संस्कृति जोगाउँदै वीरगन्जका युवा

- कुम्भराज राई

कार्तिक २३, २०७४-

जतिबेला भारतीय नाकाबन्दी उत्कर्षमा थियो । सीमामा मधेसी दल धर्नामा थिए । त्यतिबेलै वीरगन्जका एक हूल युवा एउटा घरको कोठामा गिटार र ड्रम बजाउँदै गीत गाउँथे । ‘उता धर्ना, आन्दोलन र नाकाबन्दी छ । यता हामी गीत गाएर बसिरा’छौँ ।’ उनीहरूबीच संवाद हुन्थ्यो, ‘साथीहरू पेट्रोल सप्लाई गरेरै लखपति भैसके । हामीचाहिँ रमाइलोमै मस्त ।’

यो गीत गाउने समूहले टाइमपास मात्र गरिरहेको थिएन, उनीहरू युट्युब च्यानल ‘संस्कृति अनप्लग्ड’का लागि रिहर्सल गरिरहेका थिए । ‘संस्कृति’ वीरगन्जको त्यस्तो समूह हो जसले कला, संगीतको क्षेत्रमा वीरगन्जको परिचय बदलेको छ । व्यापारका लागि परिचित सहरमा संस्कृतिको विकास गरिरहेको छ । 

चार वर्षअघि संस्कृतिका केही युवा मिलेर सहयोग रकम जुटाए । संकलित रकमबाट माईस्थानमा ‘कुटुम्ब’को लाइभ शो गरे । सम्भवत: वीरगन्जको इतिहासमै यस्तो किसिमको पहिलो सांगीतिक शो थियो त्यो । त्यसपछि उनीहरूमा उत्साह थपियो । संस्कृतिमा भोलेन्टियर काम गर्नेहरूको संख्या नै ३० पुग्यो भने संस्कृतिले करिब १ सयवटा इभेन्ट सम्पन्न गरिसकेको छ ।

फोटोग्राफी वर्कसप, आर्ट वर्कसप, फिल्म स्क्रिनिङ, थिएटर, फोटो प्रदर्शनी, वीरगन्ज युथ फेस्टिभलजस्ता इभेन्ट संस्कृतिका सम्झनलायक काम हुन् । वीरगन्जमा लाइभ म्युजिकको संस्कार संस्कृतिले नै भित्र्याएको हो । सुरुमा विभिन्न इभेन्टमा आउने दर्शक भुलाउन स्थानीय ब्यान्डले लाइभ म्युजिक प्रस्तुत गथ्र्यो । संस्कृतिका संस्थापक मनिष पौडेल भन्छन्, ‘त्यसैबाट बानी बसेर अहिले त होटल तथा रेस्टुराँहरूमा लाइभ म्युजिक गर्नेहरूको कमी छैन ।’ 

संस्कृतिको सहकार्यमा भर्खरै मात्र फज फ्याक्ट्री प्रोडक्सनले स्थानीय ‘झिझिँया’ (जुन वीरगन्ज क्षेत्रको प्राचीन संस्कृति) सम्बन्धी एउटा म्युजिक डकुमेन्ट्री तयार पारेको छ, जसमा वीरगन्जमा हिँड्ने टाँगा र रिक्साको आवाजदेखि चिया पकाउँदा निस्कने आवाजलाई धुनका रूपमा प्रयोग गरिएको छ । अत्यन्तै नौलो प्रयोगका रूपमा झिझिँयालाई कलात्मक शैलीमा प्रस्तुत गर्ने प्रयास भएको छ त्यसमा । 

त्यसैगरी ‘वीरगन्ज फोटो प्रोजेक्ट’ नयाँ कन्सेप्ट हो । वीरगन्ज क्षेत्रमा लिइएका राम्रा तस्बिरहरूको एउटा अर्काइभकै रूपमा वीरगन्ज फोटो प्रोजेक्ट सञ्चालन भएको छ । यो प्रोजेक्टको वेबसाइटमार्फत वीरगन्जलाई तस्बिरको माध्यमबाट बुझ्न थप सहज हुन्छ ।

यसरी जन्मियो संस्कृति

मनिष पौडेल (३० वर्ष) संस्कृतिका संस्थापक हुन् । इलेक्ट्रिकल इन्जिनियरिङमा डिप्लोमा गरेका मनिषको परिचय एउटा मात्र छैन । उनी राम्रा फोटोग्राफर, म्युजिक भिडियो एडिटर, पत्रकार तथा अभियन्ता पनि हुन् । उनी त्यतिबेला फोटोग्राफी र कान्तिपुर टेलिभिजनको वीरगन्ज अफिसमा भिडियो एडिटर थिए ।

