पीडामा पुरुष

- जनक तिमिल्सिना

कार्तिक २३, २०७४-

 

चैतको अन्तिम साता हेटौंडाका रवि गजुरेल (३० वर्ष) आफ्नी श्रीमतीको खोजीमा काठमाडौंमा भौंतारिहेका थिए । १३ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याउँदै दुई नाबालक सन्तानलाई छाडेर श्रीमती दुर्गा ६ महिनादेखि बेपत्ता भएकी थिइन् । यो अवधिमा उनले श्रीमतीको खोजीमा के मात्र गरेनन्, तर निराशाबाहेक केही हात लागेन । एकजना साथीले दुर्गालाई काठमाडौंको रातोपुलस्थित एक डान्सबारमा भेटेको खबर सुनाए । उक्त खबरकै कारण उनी हेटौंडाबाट काठमाडौं आए । साँझ अबेर डान्सबारमा पुग्दा दुर्गा नशामा चुर्लुम्म थिइन् । रविले दुर्गालाई फकाउने प्रयास गरे, तर उनले आफ्नो प्रेमी रहेको र हस्तक्षेप नगर्न भन्दै रविको प्रस्ताव अस्वीकार गरिदिईन् ।

श्रीमतीलाई फर्काइदिन भन्दै रविले गौशाला प्रहरीमा उजुरी दिए । प्रहरीले उनकी श्रीमती र प्रेमी भनिएका १८ वर्षीय युवकलाई प्रहरीवृत्तमा बोलाएर बयान लियो । त्यहाँ पनि दुर्गाले आफू नयाँ संसारमा रमाइरहेकाले रविसँग फर्कन इन्कार गरिन् । अन्तत: श्रीमतीका यी सबै व्यवहारबाट रवि पराजित भएर तीन दिनपछि १८ वर्ष लामो वैवाहिक सम्बन्धको पीडादायी अन्त्यसहित उनी हेटौंडा फर्किए ।

धादिङ घर भएर चन्द्रागिरिमा श्रीमती र सन्तानसहित बस्थे— भक्तबहादुर श्रेष्ठ । एउटै घरमा बस्ने भएकाले राजु भन्ने वीरबल दुलालसँग उनको परिचय भयो । त्यही परिचयको फेर समाउँदै वीरबल उनको कोठामा आउन थाले । यही क्रममा उनकी पत्नी निर्मला सार्की श्रेष्ठ र वीरबलले नजिकिने मौका पाए । त्यही निकटता नै भक्तबहादुरका लागि पत्नी गुमाउने प्रमुख कारण बन्यो । यो कुरा उनले त्यतिबेला मात्र थाहा पाए, जतिबेला उनकी श्रीमती घरको सबै सम्पत्ति लिएर वीरबलसँग हिँडिसकेकी थिइन् । निर्मला २८ पुसमा अपांग पति र बच्चाको समेत ख्याल नगरी ७० हजार नगद, तिलहरी तथा औंठी लिएर हिँडेकी थिइन् । आफूले निकै दु:ख गरेर जेनतेनले जोडेको सम्पत्तिसहित श्रीमतीले दोस्रो विवाह गरेपछि भक्तबहादुर दु:खको सागरमा डुबेका छन् ।

संगीता लामिछाने मगर (२७ वर्ष) का श्रीमान् राजकुमार थापा ४ वर्षदेखि विदेशमा थिए । उनी कलंकीस्थित घरमा जेठानीसँगै सुखसयलको जीवन बिताइरहेकी थिइन् । विदेशबाट तलब बुझ्नेबित्तिकै सबै पैसा श्रीमतीलाई पठाइदिन्थे । संगीताको तरुनी मनलाई पति, सन्तान र पैसाले मात्र बाँधिरहन सकेन, उनलाई ती सबैभन्दा शारीरिक सुख ठूलो लाग्न थाल्यो । उनले आफ्नो सम्पर्कमा आएका एक युवासँग हिमचिम बढाइन् । संगीतालाई एक्लै छाडेर विदेश जानुको परिणाम राजकुमारलाई यति महँगो पर्‍यो कि उनले श्रीमतीलाई त गुमाए नै, चार वर्ष खाडीमा पसिना बगाएर कमाएको सर्वस्वसमेत लुटियो । 

