कलात्मक चलचित्र बनाएर सडकमा आउन चाहन्नँ

- कृष्ण भट्टराई

कार्तिक २१, २०७४-

दीपकराज गिरीलाई बहुप्रतिभाशाली कलाकार भन्दा फरक पर्दैन । गिरीले एउटा कुशल सञ्चारकर्मी, समीक्षक, अभिनेता, निर्देशक तथा निर्माताका रूपमा आफूलाई स्थापित गरिसकेका छन् । रेडियो कान्तिपुरबाट रेडियो जक्कीका रूपमा साताको दुई–तीन पटक श्रोतामाझ पुगिरहेका दीपकराजलाई नेपाली टेलिभिजनमा हास्य श्रृंखलाको लोकप्रियतालाई उचाइमा पुर्‍याउने श्रेय पनि जान्छ ।

दुई वर्षअघि टेलिभिजनलाई चटक्क छाडेर चलचित्र निर्माण तथा अभिनयमा होमिएका दीपकराजले यो विधामा पनि सफलता हासिल गरिरहेका छन् । ६ एकान ६, वडा नम्बर ६, छक्कापञ्जा तथा छक्कापञ्जा–२ दीपकराजले निर्माण गरेका सफल चलचित्र हुन् । छक्कापञ्जा त नेपाली चलचित्रमा सर्वाधिक व्यवसाय गर्ने चलचित्रकै रूपमा स्थापित भयो ।

पछिल्लो चलचित्र छक्कापञ्जा–२ समेत सर्वाधिक व्यवसाय गर्ने दोस्रो नेपाली चलचित्र बन्ने क्रममा रहेका बेला दीपकराज भने मह सञ्चारले निर्माण गर्न थालेको चलचित्र शत्रुगतेमा मुख्य अभिनेताका रूपमा काम गरिरहेका छन् । उक्त चलचित्रको छायांकनका क्रममा वीरगञ्जमा रहेका दीपकराजसँग साप्ताहिकका कृष्ण भट्टराईले लामै कुराकानी गरे : 

केमा व्यस्त हुनुहुन्छ ?

अहिले म मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले निर्माण गरिरहनुभएको चलचित्र शत्रुगतेमा व्यस्त छु । 

शत्रुगतेमा कसरी आबद्ध हुनु भयो ?

यो चलचित्रमा मेरो आबद्धता रोचक रह्यो । हरिवंश दाइले ‘एउटा चलचित्र निर्माण गर्न लागेको, दीपक भाइले एउटा भूमिका निर्वाह गरिदिनुपर्‍यो’ भन्नुभयो । यो प्रस्तावलाई मैले आफ्नो ठूलो सफलता मानेँ । म जसको अभिनय टेलिभिजनमा हेरेर हुर्किएँ, उहाँसँगै पहिलो पटक अभिनय गर्न पाउनु नै सौभाग्यको कुरा थियो । केही नसोची तुरुन्त उक्त प्रस्ताव स्वीकार गरेँ । 

यो चलचित्रमा कस्तो भूमिका निर्वाह गरिरहनुभएको छ ?

यो चलचित्रमा मेरो भूमिका एउटा पत्रकारको छ । जसरी पनि फरक–फरक समाचार खोज्नु, त्यसलाई मसालेदार बनाएर जनतासामु ल्याउनु मेरो चरित्रको मुख्य कर्तव्य हो । 

छक्कापञ्जा–२ को व्यवसायबाट सन्तुष्ट हुनुहुन्छ ?

छक्कापञ्जा–२ बाट मैले १० करोड रुपैयाँ बराबरको व्यापारको पूर्वानुमान गरेको थिएँ । भगवानको कृपा तथा दर्शकको मायाले १५ करोड रुपैयाँ बराबरको ग्रस कलेक्सन भयो, त्यो अत्यधिक हो । 

छक्कापञ्जाको तुलनामा छक्कापञ्जा–२ को आलोचना अलि बढी नै भयो नि, किन होला ?

जहाँसम्म आलोचनाको कुरा छ, स्वस्थ आलोचनाले भविष्यमा राम्रो गर्ने मार्गप्रशस्त गरेको छ । यद्यपि केही बकम्फुसे आलोचनाले चाहिँ आत्मविश्वास बढाएको छ । ती आलोचनालाई मैले सफलतासँगै आउने एक किसिमको आरिसे आक्रमणका रूपमा समेत लिएको छु । 

आलोचना गर्नेहरूलाई के भन्न चाहनुहुन्छ ?

