Teej banner

विद्रोह

  • लघुकथा

- सुमन सौरभ

कार्तिक २५, २०७४

 

सपनामा खोला थियो र खोलाको किनारामा एउटी युवती गिट्टीको थुप्रोमा पसिनाको थोपाले कविता लेखिरहेकी थिई— ‘टक्क..टक्क, तप्प..तप्प ।’

मलाई देखेर उसले अनुरोध गरी— ‘लेखक, मलाई पात्र बनाएर कथा लेख न ।’

म विपनामा फर्किएँ र उसलाई केन्द्रमा राखेर कथा लेखेँ— ‘गिट्टीमा कविता लेख्ने क्रममा एउटा दुष्ट युवक आयो र उसलाई भगायो । केही दिनको रमाइलो साङ्गीतिक दोहोरीपछि युवकले उसलाई आलिशान महलमा पुर्‍यायो र ऊ जलतरङ्ग बनी । थरीथरीका पुरुषहरू आउँथे र उसको शरीरमाथि मनपरी सङ्गीत सिर्जना गर्थे । ऊ रुँदैरुँदै पीडामा बजिरहन्थी र फुर्सदमा त्यसको इकोध्वनिमा बेहोस हुन्थी । एकदिन त्यही विरहको इकोध्वनिको बीच एउटा छोरो जन्मियो ...’

अर्को दिन सपनामा उही युवती एउटा बालकसँग आई र भनी— ‘मेरो कथा लेख्यौ लेखक, लौ यो बालकको पनि कथा लेखिदेऊ रे, जिद्दी गरेर हैरान छ ।’ म तुरुन्तै बिपनामा फर्किए र फटाफट कथा लेख्न थालेँ— ‘...त्यो बालक एक हातले प्लास्टिकको थैली सुँघ्दै, खोक्दै, फेरि सुँघ्दै हिँड्दै थियो । उसको मुख कुटाइ खाएर तर उपचार नपाएर सुन्निएको थियो । उसको अर्को हातमा पाउरोटीको सानो पोको थियो, उक्त पोकोलाई उसका पछाडि हिँडिरहेका कुकुरहरू पालैपालो जुठो लगाउँदै थिए । केही बेरपछि एउटा पुलिस उसको कठालो समातेर घिच्याउँदै थियो— ‘को होस् तँ ?’

उसको जवाफ थियो— ‘धेरै पहिले खोला किनारामा गिट्टी कुट्ने एउटी महिला थिई, म उसकै छोरो ।’

सपनामा आउनेजाने र कथा लेख्ने क्रम चलिरह्यो ।

म एक दिन फेरि सपनामा गएँ र तुरुन्तै फर्किएँ । फेरि गएँ, फेरि तुरुन्तै फर्किएँ र सरासर डाक्टरकहाँ पुगें— ‘डाक्टर, म लेखक हुँ । सपनामा देखिएका मानिसहरूकै अनुरोधमा उनीहरूलाई पात्र बनाएर मैले कथाहरू लेखेँ । उनीहरूलाई मन परेनछ । सपनामा आन्दोलन छ । सपनामा गयो कि उनीहरूबाट घेरिन्छु । ‘किन हाम्रो जीवन सुखमय बनाइनस्’ भनेर लाठोमुङ्ग्रो गर्छन् ।’

‘अनि म के गरूँ त ?’

‘सपनाको डरले अब मलाई सुत्नुछैन डाक्टर, चिरकालसम्म निद्रा नलाग्ने औषधि चाहियो ।’ 

प्रकाशित :कार्तिक २५, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्