संगीता मात्र होइन, श्रीमान् बिदेसिएका कतिपय श्रीमतीको स्वच्छन्द जीवनशैली एवं तिनका विदेशिएका श्रीमान्हरूले कमाएको धनको दुरुपयोग गर्ने कतिपय पुरुषको नियतका कारण धेरैका घर बिग्रिएका छन् । 

प्याफलका कपिल खड्का (२५ वर्ष) को श्रीमती निर्मला बासकोटासँग मधुर सम्बन्ध थियो । उनी आफूले कमाएको पैसा पनि श्रीमतीलाई नै राख्न दिन्थे । ६ र २ वर्षका दुई छोरी हुर्किरहेका थिए, तर केही महिनाअघि निर्मला कपिल र दुई छोरी छाडेर अन्यत्रै लागिन् । आफू त भागिन् नै, कपिलले जीवनभर मेहनत गरेर कमाएको सम्पत्तिसमेत उनीसँग रहेन । प्रहरीसँगको बयानमा कपिलले पैसाको विषयमा मनमुटाव भएपछि श्रीमती सबै पैसा लिएर हिँडेको बताएका छन् । 

१२ साउनमा काठमाडौं नैकापबाट रिनु खत्री (२५ वर्ष) १ लाख ६० हजार नगद र गरगहना लिएर हराइन् । उनका पति श्रीराम खनाललाई उनको स्वच्छन्द जीवनशैली मन परिरहेको थिएन । अरूसँग हिमचिम, उठबस र निकटताका धेरै कुरा थाहा हुन्थे,’ खनालले साप्ताहिकसँग भने, ‘यी कुरा मलाई मन पर्दैनथे, त्यसैले हामीबीच विवाद हुन्थ्यो ।’ यस्तै विवादका बीच १७ साउनमा रिनु प्रेमी जेम्स तामाङसँग हिँडिन् । उनी आफैं मात्र हिँडेको भए त श्रीरामलाई कुनै गुनासो थिएन, तर सन्तानका लागि श्रीरामले जम्मा गरेर राखेको पैसा र गरगहनासमेत लिएर गएपछि उनलाई तनाव भयो । 

श्रीमतीबाट पीडित हुने श्रीमान्हरूको कथा यतिमै मात्र सीमित छैन । सहरको तुलनामा वैदेशिक रोजगारीमा निस्किएका गाउँका श्रीमान्का दु:खका कथा अझ निर्मम छन् । खासगरी वैदेशिक रोजगारीका क्रममा श्रीमान् विदेशमा रहँदा परपुरुषसँग सल्किने, श्रीमान्ले पठाएको पैसामा मस्ती गर्ने र श्रीमान् फर्किएपछि प्रेमीसँगको मिलेमतोमा श्रीमान्को हत्या गर्ने सम्मका घटना उत्तिकै घट्ने गरेका छन् । 

वैदेशिक रोजगारीबाट फर्किए लगत्तै गत २६ कात्तिकमा जनकपुर रजौलामा श्रीराम ठाकुरको हत्या भयो । उनको हत्या श्रीमती नितु मिश्रले आफ्नो अनैतिक सम्बन्ध ढाकछोप गर्न र पैसाका लागि गराएको रहस्य खुल्यो । यस्तै घटना २९ पुसमा महोत्तरीको हरिसर्वाको संग्रामपुरमा पनि दोहोरियो । वैदेशिक रोजगारीबाट फर्किएलगत्तै अञ्जनीकुमार मिश्रको रहस्यमय हत्या भयो । पछि, प्रहरी अनुसन्धानका क्रममा उनको हत्या श्रीमती ज्योति मिश्रले आफ्नो अनैतिक यौनसम्बन्ध लुकाउन गरेको रहस्य खुल्यो । 