कामले वाक्क भएपछि उनमा थप शिक्षा र अवसर खोज्न राजधानी छिर्ने भूत सवार भयो, तर उनका एक परिचित दाइले आफ्नै ठाउँमा केही गर, भनेर एक वर्ष सम्म मोटिभेट गरे । सुरुमा त उनलाई वीरगन्जमा यस्तो काम सम्भव छैन भन्ने लाग्यो, तर प्रयास गर्न आफूभन्दा साना भाइ–बहिनीलाई साथमा लिएर ‘संस्कृति’ लाई जन्म दिए उनले ।

अहिले संस्कृति आफैंमा ब्रान्ड बन्यो । इभेन्टहरूको सुरुवात गरिसकेपछि संस्कृतिलाई मुनाफारहित संस्थाका रूपमा दर्ता गरियो । संस्कृतिसँग धेरै जना आबद्ध भए पनि खासगरी पाँच जनाले यसलाई ह्यान्डल गरिरहे । त्यसमध्येकी एक हुन्— एलिसा उदास (२० वर्ष) । उनी वीरगन्जको एक विद्यालयमा टिचिङ गर्छिन् । कमर्सको स्टुडेन्ट भए पनि उनले संस्कृतिले आयोजना गरेको आर्ट वर्कसपमा आर्ट सिकिन् । संस्कृतिको आर्ट विधा उनकै जिम्मामा छ ।

रोनित सिंह (२४ वर्ष), संस्कृतिका प्रोग्राम कोअर्डिनेटर हुन् । उनको रुचि फोटोग्राफी तथा म्युजिकमा छ । सेन्चुरी बैंक वीरगन्ज शाखामा कार्यरत सिंह संस्कृतिका लागि सिंगर, ड्रमर, गिटारिस्ट तथा फोटोग्राफर हुन् । सुदीप शाक्य (२४ वर्ष) संस्कृतिको फाइनान्स हेर्छन् । इभेन्ट कसरी गर्ने, के गर्ने भन्ने सुदीपकै हातमा हुन्छ । उनी भर्खरै राजधानी छिरेका छन् । राजधानी बसेर अनलाइन बिजनेस गरे पनि उनले संस्कृतिलाई माया मारिसकेका छैनन् ।

मुन्ना सर्राफ (२७ वर्ष) संस्कृतिका प्रोग्राम कोअर्डिनेटरसँगै थिएटर विधा हेर्छन् । संस्कृतिले वीरगन्जमा आयोजना गरेको दुईवटा थिएटरमा उनैले नेतृत्व गरे । उनले मण्डलामा समेत आफ्नो कला प्रस्तुत गरिसकेका छन् । संस्कृतिले विभिन्न स्कुल–कलेजमा ‘मोटिभेसनल टक सिरिज’ पनि सञ्चालन गर्दै आएको छ । 

कला र संस्कृतिले समाजलाई जोड्छ भन्ने ‘संस्कृति’को बुझाइ छ । ‘संस्कृति अनप्लग्ड’ अन्तर्गत युट्युबमा वीरगन्जका प्रतिभाहरूको एक दर्जनभन्दा बढी प्रस्तुति हेर्न सकिन्छ । अवसरका लागि राजधानी छिर्नैपर्छ भन्ने बाध्यताको अन्त्य वीरगन्जमा यिनै युवाहरूले गरे, जसले वीरगन्जमा अनेकन अवसर जुटाएर सीप सिकायो । मासिक ३ वटा सम्म इभेन्ट गरिरहेको ‘संस्कृति’ मधेस आन्दोलन पछि केही सेलाएको छ ।

केही महिनाभित्रै संस्कृतिले ‘वीरगन्ज युथ फेस्टिभल’ को सेकेन्ड इपिसोड गर्ने तयारी गरिरहेको छ । जे गरे पनि साझा समस्या बजेटकै छ । ‘जहिल्यै पनि स्पोन्सर खोज्दै हात फैलाउनुको विकल्प छैन ।’ मनिष भन्छन्, ‘यति राम्रो काम गरिरहेका छौं । हामी यति सहयोग गर्छौं भन्ने मान्छे फेला पार्न मुस्किल छ, तैपनि हामीले मन मारिसकेका छैनौँ ।’ 

