मलाई कति बदनाम गर्न सकेको हो ?

- जनक तिमिल्सिना, भिषा काफ्ले

कार्तिक २४, २०७४-

प्रदेशसभा निर्वाचनमा मनाङ ख बाट स्वतन्त्र उम्मेदवार भएपछि चर्चा गर्माएको छ–  दीपक मनाङ्गे अर्थात राजीव गुरुङको । झन्डै २ हजार ५ सय मतदाता रहेको उक्त क्षेत्रमा नेस्याङ र नार्फू गाउँपालिका छन् । त्यसो त मनाङ्गे नेकपा एमाले प्रवेशसँगै चर्चामा आएका हुन् । यद्यपि, एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा होमिए । एमालेका तर्फबाट आधिकारिक उम्मेदवार भएकी खाण्डा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएर मनाङ्गेलाई नै समर्थन गरेकी छिन् ।

मनाङ्गेले बालक चुनाव चिन्ह पाएका छन् । ५० वर्षीय मनाङ्गेका बाजे मनाङ गाउँका मुखिया थिए । उनका बुवा बर्मा र कलकत्तामा राम्रो आम्दानी गर्ने व्यापारी थिए, तर दानमा रुचि राख्ने आफ्ना बुबाले सन्तानका लागि केही पनि नछाडेको मनाङ्गे बताउँछन् । बुवाको त्यही दानी विरासतले अहिले आफूलाई राजनीतिमा आउन सहज बनाएको उनको दाबी छ । साप्ताहिकले वार्ता गर्दा उनी चुनावी प्रचार–प्रसारका क्रममा माथिल्लो मनाङमा पर्ने भ्राजामा मतदातासँग ब्यस्त थिए । हिमाली जिल्ला मनाङको उक्लिँदो चिसोबीच चुनावी गर्मीमा रमाइरहेका मनाङ्गेसँग साप्ताहिकका जनक तिमिल्सिना भीषा काफ्लेले गरेको कुराकानी : 

 

राजनीतिमा लाग्नु तपाईंको रहर हो कि बाध्यता ? 

मैले समाजसेवा गरेको २८ वर्ष भयो । समाजसेवा हामीले १–२ हजार मान्छेका लागि गर्ने हो, राजनीतिबाट अलि ठूलो क्षेत्र र बढी जनसंख्याको सेवा गर्न सकिन्छ भनेर राजनीतिमा आएको हुँ ।

 

समाजसेवा चाहिँ कसरी सुरु गर्नुभयो ? 

सानो कामबाट सुरु गरेको हुँ । मैले आफ्ना कार्यकर्ताहरूलाई कसरी ठाउँमा पुर्‍याउने भनेर तीनवटा रिसोर्ट खोले जसमा २ सय ७५ जनालाई काम दिए । त्यसपछि मैले रेस्टुराँ खोलें, बार खोलें, यस्तै गर्दै–गर्दै मैले ९ सयजति केटालाई जागिरमा लगाए । ती केटाहरूहरू र उनीहरूको परिवारलाई काम सिकाएँ । क्लब खोलेर जागिर दिएँ । मेरो समाजसेवा यही हो, आईएनजीओ–एनजीओ खोलेर विदेशबाट पैसा ल्याउने मेरो क्षमता भएन् । मैले आफ्नै लगानीमा केटाहरूलाई जागिर दिँदै, काम दिँदै, काम सिकाउँदै लगेको हुँ । 

अहिले तपाईंको लगानी कुन–कुन क्षेत्रमा छ ? 

अहिले मेरो आयात–निर्यातको व्यापार छ । यहाँबाट चीनमा जटिबुटी निर्यात गर्छु, त्यताबाट चिनियाँ स्याउ ल्याउँछु । म चिनियाँ स्याउको ठूलै आयातकर्ता हुँ । मैले रात्रि व्यवसाय छोडेको १० वर्षजति भयो । केटाहरूलाई काम सिकाइदिएँ अनि उनीहरूलाई त्यसको जिम्मा लगाएर मैले छोडिदिएँ । 

नेता हुने सोच कहाँबाट पलायो ? 