म आलोचना गर्नेहरूलाई के भन्छु भने स्वस्थ रूपमा तपाईंका चलचित्रमा यी–यी कुरा राम्रा तथा यी–यी कुरा सुधार गर्नुपर्ने देखिन्छ भनियो भने राम्रो लाग्छ । त्यसलाई अस्वीकार गर्नु मूर्खता हो । यद्यपि दर्शकको उर्लेर आएको भीड देखेर अत्तालिएर जथाभावी टिप्पणि गर्ने, झूर चलचित्र, भद्दा कमेडी भन्नेहरूलाई चाहिँ एउटै जवाफ छ— दर्शक बेबकुफ छैनन्, उनीहरूलाई मनोरञ्जन चाहिएको छ । सिनेमा हलमा अविरल हाँसो छ, मान्छे दोहोर्‍याएर, तेहेर्‍याएर चलचित्र हेरिरहेका छन् । त्यसैले यो नतिजा आएको छ । त्यसलाई अलिकति पनि दिमागमा नराख्नु र एकोहोरो आक्रमण गर्नुचाहिँ केवल व्यक्तिगत सफलताको विरोध मात्र हो । 

नारीलाई हेपेको, निन्दा गरेको भनेर पनि विरोध आयो नि ?

नारीलाई हेपिएको भन्नु सरासर फोस्रो टिप्पणी मात्र हो । छक्कापञ्जा–२ मा मुख्य भूमिका नारीहरूकै छ, प्रियंका कार्की तथा स्वस्तिमा खड्का (आमा–छोरी) का रूपमा । अन्य कलाकारहरू त सहायक भूमिकामा छन् । चलचित्रमा कहीँ पनि नारीलाई होच्याइएको छैन, हाम्रो चलचित्रलाई केही डलरबादी महिलाले मात्र त्यस्तो देखेका हुन् । 

तपाईं के–का लागि चलचित्र निर्माण गर्नुहुन्छ, दर्शकको मनोरञ्जनका लागि कि व्यवसायका लागि ?

पहिलो त मनोरञ्जनकै लागि चलचित्र निर्माण गर्छु, जसको उद्देश्य व्यवसाय पनि हो । म आर्टका नाममा कलात्मक चलचित्र बनाएर सडकमा आउन चाहन्नँ । 

नेपाली चलचित्रका केही समीक्षक तपाईंको पछाडि हात धोएर लागेका छन्, किन होला ?

केही समीक्षकले हास्य जनराले जादुमय क्षमता देखाइरहेको र यसले अन्य जनरालाई माथि आउन नदिने निष्कर्ष निकाले । यस्तो प्रवृत्तिलाई स्थापित गराउनु हुँदैन । यो जनरालाई प्रोत्साहित गर्नु हुँदैन भन्ने सोचका साथ त्यस्ता नकारात्मक भूमिका निर्वाह भएका हुन् । 

समीक्षकले चलचित्रको कन्टेन्टलाई नरुचाएका हुन् कि तपाईंहरूलाई नै ?

समीक्षकले मलाई नरुचाएको अथवा कन्टेन्टलाई, त्यसको निर्णय गर्न सकेको छैन । यद्यपि मैले यसलाई दुई भागमा बाँडेको छु । एकाथरी मौसमी समीक्षकहरू मेरो व्यक्तिगत विरोधमा उत्रिएका छन्, जसलाई हाम्रै क्षेत्रका केही व्यक्तिले सघाएका छन् । अर्काथरीले चाहिँ कन्टेन्टको विरोध गरेका हुन् । उनीहरूले हास्य चलचित्रमा शतप्रतिशत लजिक खोजे, जुन आफैँमा हास्यास्पद छ । चाहिनेभन्दा बढी आदर्शवादी चस्मा लगाएर हेरें, चाहिनेभन्दा बढी सूक्ष्म विश्लेषण गरें, सामान्य ग्याँस्ट्रिकमा शल्यक्रिया नै गरेजस्तो । 

चलचित्र दर्शकका लागि बनाउने हो, समीक्षकहरूका लागि होइन भन्ने कुरा किन बुझाउन सकिरहनुभएको छैन त ?

चलचित्र दर्शकहरूका लागि नै हो, समीक्षकका लागि बनाउने होइन । मै हुँ  भन्ने समीक्षक आफैंले चलचित्र लेखे, त्यसको नतिजा के भयो ? समीक्षा गर्नु भजन गाउनु हो भने राम्रो चलचित्र बनाउनु सत्कर्म गर्नु हो । अब भन्नुहोस् भजन ठूलो कि सत्कर्म ? मलाई यो कुरा पनि बुझाउनु छैन । केही समीक्षकको भाषा–शैली राम्रा पनि छन्, उनीहरूले नेपाली चलचित्र र यसको वास्तविकतालाई बुझेका पनि छन् र यसको मर्म बुझेर लेख्छन् । यद्यपि कतिपय समीक्षकचाहिँ समीक्षा होइन गाली लेख्छन् । 

चलचित्रको नकारात्मक समीक्षा आउँदा आफूलाई कसरी नियन्त्रण गर्नु हुन्छ ?

