एसियाबाट पुरानै अनुहार

- साप्ताहिक संवाददाता

कार्तिक २०, २०७४-

यसपटकको एसियाली विश्वकप छनौटका खेल केही फरक रहे । अर्को वर्ष रूसमा हुने विश्वकपको एसियाली छनौटका प्रारम्भिक दुई चरणका खेल एसियाकपका लागि छनौट खेलका रूपमा पनि 

रह्यो । विश्वकप र एसियाली छनौट यसपटक एकसाथ सञ्चालन गरिएको थियो ।

यो एसियाली फुटबलमा नयाँ प्रयोग थियो तर छनौटको अन्त्यमा नतिजा भने लगभग अपेक्षितजस्तै रहे । आउने विश्वकपका लागि एसियाले ४ दशमलव ५ स्थानको कोटा प्राप्त गरेको छ, जसअन्तर्गत चार टिम स्वत: छनौट हुनेछन् । एक टिमले भने प्ले अफ खेल्नेछ । एसियाबाट पाँचौं टिमका रूपमा अष्ट्रेलिया प्ले अफका लागि छनौट भएको छ र उसले अब विश्वकपमा स्थान बनाउन होन्डुरससँग प्रतिस्पर्धा गर्नेछ ।

स्वत: छनौट हुने चारै टिम पुरानै अनुहार रहे इरान, दक्षिण कोरिया, जापान तथा साउदी अरेबिया । यी चारै टिम एसियाली फुटबलका महाशक्ति हुन र उनीहरूले एकपछि अर्को विश्वकपमा एसियाको प्रतिनिधित्व गर्दै आएका छन् । त्यसैले छनौटमा अनपेक्षित नतिजा आएन । छनौट भएका यी चारै टिमका लागि मुख्य चुनौती रहनेछ, रूसी भूमिमा राम्रो खेल्ने ।

पारम्परिक फुटबल महाशक्ति युरोप र दक्षिण अमेरिकी टिमविरुद्ध राम्रो खेल्ने अनि दोस्रो चरणका लागि छनौट हुने । यसअघि आफैंले सहआयोजना गरेको सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गर्ने दक्षिण कोरियाको प्रदर्शन अहिलेसम्मकै उत्कृष्ट एसियाली प्रदर्शन हो । त्यतिबेला दक्षिण कोरिया सेमिफाइनलमा जर्मनीसँग ०–१ गोल अन्तरले पराजित भएको थियो ।

उक्त विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा पनि दक्षिण कोरिया टर्कीसँग २–३ गोल अन्तरले पराजित भै चौथो स्थानमा थियो । त्यसअघि सन् १९६६ मा इंग्ल्यान्डले आयोजना गरेको विश्वकपमा उत्तर कोरिया क्वाटरफाइनलसम्म पुगेको थियो । उक्त क्वाटरफाइनलमा उत्तर कोरियालाई पोर्चुगलले ५–३ गोल अन्तरले पराजित गरेको थियो । 

यसपटकको एसियाली छनौटमा कुल ४६ देशको सहभागिता थियो र त्यसमध्ये अन्तिम चरणको छनौटमा १२ टिम पुगेका थिए । त्यसमध्ये पहिलो समूहमा थिए— इरान र दक्षिण कोरियासँगै सिरिया, उज्वेकिस्तान, चीन र कतार । अर्को समूहमा थिए— जापान र साउदी अरेबियासँगै अष्ट्रेलिया, यूएई, इराक र थाइल्यान्ड । समूह ‘ए’ मा दस चरणका खेलपछि इरान शीर्ष स्थानमा रह्यो । इरान ब्राजिलपछि विश्वकपमा छनौट हुने दोस्रो टिम थियो । यसले पनि प्रस्ट पार्छ, यसपटक इरानको छनौट यात्रा सहज रह्यो ।

इरानले १० खेलबाट २२ अंक बटुलेको थियो । दक्षिण कोरिया १५ अंकसहित दोस्रो स्थानमा रह्यो । उक्त समूहमा तेस्रो स्थानमा रहेर सिरिया एसियाली प्ले अफका लागि छनौट भएको थियो । सिरियाको चर्चा त्यहाँ चलिरहेको गृह युद्ध र त्यसले ल्याएको विनाशका कारण हुन्छ, तर त्यही युद्धग्रस्त देशलाई केही समयका लागि त्यहाँको फुटबल टिमले खुसी दिने काम गरेको थियो । 

वास्तवमा यसपटकको एसियाली विश्वकप छनौटलाई सम्झिने प्रमुख कारण नै सिरियाको सनसनीपूर्ण प्रदर्शन भएको छ । सिरिया भलै छनौट हुन सकेन, तर ऊ सबैलाई आफूतर्फ आकर्षित गर्न भने सफल रह्यो । सिरिया प्ले अफमा अस्ट्ेरलियासँग पराजित भयो । अर्को समूह बीमा धेरै हदसम्म तीव्र प्रतिस्पर्धा भएको थियो जहाँ जापान २० अंकका साथ पहिलो स्थानमा रह्यो भने १ अंकको दूरीमा साउदी अरेबिया । अस्ट्ेरलिया समान १९ अंकमा रहेपनि उसलाई गोल अन्तरले धोका दियो । 

यसपटकको छनौटमा को–को असफल रहे त ? यसमा दुई टिमको नाम अगाडि आउँछ, चीन र कतार । दुवै छनौटको पहिलो समूहमा थिए र दुवैको प्रदर्शन निराशाजनक रह्यो । चीनको प्ले अफ खेल्ने सम्भावना कम्तीमा केही समयसम्म जीवन्त थियो, तर अन्त्यमा चीन छ टिममध्ये पाँचौं स्थानमा पुग्यो । चिनियाँ घरेलु लिगमा जति कलगानी भए पनि चिनियाँ फुटबलले एसियाली स्तरमै राम्रो गर्न सकिरहेको छैन । 

कतार त अझ पुछारमै पुग्यो । कतार त्यही देश हो, जसले रुसपछि विश्वकप आयोजना गर्दैछ । कतारले दस खेलबाट जम्मा ७ अंक मात्र बटुल्न सक्यो । चीनको भने १२ अंक थियो । उज्वेकिस्तानले १३ अंक बटुलेर चीनको भन्दा राम्रो प्रदर्शन गरेको थियो । अर्को समूहमा थाइल्यान्ड छनौटका सबै समीकरणबाट टाढा रह्यो । २ अंकका साथ थाइल्यान्ड समूहको अन्तिम स्थानमा पुग्यो, तै पनि थाई फुटबलमा त्यसलाई ठूलै उपलब्धि मानियो ।

प्रकाशित :कार्तिक २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्