हाम्रो परिवार पहिलेदेखि नै राजनीतिक परिवार हो । मेरो सोचचाहिँ राजनीति तब गर्ने जब आफूलाई आवश्यक हुन्छ भन्ने थियो । पहिले मेरो दाइ पाल्देङ गुरुङले मनाङबाट राजनीति गरिरहनुभएको थियो । मनाङमा उहाँले राम्रो राजनीति गर्‍या हो । अहिले मैले मनाङमा के देखे भने कांग्रेससँग मनाङ्गेहरू साह्रै रिसाएका छन् । पाल्देङ दाइले पनि राजनीति छाडिदिनुभयो, त्यसै ले म अहिले जबरजस्ती आएको हो ।  

मनाङको प्रदेशसभाका लागि एमालेबाट तपाईंको नाम सिफारिस हुँदा निकै ठूलो आलोचना भयो नि ? 

होइन, यहाँ (मनाङ) त त्यस्तो कुनै प्रकारको कुरा भएको देखिनँ मैले । 

काठमाडौंमा त आलोचना भयो नि, त्यसलाई कसरी लिनुभयो ? 

मैले खासै त्यस्तो नराम्रो सोचेको छैन । आजभन्दा ६ महिनाअघि नै स्वतन्त्र लड्ने भनेर म मनाङ आएको हुँ । त्यतिबेला मेरा प्रतिस्पर्धी नै थिएनन् । मनाङका जनताले नै मलाई तपाईं स्वतन्त्र लड्नुहोस् कुनै पनि पार्टीबाट नआउनुस् भनेर बोलाउनुभएको हो । कारण मनाङमा माओवादी जिरो भैसकेको थियो, कांग्रेससँग मानिसहरू असन्तुष्ट थिए, एमालेको जम्मा ८० वटा मात्र भोट भएको ठाउँ हो यो । त्यतिबेला मलाई पार्टीबाट होइन, स्वतन्त्र लड्नुपर्छ भन्ने मनाङका जनता तथा केटाहरूको सर्त थियो, मैले त्यसैलाई स्वीकार गरेको हो । यसपटक मनाङ आएपछि एमालेले राम्रो काम गरेको देखें, एमालेले आफ्नो संगठन बलियो बनाएको रै’छ । एमालेले राम्रो काम गरेको देखेर केटाहरूले दाइ अब एमालेबाट लडौं, स्वतन्त्रबाट नलडौं भन्ने कुरा गरे । कार्यकर्ताकै दबाबमा म निर्वाचनमा उठेको हुँ । मलाई एमालेले टिकट दिएको पनि होइन । त्यही विचमा कांग्रेसले एउटा गेम खेलिदियो अनि काठमाडौंका पत्रिकाले जे पायो त्यही छापे । भएको पनि छापे, नभएको पनि छापे । कांग्रेस र कम्युनिस्टमा फरक छ, कम्युनिस्टमा जे पायो त्यही अभिव्यक्ति दिन सकिँदैन । कांग्रेसमा पैसा भयो भने जे पनि गर्न सकिन्छ । कम्युनिस्टमा त्यस्तो कुरामा अलि गाह्रो छ । एमालेले मलाई टिकट दिन नसक्ने भयो भनेर उहाँहरूले मसँग भनेकै हो । 

तपाईं राप्रपाको जिल्ला अध्यक्ष, किन त्यही पार्टीबाट नउठेर पहिले एमाले हुनुभयो अनि पछि स्वतन्त्रबाट उठ्नुभयो ?

पहिले समग्र मनाङ राप्रपाको थियो, अहिले एमालेमा गएका सबै राप्रपा नै हुन् । हाम्रो जिल्ला राजा महेन्द्रले बनाइदिएको क्षेत्र हो । सबैले राजालाई भगवान् जस्तो मान्थे । पहिले राजाका लागि सबै मनाङ्गे राप्रपामा गए । अहिले राजावादी भनिएका राप्रपाहरू आफैं टुक्रिएर सकिन लागे । एमालेले राष्ट्रवादको विषय उठाएको छ । आखिर राजा पनि राष्ट्रवादी हुन् र एमाले पनि त्यही हो भनेर मलाई एमाले मन परेको हो । केपी ओलीजीले नाकाबन्दीका वेला जुन राष्ट्रवादी अडान देखाउनुभयो त्यसले ममा एमालेप्रतिको अकर्षण बढाएको हो । 

तपाईं एमालेको कि स्वतन्त्र उम्मेदवार ? 

म स्वतन्त्र उम्मेदवार हुँ । 

एमालेले तपाईंलाईं समर्थन गर्दै आफ्नो उम्मेदवार फिर्ता लियो नि ?

