कात्तिक २४ देखि ३० गतेसम्मको राशीफल

  • कात्तिक २५ गते : फाल्गुनन्द जयन्ती, २८ गते : उत्पत्तिका एकादशी व्रत ।

- रामप्रसाद सिटौला (फलित ज्योतिष)

कार्तिक २४, २०७४- 

मेष

मेहनतपूर्वक गरिएको कार्यले उचाइमा पुर्‍याउनेछ । साथीहरूले दिएको सुझावबाट आफ्नो भलाई नै हुनेछ । धैर्य गरे विदेश यात्राको अवसरसमेत जुट्नेछ । आफ्ना सिर्जनशील रचना मन पराउनेहरू बढ्ने छन् । राति सवारी साधन चलाउँदा होसियारी अपनाउनुहोला ।

वृष 

सभा–सम्मेलनमा सहभागी हुँदा उच्चपदस्थ व्यक्तिहरूसँग परिचित हुँदै महत्वपूर्ण जिम्मेवारी हात पार्न सफल भइनेछ । आर्थिक तथा वैचारिक सद्भाव एवं सहयोग मिल्नेछ । नयाँ कामको थालनी हुनसक्छ । पूर्वको यात्राका क्रममा नीलो रंग प्रयोग गर्न सके नचिताएको परिणाम प्राप्त होला । 

मिथुन 

प्रेमिकाको नजर तथा अपेक्षा उपहारप्रति छ । साथीभाइको भावना बुझ्ने प्रयत्न गर्नुहोला । बिनाप्रतिस्पर्धा पद–प्रतिष्ठा प्राप्त हुने समय छ । मनोरञ्जक काममा मन खोलेर सरिक भइनेछ । टाढिएका साथीभाइसँगको सम्बन्ध प्रगाढ हुनेछ । 

कर्कट 

बाहिरी वातावरणमा रुमल्लिँदा पढाइ लेखाइप्रति त्यति ध्यान नजाला । सोच–विचार नगरी अरूलाई वचन दिँदा प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ । कार्य व्यस्तता बढी हुने हुँदा स्वास्थ्यप्रति विशेष ध्यान दिनुहोला । साताको अन्त्यमा भोज–भतेरमा सहभागी हुने निमन्त्रणा पाइनेछ ।

सिंह 

साझेदारीले अप्ठ्यारोमा पार्नुका साथै विवाद बढाउन सक्छ । काममा अपेक्षाकृत सफलता हात पार्न थप लगानीको आवश्यकता छ । आफन्तहरूप्रतिको विश्वास धोकामा परिणत हुन सक्छ । नयाँ कार्यक्षेत्र पहिचान गर्न सफलता हात पर्नेछ । साताको अन्त्यमा वनभोज तथा भेटघाट आदिमा सरिक भइनेछ । 

कन्या 

आलस्यले दैनिक कार्यतालिकामा फेरबदल ल्याई महत्वपूर्ण कामसमेत ओझेलमा पर्ने सम्भावना छ । रोकिएका काममा पुन: प्रयत्न गर्दा सफलता हात लाग्नेछ । राम्रै आम्दानी हुन केही समय कुर्नुपर्नेछ । साताको उत्तराद्र्धमा हरेक कुरामा सर्तकता अपनाउनुमै आफ्नो भलो छ ।

तुला 

प्रेमी–प्रेमिकाको भूमिकाका कारण उन्नतिको मार्ग पहिल्याउन सकिनेछ । प्रतिस्पर्धीहरूलाई उछिनेर विशेष अवसर हात पार्न सकिएला । पिछडिएका वर्ग तथा अपांगहरूलाई सहयोग गर्नु उपयुक्त हुन्छ । कर्मचारीहरू आफ्नै कमजोरीका कारण विवादमा पर्नेछन् । कार्यक्षेत्रमा संयम अपनाउनुपर्ने समय छ । साताको अन्त्यतिर पारिवारिक खर्चको बोझले आर्थिक भार बढाउनेछ ।

वृश्चिक 

प्रेमको नाटक गरी झुक्याउनेहरूसँग सचेत हुनुपर्नेछ । आफ्नो क्षमता प्रदर्शन गरी इनाम प्राप्त गर्न सकिनेछ । मन मिल्ने साथीको सुझावमा मात्र विश्वास गरे पछि परिएला । उथलपुथलपूर्ण पारिवारिक वातावरणबाट मुक्ति पाइनेछ । पीपलको पूजाले मनोकांक्षा पूर्ण गर्न सहयोगी भूमिका निर्वाह गर्नेछ । 

धनु

मित्रको सहयोगबाट हौसला प्राप्त हुनेछ । मनपर्ने उपहार हात लाग्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ । अभिभावकबाट प्राप्त सुझावले अधुरा कार्य पूरा गर्न सहयोग पुर्‍याउला । असहज परिस्थतिबाट उम्कन बढी नै खर्च गर्नुपर्ने हुनसक्छ । 

मकर 

प्रेमिकाले घरबाहिर भेट्ने प्रस्ताव राख्नेछिन् । मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुन सक्छ । नाफा मूलक व्यवसाय सुरु गर्न साझेदारहरूबीच मत मिल्नेछ । चियोचर्चा गर्नेहरूबाट सावधान रहनुहोला ।

कुम्भ 

हतारमा गरिएको कार्यले उल्टो परिणाम दिनेछ । काममा धैर्यताको आवश्यकता छ । तत्काल समस्या देखिए पनि सोमबारपछि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । सुनौलो रङ्गको प्रयोगले मेहनत खेर जान दिनेछैन । तथ्य कुरा पत्ता लगाई असहज परिस्थतिको सामना गर्न सकिनेछ ।

मीन 

भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्दा व्यवसाय ओरालो लाग्नेछ । साथीसंगीहरूको भेलाले तपाईंको नेतृत्व अनुमोदन गर्दै नयाँ व्यवसायको श्रीगणेश गर्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयम अपनाउनुहोला । पारिवारिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ ।

 

प्रकाशित :कार्तिक २४, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्