समय कथा

  • लघुकथा

- हिमाल घिमिरे

कार्तिक २१, २०७४-

त्यसपछि आसपास मौनताले भरिन्छ । पुराना तीन मित्र एकआपसमा प्रश्न सूचक दृष्टिले हेरिरहेका हुन्छन् । यस्तैमा हिजोले स्तब्धतालाई चिर्दै आजतर्फ इंगित गरेर भन्यो, ‘कर्म तिमीले गर्नुपर्छ । ... मैले होइन ।’ एकदमै सरल र ध्यानाकर्षक शैलीमा बोल्नु 

हिजोको विशेषता हो । अघिदेखि नै आजका आँखा रसाएका थिए र अनुहार मलिन थियो । भोलिको आवाज कसैले सुनेकै छैन, लाग्छ उसले मौन ब्रत लिएको होस् । हिजो र आजको उपज बनेर बस्न बाध्य छ ऊ । मूकदर्शक बन्नु पर्दा उसलाई कति संकोच हुँदो हो ! तर उसको चेहरामा कुनै भाव देखा पर्दैन । एकदमै शान्ति र शालिनताको पर्यायका रूपमा भोलि उभिन्छ । देख्ने–सुन्नेहरूभन्दा हुन् ऊ कि त महामुर्ख हो कि त विद्वान् जो कुनै कुरादेखि विचलित हुँदैन ।

अघिल्ला साँझहरू जस्तै आज आफ्ना उपलब्धि एवं गुनासाका पोका क्रमश: भोलि र हिजो समक्ष पस्किन्छ । केही उपलब्धि जो गरिएका वाचाहरूभन्दा थोरै छन् तर पनि शान्तिको प्रतिमूर्ति भोलिले निसंकोच ग्रहण गर्छ । त्यसैले होला भोलिभन्दा उनै दुई मित्रहरू बढी समावेश हुन्छन् वार्तालापमा ।

आज खप्पिस योजनाकार हो जसको कार्यान्वयन पक्ष अलि बढी नै फितलो भएको पुष्टि उपलब्धिहरू भन्दा गुनासाहरू धेरै हुनुले गर्छ । दायित्वबाट पन्छिन खोज्नु आजको मौलिक विशेषता हो । भोलिबाट कुनै प्रतिक्रिया नपाएपछि कुराकानी जारी राख्ने हेतुले आजले हिजोको मुख ताक्यो । इसारा बुझेझैँ गरी हिजोले थप्यो, ‘साँच्चै भन्ने हो भने म तिमी थिएँ र तिमी म हुनेछौं । आफ्ना कर्तव्यहरू मैले भरपुर शक्ति प्रयोग गरेर सकेसम्म पूरा गर्ने प्रयास गरेँ । आफ्नो भागमा आएका फलहरू भोगेँ । अब तिम्रो पालो हो आज । यो प्राकृतिक नियम हो ।’ उसको बोलीमा पुरानै शैली थियो । आजले केही बुझे झैँ गर्‍यो र शून्यतामा दृष्टि अड्यायो ।

एकैछिनमा कुन्नी के सोच्यो र आजले भन्यो, ‘तिम्रो कुरासँग म पनि सहमत छु हिजो,’ अनि स्वभाविकतामा प्रश्न गर्‍यो, ‘तर के मैले प्रिय मित्र भोलिका लागि मात्र काम गर्नु ? मेरो लागि कुनै समय छैन ? विश्राम र रमाइलो मेरा होइनन् त ?’ प्रश्न गर्दा उसको स्वर थरथराएको थियो । सायद अझै परेला ओभाएका थिएनन् । त्यसपछि जवाफको आशामा हिजोतिर केही झुकेर हेर्‍यो ।

यौवनको छाँद हाल्दै गरेको आजका निम्ति कर्तव्य, संघर्ष र परिश्रम जस्ता कुराहरू ‘आउट डेटेड’ लाग्छन्, तर ठीक विपरीत समयले पढाएको बूढो हिजो कति पनि झन्झट नमानी उही पुरानै ढर्रामा आजलाई सम्झाउने प्रयत्न गर्छ, ‘के मैले पनि यसै नभनेर तिम्रो खुसीका खातिर काम गरेको भए, तिमीले मलाई धन्यवाद दिँदैनथ्यौ र ? तिमी मात्र दु:खी छैनौ आज । म स्वयं पनि पीडा बोध गरिरहेको छु । तिम्रा गुनासाहरूले म निस्सासिन्छ । बस्, म यति मात्र भन्छु कि तिमीले भोलिका निम्ति काम गरे ऊ त निश्चय नै खुसी हुनेछ र तिमी पनि खुसी हुनेछौं । एक दिनको विश्राम वा रमाइलोले तिमीले जीवनभरि अनुत्तरित भएर बस्नु पर्दैन ।’ उता आज भने आफ्नो मन बुझाउने प्रयासमा लाग्यो ।

केही बेर आजको सुँक्क–सुँक्क सुनियो । उसको रूवाईमा पूर्णविराम लगाउने विचारले शब्द–शब्दमा जोड दिएर तर मधुर स्वरमा हिजो बोल्यो, ‘तिमी मेरै छाँया हौ । केवल रात पर्नाले अँध्यारोमा समागम भयौ र आफ्नो बाटो लाग्यौ । अँध्यारोसितै हिँड्यौ तर म जहाँको त्यहीँ रहेँ, एउटा सम्झिइने हिजो भएँ । जसलाई तिमीले बिर्सुँभन्दा पनि सम्झनुपर्छ । स्मृतिमा छाइरहने म, तिम्रो लागि कुनै भयानक चलचित्रको नायक वा खलनायक हुन सक्छु, जसलाई तिम्रै हृदयका आँखाले नियाल्नुपर्ने छ ।

०००

साँझ दैनिकीबाट एकैछिन विश्राम लिएको मेरो मगजबाट तीनै पात्रहरू गायब भए जब छेवैको फोनमा मेरी प्रियतमाले घण्टी दिइन् । मैले सपनाबाट ब्यूँझिएझैँ आफ्ना हिजो, आज र भोलिलाई सम्झँदै भावहीन भएर फोनको जवाफमा भनेँ, ‘हेलो !’ र, ‘के भयो ? बोली त अलि गडबड छ नि !’ को उत्तर दिएँ, ‘निदाएँछु । तिम्रो फोनले पो ब्यूँझायो । सपना पो देखिरहेको थिएँ ।’त्यसपछि आफ्नी प्रियसीलाई मैले आफ्नो तान्द्रिक–सपना सुनाएँ ।

प्रकाशित :कार्तिक २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्