त्यसो त वीरगन्ज आफैंमा ऐतिहासिक सहर हो । पुरानो नाम ‘गहवा’ भए पनि सन् १८९७ अर्थात् १ सय २० वर्षपहिले तत्कालीन राणा प्रधानमन्त्री वीरशमसेरले वीरगन्ज सहर बसाएको बताइन्छ । संस्कृति हालै मात्र महानगरपालिका बनेको त्यही वीरगन्जको इतिहासमा एउटा इँटा थप्न तल्लीन छ ।

के सेभेन रेसिङ टिम

बाइक राइडर्सहरूको टिम हो— के सेभेन रेसिङ टिम । चार वर्षपहिले उदयपुरको कटारी–७ का सात जना किशोरका साथमा मोटरसाइकल थियो । उनीहरूले फेसबुकमार्फत एउटा ग्रुप बनाए । त्यही ग्रुप अहिले सामाजिक सेवामा समेत सक्रिय युवाहरूको टिम बन्यो— के सेभेन रेसिङ टिम ।

टिममा अहिले उदयपुर, सिरहा, सप्तरी, काठमाडौं तथा विराटनगरका ४५ जना सदस्य छन् । टिमका अगुवा कटारीका अन्वेषण मिश्र भन्छन्, ‘अहिले टिम सोसलवर्कमा सक्रिय छ ।’ उनीहरूले उदयपुरकै दोस्रो ठूलो नगर कटारीमा पहिलो पटक ६ स्थानमा ट्राफिक प्रहरीसँग सहकार्य गरेर जेब्रा क्रसिङ्ग कोरे ।

मिश्र भन्छन्– ‘अब सिन्धुली–खुर्कोट–काठमाडौं सडकखण्डको बढी दुर्घटना हुने क्षेत्रमा चेतनामूलक, सांकेतिक होर्डिङ बोर्ड तथा जेब्रा क्रसिङ बनाउने तयारीमा छौं ।’ टिमले यसअघि तराईमा भएको डुबान तथा बाढीपीडितका लागि ‘सेभ तराई’ अभियानअन्तर्गत विभिन्न संघसंस्थाको सहकार्यमा खाना तथा लत्ताकपडा वितरण गरेको थियो ।

सुरुमा मिश्रसँगै कटारीकै लिक्जेन तामाङ, रितेस गिरी, सौरभ पराजुली, दिपेश गिरी, आषुतोष धन्जु एवं अभियान मिश्रले गठन गरेको टिममा अहिले १८ देखि २४ वर्षका युवाहरू सक्रिय छन् ।

टिम गठन गर्नुअघि मिश्रसँग १ सय ५० सिसीको पल्सर बाइक थियो । अहिले मिश्रसँगै अधिकांशको बाइक भनेको पल्सर एनएस २ सय सिसी हो । देशमा हुने विभिन्न बाइक रेसिङमा टिमबाटै सहभागिता जनाउने उनीहरूको टिमको सदस्यता प्राप्त गर्न विभिन्न प्रावधान पूरा गर्नुपर्छ ।

टिममा सहभागी हुन अनिवार्य लाइसेन्स, ब्लुबुकलगायतका कानुनी प्रावधान पूरा भएको हुनुपर्छ । प्रावधान पुगेका सदस्यलाई सदस्यता पत्रसँगै टिमको लोगो भएको टिसर्ट आदि प्रदान गरिन्छ भने टिमको लोगो बाइकमा राख्नैपर्छ ।

देशका थुप्रै पर्यटकीय सडकका अतिरिक्त अफरोडहरूमा पनि टिमले रेसिङ प्रदर्शन गरिसकेको छ । टिमको रेसिङले आन्तरिक पर्यटनमा समेत जोड दिएको उनीहरूको भनाइ छ । के सेभेन टिमको फेसबुक पेज https://www.facebook.com/K7racingteam/ लाई अहिले १६ सयभन्दा बढीले मन पराएका छन् । बाइक स्टन्ड गर्ने, छिटो दौडाएर दुर्घटना निम्त्याउने भन्दा पनि दुर्घटना न्यूनीकरण अभियानमा टिम सक्रिय रहेको के सेभेनका सदस्य लिक्जेन तामाङ बताउँछन् ।

ऋषि राई

प्रकाशित :कार्तिक २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्