निर्देशक दिवाकर भट्टराईबाट / अभिनेत्री केकी अधिकारी
कार्तिक २०, २०७४
मेरो जीवन साथी तथा स्टुपिड मनको निर्देशनपछि दिवाकर भट्टराईले चलचित्र ड्रिम्समा सहनिर्देशकको अभिभारा बहन गरे । भट्टराईले निर्देशन गरेको अर्को चलचित्र ऐश्वर्यमा नयाँ अनुहार दीपिका प्रसाईं मात्र होइन, केकी अधिकारी पनि छिन् । केकी अधिकारी र दिवाकरको परिचय चलचित्र ऐश्वर्यको निर्माणकै दौरान भएको हो । एक निर्देशकका हैसियतले दिवाकर भट्टराईले अभिनेत्री केकी अधिकारीका बारेमा राम्रा–नराम्रा कुरा खुट्याउँदै यसरी कुरा काटे :
असल बाइट्स
कुशल अभिनेत्री : यो त मैले मात्र भन्ने कुरा होइन । चलचित्र क्षेत्रमा पहिलेदेखि नै केकी कुशल अभिनेत्रीका रूपमा चर्चित छिन् । ऐश्वर्यमा सँगै काम गर्दा मैले उनलाई अनुमान गरेभन्दा बढी प्रभावशाली पाएँ ।
डिप्लोम्याटिक : उनी निकै नम्र एवं व्यवहारिक छिन्, मीठा कुरा गर्न सक्ने ।
शिक्षित : अध्ययन र शिक्षाले गर्दा पनि होला, केकीले आफूलाई प्रस्तुत गर्ने शैली स्तरीय छ ।
सोसियल मिडियामा एक्टिभ : सामाजिक सञ्जालमा सक्रिय हुनु भनेको अहिलेको मिडियामा सक्रिय हुनु हो, यो कुरा केकीले राम्रोसँग बुझेकी छिन् ।
राम्रो लेखन : उनको अभिनय एवं प्रस्तुति मात्र होइन, लेखन क्षमता पनि स्तरीय छ ।
खराब बाइट्स
सेलेक्टेड चलचित्र : उनी कसैलाई नाइँ भन्न नसक्ने मनकारी छिन् । त्यसैले पनि बीचमा उनले आफ्नै करियर ओरालो लगाउने किसिमका चलचित्रमा समेत काम गरिन् ।
समयको व्यवस्थापन : उनी चलचित्र र अभिनय क्षेत्रमै व्यस्त छिन्, तर समय व्यवस्थापन गर्न नसक्दा बेला–बेलामा अप्ठेरोमा पर्छिन् ।
म्युजिक भिडियो धेरै : नाइँ भन्न नसक्ने स्वभावका कारण जस्तो पायो त्यस्तो गीतको म्युजिक भिडियोमा काम गरिरहेकी हुन्छिन् ।
तौल र उचाइ : केकीको हाइट कम छ, त्यसैले अलिकति तौल बढ्दा पनि उनी बढी मोटी र होची देखिन्छिन् ।
प्रकाशित :कार्तिक २०, २०७४



















तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्