यो पनि पढ्नुहोस् : वैदेशिक रोजगारीले निम्त्याएको विखण्डन

पति वा पत्नी कमाउन वा पढ्न विदेश गएपछिको आम्दानी, बढ्दो सामाजिक खुलापन तथा एक्लोपनका कारण यौनचाहना परिपूर्ति गर्न तेस्रो व्यक्तिको सम्पर्कमा पुग्ने र ‘गुपचुप’ सम्बन्ध कायम गर्नेहरू बढ्दै गएका छन् । महानगरीय अपराध महाशाखा टेकुमा प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेका बरिष्ठ प्रहरी उपरीक्षक दिनेश अमात्य भावना र स्नेहको अभावका कारण यस्ता घटना बढेको बताउँछन् । ‘श्रीमान्हरू श्रीमतीलाई एक्लै छाडेर विदेश जान्छन्, त्यहाँ पैसा कमाएर श्रीमतीलाई पठाउँछन्,’ अमात्य भन्छन्, ‘श्रीमतीले पैसा त पाउँछिन् माया, प्रेम, स्नेह र सद्भाव प्राप्त गर्न सक्दिनन् ।’

श्रीमानसँगको प्रेम र सद्भाव गुमाएपछि उनीहरू विकल्पको खोजीमा लाग्ने र त्यही क्रममा तेस्रो व्यक्तिको प्रवेश हुने र शारीरिक आवश्यकता पूर्तिको माध्यम बन्ने तथा त्यही क्रम झाङ्गिएपछि विभिन्न समस्या सिर्जना हुने उनको भनाइ छ । ‘विवाह शारीरिक आवश्यकता पूरा गर्ने वैधानिक र स्थायी लाइसेन्स हो,’ अमात्य भन्छन्, ‘त्यो शारीरिक आवश्यकता श्रीमान्ले पूरा नगरेको अवस्थामा अर्काको सहारा लिने प्रवृत्ति बढ्दो छ ।’

घटनाहरूले घरमा सीमित रहने र लजाउने स्वभावका पूर्वीय महिलाहरूको जीवनशैली, सोच एवं कार्यव्यवहारमा पनि व्यापक परिवर्तन भैरहेको देखाएका छन् । काठमाडौं जिल्ला अदालतमा एक युवतीले प्रस्तुत गरेको धारणाले पनि त्यसैलाई बल पुर्‍याउँछ । त्यो पनि आफ्ना श्रीमान्सँगको डिभोर्सको मुद्दामा । एक अधिकारवादी संस्थामा काम गर्ने ती युवती बेला–बेलामा टेलिभिजनमा पनि ठूला–ठूला बहस गर्छिन् तर उनले विवाहलाई केवल सम्पत्ति, ऐसआराम र सुविधा भोगको अस्त्रको रूप प्रयोग गरिरहेकी छिन् । ‘यो विवाह गरेर जग्गा किने, अर्को विवाह गरेर घर बनाउँछु,’ अदालतका एक अधिकारीले ती युवतीको भनाइ उद्धृत गर्दै साप्ताहिकसँग भने, ‘त्यसपछि अर्को विवाह गरेर गाडी किन्छु र बिन्दास जीवन जिउँछु ।’ ती युवतीको कुरा सुनेर आफू अचम्मित भएको ती अधिकारीको भनाइ थियो ।

कतिपय केसमा भने पुरुषहरूले लालसा, स्वार्थ र यौनकुण्ठाका कारण श्रीमतीहरूबाट पीडित हुनुपरेको देखिन्छ । नेपाल प्रहरीको कालिमाटीस्थित महिला सेलमा २०७३ साउनयता मात्र श्रीमती छाडेर भागेको वा हराएको ४१ वटा उजुरी दर्ता भएका छन् । जिल्ला अदालत काठमाडौंमा परिरहेका सम्बन्धविच्छेदका मुद्दाहरूको ग्राफ निरन्तर उकालो लागिरहेको छ । रोचक त के भने तीमध्ये अधिकांश सम्बन्धविच्छेदका मुद्दा महिलाहरूले नै दायर गरेका छन् । पुरुषविभेदी कानुनका कारण पनि पीडित पतिहरू अदालत पुगेर पनि न्याय पाउँदैनन् । सम्बन्धविच्छेदसम्बन्धी मुद्दासमेत हेरेका सर्वोच्च अदालतका पूर्ववरिष्ठ न्यायाधीश बलराम केसी डिभोर्ससँग सम्बन्धित कानुनमा पुरुषहरूप्रति अन्याय भएको बताउँछन् । ‘डिभोर्समा पुरुषहरूलाई अन्याय छ,’ केसी भन्छन्, ‘पुरुषहरू सम्बन्धविच्छेदको मुद्दा लिएर सोझै अदालतमा जान पाउँदैनन् ।’ पछिल्लो समयमा भने पुरुषहरूसमेत सम्बन्धविच्छेदको मुद्दा लिएर अदालत जान पाउने गरी कानुनी बाटो फुकाउने तयारी हुँदैछ ।