असाध्यै नकारात्मक टिप्पणी आउँदा सुरुमा केही दु:खी हुन्छु, तर केही मिनेटपछि आत्मविश्वास जाग्छ र आफैंलाई बलियो महसुस गर्छु । 

प्रसंग बदलौं, सामाजिक सञ्जाल (फेसबुक) मा कडा–कडा स्टाटस लेख्नुहुन्छ, कसरी फुर्छ ?

म आफूमाथि गरिएका टिप्पणीहरूलाई सामान्य रूपमै लिन्छु, यद्यपि म जिम्मेवार व्यक्तिसमेत भएका नाताले चुप लागेर बस्न मिल्दैन र त्यसरी बस्न पनि सक्दिनँ । सत्य भए स्वीकार गर्ने, असत्य भए खण्डन गर्ने बानी छ । कडा स्टाटस पनि यही सिद्धान्तबाट जन्मिएका हुन् । 

नेपाली चलचित्रमा हास्यरसलाई दर्शकहरूले असाध्यै मन पराउनुभएको छ । अन्य ब्यानरले समेत कमेडी शैलीमै चलचित्र बनाइरहेका छन् ? उस्तै विषयमा धेरै चलचित्र निर्माण हुँदा दर्शक वाक्क हुने त होइनन् ?

हास्य भए पनि छक्कापञ्जा र शत्रुगतेमा धेरै भिन्नता छ । शत्रुगतेमा प्रदीप भट्टराईको निर्देशन भएकाले यसमा उहाँकै शैली छ । कमेडी जनरामा पनि भिन्न–भिन्न उप–जनरा हुन्छन्, फरक–फरक शैलीका । एउटै अनि उस्तै लाग्ने काम त म पनि कहाँ गर्छु र ? जनरा उस्तै भए पनि प्रस्तुतीकरण फरक हुने भएकाले दर्शक वाक्क हुँदैनन् बरु मनोरञ्जनप्राप्त गर्छन् । 

तपाईंहरूको आगामी चलचित्र छक्कापञ्जा–३ को कन्टेन्ट कस्तो हुनेछ ?

छक्कापञ्जा–३ को कन्टेन्ट अहिलेसम्म गर्भमै छ । धेरै विषयवस्तुलाई लिस्टिङ गरिरहेको छु, कुन विषयवस्तुमा सहमत हुन्छु हेरौं । सबैभन्दा पहिले त म आफैं सहमत हुनुपर्‍यो । 

दीपाश्री निरौलाको निर्देशनबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

उहाँ अहिलेको परिप्रेक्ष्यमा उत्कृष्ट निर्देशक हो, जो एक–एक कुरालाई सूक्ष्म ढंगले प्रस्तुत गर्न सक्ने क्षमता राख्नुहुन्छ । 

तपाईं आफैं निर्देशक, अरूको निर्देशनमा अभिनय गर्दा कत्तिकोसहज महसुस गर्नुहुन्छ ?

म आफैं निर्देशक भएकाले अझ सजिलो भएको छ । अरूको निर्देशनमा भन्दा पनि अरूको स्क्रिप्टमा सहमत हुन गाह्रो छ मलाई । अरू कलात्मकतालाई जोड दिन्छन्, म मनोरञ्जनलाई । कुरा यहींनेर बाझिन्छ । चलचित्रमा कलात्मकता सुनमा सुगन्ध मात्र हो, मूल तत्त्व त मनोरञ्जन नै हो । 

अघिल्ला दुई चलचित्रमा राजा बन्नुभएको थियो, तेस्रो चलचित्रमा के बन्ने योजना छ ? 

अघिल्ला चलचित्रमा जस्तै छक्कापञ्जा–३ मा म पनि राजाकै भूमिकामा हुनेछु, यद्यपि राजा फरक हुनेछ, फरक नेचरको । 

के नेपाली चलचित्रलाई नेपाली चलचित्र उद्योग भन्न सकिने अवस्था आएको हो ?

एकाध चलचित्रले व्यवसायिक सफलता हासिल गर्दैमा यो क्षेत्रलाई उद्योग नै भनिहाल्न त मिल्दैन, यद्यपि हिजोआज थुप्रै मानिसको रोजगारीको राम्रो माध्यम बनेको छ यो क्षेत्र । नेपाली चलचित्रमा दर्शकको चासो पनि बढ्दैछ । हाम्रा चलचित्रका अगाडि हिन्दी चलचित्र समेत कमजोर सावित हुँदैछन्, यसले गर्दा हाम्रो यात्रा उद्योग उन्मुखचाहिँ पक्कै छ । 

 

प्रकाशित :कार्तिक २१, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्