उम्मेदवारी फिर्ता लिनुको कारण उहाँ मेरी दिदी भएर हो । दिदीभाइ लड्दा हामी दुवै जना हार्ने भयौं । उहाँ सोसल वर्कर पनि हो, बिजनेस म्यान पनि हो । हामी सँगै एमालेमा प्रवेश गरेका हौं । त्यसकारण पनि उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो ।

सुरुमै तपाईंलाई टिकट दिँदा पार्टीमा आलोचना हुन्छ भनेर केपी ओलीकै ट्याक्टिसमा यो सब गरिएको भनिन्छ नि ? 

त्यो त आरोप मात्र हो । यो सबै कांग्रेसको गफ हो । केपी ओलीलाई म त्यति राम्रो लाग्या भए, मन पराएको भए टिकट दिन उहाँलाई कसले छेक्न सक्थ्यो ? कांग्रेसले दुईनम्बरी धन्दा गर्ने तस्कर तथा भ्रष्टाचारीहरूलाई त टिकट दिइरहेको छ भने केपी ओलीले मलाईं दिँदा के घाटा थियो र ? म कुनचाहिँ दुईनम्बरी हो, मैले कहाँ तस्करी गरेको छ र ? उहाँहरू खालि डन–सन भनेर आलोचना मात्र गर्नुहुन्छ । 

तपाईं आफूलाई डन होइन भन्नुहुन्छ, तर सबैले किन तपार्इंलाई डन भन्छन् त ? 

कांग्रेसीहरूले ममाथि यो डनको उपाधि झुन्ड्याइदिएका छन् । म डन कि टेकबहादुरजी (कांग्रेस उम्मेदवार) का भतिजा डन ? ऊ काठमाडौंमा बन्दुक बोकेर हिँडिरहेको छ, ऊ गोली हानेर समातिएको पनि छ । डन त उहाँहरू पो हुनुपर्ने होइन भन्या ? म त आफ्नो आत्मसम्मानका लागि लड्छु । यदि आत्मसम्मानका लागि लड्दा डन भइन्छ भने ठीकै छ, म डन नै हो । 

चुनावपछि कुन पार्टीमा जानुहुन्छ ? राप्रपा कि एमाले कि अरूमा ?

अहिले केही भन्न सकिँदैन । जित्ने सम्भावना पनि कमै छ । स्वतन्त्र लड्नु भनेको टफ नै हुन्छ । त्यसमाथि यो कांग्रेसले २० वर्ष शासन चलाएको ठाउँ हो । कांग्रेससँग धेरै पैसा छ, पैसा बाँडिरहेको छ । भोट त उनीहरूकै बढी हुन्छ । 

तपाईंसँग पैसाको कमी छैन नि ?

मसँग कहाँबाट पैसा हुनु ? मैले जिन्दगीमा अहिलेसम्म जति कमाएँ ती मेरा कार्यकर्ता मात्र हुन् । 

चुनाव जित्ने सम्भावना छ ?

सबै जना लागिरहेका छन् । अस्ति उम्मेदवारी फिर्ता गर्ने दिदीसहितका एमालेका साथीहरू पनि लाग्नुभएको छ । यही गतिमा जाने हो भने मनाङमा यसपालि कांग्रेसको पैसाले नजित्ला कि ?

 

जित्ने आधार भनिदिनुहोस् न ?

पाल्देङ गुरुङ, टेकबहादुर गुरुङभन्दा म नै खाँटी मनाङ्गे भएकाले जितुँला नि । मेरो उपनाम नै मनाङ्गे भएपछि मैले त्यसै जित्नुपर्ने हो । म यहाँको खास बासिन्दा हुँ । पहिलो कुरा त म यही मनाङको मनाङ्गे हुँ । अरू कहाँका हुन्, जनतालाई थाहा छ । 

कतिपयले चुनाव नजिते मनाङ्गे फेरी गुन्डा नाइकेमै फर्कन्छ भन्छन् नि ?

अब हेर्नुहोस्, मान्छेले कुन कुरालाई कसरी बुझ्छ त्यो उसको कुरा हो । यदि तपाईंको छातीमा कसैले आएर हात हाल्छ भने तपाईंले आफ्नो आत्मसम्मानका लागि लड्न सक्नुपर्छ । यदि त्यसरी लड्दैमा तपाईंलाई कसैले डन भन्छ भने डन नै हुनुहोस् । हामी नेपालको पहिलो श्रेणीका नागरिक हौं, हामी अरूले गरेको अन्याय सहने जात होइनौ, अरूले जे गर्दा पनि चुप लागेर बस्ने । आत्मसम्मानका लागि लड्नु अधिकार हो । अझ मनाङका हामीहरू त लडेरै आ’को हो । 

कतिपयले चुनाव नजिते मनाङ्गे फेरी गुन्डा नाइकेमै फर्कन्छ भन्छन् नि ?

