इंग्ल्यान्डको स्वर्णिम युग

- साप्ताहिक संवाददाता

कार्तिक २१, २०७४-

फुटबलमा त्यस्तो खेल निकै रोमाञ्चक र सनसनीपूर्ण मानिन्छ, जसमा पुनरागमन रचिन्छ अर्थात् कुनै टिमले पछाडि परेको स्थितिलाई उल्ट्याउँछ भने त्यसले खेललाई सम्झनालायक बनाउँछ । यस्तै रह्यो, यू–१७ विश्वकपको फाइनल । फाइनल पुगेका थिए, युरोपका दुई टिम— इंग्ल्यान्ड र स्पेन । भारतको कोलकातास्थित प्रसिद्ध साल्टलेक स्टेडियममा भएको फाइनलको सुरुवातमै स्पेनले दुई गोलको अग्रता लिएको थियो । गोल गर्ने खेलाडी थिए, बार्सिलोनाका सर्जियो गोमेज । 

बार्सिलोनाको ला मेसिया एकेडेमी विश्व फुटबलमा निकै चर्चित छ । उक्त एकेडेमीबाट एकसेएक खेलाडी निस्किएका छन् । तिनमै एक हुन्, गोमेज । उनले आधा घण्टाभित्र दुई गोल गरेपछि सबैलाई लागेको थियो, अब इंग्ल्यान्डको केही चल्ने छैन तर फाइनलको पटकथा बेग्लै रह्यो र इंग्ल्यान्डले दुई गोल खाएर पनि एकपछि अर्को गरी ५ गोल हान्यो । नतिजा इंग्ल्यान्ड फाइनलमा ५–२ ले विजयी भयो र पहिलो पटक यू–१७ विश्वकपको च्याम्पियन बन्यो । 

दुई गोल खाएयता इंग्ल्यान्डले आक्रामक फुटबलको उत्कृष्ट नमुना पेस गरेको थियो र त्यसले पूर्णत: इंग्लिस प्रिमियर लिगको छनक दिन्थ्यो । इंग्ल्यान्डका तर्फबाट पहिलो गोल फर्काउने खेलाडी रहे, रिहान ब्रेस्टर । उनी लिभरपुलका खेलाडी हुन् र रिहान पूरा प्रतियोगितामा ८ गोल गरेर हाइएस्ट स्कोरर समेत घोषित भए । फाइनलमा इंग्ल्यान्डका तर्फबाट म्यानचेस्टर सिटीका फिल फोडेनले २ गोल गरे भने मोर्गन गिब्स हाइट र मार्क गुइहीले १–१ गोल थपे । 

फोडेन प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि भए । फाइनलमा दुवै टिमले प्रिमियर लिग र ला लिगामा खेलिसकेका खेलाडीहरूलाई उतारेका थिए । यस अर्थमा फाइनल प्रिमियर लिग भर्सेस ला लिगा पनि थियो । प्रतियोगिताको अन्त्यमा इंग्ल्यान्ड उपाधिको पूर्ण हकदार देखियो र यसलाई उमेर समूहमा इंग्लिस फुटबलको स्वर्णिम युगका रूपमा पनि लिइनेछ । उमेर समूहको विश्व फुटबलमा इंग्ल्यान्ड यति सफल कहिल्यै भएको थिएन । 

यू–१७ युरोमा पनि इंग्ल्यान्ड र स्पेन नै भिडेका थिए । त्यसमा स्पेन विजयी भएको थियो । यसअघि इंग्ल्यान्डले यू–१९ युरोकप मात्र होइन, यू–२० विश्वकप पनि जितेको थियो । यसले पनि उमेर समूहमा इंग्लिस फुटबल वास्तवमै कति बलियो छ स्पष्ट गर्छ । अहिले प्रिमियर लिग क्लबहरूले आफ्ना युवा खेलाडीमा पर्याप्त लगानी गरिरहेका छन् । सिनियर स्तरमा इंग्लिस टिमको लगातार खराव प्रदर्शनपछि क्लबले यस्तो रणनीति लिएको हो । त्यसकै प्रतिफल अहिले देखिन थालेको हो । वास्तवमा इंग्ल्यान्ड मात्र होइन, अरु धेरै विश्व फुटबलका महाशक्ति देशले उमेर समूहको फुटबलमा पर्याप्त लगानी गरेका छन् । यसमा जर्मनीदेखि लिएर ब्राजिलसम्म छन् । यति मात्र होइन, विश्व फुटबल महासंघ (फिफा) ले समेत उमेर समूहको विश्वकपलाई बढी महत्त्व दिन थालेको छ । यू–१७ विश्वकपमा चम्किएका खेलाडी नै पछि ठूला स्टार बनेको घटनाका कारण पनि फिफाले यस्तो पाइला चालेको हो । 

जस्तो, लियोनल मेसीदेखि लिएर सर्जियो एगुरो, सेस फाब्रिगास जस्ता अहिलेका ठूला फुटबल स्टार उमेर समूहको विश्वकपबाटै चम्किएका हुन् । तय छ, पछि गएर गोमेज, ब्रेस्टर तथा फोडेन जस्ता खेलाडी चम्कनेछन् र त्यसपछाडिको कारण मानिनेछ, यू–१७ विश्वकपमा उनीहरूको उत्कृष्ट प्रदर्शन । यसपटकको यू–१७ विश्वकपलाई सम्झिने अर्को एउटा कारण छ, यसको आयोजक भारत । भारतले विश्व फुटबलको यति ठूलो प्रतियोगिता आयोजना गरेको यो पहिलो अवसर हो । 

भारतले यो प्रतियोगितालाई निकै महत्त्व दिएको थियो । भारतले विश्वमै शक्तिशाली देशका रूपमा प्रस्तुत हुने महत्त्वकांक्षा बोकेको छ । त्यसकै एक खुडकिलो मानिएको छ, विश्व फुटबलमा पनि भारतको बलियो उपस्थिति । कुनै समय एसियाकै बलियो टिम भारतको अहिले त्यस्तो स्थिति छैन । चीनले जस्तै भारतले पनि फुटबलमा केही गर्न चाहेको छ र त्यसका प्रमुख रणनीतिकार हुन्— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । यू–१७ विश्वकपको आयोजनाले भारतीय फुटबलमा ठूलो छाप छोड्ने भारतीय अधिकारीहरूको विश्वास छ । 

प्रकाशित :कार्तिक २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्