सम्झनाका छायाँहरू छातीभरि धूवाँजस्तै

- अविरल थापा

कार्तिक २२, २०७४-

 

पात्र नं. १

धेरै वर्षपछि अचानक उसलाई मैले एक कार्यक्रममा देखें । आँखा कता हालौं–हालौं जस्तो भयो । ऊ नै अघि सरेर आयो र हालखबर सोधेर वातावरण सहज बनायो । ऊ अर्थात् मेरो प्रेमी जोसँग मेरो विवाहचाहिँ हुन सकेन । उसले यो दस वर्षमा राम्रो आर्थिक प्रगति गरेछ तर विवाह भने गरेको रहेनछ । किन नगरेको भनेर सोध्दा उसले जवाफ फर्कायो— तिमी जस्तो कोही भेटेकै छैन । तिमीलाई पाए अझै विवाह गर्छु । मेरो जीवनमा सबैथोक छ तर तिमी छैनौ ।

मेरा दुई छोराछोरी हुर्किसके । उसको माया त्यतिबेला पनि लाग्थ्यो अझै पनि लाग्छ । त्यतिबेला त म ऊसँग भागेर जान सकिनँ भने अहिले सक्ने कुरै भएन । यस्तो लाग्छ यो माया भन्ने चिज सधैं घाँटीमा अड्किएर बस्दो रै’छ न तल जान सक्ने न माथि जान सक्ने । उसलाई बिर्सिएको त थिइनँ तर सम्झेर बसेको पनि थिइनँ ।

अनायासै उसलाई भेटेपछि पुराना सम्झनाहरू सतहमा तैरिएर आए । भेटेर घण्टौं गफ गर्यौं माया उस्तै थियो, एक–अर्काप्रतिको सम्मान उस्तै थियो । ऊसँग जान नसकेको पीडाबोध त थियो तर तत्कालीन परिस्थिति र कच्चा उमेरमा विद्रोह गर्ने हिम्मत नआउनुमा परिवार र समाजले देखाएको डर नै मुख्य कारक थियो । तिम्रो माया लाग्दैन भनेको भए बरु सजिलो हुन्थ्यो होला तर अझै मेरै याद आउँछ भन्दा कता–कता आफैं दोषी हुँ भन्ने बोध भयो ।

उसले भन्दै गयो— तिमी कोसँग गयौ, कसको भयौ भनेर । मैले कहिल्यै सोधीखोजी गरिनँ, तर कतै भीडमा हुँदा तिमी देखिन्छ्यौ कि भेटिन्छ्यौ कि जस्तो लागिरह्यो । प्रत्येकपल्ट तिम्रो सहर आउँदा एक झलक भए पनि तिमीसँग भेट्न पाउँछु कि भन्ने अभिलाषा हुन्थ्यो तर त्यसका लागि दस वर्ष लाग्यो । तिमी पश्चिमको म पूर्वको, तैपनि गाडी चलाएर घर जाने क्रममा कतिपल्ट त तिम्रो घर जाने बाटोतिर अलि परसम्म पुगेर फर्किएको छु । 

मजस्तै आफ्नो प्रेमीसँग विवाह हुन नसक्ने प्रेमिकाहरू यो सहरमा धेरै होलान् । हामी दुवै निर्दोष थियौं । आर्थिक एवं सामाजिक हैसियत मिलेन भनेर प्रेममा भाँजो हाल्ने परिवार र समाजले प्रेमीको ठाउँमा अर्को पात्र त दिन सक्दो रै’छ तर प्रेम निमिट्यान्न पारिदिन सक्दो रहेनछ । आज उसले सबै हैसियत बनायो तर अब हामी चाहेर पनि एक–अर्काको हुन सक्दैनौं । माया लाग्नु, माया हुनु र माया गर्नु फरक कुरा रहेछ । यस्तो लाग्छ केही न केही कुरा खट्काएर बाँच्नु नै जीवन रहेछ । 

पात्र नं. २

हामी स्कुलदेखि नै एक–अर्कालाई माया गथ्र्यौ । उतिबेला अहिलेजस्तो एक–अर्कासँग सजिलै सम्पर्क गर्ने सञ्चारका साधनहरू थिएनन् । म कामको सिलसिलामा सहर आएँ । परिवारको करकापमा उसको विवाह भएछ । उसले मेरो प्रेमी छ पनि भन्न सकिनछे, मैले उसको विवाह हुन लागेको पनि थाहा पाइनँ, तर विवाह भए पछि ऊ म भएकै सहरमा आई । यता आएपछि हामीबीच सम्पर्क भयो र समय मिलाएर यदाकदा भेट हुन थाल्यो । कालान्तरमा मेरो पनि अरू कसैसँग विवाह भयो । म आफ्नी श्रीमतीलाई माया गर्छु र उसको पनि पारिवारिक सम्वन्ध राम्रै छ ।

आज हामी दुवै जना हजुरबा हजुरआमा भैसक्यौं । हामीलाई एक–अर्काको हुन नसकेकोमा कुनै गुनासो छैन र हामीले गर्ने माया पनि घटेको छैन । दुनियाँको नजर छलेर त्यही बेलादेखि अहिलेसम्म हामी कतै भेटेर यदाकदा यौन सम्बन्ध पनि राख्छौं । अरूले सुन्दा यो धोका वा गलत काम होला तर हामीलाई कहिल्यै नराम्रो काम गर्यौं भनेर ग्लानी भएन ।

हरेक पल्ट भेट्दा–कुरा गर्दा छुट्टिएको शरीरको कुनै अंग जोडिएजस्तो लाग्छ । सधैं उही हार्दिकता उही अभिप्सा उही माया र सम्मानको अनुभूति भैरहन्छ । हामी एक–अर्काका छोराछोरी–नातिनातिनाका कुरा गछौं, घर–व्यवहारका कुरा गर्छौं । कहिले हाँस्छौं, कहिले रुन्छौं पनि । अझसम्म भेटेको र भेटघाट गराएको त छैन तर उसको श्रीमान् र मेरी श्रीमतीको कुरा पनि गर्छौं र सन्चो–बिसन्चो पनि सोधिरहन्छौं । कमजोरी नभएको कोही हुँदैन । प्रेम हुनेले कमजोरी सहितनै कसैलाई अंगिकार गर्छ । 

०००

कुरा के भने नि, प्रेमी–प्रेमिकासँगको माया भनेको मुलको पानी रै’छ खाँदै आँत हरर गर्ने अनि श्रीमान्–श्रीमतीको माया भनेको चाहिं धारामा थापेको पानी रै’छ, तिर्खा त मेटिने तर आँत नभरिने । जीवनमा सबै कुरा बुझ्न र बुझाउन पनि सकिँदो रहेनछ । मायामा पाप धर्म हुँदैन । माया देखाउँदै हिंड्ने कुरा पनि होइन, अनुभूति गर्ने कुरा हो । यस्तो लाग्छ, छरिएर बसेका टुक्रा–टुक्रा खुसीहरू बटुलेर हाँस्नु नै जीवन हो ।

Facebook.com/abeeralthapa

Twitter@abeeralthapa

प्रकाशित :कार्तिक २२, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्