अब हेर्नुहोस्, मान्छेले कुन कुरालाई कसरी बुझ्छ त्यो उसको कुरा हो । यदि तपाईंको छातीमा कसैले आएर हात हाल्छ भने तपाईंले आफ्नो आत्मसम्मानका लागि लड्न सक्नुपर्छ । यदि त्यसरी लड्दैमा तपाईंलाई कसैले डन भन्छ भने डन नै हुनुहोस् । हामी नेपालको फस्ट क्लास सिटिजन हौं, हामी अरूले गरेको अन्याय सहने जात होइनौ, अरूले जे गर्दा पनि चुप लागेर बस्ने । आत्मसम्मानका लागि लड्नु अधिकार हो । अझ मनाङका हामीहरू त लडेरै आ’को हो । 

तपाईं त मनाङभन्दा बढी काठमाडौमै चर्चित हुनुहुन्थ्यो, काठमाडौंबाटै चुनाव लडेको भए हुन्थ्यो नि ? 

म मनाङ्गे हुँ, मनाङमा नआएर कहाँ काठमाडौंबाट चुनाव लड्छु ? मनाङकै मतदाताहरूले मनाङ आउनुस् भनेपछि आउनै पर्‍यो नि । 

तपाईंको पपुलारिटी त काठमाडौंमै छ, होइन र ? 

होइन, त्यहाँको पपुलारिटी त साहू र व्यापारी भएका कारणले मात्र हो । यो त मेरो आफ्नै सम्पत्ति र माया गर्ने मानिसहरू भएको ठाउँ हो । 

प्रदेशमा चुनाव जितेपछि कुनै मन्त्रालयको अफर आयो भने कुन मन्त्रालय रोज्नुहुन्छ ? 

मनाङका हिसाबले त मैले पर्यटन मन्त्रालय हेर्ने हो । मनाङ पर्यटकीय क्षेत्र हो, त्यसैले अरू मन्त्रालय लिएर के काम ? 

पर्यटनमन्त्री बनेर के गर्नुहुन्छ ? 

मनाङमा अहिले सडक बत्ती र पैदलमार्गको निकै खाँचो छ । अहिले मनाङमा गाडी आउने बाटोका कारण धूलो उडेर हिँड्नै नसक्ने अवस्था छ, अर्कातिर यसलाई ट्रेकिङ रुट पनि भन्न नमिल्ने खालको स्थिति छ । त्यसैले सबैभन्दा पहिले व्यवस्थित ट्रेकिङ रुट बनाउने हो, अर्को मानिस हिँड्ने बाटोमा सडक बत्ती राख्ने हो । नार्फुक गाउँपालिकालाई विदेशीहरू आएर एक दुई महिना बस्ने ठाउँ बनाउने हो । यो पर्यटकीय क्षेत्र हो, सरकारले यहाँ आउन कडाई गरेको रहेछ, हामीले यसलाई खुला गरिदिनुपर्छ । त्यसपछि मात्र यहाँका जनताले मिठो खान पाउँछन् । अहिले त यहाँ पर्यटकहरूका लागि खानेकुरा नै पुर्‍याउनपनि निकै दु:ख छ । 

अहिलेका नेताहरूमध्ये कसलाई रोलमोडल मान्नुहुन्छ ? 

नेपालमा मैले खासै रोलमोडल नै त देखिनँ । पहिले म गणेशमान सिंहलाई सम्मान गर्थें । उहाँ ठमेलकै भएकाले भेटघाट पनि भैरहन्थ्यो । उहाँ त्याग गर्ने नेता पनि हो । म कांग्रेस पार्टीबाट वाक्क भएको कारण त्यो पनि हो । नेपालमा गणेशमान सिंह नै रोलमोडल नेता हुन् । 

अहिले भैरहेकाहरूमा चाहिँ ? 

अहिलेका नेताहरूमा त्यो दम नै छैन, सबै ठगैठग छन्, के भन्ने, के मान्ने ? यिनीहरू ठगैठग भएकाले त हामी राजनीतिमा झरेको व्यापार छोडेर । नत्र हामी व्यापारै गरेर बसिराख्या थ्यौं नि । 

केपी ओलीले त तपाईंको प्रशंसा गर्नुहुन्छ रे नि त ? 