(गोपनियताको कारण पीडितको नाम परिवर्तन गरिएको छ ।)

प्रेमविवाहमा बढी सम्बन्धविच्छेद

सुधीर ढकाल, समाजशास्त्री

सम्बन्धविच्छेदका मल्टिपल कारण हुन सक्छन् । एकभन्दा धेरै कारणले सम्बन्धविच्छेद हुने हो । महिलाको आर्थिक उपार्जन जति बढ्दै जान्छ, सम्बन्धविच्छेद पनि बढ्दै गएको पाइन्छ । कतिपय महिला इच्छाविपरीत पनि आर्थिक सबलता नभएकै कारण सँगै बसिरहेका हुन्छन् । अन्तर्राष्ट्रिय स्तरमा ठूलो संख्यामा सम्बन्धविच्छेद हुने गरेको छ । स्वतन्त्रता एवं वैयक्तिकताको खोजी गर्ने क्रममा विवाहपछि सँगै रहन नसक्ने अवस्थामा श्रीमान्–श्रीमती छुट्टिने हो । यसमा आर्थिक उपार्जनले प्रमुख भूमिका खेल्छ । महिला शिक्षा, अधिकार प्राप्तिका आन्दोलन एवं सम्पत्तिमाथिको अधिकारको कुरा बढेर जाँदा पनि सम्बन्धविच्छेद बढ्दै जाने हो । सम्बन्ध–विच्छेदपछि पनि बाँच्ने उपाय भएपछि छुट्टिने हो । नभए त जतिसुकै अन्याय भए पनि सहेर सँगै बस्नुपर्ने बाध्यता थियो, किनभने, अन्त गएर बाँच्न सक्ने अवस्था हुँदैन ।

आर्थिक रूपमा सबल महिलाको संख्या बढ्दै जाँदा पनि सम्बन्ध–विच्छेद बढ्छ । अर्कातर्फ सामन्तवादी उत्पादन प्रणालीबाट समाज पुँजीवादमा जाँदा सामाजिक सम्बन्ध पनि परिवर्तन हुँदै जान्छन् । आर्थिक रूपमा सक्षम पश्चिमा देशहरूमा सम्बन्धविच्छेदको दर बढिरहेको छ । विवाह गर्न स्वतन्त्र भएका ठाउँमा छुट्टिने स्वतन्त्रता पनि उत्तिकै हुन्छ, जसका कारण ती देशमा सम्बन्धविच्छेद बढी देखिन्छ । मागी विवाहभन्दा प्रेमविवाहमा बढी सम्बन्धविच्छेद भैरहेको पाइन्छ ।

सम्बन्धविच्छेदले पूर्वीय समाजमा केही समस्या पनि निम्त्याएको देखिन्छ, खासगरी हाम्रो समाजमा सामाजिक रूपमा महिलाले अर्को विवाह गर्न गाह्रो हुन्छ, समाजले राम्रो मान्दैन । सन्तान भैसकेकी महिलामाथि उनीहरूको लालनपालन गर्नुपर्ने दायित्व पनि हुन्छ, त्यस्तो अवस्थामा थप समस्या सिर्जना हुन्छ । सरकारले सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न सक्दैन । मूलत: यो जिम्मा महिलामा जान्छ । अरू देशमा बालबालिकाहरूको सामाजिक सुरक्षा हुन्छ, तर हाम्रो देशमा त्यस्तो नभएकाले ती लबालिकाहरू पनि समस्यामा पर्छन् । 

यो पनि पढ्नुहोस् 

पत्नीपीडित पतिहरू घर न घाटको

 

प्रकाशित :कार्तिक २३, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्