी

- जितेन्द्र साह

कार्तिक २५, २०७४-

 

तीव्र गति, लापरबाही, खराब बाटो एवं यान्त्रिक गडबडीबाहेक विभिन्न खालका मनोरोगबाट ग्रस्त चालकबाट समेत सवारी दुर्घटना हुने गरेको छ । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको मानसिक रोग एकाइमा विभिन्न किसिमका मनोरोगबाट पीडित औसत १० चालक मासिक रूपमा उपचारका लागि आउँछन् ।

उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट एवं वरिष्ठ मनोरोग विशेषज्ञ डा. रोशन पोखरेलले कामको अत्यधिक भार, चिन्ता, घरायसी किचलो, विभिन्न प्रकारका असन्तुष्टि एवं निजी जीवन वा परिवारभित्र विगतमा भएका कुनै अप्रिय घटना यो समस्याका कारण भएको बताए । 

बढीजसो चालक डिप्रेसन र एङ्जाएटी डिसअर्डरको रोगी हुने डा. पोखरेल बताउँछन् । डिप्रेसनका बिरामीमा अत्यधिक निराशा एवं जीवनप्रति रुचि हराउँदै जान्छ । एङ्जाएटी डिसअर्डरमा विभिन्न कारणले मनमा अत्यधिक चिन्ता वा डरत्रास गडेर मुटुको ढुकढुकी बढ्छ र शरीर काम्न थाल्छ ।

हालै सप्तरीबाट काठमाडौं गैरहेको तीव्र गतिको बसलाई चालकले घुम्तीमा मोड्न नसक्दा त्रिशूली नदीमा खसेर भएको ठूलो मानवीय हताहतीको सन्दर्भमा उनले यी जानकारी दिएका हुन् । ‘चालकमा यस्तो रोग छ भने गाडी हाँक्दाहाँक्दै उसले पहिले मानसिक र त्यसपछि स्वत: शारीरिक सन्तुलन गुमाउँछन्,’ डा. पोखरेल भन्छन्, ‘उसलाई आफै पनि के भयो भन्ने थाहा हुँदैन, अचानक केही क्षण आँखा देख्न छाड्छ ।’ 

डा. पोखरेलका अनुसार यस्तै विविध किसिमका मानसिक समस्याले गर्दा पनि उनीहरूबाट बेलाबेलामा सानादेखि ठूला खालका दुर्घटना भैरहेका हुन्छन् । ‘योचाहिँ नीकै गंभीर मानसिक स्थिति हो, उनीहरूले न्यूनतम मानवीय संवेदनासमेत गुमाएका हुन्छन्,’ डा. पोखरेलले भने, ‘यस्तोमा उनीहरूलाई न आफ्नो न त अरूको परवाह हुन्छ, अनि सानो लापरबाहीले ठूलो दुर्घटना हुन पुग्छ ।’ 

समाज, परिवार तथा मित्रजनको सहयोगले उनीहरूमा दया, माया एवं आदरजस्ता मानवीय भावना जगाउन सक्नु नै यसको उत्तम उपचार विधि भएको डा. पोखरेलले बताए । ‘दैनिक थकानका कारणले एकाग्रता नहुने, जीवन नीरस लाग्ने, कुनै पनि काममा मन नलाग्ने र धेरै मदिरा पिउनाले पारिवारिक जीवन बिग्रिएका चालकहरू सपरिवार उपचारका लागि यहाँ आइरहेका हुन्छन्,’ डा.पोखरेलले भने ।

उक्त अस्पतालमा उपचारका लागि आउने मनोरोगी चालकमध्ये अधिकांशमा गाडी चलाउँदा–चलाउँदै चेतना हराएर वरपर केही नदेख्ने मानसिक समस्या पाइएको उनले जानकारी दिए । डा. पोखरेलका अनुसार संघर्ष वा परिश्रमअनुरूप जीवनमा सन्तुष्टि नहुँदा र समाजले समेत सम्मानको दृष्टिकोणले नहेर्दा चालकमा मानसिक समस्या देखा पर्छ । यस्तोमा अरूको लहलहैमा लागेर पीडा वा थकानलाई कम गर्न भन्दै मादक पदार्थ सेवन गर्दा समस्या झनै बल्झिन्छ । 

अत्यधिक मदिरा सेवन भनेको एक किसिमको मानसिक रोग नै भएको डा. पोखरेलले बताए । उक्त अस्पतालको आकस्मिक उपचार कक्षमा दुर्घटनापछि ल्याइएका मध्ये झन्डै आधाजति चालकले मादक पदार्थ सेवन गरेको पाइएको उनले जनाए । उक्त अस्पतालका मेडिकल अधिकृत डा. पुरन साहका अनुसार आकस्मिक कक्षमा मासिक औसत ३० जना सवारी दुर्घटनामा परी चोटपटक लागेका बिरामी आउने गरेका छन् । 

तीमध्ये कम्तीमा ५ जना चालकले त मदिरा सेवन गरेकै कारण दुर्घटना गराएको देखिएको उनले बताए । ‘उपचारका लागि ल्याइँदा नै अधिकांश यस्ता घाइते चालक ठीकसँग बोल्ने स्थितिमा हुँदैनन्,’ डा.साहले भने, ‘उनीहरूको सुरुवाती उपचार गर्नु पनि चुनौतीपूर्ण नै हुन्छ ।’ 

चालकले कम्तीमा ६/६ महिनामा एक पटक मनोरोग विज्ञसँग सम्पर्क गरे यस्ता विभिन्न देखिने वा नदेखिने मानसिक समस्याको उपचार हुने मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले बताए । ‘जाँडरक्सीले थकान वा पीडा कम गर्दैन, बरु अन्य खालको मानसिक, सामाजिक, पारिवारिक एवं कानूनी झन्झट खडा गर्छ,’ उनले भने, ‘त्यसैले लाज वा संकोच नमानी मनोचिकित्सककहाँ पुग्नु उचित हुन्छ ।’

‘एकै खालको दैनिकीबाट केही अन्तरालमा विश्राम लिएर स्वस्थ ढंगले रमाइलो गर्नुपर्छ,’ डा. पोखरेलले भने । विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न बहानामा मद्यपान गर्ने ५ देखि १० प्रतिशतलाई मनोरोगले नराम्रोसँग प्रभावित तुल्याएको हुन्छ । हाल संसारभरका करिब ४५ करोड मानिसमा विविध खालका मानसिक एवं मनोसामाजिक समस्या देखिएको उक्त संगठनको अध्ययनले जनाएको छ । तीमध्ये ३० करोड डिप्रेसन एवं एङजाएटीबाट पीडित छन् । नेपालमा पनि कुल जनसंख्याको २५ प्रतिशतमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या रहेको अध्ययनहरूबाट खुलासा भएको छ । 

 

प्रकाशित :कार्तिक २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्