हेर्नुहोस्, म कुरा ढाँट्दिनँ, मैले केपी ओलीसँग भेटेको पनि छैन । मनाङमा छलकपटको राजनीति हुँदैन, म सरल राजनीति गर्छु तर अस्ति आठ–नौ महिना सरकार चलाउदा उहाँले प्राविधिक रुपमा काम गरेको देखेपछि म प्रभावित भा’को छु । 

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्ड कस्ता लाग्छन् ? 

मलाई के लाग्नुपर्‍यो, त्यो त मानिसहरूलाई थाहा भएकै कुरा हो नि । 

अहिले भैरहेका नेताहरूभन्दा तपार्इंमा के फरक विशेषता छ ? 

अहिले भैरहेका नेताहरू लोभी छन्, म लोभी छैन । उहाँको के छ भने छोरालाई गाडी किनिदिनुपर्ने, बंगलामा बस्नुपर्ने, स्वास्नीलाई ठूला–ठूला सुनका गहना लगाइदिनुपर्ने, अब मेरी श्रीमतीलाई पनि त्यो चाहना छैन हामी साधारण हिसाबले बसिरहेका छौं । मेरो स्वभाव के हो भने म सडकमा सुत्न सक्छु, सडकमै रमाउन सक्छु । 

राजनीतिमा सबै सम्भावना हुन्छन् । कुनै समय प्रधानमन्त्री बन्ने अवसर पाउनुभयो भने तपाईले सोचेको नेपाल कस्तो हुनेछ ? 

यो काल्पनिक कुरा भयो । प्रधानमन्त्री बन्ने मेरो सोच पनि छैन । म सानो जिल्लालाई केही गरिदिन्छु भनेर आएको हुँ । प्रधानमन्त्री बन्ने अवसर आयो भने पनि म प्रधानमन्त्री बन्दिनँ, त्यो मेरो क्षमताले भ्याउँदैन । प्रधानमन्त्री बन्छु भनेर हावा कुरा सोच्न पनि भएन, म सोच्न पनि चाहँदिनँ, बनाए पनि बन्दिनँ । 

प्रधान न्यायाधीश पनि मन्त्रिपरिषदको अध्यक्ष हुनुभयो यो देशमा ? 

उहाँ पनि १० जनाको चाकरी गरेर हुनु भएको हो । ममा त्यो स्वभाव छैन्, म चाकरी गर्न सक्दिनँ । नेपालको प्रधानमन्त्री बन्न भारत, चीन तथा युरोपियन कम्युनिटीलाई नमस्ते गर्दै हिड्नुपर्छ, म त्यो गर्न सक्दिनँ । त्यसैले म गाउँमा आउने हो, गाउँलेहरू सबैले मलाई चिन्छन्, उनीहरूले मलाई माया गर्छन् । 

मन्त्री बन्ने सम्भावना त छ नि, हैन र ? उमेर पनि छँदैछ । 

मन्त्री त म आफ्नै खुबीले बन्ने हो । मैले मन्त्री हुन भारतसँग सोधिरहनु पर्दैन । प्रधानमन्त्री हुँदिन, मन्त्री हुन, म आफ्नो स्तरबाट भ्याउँछु, जनताले जिताएर पठाएपछि । 

तपाई गृहमन्त्री बन्नुभयो भने गृह प्रशासन सुधार्न के गर्नुहुन्थ्यो ? 

नेपालमा गृहमन्त्री बनेर के पाइन्छ र चार जनाको सेक्युटिरीबाहेक । नेपालमा सबैभन्दा नराम्रो मन्त्रालय भनेको गृह मन्त्रालय हो, तर नेपालका सबै नेता गृहमन्त्री नै हुन् खोज्छन् । 

तपाईंकै शब्दमा तपाईंले यति लामो समय व्यवसाय र समाजसेवा गर्नुभयो । व्यापारको नाफा केमा लगानी गर्नुहुन्छ ? 

