रवीन्द्र झा पर्फेक्ट टाइमिङ भएका कलाकार हुन्

- कृष्ण भट्टराई

कार्तिक २०, २०७४-

नेपाली चलचित्रमा अचेल एक–दुई जना मधेसी पात्र अनिवार्यजस्तै भएका छन् । अझ हास्य विधामा आधारित चलचित्रले व्यवसायिक सफलता हासिल गर्न थालेपछि ती पात्रलाई हास्यभूमिकामै प्रस्तुत गर्न थालिएका छ । यस्तै भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल कलाकार हुन्— रवीन्द्र झा ।

अघिल्लो वर्षको सफल चलचित्र जात्रामार्फत दर्शकको मन जित्न सफल झाले यो एक वर्षको अवधिमा एक दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र फाटेको जुत्तामा खलनायकको भूमिकामा प्रस्तुत भएका रवीन्द्र मूलत: रेडियोकर्मी हुन् । एन्टेना फाउण्डेसनले उत्पादन गर्ने रेडियो नाटकका यी स्थापित कलाकार अहिले चलचित्र कोहलपुर एक्सप्रेसमा व्यस्त छन् । कलाकार झाका बारेमा उनलाई नजिकबाट चिन्ने व्यक्तित्वहरूको टिप्पणी :

रवीन्द्र झा व्यक्तित्वका हिसाबले असाध्यै मेहनती अनि मिलनसार हुनुहुन्छ भने कलाकारिताको हिसाबले रंगमञ्चबाट खारिएका पुराना कलाकार । सबै किसिमको भूमिका निर्वाह गर्न सक्ने झा कमेडीमा पर्फेक्ट टाइमिङ भएका कलाकार हुनुहुन्छ । 

                                                                         - प्रदीप भट्टराई, निर्देशक

मैले उहाँलाई काम गर्न असाध्यै सहज कलाकारका रूपमा चिनेको छु । अभिनयमा जादु त छँदैछ, उहाँलाई देख्ने बित्तिकै दर्शकहरू त्यसै हाँस्न थाल्छन् अर्थात् यी कलाकारको उपस्थितीले नै दर्शकमा एक प्रकारको रोमाञ्चकता छाउँछ । झाले बोल्ने संवादको म प्रशंसक नै हुँ । 

                                                                       - अर्जुन कुमार, चलचित्रकर्मी 

चलचित्र जात्रा हेरेपछि म कलाकार रवीन्द्र झाको फ्यान भएको छु । अहिले फाटेको जुत्ताको ट्रेलर हेर्दा उहाँ खलनायकको भूमिकामा पनि उत्तिकै जम्न सफल हुनु होला जस्तो लागिरहेको छ । 

                                                                          - नरेश भट्टराई, सञ्चारकर्मी

व्यक्तिगत रूपमा उहाँ असाध्यै सरल अनि सहज हुनुहुन्छ । राम्रो सेन्स अफ ह्युमर भएकाले उहाँको संवाद बोल्ने शैली पनि उत्तिकै आकर्षक छ । मैले उहाँलाई दर्शकलाई पकडमा राख्न सक्ने क्षमता भएको एउटा प्रतिभाशाली कलाकारका रूपमा चिनेकी छु । 

                                                                                  - प्रियंका कार्की, अभिनेत्री

 

हामीले दर्जनौं नाटकमा सँगै काम गरेका छौं । नाटकमा काम गर्ने क्रममै हामीले विवाह गर्ने निर्णय गरेका हौं । उहाँ कलाकारका रूपमा मात्र होइन, एउटा श्रीमान्का रूपमा समेत उत्तिकै असल हुनुहुन्छ । धेरै नाटकमा अभिनय गरेकाले होला, उहाँको अभिनयमा आफ्नैपन छ । अहिले चलचित्रमा आएपछि मात्र धेरै दर्शकले उहाँलाई चिन्ने मौका पाउनुभएको हो । 

                                                            - प्रियंका झा, कलाकार/श्रीमती

 

 

प्रकाशित :कार्तिक २०, २०७४

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्