नेपाल भनेको व्यापारिक देश हो, औद्योगिक देश होइन । त्यसकारण उद्योगमा जाने कुरा आएन, नेपालमा कमाएको पैसाले खान पनि पुग्दैन । माओवादीको युद्धकालमा हाम्रो सबै सम्पत्ति डुब्यो । नेपालमा कमाएर कुनै ठाउँमा हाल्न सक्ने स्थिति भनेको भ्रष्ट कर्मचारीको हो, नेताको हो । व्यापारीको हालत त यहाँ पतला छ, हेर्नुस् । म पनि ऋणमा डुबेको मान्छे हुँ, १२ वर्षसम्म ऋण तिर्दातिर्दा हैरान भएको छु । पेटभरि खान पाइयो, छोराछोरीलाई पढाउन पाइयो, त्यत्ति हो । 

अहिलेसम्म कति ऋण छ ? 

मेरो ख्यालमा व्यक्तिगत ऋण ७०/८० लाख जति होला । बैंकको ऋण ४५ लाखजति होला । यो एउटा नेपालीका लागि निकै हो । इन्भेस्टमेन्ट र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ऋण छ म माथि । 

तपाईंसँग कतिवटा गाडी छन् ? 

एउटा मात्र गाडी छ । 

सम्पत्ति शुद्धीकरणमा पनि पर्नुभयो होइन ? 

तपाईंले रमाइलो प्रश्न सोध्नुभयो । सम्पत्ति शुद्धीकरण ऐन २०६३ सालमा संसदमा गएको र ०६४ सालमा पारित भएको हो, तर मेरो सम्पत्ति भनेको ०५२ सालको हो । मलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउनै मिल्दैन । त्यतिबेला अति भ्रष्ट मानिस प्रहरी प्रमुख थिए । हो, त्यही मान्छेसँग मेरो नराम्रो भएकाले मुद्दा दायर गरियो । मेरो मुद्दा दर्तै गर्न नमिल्ने हो । त्यसमाथि मेरो सम्पत्ति केही छैन । मैले सम्बन्ध–विच्छेद गर्ने बेला श्रीमतीलाई अंश दिएर हिँडेको १५/१६ वर्ष भैसक्यो, मैले पारपाचुके दिएकी श्रीमतीलाई समेत यिनीहरूले अदालतमा तानेर बदनामचाहिँ धेरै गर्‍या छन्, तर यसको पनि पाप त लागिहाल्छ । 

अख्तियारको आँखा लाग्छ भनेर श्रीमतीको नाममा सम्पत्ति राखेको पनि भनिन्छ नि ? 

अख्तियारको आँखा मेरो जीउ नै हेरेर लगाउने भए लगाए हुन्छ, अरू त केही पनि छैन मसँग । अलिकति पाखुरा ठूलो छ, जीउ ठूलो छ, भात धेरै खायो भनेर मुद्दा लगायो भने कुन्नि ? मसँग भएको सम्पत्ति मेरो शरीर मात्र हो, अरू केही पनि छैन । अख्तियार भनेको हामीलाई मतलब भएको कुरै होइन, अख्तियार लाग्ने भनेको कर्मचारी तथा नेताहरूलाई हो, ममाथि अख्तियार लगाउन मिल्दैन ।

अहिले तपाईंको सबै सम्पत्ति श्रीमतीकै नाममा छ हो ? 

उहाँ र मेरो सम्बन्ध–विच्छेद भएको झन्डै १५/१६ वर्ष भैसक्यो । अशंबन्डा गर्दा त्यतिबेला एउटा घर र दुईवटा जग्गा थियो उहाँको नाममा, व्यापारचाहिँ मेरो नाममा गरेर छुट्टिएका हौं हामी । त्यतिबेला व्यापार राम्रो थियो । महिनामा ५/६ लाख कमाइरहेकै थिएँ । माओवादी युद्धका कारण मेरो ब्यापार डुब्यो । पारपाचुके भैसकेकी श्रीमतीको नाममा भएको २–४ लाखमा किनेको जग्गा अहिले ४०/५० लाख पुग्यो होला । 

तपाईं नार फूको घटनामा पनि तानिनुभयो नि ? 

पत्रपत्रिकामा जे पायो त्यही छाप्न लगाइदिने, जे पायो त्यही गरिदिने ? म यहाँ मनाङमा आफ्नो सुरमा चुनाव प्रचार गरेर बसिरा’छु, कांग्रेसले १० लाख रुपैयाँ दिएर गाउँमा बाड्न पठाएछ । म स्वतन्त्र लडेको मान्छे, एमालेका केटाहरूले पैसा बाँडिरहेका बेला समातेर पुलिसलाई बुझाइदिएछन् । त्यो मुद्दामा समेत मेरो नाम आयो । कति बदनाम गर्न सकेको हो मलाई ? .

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्